Posted by: chaurey May 17, 2012
आँसुदेखि मुस्कानसम्म
Login in to Rate this Post:     1       ?         Liked by

 

आँसुदेखि मुस्कानसम्म

विजयकुमार






काठमाडौ, फाल्गुन २७ - पहिलोपटक देख्दा त आफ्नै आँखामाथि विश्वास भएन । मेरोअगाडि एक यस्तो मानव आकृति उभिएको थियो, जसको मुहारको आधा भाग मानिसको जस्तो र बाँकी भाग कालो भुत्लैभुत्लाले भरिएको वनमान्छेजस्तो थियो । प्रकृतिको यो भद्दा मजाक एक अबोध बालिकामाथि भएको देखेर मेरो मन झनै विचलित भयो ।

गएको फागुन १४ गते ती बालिका मोडेल अस्पतालमा डा. शंकरमान राईको कक्षबाहिर उभिएकी थिइन् । सामान्यतया वरिपरि नहेरिकनै फटाफट हिँड्ने म आफ्नै आँखाअगाडि उपस्थित हुन आएको त्यो विषादयुक्त दृश्य देखेपछि अगाडि बढ्न सकिनँ । बच्चीसँग बोल्ने प्रयत्न गरें, उनले कुनै जवाफ दिइनन्, ट्वाल्ल परेर भावशून्य मुद्रामा हेरिन् मात्र । त्यत्तिकैमा छेउबाट आवाज आयो, 'नेपाली त्यति राम्रो बोल्दिन यो ।' मैले टाउको घुमाएर हेर्दा साधारण भेषभूषामा एक युवकलाई देखें । अर्जुन ओली नाम रहेछ । दोलखाका सामाजिक कार्यकर्ता । उनले छेउमै उभिएका एक अधबैंसे मानिससँग परिचय गराउँदै भने, 'कालुमान थामी, भावनाका बुवा ।'

यसरी मैले थाहा पाएँ, त्यो बच्चीको नाम 'भावना' रहेछ ! भावनाका पिता कालुमान थामी, दोलखाका दुर्गम पहाडहरूमा भारी बोक्ने एक गरिब भरिया रहेछन् । काठमाडौंबाट झन्डै ११ घन्टा बसयात्रा र थप सात घन्टा हिँडेर मात्र पुग्न सकिने दोलखा, कालिञ्चोक गाविसको डुसी खर्क, बेगुमपा नामक विकट लेकबस्तीबाट आएका कालुमान र उनकी छोरी भावना एकआपसमा थामी भाषा बोल्दा रहेछन् । कालुमान मलाई भन्दै थिए, 'खै के भनुँ हजुर, दुर्गम गाउँघरको ठाउँ, मेरो छोरीलाई बोक्सी भनेर वचन लाउँछन् । त्यो सुन्दा बिचरा मेरो बालखको मनमा के बिझ्दो हो, सोचेरै पनि मन अत्तालिन्छ । अरू मानिस त जीवनमा एकचोटि मर्छन्, मेरी छोरी त दिनदिनै कतिपल्ट हो कतिपल्ट मानिसका दुर्वचनले मर्छे । यसपटक बालदिवसको दिन छोरीको स्कुलमा उहाँ (अर्जुन ओली) ले देख्नुभएछ र यहाँसम्म आइयो । अपरेसन गरे बिसेक हुन्छ त भन्छन्, तर खर्चपानी केही छैन । भरिया मान्छे !' यति भनेर कालुमान भावशून्य भए ।

कुन्नि किन हो ? उनलाई त्यतिकै छाड्न मलाई मन लागेन । मैले सोचें, एक साधारण सामाजिक कार्यकर्ता ओलीले भावनालाई दोलखा, कालिञ्चोकको त्यो विकट लेकबाट यहाँसम्म ल्याइपुर्‍याएका छन् भने अगाडिको गोरेटोका निम्ति हामीले पनि केही गर्नुपर्छ । आजभोलि एकातिर सारा संसार आफूलाई 'फेयर एन्ड लभ्ली' बनाउने होडबाजीमा छ भने अर्कोतिर त्यस्तो मुहार लिएर बाँच्ने बाध्यता बोकेकी भावनाको मनमा आपmनो मुहारलाई लिएर कस्ता-कस्ता भावहरू आउँछन् होला ? यो कल्पनासमेत मैले गर्न सकिनँ । अझ भनौं, कल्पना गर्नसमेत मलाई अत्यास लाग्यो ।

