Posted by: Geology Tiger October 27, 2012
'हवस्।'
Login in to Rate this Post:     3       ?         Liked by
खै कहाँबाट हो कुन्नी
म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु 'हवस्।'

शायद मैले जानेको नै यत्ति हो
म हरेकलाई हवस् भन्छु, 
हरेक चोटि हवस् भन्छु, 
र हरेक ठाउँमा हवस् भन्छु,
शायद मैले सानो छँदा देखि नै
हवस् भन्दै आए ।
शायद मेरो बाबाआमाले नै मलाई
हवस् भन्न सिकाए ।
तर कहाँबाट सिकें अनि कसले सिकाए
मलाई यो सब सोच्न फुर्सद नै छैन ।
मलाई त बस यत्ति मात्र थाहा छ, 
जव कसैले मलाई यसो गरिदेउ 
र उसो गरिदेउ भन्छ
म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु 'हवस्।' 

कसै कसैले त मलाई
हवसप्रसाद भनेर नामै राखे
मैले सोचे यो त अति भयो
म अव जसले जे गर भन्यो त्यो सबै मान्दिन, 
अरुको साध्य पूरा गर्ने मात्र एउटा साधन बन्दिन,
पुग्यो म अब यो नाटक अझ अरु गर्न सक्दिन, 
मुखका दुई कुनालाई जवर्दस्ती तन्काएर
अनुहारमा म कृतिम मुस्कान छर्न सक्दिन।
त्यतिकैमा कोही मेरो अगाडि आउछ
र मुसुक्क हाँस्दै मायालु स्वरमा
मेरो यती काम गरिदेउ न है भन्छ
तत्काल मेरो सारा अहम् लल्याकलुलुक हुन्छ, 
अनि म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु 'हवस्।'   

अरुलाई हवस् भन्ने चक्करमा
मैले कैयौ चोटि म भित्रको मलाई
नाई भनेको छु,  
पिल पिल पिल आसु झारेर
कैयौ चोटि रुवाएको छु।
खै म यो सब किन गरिरहेको छु
मलाई नै थाहा छैन।
यस्तैमा एक थरी आउछन्
र मलाई प्रश्न गर्छन्, 
'धत् यसरी नि जीवन चल्छ?
सबै ठाउँमा हवस् भन्ने होइन
नाई पनि भन्न जान्नुपर्छ।
यहाँ अरुबाट फाईदा लिनेहरु धेरै छन् ।
पहिले आफ्नोबारेमा सोच्न सिक।'
अनि म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
फेरि भन्छु 'हवस्।'
 
Last edited: 28-Oct-12 10:12 AM
Read Full Discussion Thread for this article