Posted by: _____ August 20, 2012
बेंगलोरमा आक्रमणको हल्ला, नेपाली विद्यार्थी र कामदार पनि त्रासमा
Login in to Rate this Post:     0       ?        
बेंग्लोरमा दंगा फैलिने त्रासले नेपाली धमाधम घर फर्किदै
 
(0 votes, average 0 out of 5)
एकै दिन सयभन्दा बढी फर्किए-
विक्रम गिरी, महेन्द्रनगर, भदौ ४- भारतको दक्षिणी क्षेत्र बेंग्लोरमा काम गर्दै गरेका नेपालीहरु त्यहाँ दंगा फैलिने त्रासले धमाधम घर फर्किन थालेका छन्। हिंसा फैलिने त्रासले नेपालीहरु दिनहुँ घर फर्किने क्रम बढ्दो छ। पश्चिमी नाका गड्डाचौकी भएर सोमबार एकै दिन सयभन्दा बढी नेपालीहरु घर फर्केका छन्। 
  आफूलाई असुरक्षित ठान्दै जागिर छाडेर झिटिगुन्टासहित उनीहरु घर फर्किएका हुन्।

बेंग्लोरवाट रेलमा ३६ घण्टाको यात्रा गरी भारतको राजधानी दिल्लीबाट बस चढी नेपालीहरु सीमावर्ती भारतीय शहर बनबासा पुग्न थालेका छन्। बनवासादेखी बैंग्लोर चार दिनको दुरीमा पर्छ। बैंग्लोरमा मजदुरी गर्न तथा पढ्न गएका नेपालीहरु साता यता घर फर्किन थालेका हुन्। घर फर्किनेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

मुश्लिमहरुको ईद पर्व चलिरहेको र सकिएपछि दंगा फैलिने त्रासले फर्किन थालेका घर आएकाहरुले बताए। 
'बेंग्लोरबाट फर्किनेहरु त्रसित मुद्रामा भेटिए' इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक नेत्र प्रसाद भट्टले भने, 'आक्रमणको त्रास फैलिँदै गएपछि फर्किनेको संख्या दिनहुँ बढ्दै छ।'

फर्किनेमा धेरैजसो सुदूरपश्चिम घर भएकाहरु रहेको उनले बताए।

'अछाम र बझाङका नागरिक बढी छन्' सई भट्टले भने, 'केही मध्यपश्चिमका जिल्लाका समेत छन्।' साता अघि मात्रै मजदुरी गर्न गएकाहरु समेत घर फर्किन थालेको उनले बताए।

केही महिनाअघि भारतको आसाममा दंगा फैलिएपछि त्यसको असर मुम्बई र बेंग्लोरमा समेत परेको छ। नेपाली र पूर्वोत्तर भारतका बासिन्दाहरु जागिर र सम्पत्तिको पर्वाह नगरी घर फर्किन थालेका छन्।

आफूहरु चढेको रेलमा ठूलो संख्यामा नेपालीहरु घर फर्केको मुकेशले बताए। घर फर्किनेमा बेंग्लोरमा पढ्दै गरेका नेपालीहरु समेत छन्। उनीहरु दिल्लीबाट जहाज र बसबाट घर फर्किन थालेका छन्।

ठूलो संख्यामा नेपालीहरु बेंग्लोर लगायतका दक्षिणी भेगमा मजदुरी तथा पढाइका लागि बस्दै आएका छन्।

'घर फर्किनेको तथ्याङ्क राख्ने गरेका छैनौं' गड्डाचौकीमा तैनाथ एक प्रहरीले भने, 'बेंग्लोरको अवस्थावारे जानकारी लिने काम मात्रै गरिरहेका छौं।'

 
Read Full Discussion Thread for this article