Posted by: _____ May 1, 2012
नवउपनिवेशमा कूटनीति
Login in to Rate this Post:     1       ?         Liked by

नवउपनिवेशमा कूटनीति

 
  सौरभ   
पेपर टाइगर (कागजी बाघ) भन्ने गथ्र्यो, सांस्कृतिक क्रान्तिकालको चीनले अमेरिकालाई । तर अमेरिकाले भने चीनलाई स्पिलिङ टाइगर -सुतेको बाघ) भन्न कहिल्यै छोडेन । अर्थात् चीनसँग केवल आक्रोश थियो । तर मकाउदेखि ताइवानसम्म विभाजित, तिब्बत र सिनकियाङसम्म द्वन्द्व र अनेक दैवीप्रकोपमा परेको चीन जुर्मुराएर उठ्दै छ भन्ने अमेरिकाले उतिबेलै बुझेको थियो । उसले स्लिपिङ टाइगर त्यसै भनेन । त्यो शब्द र संज्ञाकै मात्र कुरा होइन । यो उदाहरणपछि नेपालका सन्दर्भमा पनि पश्चिमका सयौं शब्दहरूले भारतको साथ लिएर जानाजान के र कसरी मनोवैज्ञानिक लडाइँ लडिरहेका छन् भन्ने कुराका केही उदाहरण अब पेस गरिनेछ ।

एक

चेरूक्की नेसन/सियोक्स नेसन आदि लेख्छन् अमेरिकीहरू । अर्थात् रेड इन्डियनहरूको चेरूक्की ट्राइब, जातीय जमात/सियोक्स जातीय जमात । तर त्यही नेसन शब्द नेपालीमा लिम्बु नेसन र गुरूङ नेसन अर्थात् राष्ट्रियताको पर्यायवाची बनाएर हुनसम्म अनर्थ र राजनीतिक दुरूपयोग गरिरहेका छन्, पश्चिमाहरू । र पश्चिमकै अर्थमा जाने हो भने जर्मनीमा नश्लीय राष्ट्रवादको पर्याय हो नात्सिजम, अन्तर्राष्ट्रियलाई भनिन्छ इन्तरनात्सियोनाल । अर्थात् नेपालमा चलिरहेको एथ्निसिटी -जातीयता) लाई नाजीवाद भन्न किन नथाल्ने ? हाम्रा थारू र मगरले होइन, पश्चिमले नै जवाफ देओस् ।

दुई

इन्डिजिनसको नेपाली अनुवाद आदिवासी गरिएको छ । युरोपियनहरू अमेरिका पुग्दा त्यहाँ पहिला नै रेड इन्डियन थिए, अष्ट्रेलिया पुग्दा माओरीहरू त्यहाँ पहिला नै थिए । यसैले रेड इन्डियन्स आदिवासी र युरोपियनहरू आफू आगन्तुक हुने नै भए । त्यसो भए सन् १७२१ मा दुई फिरङ्गी पहिलोपटक नेपाल आउँदा यहाँ के राई र लिम्बु प्रभृतिमात्र थिए त ? तर कोलम्बसले आफू इष्ट इन्डिज पुगेको ठानेर आजका अमेरिकीलाई दिएको रेड इन्डियन भन्ने संज्ञालाई नै लिने हो भने पनि इन्डिजिनस शब्दले भारतीय मूलकोलाई मात्र आदिवासी बनाउँछ, नकि मंगोलियन मूलको तामाङ र गुरूङ प्रभृतिलाई । किनभने उतिबेला पश्चिमले इन्डियालाई नै आधार मानेर इन्डोचाइनादेखि इन्डोनेसियासम्मलाई इन्डिज भन्थ्यो । तर वर्णाश्रममा नपर्नु नै आदिवासी हुनु हो भने अंगीकृत नागरिकता पाएकी बार्बरा लगायत सबै फिरंगीहरू पनि नेपालका आदिवासी हुनुपर्‍यो । यो राई-लिम्बुभन्दा फिरंगीलाई नै अन्ततः नेपालका आदिवासी मान्न बाध्य पार्ने खेल हो, पहिला ढोकाबाट अरूलाई छिराएजस्तो गरेर पछि आफै छिर्ने ।

