Posted by: _____ January 22, 2012
आपत्तिजनक सम्झौता’ प्रति
Login in to Rate this Post:     2       ?         Liked by

आपत्तिजनक सम्झौता’ प्रति

(17 Votes)
 
सौरभ

१२

विश्वेश्वर कोइरालाले 'सबैभन्दा अविश्वसनीय' भनेका पात्रको प्रधानमन्त्रित्वकालमा, ३० हजारमा नेपाली सेना झारे हुन्छ भनेर १९८९ मा एमजे अकबरलाई अन्तरवार्ता दिने ऋषिकेश शाहको परोक्ष तर पूर्ण अनुसरण, त्यो पनि उनकै चेलाबाट भएछ भने पनि धेरैलाई आश्चर्य लाग्नेछैन । त्यसैले आपत्तिजनक चारबुँदे सम्झौता हुन पुग्यो, जसमा कथित तराई मोर्चाले आफ्नो तुहिनै लागेको अडानका कुरा बेलाबेला उठाइरहन्छ । तर कुन तुक र तर्कका आधारमा ? यहाँ त्यसैको विस्तार गरिन्छ ।

अघोषित नियम

६ फिटभन्दा अग्लो हुनुपथ्र्यो, हनुमानढोकाको पहरेदार हुन् । यो चलन राजेन्द्रविक्रम शाहका बेलासम्म कायम थियो । जर्मन काइजर्सको दरबारको पहरागणको अनुकरण भए पनि विसं १९०४ मा तिनैलाई समेटेर राइफल गण गठन गरियो । द्वितीय विश्वयुद्ध (सन् १९३९) सम्म काठमाडौं उपत्यकाको काँठका मानिसहरूलाई सेनामा भर्ना लिइँदैनथ्यो । यद्यपि काँठमा प्रशस्तै क्षत्री परिवारहरू बसोबास गर्थे । त्यो बेलाको काँठ भनेको टुकुचाटार (कालिकास्थान), धाँकिटार (गौरीघाट उत्तर), भैमाल (मनहरा पारि) पनि हो । प्रधानसेनापतिमा सकेसम्म ठकुरीलाई नियुक्ति दिइँदैनथ्यो । यो चलन २०२२ सालमा सुरेन्द्रबहादुर शाहको नियुक्तिले टुटेको मात्रै हो । पृथ्वीनारायण शाहका आफ्नै भाइ महोद्दामकीर्ति शाहले गुल्मीको फौजी सहयोगमा गोरखाविरुद्ध विद्रोह गर्न खोजेपछि यस्तो नीति लिइएको हो । नभन्दै पृथ्वीनारायण शाहले दिव्योपदेशमा 'ठकुरीले दगा गर्छ' भनेकै छन् । राजाचाहिँ ठकुरी हुने तर प्रधानसेनापति नहुने त्यस्तो हदैसम्मको कठोरता देख्दादेख्दै तराईवासीमाथि किन पक्षपात ? भन्ने तर्कको कुनै तुक छैन । दहचोक, दिगर्चा, कास्की, नाल्दुमका लडाइँमा उपाध्यायहरू लडेका र मरेका छन् । तर ब्राह्मणलाई युद्धमैदानको कमान्डर नै चाहिँ बनाइएको छैन, उनीहरूको गणको कुरा त परै रहोस् (कोतको तुलसी मठमा ब्राह्मणलाई कृष्णबहादुर राणाले काटेकै हुन्, तर ती अर्यालको नामसमेत उल्लेख छैन) । लिम्बुहरू झनक्कै रिसाइहाल्ने र झगडालु हुन्छन् (भेन्सिटार्ट), यसैले उनीहरूको बहुलता रहेको गणलाई अरूबाट केही परै राखिन्छ, कोही जाति प्रहरीका निम्ति मात्र उपयुक्त हुन्छन् (ऐजन), यसैले प्रहरी सेवा नभएको कालमा समरजङ्ग कम्पनीको तर्जुमा भएको हो, कोही जाति साम्प्रदायिक हुन्छन् (एल्डरसट), यसैले उनीहरू बहुल रहेको गणमा अरू जातिलाई पनि मिसाइन्छ ।

ब्रिटिस टेलिकमले रोटरी टेलिफोनको प्रचलन कालसम्म देब्रे हात मात्र चल्नेलाई कर्मचारीमा

