Posted by: Rudramati December 13, 2012
भोक (katha)
Login in to Rate this Post:     0       ?        

न कुनै अनुहार चिनेको थिए, न कुनै अनुहार देखेजस्ता भेटिए । सबै बिरानो, मान्छे बिराना । धर्ती बिरानो ।

साँझ भयो, मन झन् ब्याकुल भयो । अब कहाँ जाउँ? के खाउँ? कहाँ सुतौँ?

यी कुनैपनि प्रश्नको उत्तर थिएन मसंग ।

अचानक सम्झिएँ– “हिजोकै ठाउँमा जान्छु, त्यो मान्छे फेरी भेटिनेछ । अनि उसंग अनुनय बिनय गरेर आधा पैसा भएपनि माग्छु………बरु आधा उसैले राखोस् । कमसे कम ८–१० दिनलाई पेटको डहन मार्न त काम लाग्ला, या नभए घरमा फोन गर्न त सक्छु !”

काठको गोदाममा पुगेको अर्को मानिस बेतको लठ्ठी समातेर उभिईरहेको थियो । उसले बतायो, अर्को चौकीदार त मालिकसंग झगडा गरेर बिहानै त्यो काम छोडेर गयो रे !

फेरी मेरा आँखा तिल्मिलाए । जसोतसो आफुलाई सम्हालेर आफुमाथि भएको सबै कुरा बताएँ, ताकी उसले केही दया गर्नेछ ।

उसले सडकको पिँढी देखाउँदै मात्र यति भन्यो–“सोना है तो उधर सो जा । नहि तो ज्यादा मगजमारी मत कर ।”

विकल्प थिएन, पल्टिएँ त्यहीँ ।

निन्द्रा नलागुन्जेल मनमा कुरा खेलिरहे । सुरतको गर्मीले लामखुट्टे त्यति थिएनन् जसले मनमा कुराखेल्दै गर्दा ध्यान अन्तै मोडोस् ।

राती खै कतिखेर निदाएछु ।

****

आज चैँ मजाले आमाले दिएको खाना खाँए । धेरै दिनको भोको भएकोले होला भात पनि धेरै पो खाईयो त ।

आमा भन्दै हुनुहुन्थ्यो–“दुःख पाईस छोरा दुःख पाईस् ।

………..तर त्यत्तिको दुःख त छोराले भोग्नैपर्छ । नत्र कसरी चेत्छस त ? भोलि अँझ यो भन्दा पनि धेरै दुःख हुनसक्छ ।”

आमाले दिएको मिठो खानाको स्वाद पुरा लिन नपाउँदै झल्याँस्स बिउँझिएछु । बिउँझिँदा पो थाहा भयो भोकले हातगोडा काँपीरहेका रहेछन् ।

उसैपनि ३–४ दिनमा एकपटक दिसा गर्न जाने बानी मेरो, त्यसमाथि ४ दिन देखि पेटमा केही परेको थिएन, फगत चिया बाहेक । त्यसैले आजको बिहान पनि सौचालय जानुपर्ने कष्टबाट मुक्त थिएँ । पिसाब भने फेर्न गएँ, हातमुख धोएँ अनि झोला बोकेर हिजोकै दैनिकीमा हिँडे, लखर लखर काँपीरहेका खुट्टा लतार्दै बिरानो शहरमा ।

दिन यसैगरी बित्यो, पेटमा चारो परेको छैन । मनमनै सोचेँ–“आज चाँही जसरी भएपनि केही खाने ब्यवस्था मिलाउनुपर्छ, नत्र भोकैले मर्छु म ।” किनकी अल्सरको बिरामी थिएँ । झोलामा औषधी समेत बोकेर हिँडेको ।

मनले सोच्दैमा प्राप्त हुने भए त सानोमा म सोच्थेँ-”त्यो चन्द्रमालाई टिपेर क्वाप्पै खाईदिउँ”

न चन्द्रमालाई टपक्क टिप्न सकेँ, न क्वाप्प मुखमा हाल्न ।

यस्तै भो यो दिनको केही खाने सपना पनि ।

साँझपख सुरतको भटार चौरस्ता क्षेत्र धपक्कै बल्छ । झिलीमिली बत्ती, चारैतिर गाडीहरु, त्यसमाथि दिवाली आउँदै गरेको समय ।

