Posted by: _____ August 18, 2012
द जर्नल अफ क्याप्टेन किनलक
Login in to Rate this Post:     1       ?         Liked by
 

पुस्तक समीक्षा-’द जर्नल अफ क्याप्टेन किनलक’

इतिहासको आँखीझ्याल

मिलन संग्रौला ‘अकृत’

“इतिहास जित्नेहरुको मात्र कथा हो । जित्नेहरुको गाथा गाउँछ र हार्नेहरुलाई लत्कार्छ ।” प्राचीनकाल, रामायणकाल, महाभारतकाल हुँदै आधुनिककालसम्मका युद्धका इतिहास हेर्ने हो भने यो भनाईलाई अनुचित मान्न सकिँदैन । स्वभावै हो इतिहासका लेखकहरु शासक (युद्ध-बिजेता)को प्रभावमा हुन्छन् र उनीहरुकै पक्षपोषण गरेर लेख्छन् ।

हामीले स्कुले शिक्षादेखि आधुनिक नेपालको इतिहास पढ्दै आएका छौँ, जसको सुरुवात पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको मानिन्छ । इतिहास पढ्दै जाँदा हामीलाई शाहवंशको महात्म्य पढिरहेझैँ भान हुन्थ्यो । राष्ट्रभक्ति र वीरताको गाथाले सिँगारिएको हुन्थ्यो त्यो महात्म्य । त्यही इतिहास पढ्ने क्रममा एउटा घटना निकै चाख मानेर गर्वित हुँदै पढ्ने गरिन्छ । त्यो हो सिन्धुली-गढीमा अंग्रेज कप्तान किनलकको फौजसँग भएको युद्ध ।

अहिलेसम्म पढिदैँ आएको इतिहासमा उल्लेख छ : कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खालीहरुसँग लड्न सहयोगका लागि इष्ट इन्डिया कम्पनीलाई पत्राचार गरेपछि ब्रिटिशहरुले कप्तान जर्ज किनलकको नेतृत्वमा आधुनिक हातहातियारले सुसज्जित २४०० लडाकु नेपालतर्फ पठाउँछन् । र सिन्धुलीगढीमा आइपुगेपछि गोर्खाली योद्धाहरुले वीरता र चलाखीपूर्वक अंग्रेजहरुलाई परास्त गर्छन् र धपाउँछन् । पहाडमाथिबाट ढुंगा, घुएत्रा र अरिंगालका गोला बर्साएर गोर्खाली फौजले बहादुरीपूर्वक युद्ध जितेको वर्णन नेपाली इतिहासकारहरुका अधिकांश पुस्तकमा पाइन्छ ।

तर देशभक्तिलाई एकछिनका लागि पन्छाउँदै निष्पक्ष भएर सोच्ने हो भने प्रश्न उठ्छ : के गोर्खालीहरुको वीरता र चलाखीकै कारण त्यत्रो ठूलो सशस्त्र फौजपछि हट्न बाध्य भयो हो त ? अनि इतिहासलाई एक पक्ष मात्र नमान्ने एउटा पाठकले त्यस घटनाका अन्य कारण र अवस्थितिलाई पनि केलाउन थाल्छ । म पनि यही प्रकृतिको पाठक भएकाले म इतिहासलाई विभिन्न कोणले हेर्ने गर्छु । र यो युद्धसम्बन्धमा मेरो मनमा थुप्रै अनुत्तरित प्रश्न जन्मेका थिए ।

यिनै प्रश्नहरुको जवाफ र सिन्धुलीगढी युद्धको वास्तविकता बोकेको पुस्तक भर्खरै पढ्ने अवसर जुरेको छ ‘दि जर्नल अफ क्याप्टेन किनलक ।’ जगदम्बा प्रकाशनद्धारा प्रकाशित यस पुस्तकका लेखक तथा सम्पादक हुन् इतिहासकार योगेशराज ।

इतिहासका वास्तविकता बाहिर ल्याउनु चानचुने मिहेनतको काम होइन । यसका लागि विस्तृत खोज, अध्ययन र अनुसन्धान चाहिन्छ । शासक र समय अनुकुल इतिहास लेख्नेहरुका लागि यो पुस्तक वास्तवमै चुनौती भएर उभिएको छ । इतिहासका विज्ञ हुँ भन्नेहरुले गहन अनुसन्धान र विषयवस्तुलाई सबै कोणबाट गहिरिएर मात्र लेख्नुपर्छ भन्ने सन्देश यो किताबले दिएको छ ।

अङ्ग्रेजी भाषामा प्रस्तुत पुस्तक तीन भागमा बाँडिएको छ, जसका अन्तिम दुई भागमा अत्यन्तै महत्वपूर्ण ऐतिहासिक दस्ताबेज समेटिएका छन् । प्रथम भागमा इतिहासकारले पुस्तक र अन्तिम दुई भागको बारेमा संक्षिप्त परिचय समेटेका छन् । अन्तिम दुईभाग भागमा कप्तान किनलक स्वयम्ले लेखेको फोलियोहरु संग्रहित डायरी समावेश गरिएको छ ।