लिँदैनथ्यो । माथिका नियमहरू त्यस्तै हुन् । त्यस्ता अघोषित नीति सेनामा सयौं छन् । २००८ को कार्यसम्पादन ऐनजस्तै नीति हो यो, टाउको भएको शरीर नभएको । जसको व्याख्या विशुद्ध विज्ञानको क्षमताभित्र पर्दैन । बरु कृष्णप्रसाद भट्टराईको कार्यकाल छोट्टिनुको एउटा प्रमुख कारण थियो, उनले दिल्लीमा दिएको प्रतिउत्तर, 'तिमीहरूले चाहिँ तराईवासीलाई सेनामा भर्ना किन नलिएको ?' भन्ने कुरा बुझे हुन्छ ।

दायित्व

सेरामा रोपाईं गर्नुपथ्र्यो, सेनाले सैनिक पोसाक नै लगाएर, केवल मोहता घुँडासम्म सारेर । सेरा भनेको पछिल्लो कालको विभाजनमा अब्बल, दोयम, सिम, चाहारमध्येको अब्बल जमिन हो । यस्तो जमिन प्रायः राजाकै पक्कै हुन्थ्यो । तर सेरामा सेनाको योगदानको अर्थ हो खाद्य सुरक्षाको ग्यारेन्टी । त्यसपछि मात्र अन्य जमिनमा रोपाइँ सुरु हुन्थ्यो करिबकरिब सबै रजौटा राज्यमा ।

सिन्धुली, रामेछाप र उदयपुर जिल्लामा रामदली गाउनुको अर्थ घाँसेगीत गाउनु हो । तर यथार्थ के हो भने रामदली मकै गोड्दा मात्रै गाइने गीत हो (रामकली गाउनुको अर्थचाहिँ अर्कै हो) । सन् १९०७ मा हजुरिया कर्णेल नरबहादुर बस्नेतले त्यहाँ 'डेन्ट कर्न' भित्र्याए । मकै (जिया मेज) को 'फि्लन्ट कर्न' प्रजाति जगज्जय मल्लकै बेलादेखि थियो, 'पप कर्न' प्रजाति जंगबहादुर राणाअघि नै थियो । तर यो अत्यन्त नयाँ प्रजातिको उब्जनी पक्का गर्न सेनाको राम दललाई उपयोग गरियो । जुन दल पछि प्रहरीमा परिणत भयो अर्थात् बाहिरी आक्रमणबाट देश रक्षा गर्न मात्र होइन, नागरिकलाई खाद्य सुरक्षा दिलाउने दायित्व पनि सेनाकै थियो । जति बेला हरित क्रान्तिको कुरा गर्ने नर्मन बोर्लागको न जन्म भएको थियो, न एमोनियम सल्फेट नै भित्रिएको (१९५२) थियो । यस्ता सेराहरू पश्चिमसम्म अझै टन्नै छन् । ठिमीको नेकु सेरा पनि सेरा नै हो (नेवारीको नेकु जोडिएको कारण त्यहाँ नीरकमल (निम्फिया स्टेलाटा) लगाइन थालेकाले हो । नेकु बन्छ संस्कृतको कालोबोधक निस्कुटबाट रूपान्तरित भएर नेवारीमा बन्ने निकुथु राँगोबाट । नीरकमलको बियाँ राँगाको टाउकोजस्तै हुन्छ नियाल्यो भने ।) तर अवनतिको हद यस्तो भएर गयो नेकु सेराले पछिपछि धान होइन, वर्षको ६ वटा नीरकमल मात्रै दरबारलाई बुझाउन थालेको थियो ।

अर्थात् तराईले खाद्य सुरक्षा दिएन भने पहाड धानिँदैन र त्यसले घुँडा टेक्छ भन्ने दक्षिण सञ्चालित मनोविज्ञानका आडमा चलेको राजनीतिमा कुनै दम छैन । यद्यपि रिपु मल्लको डोटी राज्यका हातमा भारतस्थित सिङ्घियाईसम्मको तराई, पाल्पाको हातमा बटौली -मान्छे बटुलिने ठाउँ), खस्यौली -खस्न गएकाहरू बस्ने ठाउँ), सुनौली -सुनजस्ता बाला झुल्ने ठाउँ), तनहुँका हातमा भारतको रामनगरसम्म, चौदण्डीका हातमा पूर्वी तराईदेखि पूणिर्यासम्म सोझै अधीनस्थ इलाकाहरू थिए, अझ दीनानाथ दाहालले जोडेका चार जिल्लासहित (सिन्धुलीको मुलकोटमा उनले बनाएको पीपल चौतारा मात्रै अब त्यस महान् कूटनीतिज्ञको कीर्तिशेष रहेको छ) जहाँ पारिबाट खेतीका लागि अधियाँ दिई दिई ल्याउनुपथ्र्यो ।