त्यस दिन म मोडेल अस्पताल आफ्नी छोरी सारान्सिकाको एक साधारण उपचारको सिलसिलामा पुगेको थिएँ । तर भावना र उनका पितालाई देखेपछि त्यतिकै घर र्फकन मन लागेन । त्यस दिनअघि मैले डा. शंकरमान राईलाई जम्मा तीनपटक भेटेको थिएँ । परिचयको 'लम्बाइ' धेरै नभए पनि 'गहिराइ' चाहिँ कम्ती थिएन । डा. राईप्रति आदरको गहिराइ । शंकरमान दुई वर्षको छँदा उनलाई जन्म दिने आमा संसारबाट बिदा भइन् । आमालाई रोग खासै केही थिएन । त्यसबेला सोलुखुम्बुमा पर्ने माक्पागाउँमा सुत्केरी वेदनाले छटपटाउँदै सामान्य उपचारको अभावमा शंकरमानकी आमाले प्राण त्यागिन् । आमाको सम्झना र बुवाको प्रेरणाले कालान्तरमा शंकरमानलाई हेल्थ असिस्टेन्ट बनायो । तर उनी त्यसैमा रोकिएनन् । महाराजगन्जमा डाक्टरी पढे, बंगलादेश गएर सर्जन बने र अमेरिका पुगेर प्लास्टिक सर्जरीमा दक्षता हासिल गरे । तर, जीवनमा यतिका बदलावका बीच पनि डा. शंकरमानले गरिब-दुःखीहरूप्रति आफ्नो दायित्व बिर्सेनन् र नेपाल फर्केर आए । अध्ययनको सिलसिलामा अमेरिकाको भिसा लिन जाँदा दूतावासमा भिसा अधिकृतले सोधेको थियो, 'के तपाईंलाई थाहा छ ? अमेरिकामा प्लास्टिक सर्जनको तलब कति हुन्छ ?’ शंकरमानले जवाफ दिए, 'मलाई त्यो जान्न जरुरी छैन, किनभने पढाइ सकाएर म आफ्नै देश र्फकनेछु ।’

प्लास्टिक सर्जरीलाई मोटामोटी दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो भाग, कस्मेटिक सर्जरी, जहाँ तपाईं कुनै धनी महिलाको वक्षस्थलको नाप थप बढाउन वा घटाउन सक्नु हुन्छ । उनका तिघ्रा वा नितम्बलाई अझ बढी सुडौल पार्न सक्नु हुन्छ । यो काममा लाग्ने प्लास्टिक सर्जन कमाइका हिसाबले मालामाल हुने बढी सम्भावना रहन्छ । विदेशमा ठूलो माग भएको दक्षता हो यो । प्लास्टिक सर्जरीको अर्को मुहार बडा करुणामय छ, जसलाई 'रिकन्सट्रक्टिव सर्जरी' भनिन्छ । जन्मजात ओठ च्यातिएका खुँडेहरू, आगोले जलेर बीभत्स भएका शरीरहरू, दुर्घटनामा परेर अंगभंग भएका मानिसहरूलाई नयाँ जीवन दिने यो काम प्लास्टिक सर्जरीको 'दोस्रो हाँगो' हो । डा. शंकरमान राई र उनको टिम यही साधनामा व्यस्त छन् ।

नेपालमा प्लास्टिक सर्जरी विधा भित्र्याउने श्रेयचाहिँ डा. के. डी. जोशीलाई जान्छ । नेपालमा डा. जोशीले रोपेको बिरुवालाई शंकरमानले बडो दुःख, निष्ठा र लगनका साथ हुर्काएका छन् । नेपालका गाउँघरमा आगोले बच्चाहरू पोलिने धेरै ठूलो समस्या छ । विशेषगरी गरिबका घरमा, जहाँ अँगेना भुइँतल्लामा हुन्छ । दिउँसो बाउआमा खेतमा काम गर्न गएको बखत साना-साना नानीहरू भोक लाग्दा खानाको खोजीमा भान्छामा रहेको अँगेनाभित्र हात घुसाउन पुग्छन् । वा खेल्दाखेल्दै कतिपय दुर्घटना हुन्छन् । सहर-बजारमा पनि 'बर्न इन्जरी' केस आइरहन्छन् । त्यसैगरी विभिन्न दुर्घटनामा परेर जलेका मानिसहरूका निम्ति वा जन्मजात खुँडेहरूका समस्या पनि निकै जटिल छन् । यस पृष्ठभूमिमा मोडेल अस्पतालमा रहेका डा. राई र उनको टिमले विगत वर्षहरूमा नेपालका विभिन्न भागमा पुगेर २० हजारभन्दा बढी गरिबको निःशुल्क 'रिकन्सट्रक्टिव सर्जरी'  गरिसकेको छ । यो कामका निम्ति डा. राईको टिमलाई 'रिसर्ज इन्टरनेसनल' लगायत केही अन्तर्राष्ट्रिय संस्थाको सहयोगप्राप्त छ । सन् १९९६ देखि नेपालमा प्लास्टिक सर्जनको काम गर्दै आएका डा. राई सन् २००७ मा लब्धप्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार 'स्माइल टर्न हिरो अवार्ड' बाट सम्मानित भएका थिए ।