तीन

मेडिसाँ साँ फ्रन्तिए (सीमारहित स्वास्थ्यसेवा), रिपोर्तार साँ फ्रन्तिए (सीमारहित समाचारदाताहरू) आदि फ्रेन्च परिकल्पना अन्तर्गतका 'सीमारहितताहरू' हामीकहाँ अति लोकपि्रय छन् । तर अरूका सीमा नाघेर हस्तक्षेप गर्ने अधिकार यिनलाई कसले दियो ? के यिनीहरू जासुसी, सूचना सङ्कलन र नीतिगत हस्तक्षेप गर्ने गुप्त उद्देश्यका निम्ति सीमारहितता नाउँका उदारवादी झण्डा बोकेर घुसपैठ गरिरहेका त छैनन् ? भनेर कुनै पत्रकार/स्वास्थ्यकर्मीले आजसम्म सोचेको छ ? आईएफजेलाई नेपालका बारेमा आदेशनिर्देश दिने अधिकार के छ ? भनेर उसले प्रश्न कहिल्यै गरेको छ ?

चार

ग्लोबलाइजेसन यस्तो लोकपि्रय शब्द बनेको छ, नेपालीका निम्ति मानौं यो १९८० दशकका रूसी शब्दहरू पेरेस्त्रोइका र ग्लासनोस्तको सम्मिश्रण हो । तर ती दुवै शब्द अमेरिकी विश्वविद्यालयमा जन्माइएका थिए, जसको कारण तत्कालीन सोभियत संघ १६ टुक्रा भयो भन्ने कुराको हेक्का यता देखिँदैन । अर्थात् ग्लोबलाइजेसनको अर्थ हो वामपन्थीहरूले भनेजस्तै नवउपेनिवेशवादी सांस्कृतिक, वैचारिक यावत् अतिक्रमण र प्रभुत्वलाई सहजै स्वीकार गर्ने मानसिकताको विकास गराउनु ।

पाँच

'सर्वधर्म समभाव' को अचेल खुबै चर्चा छ यता, कथित 'अन्तरधार्मिक परिषद्'को कारण । जबकि यो भनाइ परम्परागत सनातन धर्मले उतिबेलै निर्माण गरेको सिद्धान्त हो । तर गेरूवस्त्र र टीका लगाएर, रूद्राक्ष झुन्ड्याउने एकथरीले आजभोलि यो वाक्य चाहिनेभन्दा बढी घन्काएको सुनिन्छ । धर्मनिरपेक्षताको प्रावधान अन्तरिम संविधानमा भएलगत्तै यो वाक्यको जगजगी किन भइरहेको छ भने अन्य धर्मको अतिक्रमणप्रति सहिष्णु हुनुपर्छ भनेर पहिला नै मानसिक तयारी गराउनु । तर आफूले अरूलाई पागान र काफिर भन्ने गरेको आरोपचाहिँ कायमै राखेर । आफ्नो अतिक्रमणप्रति नरम गराउने उपाय हो यो, जुन शब्द ब्रह्मा, विष्णु मान्नेहरूमात्र होइन, सुम्निमा, पारूहाङ, थुङथाङ्वा, हिमसाम्माङ समेटेको मुन्धुमहरू मान्नेका विरुद्ध पनि लागू हुन्छ ।

विनिर्माण टुप्पाबाट पलाएका समकालीन वामपन्थीहरूको अतिपि्रय शब्द हो । ज्याक डेरिडा, पाउलो फ्रेरे, ग्राम्सी, नोआम चोम्स्कीको नाम नलिई ती विनिर्माणवादीहरूको कुनै निबन्ध पूरा हुँदैन । जो केही निर्माण गर्न नसकेकैले विनिर्माणका कुरा गरिरहन्छन् । तर भएका रैथाने मान्यताहरूको विनिर्माण नगराई नयाँ आफ्ना मान्यताहरूको स्थापना गर्न विदेशलाई सजिलो हुँदैन । र रैथाने विनिर्माणवादीहरू आफैं धमिराजस्तो जन्मिन्छन् भने त्योभन्दा अनुकूल वातावरण पनि पश्चिमका निम्ति अर्काे हुँदैन ।