अभ्यास

माओवादी विद्रोहको एउटा प्रशंसा गर्नैपर्छ त्यो हो अभ्यासहीन, सुतेको र धेरै नै बोसो लागेको परम्परागत सेनालाई यसले एकाएक चुनौतीको माध्यमबाट ताजा र तयार रहन प्रेरित गर्‍यो । यद्यपि ८० प्रतिशत भूभाग कब्जाको जुन दाबी गरिन्छ त्यो माओवादी बलियो भएर होइन, राज्यको अनुपस्थिति र सेना कुँजो अवस्थामा पुगिसकेकाले हो ।

२००७ सालपछि नेपाली सेनालाई कुँजो कसरी बनाउने भनेर दक्षिणी प्रयासहरू भएरै आएका थिए । राणाकालको पुनःगठनका नाममा ६ हजारमा सेनालाई झारियो । यो खप्न सकेन नेपालले र सबैलाई मिलिसिया ट्रेनिङ दिने आवाज घन्कियो, कम्तीमा अहिलेको इजरायल वा दक्षिण कोरियाको ढाँचामा । केआई सिंह यस विचारका प्रणेता थिए । तर भिसी विजेता लक्ष्मण गुरुङले पाएको भन्दा पनि चर्को स्वागत दिल्लीमा पाएपछि यो प्रसंगलाई कलेजबाट केही विद्यार्थी भर्ना गर्ने गरी नेसनल क्याडेट कोर्समा पुर्‍याएर तुहाइयो । आज देव गुरुङहरूले पुनः त्यसलाई जब जगाउने प्रयास गरे, दक्षिणलाई टाउको दुख्यो । नेपाली कांग्रेसका 'सिलौटा' र 'शिखण्डी' हरू त्यसविरुद्ध खनिए ।

जब कि नेपालको पुनः एकीकरण अभियानको विस्फोट मात्रै गोरखाबाट भएको हो । पश्चिमका यावत् खलंगा (छाउनी) हरू मध्यकालभन्दा पनि अघिदेखिका हुन् । सैनी भनिन्छ सेनाप्रमुखलाई अर्थात् गोरखाको नुवाकोट भैरवीजस्तै पश्चिमको निम्ति निगाला सैनी, पोटाला सैनी, खडक सैनी, विन्द्रा सैनी, डिला सैनी सबै युद्धका देवी हुन्, सिंगा सैन, तिमल सैन, मंगल सैन, पाण्डु सैन, बाटुला सैन, घोडा सैन, खीर सैन सबै पूर्वछाउनीहरू हुन् । गण्डी गुल्म (चौकी) बाट गुल्मी, पयठ (मार्च) बाट प्युठान हुन पुगेको छ । यद्यपि तिलंगा भारतको तेलंगनाको सिपाहीलाई मात्र भनिन्छ अर्थात् नेपाली जनजीवनको सबैभन्दा प्रबल धार नै सैनिक धार हो । नेपाली साधुका बोलीमा पनि सैनिक लवज पाइन्छ, गहिरियो भने । यसैले नेपालको पैदल सेना विश्वकै सबैभन्दा राम्रो पैदल सेना हुन पुग्यो कुनै बेला ।

पक्कै हो, भारत संघको निर्माणपछि त्यसैको निरन्तरता व्यावहारिक रहेन तर धाइफाल (लङ जम्प), ठेलो (सट पुट) र अझ सन् १८४२ को सार्वजनिक पल्टनबाजी (समर सल्ट) प्रदर्शन सबै छापामार चरित्रका अभ्यास हुन् । पश्चिममा खेलिने 'गर्रा' नै महाभारतकालीन चक्रव्यूहको अवशेष हो । जडेलो -भाइटिस) लाई काट्न वर्जना गरिएको नै छापामारलाई निर्जन जंगलबीच पानी पिलाउनलाई हो । बारुदका निम्ति राम्रो धुलेगोलको खोजीमा सतीबयर -रस पार्भीफ्लोरा) व्यापक रूपमा जंगलमा रोपेको माओवादीले यो रहस्य बुझेकै होला ।

अर्थात् भारत संघको निर्माणपछि कदाचित् परिहालेमा उपयोग गर्न सकिने चरित्र भनेको छापामार चरित्र नै हो, शक्तिशाली अमेरिकाविरुद्ध भियतकङजस्तो । यो उसले चाहिँ राम्रै बुझेको छ र मिलिसिया ट्रेनिङको विरोध भइरहेको हो । तर मैदानमा हुर्केकाहरूले के पहाडी भूगोलमा चल्ने र त्यसको उपयोगिता हुने फोकटको रासन खानेबाहेक ?

