Posted by: Geology Tiger October 26, 2011
----For Creative Writers----
Login in to Rate this Post:     3       ?         Liked by
समिक्षा, पिस र सम्पूर्ण साझाबासीहरुमा समर्पित.....

फेरि एउटा नयाँ सम्बन्धको खोजीमा

हो म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु ।
भर्खर एउटा सम्बन्ध गर्ल्याम्मगुर्लुम्म ढल्यो ।
एउटा मान्छेसँगको सम्बन्ध,
एउटा सपनासँगको सम्बन्ध,
एउटा फूल र त्यसभित्र रहेको सुगन्धसँगको सम्बन्ध,
सारा खरानी भई जल्यो ।
त्यसैले म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु ।

मान्छे मान्छे बिचको सम्बन्ध,
मान्छे र प्रकृति बिचको सम्बन्ध,
भूगोलसँगको सम्बन्ध,
भूगर्भसँगको सम्बन्ध,
आकाशसँगको सम्बन्ध,
एक मुठी सास फेर्न हावासँगको सम्बन्ध,
अहो! कति धेरै सम्बन्ध ! अनि कति थरी सम्बन्ध !

एक पछि अर्को,
अर्को पछि अर्को,
बन्दै र भत्किदै गरेका सम्बन्धहरु ।
एउटा गर्भमा नौ महिना लामो सम्बन्ध राखेपछी
सुरु भएको संसारसँगको सम्बन्धको यो श्रिंखला
अबिछिन्न जारी रहनेछ ।
एउटा सम्बन्ध जीवनसँग नटुटेसम्म
अनि अर्को सम्बन्ध मृत्युसँग नजुटेसम्म ।

हे मेरा गुरुहरु!
तिमीहरुले मलाई ढाट्यौ ।
मान्छे स्वतन्त्र छैन ।
हो यहाँ कोही पनि स्वतन्त्र छैन ।
सब बाँधिएका छन्,
सब कसिएका छन्,
सब जकडिएका छन्,
सम्बन्धहरुको जालोमा ।
एउटा सम्बन्ध चुँडिन्छ,
अनि सयौँ सम्बन्ध जोडिन्छ,
अनि हजारौ बनी फैलिन्छ,
एउटासँग अर्को, अर्कोसँग अर्को
माकुराको जालोजस्तै ।

यो संसारको लागि,
संसारबासीहरुको लागि,
म हुनु र नहुनुको अर्थ
केवल मसँगको सम्बन्ध मात्रै हो ।
नत्र त म हुनु र नहुनुमा के फरक छ र?
साँच्चै भन्ने हो भने
यहाँ हामी कसैको अस्तित्व छैन ।
अस्तित्व छ त केवल सम्बन्धहरुको,
राम्रा र नराम्रा सम्बन्धहरुको,
किसिम किसिमका सम्बन्धहरुको,
हरेक किसिमका सम्बन्धहरुको,
अनि मात्र सम्बन्धहरुको ।

स्वतन्त्र हुनखोजेको जति बहाना गरे पनि
जति देखावटी चाहना गरे पनि
आखिर मान्छे सम्बन्धकै जालोमा जेलिन चाहन्छ ।
त्यही जालोमा गुटुमुटिएर न्यानो महसुस गर्न चाहन्छ ।
अनि आफूलाई सुरक्षित महसूस गर्न चाहन्छ ।
आफ्नो अस्तित्व महसूस गर्न चाहन्छ ।
हो म पनि अाफ्नो अस्तित्व महसूस गर्न चाहन्छु ।
आफूलाई सुरक्षित र न्यानो महसूस गर्न चाहन्छु ।
तर एउटा सम्बन्ध भर्खर गर्ल्याम्मगुर्लुम्म ढल्यो ।
अनि म एउटा नयाँ सम्बन्धको खोजीमा छु ।


Last edited: 26-Oct-11 01:24 AM
Read Full Discussion Thread for this article