सात

'भीमसेन्ज फली' हाम्रा अंग्रेजीबाजहरू धरहराको ठाउँमा लेखिदिन्छन् । भीमसेन थापाको मूर्खता बुझाउने यो संज्ञा पहिलोपल्ट एम्बोस ओल्डफिल्डले १८५० मा दिएका थिए । तर अहिले हाम्रा अंग्रेजीबाजहरूका निम्ति यो संज्ञा धरहराको पर्यायवाची भएको छ । त्यसो भए हामीले इफेल टावरलाई इफेल्ज फली, स्टाचु अफ लिबर्टीलाई बार्थाेल्डिज फली भने

हुँदैन ? तर हामी आफैले आफैंलाई मूर्ख भनिरहेका छौं, जो उसले भन्न/भनाउन चाहिरहेको थियो । मूर्ख कालिदास भइरहेको पत्तो नहुनुको योभन्दा टड्कारो उदाहरण पनि नहोला ।

आठ

बिब्लियोग्राफीको नेपाली अनुवाद सन्दर्भसूची हो । तर लप्सीदेखि लेप्चासम्म नेपालको बारेमा जतिसुकै लेखियोस्, एउटा पश्चिमाले लेखेको पुस्तकको सन्दर्भसूचीमा नेपाली लेखक र उसको कृतिले अपवादबाहेक कुनै ठाउँ पाउँदैन । एङकोर वाटको बारेमा कुनै क्याम्बोडियन, पिरामिडको बारेमा कुनै इजिप्सियन, राराको बारेमा कुनै नेपाली अर्थात् रैथाने विषयमाथि रैथानेलाई विज्ञ मान्न ऊ तयार छैन । तर हाम्रा पुस्तकहरूको प्रतिष्ठा भनेको उसैलाई हुनसम्म उद्धृत गर्नु र उसैलाई विज्ञ मान्नु हो ।  आफ्ना विषयमा अर्काे विज्ञ हुन्छ र हो भन्ने मान्यतालाई स्थापित गरेको छ, बिब्लियोग्राफीले  तर कुनै रैथाने विज्ञले रैथाने विज्ञहरूका पुस्तकहरू मात्रै आधिकारिक मानेर सन्दर्भसूचीमा हालोस्, त्यसविरूद्ध प्रयोग गर्नलाई पश्चिमाहरूको बनिबनाउ वाक्यांश पहिला नै तयार छ । त्यो हो- गार्बेज इन, गार्बेज आउट ।

नौ

लोकतन्त्र पंक्तिकारले कहिल्यै प्रयोग गर्ने शब्द होइन । कथित संघीय नेपालको एउटाचाहिँ सदनको नाम भारतीय तल्लो सदन लोकसभाकै नाउँमा राख्नलाई गरिएको यो पूर्वतयारी हो । त्यसैगरी राज्यसभा/विधानसभाजस्ता नयाँ नाउँहरू आउनेछन् । नेपाल भारतको नयाँ प्रतिलिपि -रेप्लिका) बन्नेछ । जबकि नेपालको संविधानमै नेपाली मुद्राको नाम रूपैयाँ नराखी अरू नै राख्नु जरूरी छ । भारतको, पाकिस्तानको, श्रीलंकाको, इन्डोनेसिया आदिको अर्थात् पूर्वउपनिवेशहरूको मुद्राको नाम पनि रूपैयाँ हुने, नेपालको पनि हुने किन ? नेपाल भारतवर्षभित्र पर्दैन । त्यसैले रूपैयाँ राख्नुको अर्थ पनि छैन । तराईको ढेला, नेवारीको ढेवाजस्ता प्रशस्तै एथ्निक शब्दहरूले मुद्राका अंकहरू

-डिनोमिनेसन्स) को काम गर्न सक्नेछन् । राई, मगर, गुरूङ, लिम्बु, थारू भाषामा पनि मुद्राका निम्ति आआपmना शब्दहरू होलान् । तिनलाई टिपे हुन्छ । तर लोकतन्त्र भन्ने बानी जो बसेको छ, लोकसभाको निम्ति संविधान पनि उसैले देला ।

