Posted by: _____ May 23, 2012
यसकारण मिथिला राज्य
Login in to Rate this Post:     0       ?        

यसकारण मिथिला राज्य

(0 Votes)
 
   
प्रा. अमरकान्त झा

 
लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा अनेकौं मैथिलहरूले आफ्नो ज्यान न्यौछावर गरेका छन् । २०६३ को मधेस आन्दोलनमा ३८ जना सहादत गरेमध्ये २५ जना मैथिल थिए । आफ्नो पहिचानका लागि गत वैशाख १८ गते मैथिलहरूले गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा रंगकर्मी रञ्जु झा लगायत ५ जनाले जीवन उत्सर्ग गरे । यसअघि मिथिला राज्यको स्थापनाका लागि दृढ विचार बोकेका डा. लक्ष्मीनारायण झालाई पञ्चायतकालमा नै बेपत्ता पारियो ।

विश्वमै संघीय इकाइको निर्माणको एउटा मुख्य आधार भाषा पनि हो । देशमा बहुभाषिक स्थिति रहे पनि राज्यद्वारा अवलम्बन गरेको एकल भाषिक नीति (नेपाली भाषा) का कारण गैरनेपाली भाषाभाषी समुदाय शिक्षा, नोकरी, सञ्चार आदि क्षेत्रमा भेदभाव र सत्ताको पहुँचबाट बञ्चित रहँदै आएका छन् ।  जनगणना २००१ अनुसार, करिव २८ लाख मैथिली भाषाभाषी छन् । तदअनुसार देशमा मैथिली दोस्रो स्थान ओगटेको छ । मैथिली सबल, संसाधनयुक्त भाषा हो एवं यसको समृद्ध साहित्य छ । चौधौं शताब्दीमा ज्योतिरिश्वर ठाकुर एवं कवि कोकिल विद्यापतिजस्ता साहित्यकारको कारणले हिन्दी, बंगालीसहित उत्तर भारतका आधुनिक भाषालाई मैथिलीले मार्गदर्शन गरेको थियो । अठारौं शताब्दीसम्म मैथिली आसामदेखि सेनवंशी मकवानपुर एवं मल्लकालीन काठमाडौंसम्म सम्पर्क एवं राजकाजको भाषा रहेको थियो । तर नेपाल एकीकरणपश्चात् २ सय ४० वर्षदेखि देश अन्तर्गतका मैथिल भाषाभाषी समुदाय भाषिक विभेदको सिकार बने । त्यसर्थ भाषिक विभेदलाई अन्त्य गरी मैथिली भाषिक क्षेत्र मोरङदेखि बाराको सिम्रौनगढसम्म मिथिला राज्यको निर्माण हुनुपर्छ ।

नेपालको पूर्वीय तराईको करिव ८० प्रतशित मुसलमान लगायत ४० जातिको मातृभाषा मैथिली हो । यस समुदायको पहिचानको जीवन्त आधार मैथिली भाषा हो । यदि मैथिली भाषाजस्तो सशक्त सामाजिक सम्पदालाई शिक्षा, प्रशासन आदि महत्वपूर्ण क्षेत्रमा प्रयोग/विस्तार गरियो भने यसबाट यो समुदायको शिक्षा, रोजगारीको अवसर  हुँदै सत्तामा पहुँच अभिवृद्धि हुन्छ र अग्रगामी आर्थिक-सामाजिक परिवर्तन आउनेछ । झन्डै ७० प्रतिशत मैथिल समुदाय एकलभाषी अर्थात मैथिली भाषामात्रै जान्दछन् । उनीहरू गरिब, अशिक्षित एवं निम्न जाति र वर्गका छन् । आफ्नो भाषिक आधारमा राज्य निर्माण भएमात्र तिनको उज्ज्वल भविष्यको ढोका खुल्नेछ ।

