Posted by: _____ December 12, 2012
सम्झनामा भीमबहादुर दाइ
Login in to Rate this Post:     0       ?        
 

पक्राउ पर्दिनँ भनेकै दिन भीमबहादुर दाइ गिरफ्तार हुनुभयो -- राधेश्याम अधिकारी

भीमबहादुर तामाङलाई मैले कानुन पेसाका मेरा गुरु दमननाथ ढुंगानामार्फत उहाँकै घरमा चिनेको हुँ। उहाँहरू दुईबीच प्रगाढ दोस्ती थियो। म आफ्नो कामले दमनजीकोमा गइरहने र भीमबहादुर दाइ पनि त्यहाँ आइरहने भएकोले बारम्बार भेटघाट हुन थाल्यो। उमेरमा मभन्दा धेरै सिनियर भए पनि यसरी उहाँसँग मेरो मित्रता हुन पुग्यो। 
त्यतिबेला आङ्दोर्जे लामाले चलाउनुभएको पत्रिका 'राजधानी'मा भीमबहादुर दाइ र पुरुषोत्तम बस्नेतलगायतले सघाउनुहुन्थ्यो, म पनि त्यसमा लेख्न थालेँ। त्यही बेला भारत प्रवासबाट बीपी स्वदेश आउनुभयो। बीपी र भीमबहादुर दाइबीच विशिष्ट सम्बन्ध थियो। सुशीला भाउजूसँग पनि अत्यन्त आत्मीय एवम् पारिवारिक सम्बन्ध थियो उहाँको। महिलालाई असाध्यै सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो भीमबहादुर दाइ। उहाँले बीपीपछि असाध्यै मान्ने अर्को व्यक्ति हुनुहुन्थ्यो सरोज कोइराला। सरोजको परिवारसँग पनि त्यत्तिकै आत्मीय सम्बन्ध थियो उहाँको। आफ्नो निजी घर–परिवारका विषयमा भने भीमबहादुर दाइले मसँग कहिल्यै कुरा गर्नुभएन र मैले पनि खोतलेर कुरा गरिनँ। तथापि उहाँका छोरा दीपक कहिलेकाहीँ मकहाँ आउने भएकाले सामान्य चिनजान थियो, कुराकानी हुन्थ्यो। 
०४६ को आन्दोलन चल्दा उहाँ अन्डरग्राउन्ड भई आन्दोलनमा सक्रिय हुनुहुुन्थ्यो। त्यतिखेर पनि लुकी–लुकी मकहाँ आउनुहुन्थ्यो। १/२ दिन बिराएर आउँदा खनासमेत मैकहाँ खानुहुन्थ्यो। त्यतिखेर कहिलेकाहीँ उहाँ पिउन पनि रमाइलो मान्नुहुन्थ्यो। तसर्थ एक दिन मैले त्यतिखेर चलेको 'इ ग्रान्ड अल' भन्ने हि्वस्की एक क्वाटर उहाँका लागि मगाइदिएँ र 'दाइ थाकेर आउनुभएको छ, आज अलिकता पिउनुहोस्' भनेर प्रस्ताव गरेँ। उहाँले थोरै खाएर अरू पछिका लागि बाँकी राख्न खोज्नुभएपछि मैले 'भोलिको के भरोसा दाइ, आजै त्यति खाइदिनुहोस्' भनेँ। रक्सी लाग्ला र होस् पुर्‍याउन नसकेर प्रहरीको फन्दामा परिएला भनेर उहाँले पूरा नपिउन खोज्नुभएको बुझेँ मैले। मेरो आग्रहपछि 'हो त लौ, म भरत उपे्रतीजस्तो त्यत्तिकै प्रहरीको फन्दामा पर्ने हुँ र? म त एकदम बाँकटे मारेर हिँड्छु, कसले पक्रन सक्ने?' भन्दै उहाँले बाँकी हि्वस्की पनि स्वाट्टै पिउनुभयो। ०४६ साल फागुन ७ गते अलिक हेलचेक्र्याइँ गर्दा भरत उपे्रती समातिएको सन्दर्भ उप्काउँदै भीमबहादुर दाइले त्यसो भन्नुभएको थियो। त्यस दिन मैकहाँ सुत्न आग्रह गर्दागर्दै