किनलकको डायरी पढ्दै जाँदा सत्रौ सताब्दीको कुनै उपन्यास वा आख्यान पढेको रोमान्च पैदा हुन्छ । अति उत्साहका साथ नेपाल हानिएको अँग्रेज फौज प्राकृतिक र वातावरणीय प्रतिकुलताले विस्तारै शिथिल हुँदै जान्छन् र सिन्धुली आइपुग्दा उनीहरुको शक्तिमा धेरै ह्रास पहिल्यै भइसकेको हुन्छ । कप्तान किनलकले सहयताका लागि कम्पनीमा पत्र पठाए पनि त्यसको कुनै प्रतिक्रिया पाउँदैनन् ।

नदीको घुमाउरो बहाब, घना जंगल, खोँच, भास, घनघोर बर्षा, जंगली जनावर आदिको कारणले फौज दिन प्रतिदिन संकटमा पर्दै जान्छ । त्यही माथि सीमित खाद्यान्न पनि सकिँदै जान्छ र फौज भोकमरीमा पर्ने सम्भावना हुन्छ । प्रतिकूलताका वावजुद उत्साह थप्दै बल्लतल्ल फौजलाई तराई कटाउन सफल हुन्छन् किनलक । तर अब उनको अगाडि ठाडो परेर उभिएका थिए अजङ्गका पहाड ।

अंगे्रजी फौज नेपालतर्फ अगाडि बढिरहेको थाहा पाएपछि गोर्खालीहरु सिन्धुलीगढीमा किल्ला जमाएर बसेका थिए । सिन्धुलीगढी पहाडको टुप्पोमा र अंगेजहरु भने त्यहीँ तल पहाडको नाके उकालो चढिरहेका थिए । सयौँ गाडा रासन तराईमै छुटिसकेको थियो । सबै बोकेर ल्याउनसम्भव पनि थिएन । बोक्नै पर्दा पनि हतियारलाई पहिलो प्राथमिकता दिनु पथ्र्यो । रासनको अभावमा सिपाहीहरु दिनैपिच्छे कमजोर हुँदै गलिरहेका थिए ।

यस्तो बिषम परिस्थितिमा पनि सिन्धुलीको किल्लामा धावा बोले उनीहरुले । गोर्खालीहरु अनुकुल स्थितिमा थिए । तलबाट माथि भिड्नु निकै कठिन हुन्छ । तैपनि दोहोरो भिडन्तमा त गोर्खालीहरुकै हताहत बढी थियो । तर अंग्रेजको मुख्य शत्रु त गोर्खाली नभएर त्यहाँको प्रकृति र अवस्थिति भएर आइदियो । अंग्रेज फौज भोक र बदलिदो वातावरणमा हेलमेल हुन नसकेर हताहत भइरहेका थिए ।

पछाडिबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएपछि अंग्रेजहरु गढीमा टिकिरहने स्थिति थिएन । उनीहरुपछि हट्न बाध्य भए । तर नेपाली इतिहासकारहरुले उल्लेख गरेजस्तो कप्तान किनलकको फौज युद्धमा कमजोर ठहरिएर वा हारेर फर्किएको स्थिति भने थिएन त्यो । यदि अन्य परिस्थिति अनुकुल हुन्थ्यो भने त्यत्रो ठूलो र आधुनिक हतियारले सुसज्जित फौजसँग गोर्खालीहरु के टिक्न सक्थे होला र ? सहजै अनुमान लगाउन सकिन्छ ।

कप्तान किनलकको डायरीबाट तत्कालीन नेपालको प्राकृतिक अवस्थिति, अनि आर्थिक-सामाजिक अवस्स्थाको आंशिक चित्रण पाउन सकिन्छ । उनले बारा, पर्सा र आसपासका ठाउँहरुको निकै सुन्दर बखान गरेका छन् । त्यहाँको प्राकृतिक सम्पतिको महिमा गाएका छन् । र यो ठाऊँ कम्पनीको कब्जामा आए निकै फाइदा हुने कल्पना गर्दै लोभिएका पनि छन् । वास्तवमा उनीहरुको उद्देश्य पनि मल्ल राजालाई सहयोग गरेजस्तो गर्दै अन्तमा नेपालमाथि प्रभाव जमाउने नै थियो भन्ने डायरीबाट प्रष्ट हुन्छ । तर परिस्थिति उनीहरुले सोचेजस्तो पटक्कै भएन ।

इतिहासलाई आफ्नो पक्षको कोणबाट नभई मानवीय कोणबाट अध्ययन गर्न चाहनेका लागि अति महत्वपूर्ण कृति बन्न पुगेको छ यो पुस्तक । तर इतिहासमा रुचि राख्ने सामान्य पाठकका लागि भने यो पुस्तक अध्ययन गर्न फलामकै चिउरा चपाए सरह छ । पुस्तकको मर्म सबैले सजिलै बुझ्ने गरी त्यो पालाको अंग्रेजीका शब्दहरु जो अहिले प्रचलनमा छैनन्, तिनीहरुको फुटनोटमा अर्थ खुलाइदिएको भए सुनमा सुगन्ध हुने थियो । अनि किनलककै हस्ताक्षरका केही पानाहरु स्क्यान गरेर राखेको भए झन् राम्रो हुने थियो ।

यद्यपि इतिहासकार योगेशराजबाट भविष्यमा अझ गहन ऐतिहासिक महत्वका कृतिहरुको आशा गर्न सकिन्छ । खासगरी इतिहासका विदेशी शोधकर्ताहरुका लागि लक्षित गरेर निकालिएको १४० पृष्ठको यस पुस्तकको मूल्य रु ४०० सय छ ।

Read Full Discussion Thread for this article