अर्को पहिचानको आधार हो, गौरवपूर्ण इतिहास । वैदिककालमा स्वतन्त्र मिथिलाको गरिमामय विवरण महाभारत, रामायण, पुराण, बौद्ध एवं जैन धर्मग्रन्थमा भेटिन्छ । आर्य सभ्यताको उदयकालमा ज्ञानकेन्द्रको रूपमा रहेको मिथिला निमी र उहाँबाट उत्पन्न मिथीद्वारा स्थापित राज्य रहेको थियो । यसको बाइसौं राजा सिरध्वज जनक १५०० ई. पूर्व एउटा प्रतापी, दार्शनिक, सन्त क्षत्रीय राजा थिए, जो सीताका पिता थिए । हिन्दु दर्शनको स्थापना, संरक्षण एवं सम्बर्द्धनमा मिथिलाको अग्रणीय भूमिका छ । यसका अतिरिक्त ६-७ ई. पूर्व मिथिलामा सबैभन्दा पहिले गणतन्त्रको स्थापना भएको थियो, जुनबेला अन्तिम जनकवंशी राजा कराल दुराचारी रहेकोले जनक्रान्तिमा मारिए र त्यहाँ गणतन्त्रको सूत्रपात भयो एवं त्यसपछि समस्त उत्तर-भारत गणतन्त्रमय भैसक्यो । यसपछि ई. १०९७ देखि ई. १३२४ अर्थात २२७ वर्षसम्म सञ्चालित कणर्ाटवंशी शासन स्वतन्त्र मिथिलाको स्वर्णयुग मानिन्छ । त्यसबेला मिथिलाले आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले अत्यधिक उन्नति गरेको थियो ।

मिथिलाको वास्तुकला, मूर्तिकला, चित्रकला मौलिक छन् । यहाँको वास्तुकला र मूर्तिकलाका विलक्षण उदाहरण सिम्रौनगढको कंकालनी मन्दिर एवं जनकपुरको राम मन्दिर हुन् । मिथिलाको चित्रकलाको लोकपि्रयता युरोप, अमेरिका, जापानसम्म फैलिएको छ ।  यो क्षेत्र आर्थिक रूपमा अन्य क्षेत्रको तुलनामा बढी सबल छ । यो कृषिप्रधान क्षेत्र हो र देशको खाद्यान्न उत्पादनमा सराहनीय योगदान छ  । यी सबै पक्षलाई विचार गर्दा वैदिक युगका मिथिलाका राजधानी जनकपुर एवं मध्यकालीन मिथिलाका राजधानी बारा जिल्ला अन्तर्गत सिम्रौनगढ पूर्वीय तराईमा अवस्थित रहेकोले आफ्नो भाषिक क्षेत्रमा मिथिला राज्यको निर्माण अत्यावश्यक छ ।

मिथिला राज्यको माग लिएर सञ्चालित आन्दोलन उद्देश्यहीन रहेको र मधेसी हित विपरीत रहेको नकारात्मक सोच मधेसी दलको रहेको छ । यसअघि थारुहरूले आफ्नो पहिचानका लागि गरेको आन्दोलनमा कैयौं थारुहरूले सहादत दिए पनि मधेसी दलले थारुहरू अरूको बहकावमा आन्दोलन गरेको अभियोग लगाए । यस किसिमको दोषारोपणबाट कसैलाई लाभ हुँदैन । बरु मधेसी दलहरूले सम्पूर्ण मधेस-एक प्रदेश र तराईवासीलाई जोड्ने सम्पर्क भाषा हिन्दीजस्ता अवैज्ञानिक एवं अव्यावहारिक राजनीतिक सोचबारे पूर्नविचार गर्नु जरुरी देखिन्छ । देशको कुरा गर्दा संघीय सोच राख्नु तर तराई क्षेत्रको सवालमा एकात्मक दृष्टिकोण राख्नु विडम्बना हो । यिनीहरूको केन्द्रीकृत सोचले गर्दा मैथिल, थारु, भोजपुरी आदिको विविधतालाई उचित सम्वोधन हुने देखिंदैन । त्यसर्थ भाषिक, जातीय, सांस्कृतिक विविधता, समान समतल भौगोलिकजस्ता विशिष्ट पहिचान र सामथ्र्यका आधारमा तराईमा प्रदेशको निर्माण एवं राज्यको सबै निकायमा समानुपातिक/समावेशीकरण अनुरूप आरक्षण एवं अन्य सुविधाको व्यवस्था गरी समस्यालाई समाधान गर्नु उचित हो ।