नमानेर राति नौ बजेतिर उहाँ निस्कनुभयो। भोलिपल्ट त उहाँ कतै भेटिनुभएन, त्यही राति नै पक्राउ पर्नुभएछ। पछि नख्खु जेल गएर भेट्दा उहाँले भन्नुभयो, 'मूल सडकबाट जाँदा पक्राउ परिएला भनेर राजेन्द्र खरेलको घरतिरको बाटो गएको त खरेललाई ढुकेर बसेका पुलिसहरूले मलाई चिनेर 'झन् ठूलो माछो फेला पर्‍यो' भन्दै समाते।' यसो भन्दै उहाँ हँसाउनुहुन्थ्यो बेलाबेलामा। यस्ता धेरै प्रसङ्ग छन् जसलाई रमाइलोसँग उहाँ सुनाउनुहुन्थ्यो। 
भीमबहादुर तामाङबाट हामीले सिक्ने कुरा धेरै छन्। उहाँ ०६ सालदेखि नै शिक्षक बनिसक्नुभएको रहेछ। ०७ सालको क्रान्तिमा उहाँले भाग लिएजस्तो लाग्दैन मलाई, तर उहाँ ०७ सालको क्रान्तिलाई अभूतपूर्व मान्नुहुन्थ्यो अनि त्यही क्रान्तिले नै मुलुकमा प्रजातन्त्रको जग हालेको दाबी गर्दै सातसाले क्रान्तिको लामो र रोचक व्याख्या गर्नुहुन्थ्यो। उहाँले ०१३ सालमा नेपाली काङ्गे्रसको सदस्यता लिनुभएको रहेछ। पद्मशङ्कर अधिकारी उहाँका एक निकट मित्र भएकाले उनीमार्फत यो थाहा पाएको हुँ मैले। त्यसपछि उहाँले भद्रअवज्ञा आन्दोलनमा भाग लिनुभयो। ०१५ सालको चुनावमा भाग लिनुका साथै सशस्त्र आन्दोलनमा सहभागी भएपछि उहाँ बीपीको आँखामा पर्नुभयो। त्यसपछि त बीपी बाँचुञ्जेल बीपीकै नजिक रहनुभयो भीमबहादुर दाइ।  
सशस्त्र आन्दोलनमा होमिएपछि भीमबहादुर तामाङ कहिले जेल त कहिले निर्वासनमा पर्नुहुन्थ्यो। यी सबै हुँदै ०२९/३० तिर नेपाल आएलगत्तै पक्राउ पर्नुभयो। ०३३ सालमा बीपी स्वदेश फर्केपछि उहाँ छुट्नुभयो। यो समग्र कालखण्डमा उहाँले दर्शाउनुभएको भूमिका र व्यवहारबाट हामीले सिक्ने कुरा त धेरै छन्। मूल रूपमा कुनै पनि कुराको लोभ गर्नुहुन्न भन्ने उहाँको बुझाइ थियो। अर्थात्, लोभलई सीमित गर्नुपर्छ भन्ने धारणालाई व्यवहारमै उतार्नुभयो उहाँले। उहाँ सरल, साधारण जीवन यापन गर्ने व्यक्ति भन्ने त जगजाहेर छँदै छ। जीवनमा कुनै कुरा सङ्ग्रह गरूँ, पछिका लागि भनेर जागाड गरूँ भन्ने सोच पटक्कै राख्नुहुन्नथ्यो। उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो। बेलाबेलामा मलाई उहाँले यो पुस्तकमा यो छ, योचाहिँ जसरी पनि पढ्नु भनी सुझाव पनि दिनुहुन्थ्यो। पुस्तकमा भएका सारगर्भित कुराहरूको चर्चा गर्न रुचाउनुहुन्थ्यो। दर्शनको कोणबाट भन्नुपर्दा उहाँ अत्यन्त स्पष्ट हुनुहुन्थ्यो, कुनै पनि विषयको जडसम्म पुगेर कुरा गर्न सक्नुहुन्थ्यो। नेपाली काङ्गे्रस के हो, कुन रूपमा यो पार्टी अघि बढ्नुपर्छ भन्ने उहाँमा स्पष्ट दृष्टिकोण थियो। आममान्छेको व्यक्तित्व तथा सर्वाङ्गीण विकास लोकतन्त्रमा मात्र सम्भव छ भन्ने कुराको