दस

धर्मसापेक्ष संविधान भन्नेबित्तिकै राजा फर्काउने योजना भन्ने आरोप माओवादी र उसका सहयोगी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू एवम् दूतावासहरूले चर्काउन लगाउँछन् । तर चर्च अफ इङल्यान्डको पक्षधरलाई कन्जर्भेटिभ पार्टीको सदस्य भन्ने 'रेडिमेड' आरोप बनेको छैन । धर्मसँग राजतन्त्रलाई यसकारण गाँसिरहिएको छ कि ज्ञानेन्द्र शाहको व्यक्तिगत अकर्मण्यको मुखुन्डो जबर्जस्ती लगाइदिइराखिएको छ, नेपाल निर्माणको लिगेसी पुनःस्थापित होला भन्ने पश्चिमाहरूको आफ्नो सन्त्रासमाथि । जुन लिगेसीलाई पृथ्वीनारायण शाहसँगको २ सय ५० वर्षदेखिको रिसको कारण ध्वस्त पार्नुपरेको छ । त्यसैकारण पनि २ सय ५० वर्षदेखिको एकात्मक शासन भनिराखिएको हो । जुन वाक्चाल/शब्दविन्यास/सम्प्रेषण विधि पश्चिम र भारत मिलेर अपनाइएको छ, त्यसलाई त्यो कथित युवा पुस्ताले बोकेर हिँड्छ, २०५२ मा माओवादी द्वन्द्व सुरू हुँदा जसको नाइटो झरेको थिएन ।

एघार

इन्क्ल्युसिबको अनुवाद समावेशी/समेटाइमूलक झट्ट सुन्दा सटिक नै लाग्छ । तर यसले अल्पसंख्यक वा शिक्षा र सक्षमताले प्रतिस्पर्धा गर्न नसक्नेहरूलाई चोरबाटोबाट 'एक्स्क्ल्युसिब' अर्थात् विशिष्ट बनाइदिएको

छ । बाबरी मस्जिद ढलेलगत्तै भारतीय जनता पार्टीको उठानमाथि सरदार खुशवन्त सिंहले एकपटक टिप्पणी गरेका थिए- राष्ट्रिय एकताका नाममा अल्पसंख्यकलाई चाहिनेभन्दा बढी सहुलियत दिएपछि त्यसले यस्तै उपद्रवहरू ल्याउँछ ।

बाह्र

पोष्ट मोडर्निजमको अनुवाद उत्तरआधुनिक आफैंमा गलत सुनिँदैन पनि । तर बाह्रौंं शताब्दीका तुलनामा तेह्रौं शताब्दी उत्तरआधुनिक हो । पंक्तिकारले लेख्दालेख्दैको समय आधुनिक हो, पाठकले पढ्दापढ्दैको समय उत्तरआधुनिक हो । यसैले यसको बनोट नै गलत छ । तर मर्मचाहिँ त्यही नै होइन । डुमाखाल उत्खननसँग जोडिएका एक अनुसन्धानकर्ताले यावत् पुरातात्त्विक वस्तुहरू 'थियोडोर' लाई बेचेपछि, बेच्ने चन्डाल र किन्ने 'भन्डाल' भए । त्यसमा तपाईंको भनाइ के ? भन्ने प्रश्नमा अर्का अनुसन्धानकर्ताले भने- त्यो त उत्तरआधुनिक हो । त्यसो भए सिल्भिया लाफाङ्कीले चार बाकस सामान भक्तपुरमा फर्काएजस्तो उसले फर्काएको छ त ? उत्तर आएन । अर्थात् उत्तरआधुनिक यस्तो शब्द हो, जसले सम्पूर्ण सांस्कृतिक, सामाजिक, राजनीतिक धरोहरहरूमा घुसपैठ गर्ने र त्यसलाई 'द फिलिपिन्स'जस्तो मेकालेवादी -नश्ल स्थानीय, सभ्यता र सोचले पश्चिमको दास) पश्चिमा अनुहार दिलाउनमा मद्दत गर्छ । मेकालेवादको निम्ति परिस्थिति अनुकूल बनाउँछ । फ्याउरोको पुच्छर चुँडिनु नै जंगलको आधुनिक फेसन हो भन्ने मान्यतालाई स्थापित गर्छ । त्यसैले नेगि्रटोका ठाउँमा र्‍याग्गी र ज्याज भित्र्याएर नेपाली नेगि्रलो हुने हीन मानसिकताको जग हाल्छ ।