पेटमा भोक नभएको भए असाध्यै रमाईलो बातावरण थियो त्यहाँ यतिबेला । तर मलाई यी कुनै कुराले ध्यान तानेको थिएन । मलाई त बस् ! कतिबेला केही खानेकुरा खाने मौका मिलाउँ र खाउँ भन्ने थियो ।

चौरस्ता छेउछाउतिर चाईनिज खानेकुराका लारी(ठेला) लाग्न सुरु भैसकेको थियो । एकजना गोरो गोरो निधारबाट तप्पतप्प चुहिएला झै गरी तेल हालेर बाल लर्काएको केटो बडो मजाले “धौलागिरीमा….. यो जोवन मायाँलाई, दिउँला फिरीमा” भन्ने गीत गाउँदै लारीमा सामान मिलाउँदै थियो ।

पहिलोपल्ट पराया भुमिमा मैले आफुसंग गएका बाहेक कुनै नौलो नेपालीको स्वर सुनेँ । बडो आनन्द लाग्यो । उसको नजिकै पुगेँ र सोधेँ– “तपैँ नेपाली हो?”

“हैन, पाकिस्तानी हो ।” उसले च्याँठ्ठिएर जवाफ फर्कायो ।

मन अमिलो भयो, किनकी पहिलो बाक्य मै उसले प्याच्च जवाफ फर्काएको थियो । फेरी मुखमा त्यो भाव आउन नदिएर बोलेँ–“हाँसो गर्नुहुँदो रहेछ ।”

“यत्राको हाँसो हो मुजी ! अर्काले काम गर्न आएका ठाउँमा आएर नेपाली गीत गाएको देखी देखी तपाईँ नेपाली हो भनेर सोध्ने त ? यही बानी बडो घटिया के यी नेपालीहरुको । पानी खान लागेको देखे.. ए, पानी खान लाग्नुभएको ? भनेर सोध्ने । बजार जान लागेको भए.. ए, बजार जान लाग्नुभएको भन्ने । माद्राचोदहरु…. ।” एकै सासमा बोलेर सिध्यायो उसले ।

मलाई त्यसपछि उसंग बोल्ने आँटै आएन । तत्काल त्यहाँबाट भाग्न मनलाग्यो ।

झोकै झोकमा हिँडे म पनि ।

“त्यसका बाउको केही खाईसकेको त थिईन । बरु पाईन्छ कि केही खान भनेर बोल्ने बहानामात्रै बनाएको थिएँ । त्यसरी मुखै छाडेर बोल्नु पर्ने गल्ती पनि मैले केही गरेको थिईन ।”

यीनै कुरा दिमागमा आए । अनि झसंग भएँ, कतै यसले म भोकै भएको र त्यहाँ खानेकुरा माग्न गएको थाहा पाएको त थिएन?

जे सुकै होस् फर्केर त्यहाँ जान मनै लागेन । हिँड्दैथिएँ अघिल्तिर गुजरातीका एक परिवार गफिँदै, होहल्ला गर्दै रमाउँदै हिँडिरहेको देखेँ । आफ्नो घरपरिवारको याद आयो ।

“सायद म पनि घरमा हुँदो हुँ त यस्तै गरी रमाउँथेँ होला तर आज ४ दिनदेखी भोको हुँदा पेटमा हाल्ने अन्न समेत पाएको छैन ।”

मनमा खेले यस्तै यस्तै कुराहरु । अनि तप्पतप्प चुहिए आँखाबाट केही थोपा आँशुहरु ।

गुजरातीका छोराछोरीले मिठो भएन भनेर हातमा समातेका खानेकुराहरु चाख्दै, फाल्दै गर्नथाले । म यी सबै गतिविधिहरु हेर्दैथिएँ उनीहरुको पछिपछिबाट ।

अचानक सोच आयो– यत्रो दिनदेखिको भोको छु । ताजा खानेकुरा उनीहरु भटाभट आफ्नै अगाडि फालिरहेका छन् । टपाटप टिपेर कपाकप खानुपर्छ कि क्या हो ?

फेरी सम्झेँ, जति भोको भएपनि अर्काले जुठो हालेको, त्यो पनि भुँईमा फालेको खानेकुरा कसरी खानु? बरु एकदुई छाक अरु भोकै बस्छु ।

मनले खटाउन सकेन । अन्ततः भोकका अघि म हारेँ । भोकले जित्यो । म त्यो भुँईमा फालिएको खानेकुरा टिपेर खाने निश्कर्षमा पुगेँ ।

Read Full Discussion Thread for this article