पतनको सीमा

विसं १८९९ मा शार्दुलजङ पल्टनका सिपाहीहरूले तलबका विषयमा माग राखे, आफ्नो बन्दुक बिसाए । वृद्ध बाबुआमा, पत्नी र छोराछोरी पाल्न नै एक व्यक्तिले ज्यानको बाजी राखेर सिपाहीको जागिर खाएको हुन्छ । यो कुनै विद्रोह थिएन, गुनासो मात्र थियो सरकारसँग ।

तर त्यसबापत तिनलाई कुनै युद्धमा लड्न जान नपाउने, आधुनिक सैनिक पोसाक लगाउन नपाउने र बन्दुकको नाल आकाशतिर फर्काउन नपाइने सजाय दिइयो । फलस्वरूप 'गुरुज्यूको परेवा' (बाह्र प्वाँखे, चुत्थो), 'गुरुज्यूको लम्बर' (मनपरि) जस्ता नेपाली टुक्काहरूमा थप 'गुरुज्यूको पल्टन' (नलड्ने) मा त्यो दर्ता भएको छ । जब कि विसं १८७१-७२ को जैथकको लडाइँमा यसले इस्ट इन्डिया कम्पनीको सेनासँग लडेर त्यसलाई हराएको थियो ।

तर आज आफैंविरुद्ध, आफैंले मानी आएको परम्पराविरुद्ध, बन्दुक नै उठाएकाहरूलाई समेत सेना समायोजनका नाममा भित्र्याउन बाध्य छ सेना । यद्यपि भारतविरुद्ध बंकरसमेत खनेको माओवादीलाई नक्कली नोट भित्र्याउनेहरू, तस्करी गर्नेहरू, दसगजा मिच्नेहरू, सीमास्तम्भ ढाल्नेहरू, घुसपैठिया आतंककारीहरूलाई तह लगाउनकै निम्ति मात्रै भए पनि सीमा सुरक्षा बलमा परिणत हुन आपत्ति किन भएको हो ? बुझी नसक्नु छ । यहाँनिर शार्दुलजङ कम्पनीमाथि झन्डै १७० वर्षपछि आफ्नो फौजदारी अदालतबाट यथार्थवादी तर्कसहित न्याय दिएर मात्रै समायोजनतर्फ लाग्नु सेनाका निम्ति उचित हुनुपथ्र्यो, मैदानबाट बगालै भर्ती सुरु गर्ने त पछिको कुरा भयो ।

अन्त्यमा

सुरसण्ड पर्छ सीमापारि । त्यहाँ जन्मेर ससुराली धाइरहेको पात्रलाई नेपालमा राजनीति गराउन कोइरालाहरूले भित्र्याएका महन्थ ठाकुर । सोनवर्षा पनि पर्छ सीमापारि, त्यहाँ जन्मेर पर्साको एक चिनी कारखानामा लोडर र त्रिभुवन विमानस्थलमा सफाइ कामदारको ठेकेदार हुँदै सर्लाहीको नागरिकता लिने पात्रको नाम राजेन्द्र महतो । जसको बोली १६ पुसको नयाँपत्रिकामा पढ्न पाइन्छ- नेपाली सेनामा मधेसीलाई भर्ना गर्ने प्रक्रिया कसैले रोक्न सक्दैन । त्यसको विरोध गर्नुको औचित्य छैन । पटनामा जन्मेर नेपाल भित्रिएपछि मन्त्री बन्न पुगेकी सद्भावना आनन्दीदेवीकी नेतृ, घोडासान नजिकैको कबइमा जन्मिएर राप्रपा नेपालको सभासद, अघिल्लो पुस्तामा उत्तर प्रदेशको महाराजगन्जबाट जनकराज पाण्डेको परासीस्थित खाँडसारी मिलमा मिस्त्रीबाट मन्त्री, जयनगरमा जन्मिएर मधुबनीको नागरिकता लिँदै एमालेबाट मन्त्री, सीमावारिको होइन पारिको

मर्चवारमा जन्मिएर सूर्यबहादुर थापाको मन्त्रिमण्डलमा क्याबिनेटस्तरीय शिक्षामन्त्री, अघिल्लो पुस्तामा बिहारको वीरपुरबाट भित्रिएर नेपाली कांग्रेसबाट मन्त्री हुँदै फोरम र त्यसबाट मधेसी मोर्चाको नेता- हरूको एक ठूलो बगाल नै रहेपछि तिनबाट नेपाली सेनाको छापामार चरित्रको विकासलाई रोक्न हुने हरसम्भव प्रयासमा आश्चर्य के ? रैथाने तराईवासीको खोइ हैसियत राजनीतिमा ? जसको सेनासम्बन्धी सोचले कुनै मौलिक आयाम र महत्त्व राखोस् ।

Read Full Discussion Thread for this article