Posted by: aman August 6, 2012
तै चुप मै चुप...
Login in to Rate this Post:     0       ?        

विशिष्टहरूको शिष्ट वक्तव्य- Laxman Gamnamme


हाम्रो अग्रगामी सरकारले जनताको हितमा गरेका विभिन्न निर्णयलाई प्रतिगामी अदालतले बेलाबेला अवरोध पुर्‍याउँदै आएको सबैमा विदितै छ। देश र जनताको सेवा गर्दागर्दार् आफ्नो सम्पूर्ण जीवन समाप्त गरेर लखतरान भएका हामी विशिष्ट व्यक्तित्त्वहरूलाई सरकारले दिन खोजेका सेवासुविधा रोक्न खोज्ने न्यायालयको आदेश सोह्रै आना अन्यायपूर्ण छ।

हामीलाई विभिन्न सुविधा दिनुपर्ने कारण के हो भनेर सर्वोच्च अदालतले सरकारलाई सोधेछ। प्रश्न सुन्दै हाँसो लाग्दो। जुन कुरा घामभन्दा छर्लंग छ, त्यस्तो कुराको जवाफ दिन सरकारलाई कुन गाह्रो कुरा छ ! प्रस्टै छ नि, हामी पूर्वविशिष्टहरूले आफ्नो कार्यकालमा गरेका योगदानका लागि पेन्सनस्वरूप यो सुविधा दिइएको हो।

२०४६ सालपछिका हामी विशिष्टहरूले देश र जनताको उन्नतिका लागि गरेका महान् कार्यहरू जगजाहेरै छन्। ऊ बेला कुनै दिन जनताको हितका लागि हामीले गिटी, अलकत्रा, पुल र जहाजजस्ता अखाद्य वस्तु खानुपरेको थियो। कतिपटक हामीले खसी-बोकाझैँ किनबेच हुनुपरेको थियो। इतिहासमा लोग्ने जातका भएर पनि सुत्केरी हुने जस्तो विशिष्ट कार्य सम्पन्न गर्नुपरेको थियो। हामी विशिष्टहरूले नै हो, त्यत्रो वर्ष 'जनयुद्ध' लडेर १४ हजार जनताका छोराछोरीलाई सहिद बनाएर मुलुकलाई संसारभर िपरििचत गराएको। अनेक चमत्कार गरेर नयाँ नेपाल बनाएको। कसैले हाम्रो त्यो योगदानलाई भुल्न मिल्छ ?

देशको विकास गरेर नेपाललाई संसारकै एक नमुना देश बनाउने घोषणा कसले गर्‍यो ? हामीले। ठूल्ठूला हाइड्रोपावर निर्माण गरेर विदेशमा समेत बिजुली बेच्ने कुरा कसले ल्यायो ? हामीले। हिमाल, पहाड र तराईमा सडकको जालो बिछ्याएर मुलुकलाई विकासको चरमचुलीमा पुर्‍याउने सपना कसले बाँड्यो ? झापादेखि कञ्चनपुरसम्म दौडिने विद्युतीय रेलमा हुलेर नेपाली जनतालाई फिलिली पारेर कसले उडायो ? देशका ठाउँठाउँमा बनेका सुरुङ मार्गबाट नेपाली जनतालाई यताबाट उता र उताबाट यता फुत्तफुत्त पुर्‍याउने घोषणापत्र कसले जारी गर्‍यो ? नेपालका ठूल्ठूला सहरमा मेट्रो ट्रेनको जालोले ढपक्कै ढाक्ने कुरा कसले उठायो ? पर्यटन, उद्योग, कलकारखाना, कृषि, जडीबुटी आदि क्षेत्रमा अभूतपूर्व विकास गरी नेपाललाई विश्वको नयाँ गन्तव्यस्थल बनाउने घोषणा कसले गर्‍यो ? करोडौँ खर्च गरेर खडा गरेको संविधानसभामार्फत अर्बौं खर्च गरेर चार वर्षसम्म घम्साघम्सी गरेर विश्वकै उत्कृष्ट संविधान झन्नै कसले जारी गर्‍यो ? हामीले, हामीले, हामीले।

यति धेरै काम गरेर देशलाई यो स्थितिमा पुर्‍याउने हामी महान् पुरुषलाई हाम्रो योगदानको तुलनामा एकदमै थोरै सुविधा दिन खोज्दा पनि कोकोहोलो मच्चाउने नागरकि समाज, सञ्चारमाध्यम र अदालतप्रति हामी खेद व्यक्त गर्दछौँ।

हाम्रा केही सहकर्मी विशिष्टहरूले सुविधा फिर्ता गरेको पनि सुनिँदै छ, यसो गरेर कमरेड बाबुरामको दूरदर्शी र जनमुखी योजनालाई असफल पार्ने षड्यन्त्र नगर्न हामी उनीहरूलाई अनुरोध गर्छौं। दुई-चार जना नागरकिका समाजले रत्नपार्कमा अनशन बस्दैमा, केही सञ्चारमाध्यमले हाम्रा विरुद्धमा दुई-चार हरफ समाचार छाप्दैमा किन डराउनू ? किन लजाउनू ? बरू हामीले पूर्वविशिष्टको संख्या बढाउने र संगठन बनाएर प्रतिगामी नागरकि समाज, अदालत र सञ्चारमाध्यमहरूविरुद्ध आन्दोलन गर्नुपर्छ। आफ्नो र आफ्ना सात पुस्तासम्मका सन्ततिका बारेमा बेलैमा विचार गर्नुपर्छ। त्यसैले हामी भूतजस्ता भूतपूर्वहरूले गरेका अभूतपूर्व कर्म र योगदानको सम्मान गर्दै वर्तमान विशिष्ट कमरेड बाबुरामले गरेको यो दूरदर्शी निर्णयको रक्षा गर्दै अघि बढ्न सबै भूतपूर्व र पछि भूतपूर्व हुने सम्भावित विशिष्टहरूलाई अनुरोध गर्दछौँ।

Read Full Discussion Thread for this article