उहाँ गजबसँग व्याख्या गर्नुहुन्थ्यो। सबभन्दा महत्त्वपूर्ण कुरा त आज आदिवासी, जनजाति, महिला आदिका मुद्दा राज्यमा केन्द्रीय बहसको विषय बनिरहेको छ। यो मुद्दा स्वयम् जनजाति, आदिवासी, महिलाहरूले कल्पनै नगरेको बेला उहिल्यै बीपीले उठाउनुभएको थियो, तर पार्टीले त्यसलाई अङ्गीकार गरेर मुद्दाको उठान गर्न सकेन भन्दै भीमबहादुर दाइ बेलाबेलामा चिन्ता प्रकट गर्नुहुन्थ्यो। भीमबहादुर दाइका अनुसार त्यसो गर्न सकेको भए आज काङ्गे्रसका अगाडि अन्य दल असान्दर्भिक नै बन्न पुग्ने थिए।  
धेरैले भन्छन् भीमबहादुरलाई पार्टीले उचित सम्मान गरेन। तर, उहाँले यो कहिल्यै मान्नुभएन, आफूलाई पार्टीले उपेक्षा या अनादर गरेको ठान्नुभएन। उहाँको विचारमा मानिसको मनमा बस्न सक्नु नै सम्मान हो। कसले हो लेखेको पनि छ– भीमबहादुरजीले सभापतिमा उठ्दा 'जय नेपाल' त धेरै पाउनुभयो तर मतचाहिँ पाउनुभएन। उहाँप्रति श्रद्धा नभएको होइन तर काङ्गे्रसका 'क्यारिरिष्ट'हरूको पार्टीमा पकडका कारण 'आस्था र निष्ठा'ले पाखा लाग्नुपर्‍यो। उहाँ त आस्था र निष्ठाको एक जिउँदो–जाग्दो मिसाल हुनुहुन्थ्यो।  
उहाँ अयोग्य या क्षमता नभएको नेता भएर मत नपाएको होइन, उहाँलाई भोट हालेर के पाइन्छ र? भन्ने सोचका कारण पनि मतदाताले 'शक्ति'वालाहरूलाई भोट हालेका होलान्। साथीहरूले मलाई कम भोट दिए भनेर कुनै कुण्ठा, तिक्तता उहाँले कहिल्यै व्यक्त गर्नुभएन। सधैँ समभावमा रहनुभयो। त्यस्तै अनुकरणीय व्यक्तित्व हो उहाँ। कुनै पनि कुरालाई आत्मनिष्ट नभई वस्तुनिष्ट भावले उहाँ हेर्नुहुन्थ्यो।  
उहाँ शिक्षा, विकास आदि देश र जनताको समृद्धि हुने कुरामा निकै चासो दिनुहुन्थ्यो। अपरतामाकोसी निर्माणका सवालमा अत्यन्त दिलचस्पी राखिरहनुभएको थियो। त्यो बनेपछि तत्काल दुई हजार–पच्चीस सय मेगावाटका प्रोजेक्ट जनस्तरबाटै उक्त क्षेत्रमा थप सुरु हुनेछ भनी उत्साहका साथ सुनाउनुहुन्थ्यो। अहिलेको राजनीतिक समस्याको निकास चुनाव नै हो भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो। किनकि, देशको तागत भनेका जनता हुन्, जनताबाट शक्ति नलिई पार्टीहरूले केही गर्न सक्दैनन्, त्यसैका लागि अब जनताबीच गएर नै दलहरूले आ–आफ्नो शक्ति आर्जन गर्ने र त्यसकै भरमा यो मुलुक अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो उहाँ। वर्तमान राजनीतिक परिवेशका सन्दर्भमा काङ्गे्रस मात्र होइन सबै दलले स्वर्गीय भीमबहादुर तामाङको यो सोचलाई गम्भीरताका साथ मनन गरी कार्यान्वयन गर्न सक्दा मुलुकको भलो हुने देख्छु म।    
(वार्तामा आधारित
)

Read Full Discussion Thread for this article