Posted by: _____ August 17, 2012
बेंगलोरमा आक्रमणको हल्ला, नेपाली विद्यार्थी र कामदार पनि त्रासमा
Login in to Rate this Post:     0       ?        
 
 
 
FRIDAY, 17 AUGUST 2012 09:38 नागरिक
 
(1 vote, average 1.00 out of 5)
मणि दाहाल, काठमाडौं, भदौ १- भारतको बेंगलोरमा पढ्दै गरेकी स्वयम्भू बिजेश्वरीकी बबिता अधिकारीले अर्को साता सुरु हुने परीक्षाको तयारी राम्रोसँग गर्न सकेकी छैनन्।   
असम राज्यमा भएको साम्प्रदायिक हिंसाका कारण बेंगलोरमा आफूमाथि आक्रमण हुनसक्ने भन्दै भारतको पूर्वोत्तर क्षेत्रका हजारौँले शहर छाड्न थालेपछि अधिकारीलाई परीक्षाभन्दा पनि सुरक्षा चिन्ताको विषय बनेको छ।
भारतको पूर्वोत्तर राज्यका बासिन्दाजस्तै देखिने भएकाले अध्ययन र रोजगारीका लागि बेंगलोरमा रहेका अधिकारीजस्ता हजारौं नेपाली चिन्तित भएका छन्। 'अगस्ट २३ बाट परीक्षा हुँदैछ, छाडेर फर्कन खोजेका थियौं,' इन्डो-एसिया एकेडेमीमा नर्सिङ बिएसस्सी प्रथम सेमेस्टर पढ्दै गरेकी अधिकारीले बिहीबार साँझ नागरिकसँग टेलिफोनमा भनिन्, 'कलेज प्रशासनले सुरक्षाको आवश्यक व्यवस्था मिलाउँछौं भनेपछि नफर्कने भयौं, तर हल्ला चलेपछि डर लागिहाल्दो रहेछ।'
कलेज प्रशासनसँग कुरा गर्दा विश्वविद्यालयले परीक्षा नसार्ने भएको र आक्रमणको हल्लामात्र भएकाले त्यसको पछि लागेर भविष्य नबिगार्न सुझाव आएपछि नफर्कने निर्णय गरेको अधिकारीले बताइन्। 'अन्य कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीसँग पनि कुराकानी भइरहेको छ,' उनले भनिन्।
कलेज प्रशासनले परिस्थिति शान्त नहुन्जेल बाहिर ननिस्कन सुझाव दिएको उनले बताइन्। उनले आफू पढ्ने कलेजमा मात्र करिब साढे २ सय नेपाली विद्यार्थी भएको बताइन्।
नागरिकसँग कुरा गर्दै सफ्टवेयर इन्जिनियरका रूपमा बेंगलोरमा काम गर्दै आएका झापाका सुशील पोखरेल र महावीर जैन अस्पतालमा नर्सका रूपमा काम गर्दै आएकी काठमाडौं पेप्सीकोलाकी स्मिता ढकाल र चिकित्साशास्त्र पढ्दै आएका कलंकीका विवेक घिमिरेले पछिल्लो अवस्थाले सुरक्षाको चिन्ता थपेको बताएका छन्।
भारतको पूर्वोत्तर राज्यका हजारौं बासिन्दाले आफूमाथि आक्रमण हुनसक्ने त्रासमा बेंगलोर छाडेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार बेंगलोरको रेल्वे स्टेसन पूर्वोत्तर राज्यका बासिन्दासहित नेपाल, भुटान र तिब्बतका नागरिकको भीड लागेकाले अस्तव्यस्त भएको छ।
बिबिसीसँग भारतका गृहसचिव आरके सिंहले पूर्वोत्तर राज्यका मानिसमाथि आक्रमण हुँदैछ भनी आएको विषय 'अफवाह' मात्रै भएको बताए। उनले भारतको कुनै पनि स्थानमा बस्ने पूर्वोत्तर क्षेत्रका नागरिकलाई कुनै खतरा नभएको जिकिर गरे। बेंगलोर प्रशासनले पनि 'अफवाह' मात्र भएकाले सुरक्षित रहन आग्रह गरेको छ।
'बेंगलोर प्रहरीका प्रमुखको नाममा सबैलाई आएको एसएमएसमा सुरक्षामा कुनै समस्या नभएको र अफवाहमात्रै भएको उल्लेख छ,' पोखरेलले नागरिकसँग भने।
असमका मुख्यमन्त्री तरुण गोगोइले पछिल्लोपटक महाराष्ट्रको पुनामा एक पूर्वोत्तर राज्यका विद्यार्थीमाथि आक्रमण भएपछि दक्षिणी भारतमा आक्रमणको त्रास फैलिएको बताएको पिटिआईले जनाएको छ।
पश्चिम रेल्वेले बिहीबार राति २ बजेभित्र बेंगलोरबाट पूर्वोत्तर राज्यमा जान २ हजार २० जनाले टिकट बुक गरेको जनाएको छ। घर फर्कन चाहनेका लागि बुधबारको बेंगलोर-गुवाहिटी एक्सप्रेसका अतिरिक्त दुइटा रेल व्यवस्था गरिएको थियो।

http://www.nagariknews.com.np/

 
 
Read Full Discussion Thread for this article