Posted by: Dotnetprogrammer March 18, 2012
२ लाख नहुँदा मृत्युको मुखमा
Login in to Rate this Post:     0       ?        

पर्वत, चैत्र ५ - पाङ गाविस-७ की महेश्वरी विक हरक्षण रुने गर्छिन् । जन्मँदै टाउकोमा पानी जमेका ९ वर्षे नाति समुद्र परियारको उपचार खर्चले ऋण धान्नै नसकेपछि घरबारी सबै वैशाखदेखि लिलाम हुँदैछ । उनको मुटु क्षण-क्षणमा त्यसकारण छिया-छिया हुन्छ कि, दुई लाख रुपैयाँको अभावमा नाति समुद्रको उपचार हुन सकेको छैन । डाक्टरहरूले 'अपरेसन नगरे १० वर्षभन्दा बढी बाँच्दैन' भनी घोषणा गरेको नातिको 'बाँच्ने म्याद' अब एक वर्ष मात्र बाँकी छ ।  

२०६१ सालमा काठमाडौंको शिक्षण अस्पतालका चिकित्सकले टाउकोको पानी पिसाब नलीमा जाने गरी पाइप राखिदिएका थिए । 'अपरेसन गरेमा ३५/३७ वर्षसम्म बाँच्ने डाक्टरले भनेका थिए,' महेश्वरीले भनिन्, 'तर २ लाख रुपैयाँ जुटाउनसमेत सकिएन, सहयोगी पनि कोही भटिएनन् ।'

उनले छोरालाई विदेश पठाउन ठिक्क पारेको ऋण काढेको सबै पैसा पनि नातिको उपचारमा खर्चिइन् । 'सय कडा ३' ले लिएको १ लाख ४५ हजार रुपैयाँ उपचार गर्दागर्दै सकियो, तर पनि नाति स्वस्थ बनेन । बरु साँवामा ब्याज थपिँदै गएर ऋण चार लाख रुपैयाँ पुग्यो ।

नातिको उपचार खर्चको त्यही ऋण तिर्न नसक्दा पुर्खौंदेखि बस्दै आएको घरबारी वैशाखबाट लिलाम हुन लागेको हो । महेश्वरीको १८ जनाको परिवारमा घरबारी लिलामसँगै कहाँ गएर बस्ने भन्ने पीर पनि उस्तै छ । 'नाति ठीक होला र केही गर्ला भन्दै घरबारीको माया नगरी ऋण लिएर उपचार गर्न काठमाडौंसम्म पुर्‍याएँ,' महेश्वरीले -आँखा आँसुले भरिएको थियो भने गला अवरुद्ध) भनिन्, 'पानी पर्दा ओत लाग्ने घर थियो, त्यो पनि लिलाममा पर्‍यो ।' उनले गाउँकै विभिन्न व्यक्तिहरूसँग ऋण लिएकी थिइन् । ऋणको ब्याज तिर्नकै लागि घरमा छाएको ढुंगासमेत बिक्री गरिसकिएको छ ।

समुद्र महेश्वरीकी जेठी छोरी सरस्वतीतर्फका नाति हुन् । जन्मँदै शरीरभन्दा टाउको ठूलो भएका समुद्रको पटक-पटक प्रयास गर्दा पनि बागलुङ र पोखरामा उपचार सम्भव नभएपछि २०६१ माघ १० गते काठमाडौंको कान्ति अस्पताल पुर्‍याइएको थियो ।

कान्ति अस्पतालले त्यही दिन शिक्षण अस्पतालमा अप्रेसन गर्नुपर्ने भन्दै रिफर गरेको थियो । भोलिपल्ट सिटिस्क्यान गरेका शिक्षणका चिकित्सकहरूले पछि उनको टाउकामा जमेको पानी पिसाबमा जाने गरी शरीरभित्र पाइप राखिदिएका थिए । त्यतिबेला नै चिकित्सकहरूले अप्रेसन गरेमा ३५/३७ वर्षको उमेरसम्म बचाउन सकिने 'नत्र १० वर्षको उमेरभन्दा बढी नबाँच्ने' भन्दै दुई लाख खर्च जुटाउन सुझाएका थिए ।

अप्रेसन खर्च जुटाउन भनेर घरबाट निस्किएका बालक समुद्रका बाबु गगन अर्कैसँग बिहे गरेर घर नफर्केपछि उनी आमा सरस्वतीसँगै मामलीमा बस्दै आएका हुन् । 'छोराको उपचार खर्च खोज्न जान्छु भनेर श्रीमान्ले अर्कै केटीसँग बिहे गरेर र्फकनु भएन,' सरस्वतीले भनिन्, 'त्यही भएर ९ वर्षदेखि माइतीमै बस्दै आएकी छु ।' आफू बेसहारा हुने डरले म्याग्दीका शंकर विकसँग बिहे गरेर बिरामी छोराको हेरचाह गर्दै आएको पनि उनले बताइन् । शंकरले डकर्मीको काम गरेर बिहान-बेलुकाको छाक जुटाउने गर्छन् ।

घरको एक जना सदस्य भने समुद्रको रेखदेखमा बस्नुपर्छ । उनी चिसोयाममा हिँडडुल गर्न सक्ने भए पनि गर्मीमा सक्दैनन् । घाम लाग्नासाथ फनफनी घुमेर बेहोस हुन्छन् । 'एकछिन ख्याल गरेन भने घरि दिसा ल्याएर खान्छ, घरि अँगेनामा बलिरहेको आगोमा बस्छ,' हजुरआमा महेश्वरीले भनिन्, 'कसैले सहयोग गरिदिए उपचार हुने थियो । नभए १० वर्ष पुगेपछि मृत्यु हुने डाक्टरले बताएका छन् । नातिको मायाले दिनहुँ रुँदै बस्छु ।'

'उपचार गर्न घरबारी बेच्यौं भने पनि ऋणको ब्याज तिर्न नसक्दा लिलाम भएकाले नातिको मृत्यु पर्खनुको विकल्प भएन,' उनले दुःखेसो पोखिन् । नातिले उपचार पाएमा घर लिलामी भए पनि अर्काको घरमा गई कामदार बनेर जीविका चलाउने आमा सरस्वतीले बताइन् ।




Read Full Discussion Thread for this article