Posted by: Geology Tiger April 6, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     0       ?        
ईतिहासको घोडा चढेर अहिले देशमा रहेका सामाजिक, आर्थिक र राजनैतिक चिराहरु सबै नाघ्न सकिन्छ भन्ने मित्रहरुलाई मेरो भन्नु यति मात्र हो चिनले लगाएको आर्थिक छलाङको कारण कुन सि हुवाङले छोडेको टेराकोटाको बिशाल फौज होइन । हामी वर्तमानमा बाचिरहेका छौ र हाम्रो उत्तरदायित्व भविष्यप्रति छ । म यो भन्दिन कि हामीले हाम्रो ईतिहासलाई भुल्नुपर्छ, हाम्रो पहिचानलाई भुल्नुपर्छ तर समयलाई पछि फर्काउन सकिदैन । यदि कोहि फर्कान्छ भने उ पछि पर्छ ।

अवश्य पनि ईतिहासको विभिन्न कालखन्डमा नेपालमा बिभिन्न जात- जातिका (जन जाति? ) मान्छेहरुले राज्य गरे, कहिले देशको विखण्डन गरे त कहिले एकिकरण पनि गरे र नेपाली सभ्यतालाई अगाडि बढाए । जुन समयमा सारा संसारभरिकै राज्य संरचनामा युद्दको महत्वपूर्ण स्थान थियो, त्यो समयमा तात्कालिन टुक्रे नेपाली राज्यहरुसँग पृथ्वीनारायण शाहले युद्द गरेर आफ्नो राज्यमा मिलाउनुलाई अक्षम्य अपराध मान्न कदापी मिल्दैन । गोर्खाले लिम्बुवानलाई जित्दा अन्याय गरेको हुने तर लिम्बुवानले गोर्खालाई जितेको भए न्याय गरेको ठहरिने अवश्य हुँदैन र त्यो समयमा यि दुई मध्य एक त हुनु पर्थ्यो पर्थ्यो ।

तर बर्तमान ईतिहास भन्दा धेरै फरक भैसक्यो । कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगिसके । न त तात्कालिन लिम्बुवान, खुम्बुवानमा वा अन्य कुनै राज्यमा अहिले एउटै जातिको मात्र बसोबास छ न त ती राज्यमा बस्ने कुनै एउटा जातिको मात्र आर्थिक, राजनैतीक र सामाजिक अवस्था औसत भन्दा तल छ । बुझ्नु पर्ने कुरा के हो भने अहिले नेपालको हरेक भागमा बहुसख्यक जातिको बसोबास छ अनि आर्थिक रुपले पछि परेका नेपालीहरु हरेक जात-जातिमा छन् । माने पनि र नमाने पनि ऐतिहासिक पहिचानको आधारमा संघिय राज्य बनाउने कुरा जातियतासँग जोडिन्छ जोडिन्छ । ए बाबा त्यो बेला पो त्यो ठाउँमा कुनै जातिको मात्र बसोबास थियो अहिले त बिसौ जातिको छ । अब त्यहाँ ऐतिहासिक पहिचानको नाममा कुनै एउटा जातिको नाउमा राज्य खडा गरेपछि अहिले त्यहाँ बसिरहेका अन्य जातिमाथि भेदभाव भयो कि भएन? उनिहरुले आफूलाई किन दोस्रो दर्जाको नागरिक महसुस नगर्ने? एउटा जातिलाई ऐतिहासिक पहिचान दिने नाउमा किन अर्काको बर्तमानको अधिकार खोस्ने?

समस्याहरु अवश्य पनि छन् । तर समस्याहरु माथि अर्को समस्या के भयो भने न त हामीले हाम्रो खास समस्याहरुलाई पहिचान गर्न सक्यौ न त तिनको समाधानको सही बाटो पहिल्याउन सक्यौ । खाली आफ्नो स्वार्थ पूरा गर्न चाहने केही जातिवादी नेता र नेपाललाई आफ्नो प्रयोगशाला बनाउन चाहने बिदेशी एन्जियो आईएन्जियोको तालमा केही नेपालीहरु नाचिदिनाले आज सम्पूर्ण नेपालीले देख पाएका छन् ।

१ तपाईं यस्ता जातिय राज्य बनाएर (तपाईंको भाषामा ऐतिहासिक पहिचान) आधारमा अहिले नेपालमा रहेको जातिय विभेदलाई अन्त्य गर्नुहुन्छ कि यसलाई अझ चर्काउनुहुन्छ? यदि मेरो साथी लिमबु भएकै कारणले उसले परिक्षामा थोरै अंक ल्याउदा ल्याउदै पनि उसका बाबु र दाई ब्रिटिश आर्मीमा हुँदा हुँदै पनि र म आर्थिक रुपमा विपन्न हुँदा हुँदै पनि केवल बाहुउनको छोरो भएको कारणले छात्रव्रिती पाउदिन भने त्यो जातिय भेदभाव भयो कि भएन? अनि म जुन जातिको नाउमा त्यस्तो जातिय राज्य खडा गरिएको छ त्यो जातिप्रती कसरी सहिष्णु हुन सक्छु?

२ नेपालीको अर्को समस्या गरीबी जुन हरेक जातिका नेपालीहरुमा विद्दमान छ त्यो एउटा जातिको नाममा राज्य खडा गरेर अनि त्यही जातिका मान्छेहरुलाई मात्रा मौका दिएर कसरी समाधान हुन्छ? के त्यो राज्यमा बस्ने अरु जातिका मान्छेहरु चाँही झन् झन गरीब हुँदै जानुपर्ने हो?

समस्या धेरै छन् तर यसको समाधान भनेको नेपाललाई २०० बर्ष पछाडि धकेल्नु होइन । बिकासित देश अमेरिकामा अध्य्यन गरेका डा. कृष्ण भट्टचनले त देख्नु पर्ने हो नि अमेरिकामा कसरी मान्छेहरु काम र पढाईको लागि एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहन्छन् । यिनिहरुका पनि त पहिले विभिन्न युरोपी देशको अधिनस्थ कोलोनीहरु थिए ।
Last edited: 07-Apr-12 09:19 AM
Read Full Discussion Thread for this article