तराईमा हिन्दीलाई सम्पर्क भाषाको रूपमा स्थापित गर्ने मधेसी दलको नीतिले गर्दा तराईमा अंग्रेजी र नेपालीजस्तै हिन्दी पनि अनिवार्य विषयका रूपमा पढाइनेछ । तराईका मैथिल लगायत अन्य भाषिक समुदायका बहुसंख्यक एकलभाषी वर्गका शिक्षार्थीले पनि यी भाषाका साथै संसाधनयुक्त मातृभाषा पनि पढ्नुपर्ने हुन्छ ।  फलतः चार-चार भाषाको बोझले गर्दा ज्ञान हासिल गर्न निकै अप्ठ्यारो पर्नेछ । नेपालीको कारण बहुसंख्यक एकलभाषी निम्न वर्गले संवादको समस्याबाट जुझिरहेको स्थितिमा हिन्दीको कारणले दोहोरो उत्पीडनमा पर्ने अवस्था आउँछ । हिन्द महाद्वीपको बृहत्तर संवादको भाषाको रूपमा रहेको हिन्दी भाषा हाम्रालागि जान्नु आवश्यक छ । त्यसका लागि सामान्यतः सिनेमा, टिभी, पत्रपत्रिका आदि ब्यापक सञ्चारमाध्यम नै पर्याप्त हुन्छन् । बढी आवश्यकता भए विशेष प्रशिक्षणद्वारा यसको ज्ञान अभिवृद्धि गर्न सकिन्छ । तर संविधानमा नै यसलाई सम्पर्क भाषाको स्तर दिनुभन्दा मैथिली लगायत यहाँका अन्य संसाधनयुक्त भाषालाई नै सरकारी कामकाजको भाषाको रूपमा केन्द्र र सम्बन्धित प्रदेशमा विकास गर्ने नीति लिनुपर्छ ।  

हुन त मधेसी दलहरूले मधेसी शब्दलाई झापादेखि कञ्चनपुरसम्म बसोबास गरिरहेका समुदायको एउटा साझा गौरवपूर्ण पहिचानको रूपमा लिन्छन् । तर यसको समीक्षा जरुरी छ । उनीहरूको सोचमा, 'मधेस' शब्द मध्यदेशको अपभ्रंस हो, जसको गरिमामय इतिहास छ । मध्यदेश भनेको आर्यावर्तको राजनीतिक अधिकारसम्पन्न देशको नाम नभई एउटा भौगोलिक क्षेत्रलाई बुझाउँछ, जसको सीमांकनबारे दुईवटा अवधारणा छन् । एक, आर्यावर्तको पाँच भाग- उत्तर, दक्षिण, पूर्व, पश्चिम र मध्य-मा मुख्यतः दिल्ली क्षेत्रदेखि प्रयाग -इलाहावाद) सम्म र हिमालयको तल भागदेखि विन्ध्यपर्वतसम्मको भू-भागलाई मध्यदेश भनिन्छ । जसअनुसार नेपालमा मध्यदेशको क्षेत्र पश्चिममा अवधी क्षेत्र कपिलवस्तुसम्म रहेको छ । यस्तो स्थितिमा रुपन्देहीदेखि झापासम्म बसोबास गर्ने तराईवासीलाई मधेसी कसरी भन्ने हो ! त्यसकारण मध्यदेशको सीमांकनसम्बन्धी पहिलो अवधारणाले मध्यदेशबाट 'मधेस' शब्द भएको सोचलाई स्वीकार गर्ने स्थिति छैन ।

दोस्रो, हिन्दीका विद्वान डा. धीरेन्द्र वर्माले आफ्नो लेख (१९२१ ई.) र पछि प्रकाशित पुस्तक (१९५९ ई.) मा लेखिएअनुसार, स्व. रघुनाथ ठाकुर, उपेन्द्र यादव लगायतका नेता प्रभावित भएको देखिन्छ । उक्त पुस्तकमा डा. वर्माले नेपालीमा लिखित बौद्ध धर्मग्रन्थ 'विनय पिटक' (महावाग्ग ५, १३, १२) मा बुद्धले मध्यदेश (मज्भिmम देश) को सीमांकन हिमालयको तल भागदेखि विन्ध्यपर्वत र दिल्ली क्षेत्रदेखि भागलपुर -चम्पा) सम्म रहेको उल्लेख गर्दै मध्यदेश वर्तमान समयमा 'हिन्दी प्रदेश' हो र यस विशाल भू-भागमा हिन्दीका अनेकौं बोली पाइने भएकाले उक्त सीमांकनलाई सही ठहराउनुभएको छ । वर्माको परिकल्पनामा नेपाल अन्तर्गतका झापादेखि कञ्चनपुरसम्मको भू-भाग कुनै समयमा मध्यदेशको अंग रहेको र यसको आफ्नो गौरवपूर्ण इतिहास रहेकोले यी भू-भागमा एउटा अखण्ड मधेस प्रदेश बन्नुपर्ने र यसको सम्पर्क भाषा हिन्दी हुनुपर्ने दृढ विचार मधेसी दलका नेताको रहेछ ।