अन्तर्राष्ट्रिय रूपबाट पुरस्कृत प्लास्टिक सर्जन राई प्रचार खोजेर नहिँड्ने मानिस हुन् । तर जन्मजात ओठ च्यातिएर खुँडे भएका ओठहरूलाई, आगोले जलेर बीभत्स भएका शरीरहरूलाई वा विभिन्न दुर्घटनामा परेर अंगभंग भएका रोगीहरूका निम्ति भने उनीजस्ता चिकित्सकहरू 'चमत्कार' शब्दको अर्को नाम हुन् । शल्यक्रियापछि कतिपय अवस्थामा त रोगीले आफूलाई र उसका आफन्तले आपmनो रोगीलाई चिन्नैसमेत मुस्किल मानेका दृश्यहरूले डा. राईलाई ठूलो आत्मसन्तोष प्रदान गर्छन् । डा. शंकरमान र उनको टिमले गर्दा, कैयौं-कैयौं जलेर हिँड्न नसकेकाहरूले फेरि हिँडन पाएका छन्, अंगभंग भएकाहरूको अंग पुनःस्थापित भएको छ । डा. राई र उनको टिमले हजारौं हजार गरिब, दुःखीको आँखाबाट आँसु पुछेर, उनीहरूका ओठमा मुस्कान फर्काएको छ ।

नौ वषर्ीया भावना ती बीसौं हजारमध्ये एक हुन् । गत फागुन १४ गते भावनालाई पहिलाचोटि भेटेको दिन, उनका बाबु कालुमान थामीले पीडाले भरिएको स्वरमा मलाई भनेका थिए, 'खै के भनुँ ? अरूले मेरी छोरीलाई बोक्सी भनेर वचन लाएकोसम्म त सहेर बसिएकै थियो । एकदिन त भावनाको बहिनी, मेरै अर्की छोरी चम्पाले समेत भन्न थाली, बा मेरो अनुहारचाहिँ यस्तो सफा, अनि भावनाचाहिँ बोक्सीजस्ती कसरी भई ? त्यो सुनेर मेरो मन कस्तो भयो होला, तपाईं सोच्न सक्नु हुन्छ सर ? के तपाइर्ं सोच्न सक्नु हुन्छ सर ?' मैले जवाफ दिन सकिनँ । कालुमान थामीका हात समाएर सुमसुमाएँ । त्यत्तिकैमा हिक्कहिक्क गरेको आवाज सुनियो । बुवाको छेउमै रहेकी, भावना रोइरहेकी थिइन् । तर, बिचरीको आँखाबाट झरेका आँसुहरू, उनको आधा मुहारमा नदेखिने रहेछन्, आधा मुहारभरि उमि्रएका रौंको जंगलको बीचैबीच बगेर, भावनाका आँसु त कता हो कता हराउँदा रहेछन् ।

फागुन १६ गते डा. राईको टिमले भावनाको 'हेयरी मोल' रोग निदान गर्न  झन्डै साढे पाँच घन्टा अपरेसन गर्‍यो । अपरेसन खर्च निःशुल्क गरिदियो । कालुमानलाई काठमाडौंमा खानबस्न अलि सजिलो होस् भनेर हामीले पनि सानो सहयोग गर्‍यौं । हिजो फागुन २६ गते बिहान कालुमान र भावनालाई भेटदा मलाई बेग्लै सन्तोषको अनुभूति भयो । उनीहरू छ महिनापछि फेरि चेकअपका निम्ति काठमाडौं आउने गरी घर फर्किने तयारीमा रहेछन् । १२ दिनअघि सुकसुक गरेर रुने भावना र पीडाले भरिएको आवाजमा बोल्ने उनका पिता दोलखाका भरिया कालुमान दुवैको मुहारमा मन्दमन्द मुस्कान थियो । भावनाको मुहारमा मलम लगाइएकाले उनको अनुहार त्यति सफा थिएन । तर भावनाको पुरानो पीडादायक रूप धेरै हदसम्म कम भइसकेको थियो । हामीले भावनालाई मुख हेर्ने ऐना दियौं । भावना धेरैबेरसम्म ऐनामा आफ्नो मुहार हेरेर बसिन् । मचाहिँ कहिले भावनालाई र कहिले डा. शंकरमानलाई हेर्न थालें । खुसीले मन भावुक भएर आयो । थप सुधारका निम्ति अर्को वर्ष भावनाको फेरि अपरेसन हुनेछ । सलाम डाक्टर शंकरमान राई ! सलाम ! धेरै-धेरै भावनाहरूले भरिएका हजारौ अश्रुपूर्ण नजरहरूले दिएको आशिष तपाईं र तपाईंको टिमलाई लागोस् ! 

 

विजयकुमार
तस्बिरहरुः नरेन्द्र श्रेष्ठ/ईकान्तिपुर
 

Read Full Discussion Thread for this article