Posted by: _____ July 21, 2012
के हो सांस्कृतिक विचलन?
Login in to Rate this Post:     0       ?        
 

के हो सांस्कृतिक विचलन?

विवश वस्ती-
बाह्र वर्षअघि ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठले 'सांस्कृतिक विचलन' देखाएको आरोपमा जीवन गुमाउनुपर्‍यो। अहिले काठमाडौँ, लाजिम्पाटका प्रकाश दाहालले त्यही 'सांस्कृतिक विचलन'को आरोप झेल्नुपरेको छ। आखिर, के त्यस्तो जिनिस रहेछ, सांस्कृतिक विचलन भनेको? एउटाको त्यही विशेषणका कारण हत्या हुन्छ र अर्कोलाई फगत आक्षेपको तहमा मात्रै उभ्याइन्छ! 

उज्जन र प्रकाश दुवैमा रहेको एउटै समानता हो– तेस्रो विवाह गर्नु। तर, तेस्रो विवाह गरेका उज्जनले अमानवीय हिंसा र क्रूरताको सिकार बेहोर्नुपर्‍यो, प्रकाशले भने यतिबेला एउटा चर्चित नेपाली उखानजस्तै 'लुटको धनमा' सायद 'फुपुको श्राद्ध' गरिरहेका होलान्। फरक समय र परिवेशमा कथित सांस्कृतिक विचलनमा मुछिएका यी दुवै पात्रमध्ये एउटाले ग्रामीण भेगको रोमान्स र अर्काले सत्ताको उन्मादको झल्को दिलाउँछ। तथापि, एउटाको परिवारले अझै न्यायको ढोका चहारिरहेका छन् भने अर्काका सन्दर्भमा भने यी कुनै पनि कुरा लागू हुनेवाला छैनन्। राज्यसत्ताको दुरूपयोग गरेर सोहोरेका करोडौँ रुपियाँमुनि मोजमस्तीका नयाँ–नयाँ पोज र शृङ्खलाहरू रच्न तल्लीन छन् सायद दोस्रो पात्र।

यद्यपि, प्रकाश दाहालको अद्भूत र ह्याटि्रक प्रेम–प्रकरणपछि नेपाली वामपन्थी वृत्तमा अनेक प्रश्न उब्जिने क्रम यथावत् छ। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का एक मात्र सुयोग्य बरले गरेका दुनियाँ हँसाउने हरकतले राष्ट्रिय चर्चाको स्वरूप पाउनु कुनै अनौठो पक्ष पनि होइन। हिजो सत्ताको उन्मादले रन्थनिएका ज्ञानेन्द्र शाहका एकलौटी छोराले यस्तै हरकत गर्दा पनि चर्चा हुने गर्थ्यो। आज त्यही शैली र स्वरूपमा अर्का सत्ता–उन्मादीका सुपुत्रले उस्तै प्रकृतिका हरकत अपनाउनुलाई आपत्तिको विषय सायदै मान्न सकिएला। 

