Posted by: Geology Tiger August 10, 2012
Clock is Ticking
Login in to Rate this Post:     0       ?        

खै त घडीको सुइ घुमेको घुम्यै छ, तर २५ जुलाई देखि १० अगष्ट सम्ममा साझा वेबसाइट हेर्ने हजारौ नेपालीहरु मध्येबाट परोपकार लागि गरिएको यो आव्हानमा एउटा पनि नेपालीको आँखा पुगेनछ अथवा भनौ एउटाको पनि मन पग्लेनछ । शायद यसको सट्टा कुनै अर्ध नग्न नायिकाको तस्बिर राखिदिएको भए मन मनबत्ती झै पग्लिन्थ्यो होला । कुनै काल्पनिक सिनेमाको दृष्‍य हेरेर रसाउने आँखा त मैले थुप्रै देखेको छु, वास्तविक जीवनमा अरुको दु:ख देखेर रसाउने आँखा पनि देखेको छु, तर ती आँखाको आँसु पुछ्न् सहयोग गर्ने मन कमैको हुदो रहेछ ।

अस्ति बिहीवार विस्कनसिनको गोली काण्डमा मारिएका सिखहरुको आत्माको शान्तीको लागि शिखहरुद्वारा गरिएको एउटा प्रार्थना सभामा पुगेको थिए । कति अनुशासित! कति सहयोगी भाव भएका मान्छेहरु ! हो त उनीहरु पनि हामी जस्तै मान्छे नै त हुन् नि तर उनिहरुको एकता देखेर म दङ परे । कसरी चलाएका होलान त्यो भव्य र बिशाल गुरुद्वारा ? त्यो गुरुद्वारामा जाने कोही पनि भोको पेट फर्कन पाउदैन । अनि कोही एकलाई आपत पर्दा पुरै समाज एक हुन्छ । हरेकले सकेको सहयोग गर्छ । मन मनै सोचे हामी नेपालीमा त्यस्तो किन छैन ? कुनै एउटा पूजा गर, कुनै एउटा साँगितिक कार्यक्रम गर, कुनै एउटा सामाजिक सहयोगको प्रस्ताव राख, यहाँ जहिले पनि सहयोग गर्ने हात भन्दा अर्ती दिने र कुरा काट्ने मुख बढी हुन्छन् । यो भएन, त्यो भएन, यसरी गर्नुपर्छ, यस्तो हुनुपर्छ, त्यस्तो गर्नुपर्छ..... आदी इत्यादी । शायद हामी नेपालीमा निस्वार्थ भावले सहयोग गर्ने संस्कार नै छैन जस्तो लाग्यो । हरेकलाई नाम चाहिन्छ, हरेकलाई मान र सम्मान चाहिन्छ । खै बुद्धले त परोपकार नै परम धर्म हो भनेर सिकाएका थिए, हिन्दू धर्मले पनि त्यही भन्छ । तर पनि आफ्नो जातियता र पहिचानको लागि भनेर एक आपसमा मारामार गर्न सक्ने तर एउटा परोपकारको कार्यमा सहयोग गर्न नसक्ने नेपाली दाजुभाइ दिदी बहिनीको बारेमा सोचेर मन खिन्न बनाउनु बाहेक के नै गर्न सकिन्थ्यो र ? एउटा खिन्न मन लिएर फर्के । सगरमाथाको उचाइलाई सम्झे, गोर्खालीको वीरतालाई सम्झे, तर त्यो खिन्नता कायमै रह्यो । साझाद्वारा आव्हान गरिएको यो दिल कोषमा सहयोग गर्नेको संख्या हेरे मन झन विरक्त भयो ...

 

Read Full Discussion Thread for this article