तेह्र

२ सय ४० वर्षको एकात्मक शासन व्यवस्था भन्ने उच्चारण गरेपछि क्रान्तिकारी, परिवर्तनवादीमा सहजै दर्ता हुन पाइन्छ । तर भन्न खोजेको के ? पृथ्वीनारायण शाहभन्दा अघिका मल्लहरू, लिच्छविहरू, अझ गोपालवंशीहरू के विपश्वी र क्रकुच्छन्द बुद्धहरू थिए ? कुन शासन व्यवस्था, मुलुक र त्यसको शासकले राष्ट्रको बाँदरकाट गर्ने अनुमति दिन्छ, दिएको छ र दिइरहेको छ ? लागू गर्ने नै एकात्मक शासन व्यवस्था हो । इलाका र क्षेत्रहरू लुटेर खान पाइनँ भनेर बाँदर घुर्की लगाउने भावी युद्धसरदारहरूको पि्रय वाक्य हो यो, जसलाई हामी प्रजातन्त्र भनिरहेछौं । अर्काे देशलाई अस्तव्यस्त पार्नु भनेको त्यसको व्यवस्था र इतिहासको कुव्याख्या गर्नु हो र त्यो कुव्याख्या यहाँ सामान्य भइरहेको छ ।

चौध

महेन्द्रवादी भन्ने शब्द एउटा नमीठो आरोप हो, त्यसको निम्ति जसले नेपाली प्रतिष्ठा र परिचयको खोजी गर्छ । त्यसको वैकल्पिक शब्द राष्ट्रवादी पनि हो । निश्चय नै महेन्द्र धेरै कुराले आलोच्य छन् । पुस १ गतेको घटना त्यसको चरमचुली हो । तर नेपालभित्र भारतीय होइन, नेपाली मुद्रा उनको कारणले चल्यो । संयुक्त राष्ट्रसंघको सदस्य नेपाल बन्यो, भुटान त्यही सदस्य बन्न पुगेको कारणले सदस्य बन्नुअघि नै सिक्किमको स्वाधीनता गुम्यो । पुनर्वासको कारणले नेपालको कुनै पनि इलाका भुटानजस्तो 'होमोजिनस' रहन पाएन । कथित मधेसवादीहरूबाटै महेन्द्रवादी भन्ने शब्द आउँछ, जबकि ठाउँ-ठाउँमा भारत भएर नेपाल पस्नुपर्ने भइआएकोमा पूर्व-पश्चिम राजमार्ग बनाएर उनले 'इन्डिपेन्डेन्ट' बनाइदिए । यसरी तराईलाई 'इन्डोपेन्डेन्ट' हुन नदिइएकोमा यो उसकै उक्साहटमा महेन्द्रवाद आरोप बनाइएको त्यसै बुझ्न सकिन्छ, उक्साउने उही हो । जुन सबै कुरा निकटतम छिमेकीका निम्ति नितान्त अपाच्य थिए । अर्थात् महेन्द्रको स्वाभिमानवाद/ स्वतन्त्रतावाद भन्ने वाक्यांशबाट दुई शब्द झिकेर टाउको र पुच्छर यसरी जोडिएको छ, मानौं त्यो विशुद्ध अधिनायकवाद, सामन्तवाद आदिबाहेक अरू केही होइन । तर यसको अर्काे पाटो के हो भने नेपाली राष्ट्रिय स्वार्थको कुरा गर्नु नै अपराध हो, किनभने त्यो भारतविरोध हो । यसबाट बुझे हुन्छ, जसले महेन्द्रवादी भन्छ, त्यो कसैको 'पेरोल'मा छ । देशभित्रै राष्ट्रद्रोह जन्मिन्छ भने त्यो सीमापारिको निम्ति खुसीकै कुरा हो । त्यसो त भारतले पनि यो तरिका सिकेको हो, बेलायतबाट । बेलायतले पश्चिमा सबैलाई भारतीय जनता पार्टीविरूद्ध हिन्दु राष्ट्रवादी पार्टी भनाइरहेको छ । -यद्यपि र यसैले नेपालको सन्दर्भमा आरएसएस र त्यसको राजनीतिक मुखौटो भाजपा एक नम्बरको नेपालविरोधी पार्टी हो । जति कंग्रेस आई र समाजवादीहरू होइनन् ।)