तथापि, प्रकाशले एकपछि अर्को श्रीमती फेर्दै जानुले भने कम्युनिस्टहरूका नैतिक, सांस्कृतिक र आचरणगत पक्षमाथि भने गम्भीर प्रश्नचिह्न उठेको छ। कम्युनिस्टहरू नैतिक रूपले सगरमाथाझैँ उच्च तहका हुन्छन् भन्ने भ्रम हिजो जनयुद्धकालीन अवस्थामा माओवादीहरूले नै आम जनसमक्ष वितरण गरेका थिए। यो विषयलाई माओवादीले मार्क्स, लेनिन, माओकालीन समयका उद्दरणहरू सापटी लिँदै आफ्ना पङ्क्ति र जनतासमक्ष पेस गर्ने गर्दथे। र, जनयुद्धका बेला त उनीहरूले त्यसलाई कार्यान्वयनकै तहसम्म उतारेका समेत थिए। ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको पासविक हत्या, त्यही कथित 'माओवादी नैतिकता'सित गाँसिएको थियो। उनलाई अत्यन्त क्रूर र पासविक तरिकाले हत्या गर्नुका पछिको कारक तत्व उनले गरेको 'तेस्रो विवाह' नै थियो। राज्यसत्ताको दुरूपयोग गरेर कमाएको पैसामा मोजमस्ती गरेका थिएनन् उनले र न त त्यही पैसाको उन्मादीपनमा उनले एकपछि अर्को श्रीमती भित्र्याउने लालसा नै राखेका थिए। उनले त आफ्नै पसिना बगाएका थिए र सबैलाई 'सन्तुष्ट' तुल्याएरै बाँचेका थिए। उज्जनको घाँटी रेटिनुमा माओवादीको कथित नैतिकता सायद हावी ठहरिएको थियो र त्यही कारण उनी मारिए। यस्तै–यस्तै 'नैतिक प्रश्न'हरूका बीच धेरै नेपालीले हिजोका भयावह दिनहरूमा सफाया, भाटे कारबाही र गाउँ निकालासम्मका मध्ययुगीन बर्बर सजायका साक्षी बन्नुपरेका छन्।    
प्रकाशको प्रेम–प्रकरणपछि माओवादीको नेतृत्व तहप्रति अनेक प्रश्न उठाइन थालिएको छ। कतिपयले भनेका छन्– हिजो सामान्य प्रेम अपराध वा कमजोरी ठहर हुँदा भाटे कारबाही र सफायासम्मका मार्ग अवलम्बन गर्ने माओवादीले अब आफ्नै हेडक्वार्टरका सदस्य, आफ्नै अध्यक्षका छोराले गम्भीर प्रेम अपराध गर्दा कस्तो कारबाही गर्लान्? अहिलेसम्मको स्थिति हेर्दा, प्रकाश र विना मगर दुवैलाई सम्बन्धित जिम्मेवारीबाट मुक्त गरिएका छन्। बस, त्यत्ति हो। यो माओवादीको हेडक्वार्टरले आफ्नो नाक जोगाउनका लागि गरिएको नाटकको अर्को भद्दा रूपभन्दा कुनै पनि अर्थमा फरक देखिँदैन। 
दुनियाँका छोराछोरीलाई नैतिकताको पाठ सिकाउने माओवादी अध्यक्ष प्रचण्डले आफ्नै सुपुत्रलाई चाहिँ त्यस्तो पाठ सिकाउन चुकेर यस्तो दुर्घटना भएको हो कि? यस्तो प्रश्न उठाउनेहरू पनि छन्। तर, दसबर्से युद्धकालीन अवस्थादेखि शान्ति प्रक्रियाका रङ्गीन दिनहरूमा प्रवेश गरेयताका समयसम्म बाबु–छोरा साथसाथै रहेका थिए। आफू नेपालका कुनै भू–भाग होस् वा विदेशी भूमिमा समेत जाँदा प्रचण्ड महोदयले छोरा प्रकाशलाई सँगसँगै लिएर हिँडेका कुरा जोकोहीलाई ज्ञात भएकै विषय हो। दक्षिण एसियाका अधिकांश नेताहरूले आफ्ना छोराछोरीलाई राजनीतिमा उतार्ने ध्येयस्वरूप प्रायः सँगै लिएर हिँड्ने र त्यहीअनुरूपको राजनीतिक प्रशिक्षण दिने गरिएको सन्दर्भ र पृष्ठभूमिमा माओवादी अध्यक्ष प्रचण्डले पनि छोरालाई त्यही रूपमा अघि सारेको सहजै अनुमान लगाउन सकिन्थ्यो। केही समयअघि 'इन्डिया टुडे'ले दक्षिण एसियाको राजनीतिमा वंशवादको रिपोर्टिङ गर्दा भारतका राहुल गान्धी, अखिलेश यादव, नवीन पटनायक, पाकिस्तानका विलावल अलि भुट्टोसँगै प्रकाशको कहानी पनि छापेको थियो। तर, यतिबेला बाबुको प्रयास व्यर्थ सावित भएका छन् र छोराले राजनीतिको होइन, रङ्गरसको बाटो रोजे। 

अध्यक्ष प्रचण्डले छोरालाई कम्युनिस्ट नैतिकतासम्बन्धी पाठ सिकाएनन् भन्न सकिन्न। अवश्य नै सिकाए होलान्। तर, उनको दिमागमा किन नैतिकताको पाठ घुसेन? एकपछि अर्की केटी फेर्दै र रोमान्स गर्दै हिँड्नुको पछाडि उनलाई कुन तत्वले अभिप्रेरित गर्‍यो होला? सर्वहारा वर्गको राजनीति गर्ने ठेक्का लिएर दस वर्षसम्म युद्ध लडेको पार्टीको हेडक्वार्टरका एक जिम्मेवार सदस्यले कसरी अभिजात वर्गका सन्तानहरूले देखाउने हर्कत गरे? यसले सर्वहारावर्गको राजनीति गर्ने र अभिजात्य वर्गको राजनीति गर्नेबीच के नै अन्तर देखियो र? अहिले प्रकाशको प्रेम प्रकरणसँगै यस्ता अनगिन्ती प्रश्नहरू सतहमा उत्रिएका छन्। र, कतिपयले के पनि भन्न थालेका छन् भने, हिजो बादल–पम्फा भुसालजस्ता चर्चितदेखि सामान्य कार्यकर्तासम्मका यौन–प्रकरण सतहमा आउँदा माओवादीको हेडक्वार्टरले जुन कडाइपन अपनाएको थियो, जसरी अधिकांशलाई पद–घटुवादेखि अन्य खाले कारबाहीसमेत अँगालिएको थियो, अब प्रकाश र विनाका सन्दर्भमा कुन रवैया अपनाउने हो? 
प्रकाशको प्रेम–प्रकरणपछि माओवादीको हेडक्वार्टरले त्यसलाई विशुद्ध 'सांस्कृतिक विचलन'को रूपमा अर्थ्यायो र उसलाई कारबाही गरेको जानकारी पनि बाहिर ल्यायो। तर, के यो विशुद्ध सांस्कृतिक विचलनको प्रश्न मात्रै हो त? के यो राजनीतिक विषय होइन? राजनीतिक प्रश्न होइन? दस वर्षसम्म युद्ध लडेको पार्टीको हेटक्वार्टरका एक जिम्मेवार सदस्यले देखाएको अनैतिक आचरण र व्यवहारलाई सांस्कृतिक विचलनको खोबिल्टामा लगेर पुरेपछि सबै कुरा अन्त्य हुन्छ? के यसलाई राजनीतिक क्षेत्रमा व्याप्त विसङ्गति, विकार र संस्कारजन्य कमजोरीका रूपमा स्वीकार्न सकिँदैन? यतिबेला यस्ता प्रश्नहरूको बौछार लाग्नु स्वाभाविक बनेको छ।

Read Full Discussion Thread for this article