Posted by: Geology Tiger September 26, 2011
----For Creative Writers----
Login in to Rate this Post:     4       ?         Liked by
शायद यो साझाको कुनै पुरानो धागोमा पनि हुनसक्छ । मेरो यो पुरानो रचना समिक्ष्या र सम्पूर्ण साझा परिवारको निम्ति: 

जीवन जिउने आधारहरु

लाखौं नेपालीहरुको कल्पनामा रहेको गगनचुम्बी भवन र झलमल शहरहरुको देश अमेरिका
मेरो यथार्थमा राता पहाडहरु र ताता मरुभुमीहरुसँगको संघर्ष भएको छ।
जीवनरहित बालुवाका ती बिशाल राशिहरुको छाती चिर्दै, राता पहाडहरु चढ्नुपर्ने मेरो दैनिकी
आफू जिवित रहन पूरा गर्नै पर्ने एउटा अपरिहार्यता भएको छ।


किताबको पाना जस्तै पत्रै पत्र परेको राता पहाडका चट्टानी पत्रहरु उक्लँदै गर्दा
जव घामको रापले मेरो शरीर भित्रको पानी सोसिदै र घाँटी सुक्दै जान्छ,
म नेपाली ढुङेधाराहरुमा पिएको चिसो पानी सम्झन्छु,
अनि मिनेरल वाटरको बोतल खोल्दै दुई चार घुट्का तातो पानी घुट्काउँछु,
यो बोतल भित्रको तातो पानीसँग ढुङे धाराको चिसो पानीको स्वाद साटासाट
मेरो तिर्खा मेट्ने एउटा आधार भएको छ।


राता पहाडहरुसँगको दिनभरीको लडाँईपछि पेटमा भोकको ज्वाला दन्किदै गएपछि,
नेपाल हुँदा लक्ष्मीले खुवाएको गुन्द्रुकको तरकारी र ढिडो सम्झन्छु,
अनि प्लास्टिकको थैलामा बन्द गरिएको चामल र तरकारीको मिश्रणलाई उसिन्न थाल्छु,
यो थैलाभित्र बन्द गरिएको चामल र तरकारीसँग गुन्द्रुक र ढिडोको स्वाद साटासाट
मेरो भोक मार्ने एउटा आधार भएको छ।


दिन ढल्कदै र रात सल्कँदै गर्दा जव लखतरान भएको शरीरलाई कहाँ फालू झै हुन्छ,
म नेपालमा भेटिएकी एउटी मगरनी आमा सम्झन्छु, उनीले दिएको बास र त्यहाँ सुतेको निद्रा सम्झन्छु,
अनि म आफ्नो टेन्ट लगाउँछु र सुत्ने थैलालाई बिछ्याएर आफ्नो जिउलाई डङ्रङ लडाउँछु,
नेपालको बाटो बाटोमा त्यसरी बास मागेर सुतेको निद्राको सम्झना, यो मरुभुमिको एकान्तमा
मेरो निद्रा पुर्याउने एउटा आधार भएको छ।


पलपल मस्तिष्कमा छाइरहने यी नेपालको सम्झनाहरु, उकाली र ओरालीहरु,
चौतारी र ढुङे धाराहरु, बाटोमा भेटिएका नेपालीहरु र उनिहरुले दिएका मायाहरु,
गगनचुम्बी भवन र झलमल शहरहरुको देश अमेरिकामा
सुक्खा मरुभूमीहरुबिच हिड्डा र राता पहाडहरु चढ्दा
मेरो जीवन जिउने आधार भएको छ।  
Read Full Discussion Thread for this article