पन्ध्र

नयाँ नेपाल शब्द माओवादीले प्रयोग गर्दै आएको छ । बेलायतको योर्क सहरमा न्यु थपेर न्युयोर्क बन्यो अमेरिकाको, जो त्यसअघि हल्यान्डको एम्सटर्डममा न्यु थपेर न्युएम्सटर्डमका नामले चिनिन्थ्यो । यसैगरी न्युजिल्यान्ड, न्युफाउन्डल्यान्ड नामहरू बने, जुन बेलायती औपनिवेशिक परम्परा हो । त्यही परम्परा अन्तर्गत न्युदिल्लीको नामकरण भएको छ । भास्को द गामाले भारत पत्ता लगाए भनेर अलेक्जेन्डर र उनका पूर्ववर्ती, कोलम्बसले पत्ता लगाए भनेर अमेरिगो भेस्पुसाइ बिर्सने बानी परेको परम्परा अन्तर्गत न्युनेपाल नाममा पश्चिमले यसरी आफ्नो नयाँ उपनिवेशको रूपमा नामकरण गरिसकेको छ । तर नेपाललाई पश्चिमको हातमा सुम्पिएको माओवादीहरूकै नयाँ नेपाल भन्न र टाईसुटलाई राष्ट्रिय पोसाक बनाउनलाई नेपाली जिब्रो/मन थाक्दैन । आफैले आफ्नो देशलाई पश्चिमको उपनिवेश मानेपछि उसले गोलीगठ्ठा लिएर सैनिक हस्तक्षेप नै किन गर्नुपर्‍यो ?

अन्त्यमा,

गुरुकुलको शिक्षा हजारौं वर्षदेखि भएको ठाउँमा पश्चिमा शिक्षा प्रणाली छिरेको १ सय ७० वर्षमात्र भयो । विश्वविद्यालय स्थापना भएको जम्मा ५४ वर्ष । डेढ सय वर्षको शिक्षाले शब्द र अर्थको माध्यमबाट गरिने मनोवैज्ञानिक युद्ध र असरको गहिराइलाई बुभmन सक्दैन । त्यसले बुझ्दा-नबुझ्दै विरोधी पक्षले विजय हासिल गर्छ । किनभने गुरुकुलसँग हजारौं वर्षदेखिको रगतमै भएको, जीनमै भएको, त्यसभन्दा पर क्रोमोजम होइन, क्रोमाटिडमै भएको, डीएनएमै भएको ज्ञान यो ५४ वर्षको पश्चिमी शिक्षासँग छैन । अहिलेको नयाँ पुस्ताले विद्यावारिधि गरेर चर्मचक्षु प्राप्त गरेको छ, ज्ञानचक्षु होइन । यसैले दीक्षान्त समारोहमा भाग लिएको र घोप्टे टोपी पहिरेको तस्वीर के-के न प्राप्त गरेझंै घरको बैठक कक्षमा गौरवसाथ राख्न पल्किएको छ । त्यसैको परिणाम हो, अशिक्षित नेपालीले होइन, शिक्षित नेपालीले 'नेसन स्टेट' गुमाउँदै छ, 'सिटी स्टेट्स' का निम्ति ।

अर्थात् विशुद्ध विज्ञानका क्षेत्रमा बाहेक पश्चिमले नेपालका बारेमा समाजशास्त्र, राजनीति, इतिहास आदि-आदि यावत् क्षेत्रमा गरेका शोध, अनुसन्धान र कृतिलाई पूर्ण अविश्वासका साथ पुनर्लेखन गरी आफ्नै बाटो नलिने हो भने त्यसले यो राष्ट्र रहन दिनेछैन ।

http://www.ekantipur.com/nep/2069/1/19/full-story/347006.html


Read Full Discussion Thread for this article