वर्माको विस्तारित मध्यप्रदेशको अवधारणाको आधारमात्र 'विनय पिटक' रहेको र अन्य कुनै ऐतिहासिक प्रमाण भेटिएको छैन । मनुस्मृति (२, २१), एतरेय ब्राह्मण, वराहमिहिरको वृहत्संहिता

(संवत् ६४४), भारत यात्रा विवरणको लेखक अलवेरुनी (ई. १०८७) एवं भारतको प्राचीन इतिहाससम्बन्धी पुस्तकमा मध्यदेशको सीमाङ्कन लगभग दिल्ली क्षेत्रदेखि प्रयागसम्म रहेको पुष्टि हुन्छ । स्वयं डा. वर्माले विस्तारित मध्यदेशलाई हिन्दी प्रदेश भनेर त्रुटिपूर्ण आधार देखाउनुभएको छ । मैथिली र भोजपुरी हिन्दीको बोली छैन र यी दुबै स्वतन्त्र भाषाको रूपमा छन् । यदि भागलपुरसम्म मध्यदेश थियो भने नेपाल सीमाभन्दा दक्षिण विहारका मैथिली र भोजपुरी भाषाभाषी पनि आफैलाई मध्यदेशी भनेर चिन्हाउँथ्यो । त्यस्तै अजातशत्रु, चन्द्रगुप्त, अशोक, समुद्रगुप्त, विक्रमादित्य आदि मगधका पराक्रमी सम्राट मध्यदेशी भए कुनै न कुनै ऐतिहासिक प्रमाण पनि भेटिन्थ्यो । नेपालका शाहवंश, बाहुन र क्षत्रीय राजस्थान, कान्यकुब्ज आदि क्षेत्रबाट आएका हुनाले उनीहरू पनि मध्यदेशी हुन् अनि 'मधेसी' शब्दमात्र तराईवासीका लागि किन प्रयोग हुन गयो ? त्यसकारण मध्यदेशको सीमांकनसम्बन्धी दोस्रो अवधारणाले मध्यदेशबाट मधेस शब्द बनेको कुरालाई खारेज गर्छ । उक्त पुस्तक लेखनको स्पष्ट मानसाय बंगाली, तमिल आदि भाषाभाषीको तुलनामा हिन्दी भाषाभाषीको विशाल भू-भाग देखाएर भारतमा हिन्दीको सर्वोच्चत्ता कायम गर्ने संकुचित दृष्टिकोणले गर्दा मध्यदेशको विस्तारित क्षेत्रको सीमांकनमा लेखक पूर्वाग्रही हुनुभएको देखिन्छ ।

अनि प्रश्न उठ्छ कि तराईवासीलाई बुझाउने 'मधेसी' शब्द कहाँबाट प्रयोगमा आएको हो ? राणाकालीन समयदेखि यो शब्द चलनमा रहेको पाइन्छ । तर त्यसअघि तराईमा स्थायी बसोबास गरिरहेका समुदायले आफूलाई मधेसी भनेको कुनै दस्तावेज भेट्ने सम्भव छैन । यसको सही उत्पत्ति, अर्थ एवं आशय बुझ्न मल्लकालीन समयदेखिको दस्तावेजको खोजी गरी अन्वेषण गर्नुपर्छ । तर एउटा कुरा अनुमान गर्न सकिन्छ कि यो शब्दको प्रयोग काठमाडौंका शासकबाट भएकोले यसबाट तराईवासीहरूको सम्मानजनक साझा पहिचान स्थापित हुने स्थिति देखिंदैन ।

तसर्थ तराईमा भाषिक, सांस्कृतिक आदि विविधता एवं सामथ्र्यलाई विचार गरी प्रदेशको निर्माणबारे सबै राजनीतिक पक्षले विचार पुर्‍याउनुपर्छ । यसैक्रममा संघीय प्रणाली अन्तर्गत निर्माण हुने सबै प्रदेशमध्ये मिथिलाका लागि आवश्यक पूर्वाधार सबैभन्दा बढी सशक्त रहेको र भर्खरै पाँच-पाँच जनाको सहादतबाट बोझिल मैथिल समुदाय चुप लागेर बस्ने स्थितिमा नरहेकोले पूर्वीय तराईको मैथिल क्षेत्रमा मिथिला राज्य निर्माणबारे सबै दलहरूको ध्यान केन्दि्रत हुनुपर्छ ।

नेपाल प्राध्यापक संघका पूर्व उपाध्यक्ष झा राजविराजबाट लेख्छन् ।

Read Full Discussion Thread for this article