Posted by: neerman September 23, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        
न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २३ । संयुक्त राष्ट्र संघको ६६ औं महासभालाई सम्बोधन गर्नुपूर्व नै प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले यहाँ आफ्नो विरोधमा कालोझण्डाको सामना गर्नुपर्ने भएको छ । राष्ट्र संघस्थित नेपाल मिशनले आज साँझ आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघसंस्थाले यसरी प्रधानमन्त्रीलाई कालो झण्डा प्रदर्शन गर्न लागेका हुन् । नेपाल मिशनले नेपालका कार्यकारी प्रमुख आउँदा नेपाली समुदायलाई कार्यक्रम गर्न आग्रह गर्नुपर्नेमा उल्टै आफैं कार्यक्रम आयोजना गरी यहाँ रहेका नेपाली समुदायका संघ,संस्थाको अवमूल्यन गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ,फिप्ना अमेरिकाको नेतृत्वमा नेपाल मिशनले गर्न लागेको प्रधानमन्त्रीको यो कार्यक्रम बहिष्कार गर्ने र कालोझण्डा देखाउनेसम्मका तयारीहरु भईरहेको छ । बुधवार बसेको फिप्नाको आकस्मिक बैठकले नेपाल मिशनका सबै कार्यक्रम बहिष्कार गर्ने र विरोधमा उत्रने निर्णय गरेको थियो । बैठकले अहिले साँझ हुन लागेको नेपाली समुदायलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार र विरोध गर्ने निर्णय समेत गरेको छ । महासंघमा अमेरिकाका विभिन्न १९ वटा जनजाति संस्थाहरु आवद्ध छन् । यसैबीच फिप्नाका महासचिव दिपेश लिम्बुले ग्लोब नेपाल डट कम प्रतिनिधिसँग साँझ करीब ६ बजेतिर टेलिफोनमा कुराकानी गर्दै अहिले नेपाल मिशनका अधिकारीहरुले प्रधानमन्त्रीको कार्यक्रमको विरोध नगरिदिन आग्रह गरिरहेको बताए । तर उनले भने हामीले कार्य समितिको बैठकले पास गरेको निर्णय उल्टाउन सक्ने सम्भावना छैन । नेपाल मिशन आफैं अग्रसर भई आयोजना गरेको कार्यक्रम बहिष्कार गर्नु बाध्यता भएको र यो बहिष्कार नेपाल मिशनको गलत प्रवृत्तिका विरुद्ध भएको पनि लिम्बुले प्रष्ट पारे । फिप्नाले जारी गरेको विज्ञप्ती:

FEDERATION OF INDEGENOUS PEOPLE IN AMERICA
नेपाल आदिवासी/जनजाति महासंघ
अमेरिका, न्युयोर्क

Central Executive Commitee
New York-2005

मिति : २२ सेप्टेम्बर २०११

प्रेस विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आज मिति सेप्टेम्बर २२ तारिखको दिन बसेको आकस्मिक बैठकद्वारा नेपाली स्थायी नियोगले न्यू योर्क भ्रमणमा आउनु भएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग राखिएको अन्तरक्रिया तथा वहाँको स्वागत समारोह कार्यक्रमबारे छलफल हुँदा फिप्नाद्वारा बिगत बर्षहरुमा जस्तै जनस्तरमा अन्तरक्रिया तथा स्वागत कार्यक्रम गर्न सम्बन्धमा पटक पटकको आग्रह पछि पनि नियोगले फिप्नाको अनुरोधलाई वेवास्ता गरिएकोप्रति फिप्नाको गम्भीर आपत्ति रहेको छ। स्थायी नियोगको यो गैर रबैयाप्रति फिप्ना घोर बिरोध तथा भत्सर्ना गर्दछ ।
नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री जस्तो गरिमामय व्यक्तित्वको भ्रमणको बेला नियोगद्वारा गरिएको अपहेलना र वेवास्ता भविष्यमा पनि कायम गरि जनस्तरको कार्यक्रमलाई लत्याउने कार्य गरिएकोमा फिप्ना र फिप्ना अन्तर्गतका १९ आदिवासी जनजाति संघ संस्थाहरु स्थायी नियोगका भविष्यका सबै कार्यक्रमहरु बहिस्कार र बिरोधमा उत्रन बाध्य हुने जानकारी यसै प्रेस विज्ञाप्तिद्वारा गरिन्छ ।
साथै, यसै सन्दर्भमा नियोगद्वारा आयोजना गरिन लागेको मिति सेप्टेम्बर २३ तारिख २०११ को अन्तरक्रिया कार्यक्रमको घोर भत्सर्ना गर्दै उक्त कार्यक्रमको कडा बिरोधमा उत्रने जानकारीसमेत गराउँदछौं।

कार्यक्रममा कसलाई बोल्न दिने र नदिने भन्ने बारेमा पनि नेपाल मिशनका अधिकारीहरु कुनै निर्णयमा पुग्न सकेका छैनन् । खासगरी गत वर्ष तत्कालीन प्रधानमन्त्री माधव नेपाल राष्ट्र संघ महासभामा सहभागी हुन आउँदा स्थानीय संघसंस्थाले न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा माधव नेपाल सरकारको चर्को विरोध भएपछि यस्तै विरोध सिर्जना नहोस् भन्ने आशयले यसपटक नेपाल मिशन आफैंले सबैलाई आमन्त्रण गरी कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो ।
काँग्रेसको पनि विरोध
यसैबीच नेपाली काँग्रेसको अमेरिकास्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति,अमेरिकाले पनि प्रधानमन्त्री भट्टराईको विरोध गरेको छ । समितिका संयोजक खगेन्द्र जीसीले समितिको तर्फबाट विरोधस्वरुप एक ज्ञापन पत्र आज साँझ हुने कार्यक्रममा प्रधानमन्त्रीलाई बुझाउने तयारी भईरहेको जानकारी दिनुभएको छ । ज्ञापन पत्रमा शान्ति र संविधान निर्माण,चारबुँदे सहमति खारेजी र राष्ट्रियतासँग सम्बन्धित विषय रहने जानकारी पनि उहाँले दिनु भएको छ । जीसीले आज दिउँसो न्यू स्कूलको २१ औं शताब्दीमा माक्र्सवादको सान्दर्भिकता विषयक एक कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको भनाईलाई लिएर कडा आपत्ति समेत जनाउनु भएको छ । ग्लोब नेपाल डट कम प्रतिनिधिसँगको कुराकानीमा जीसीले प्रधानमन्त्रीले शान्तिका लागि एकलब्य भएर लाग्ने भनेर जनताको आँखामा छारो हाल्ने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । कार्यक्रममा प्रधानमन्त्रीले आफू प्रजातन्त्रवादी नभएको भन्दै प्रजातन्त्र र र निरकुंशताको बीचमा केही फरक छैन भनी दिएको अभिव्यक्तिलाई लिएर जनसम्पर्क समितिका सबै सदस्य र शुभेच्छुकहरु आक्रोशित भएको भन्दै जीसीले भन्नुभयो, आजबाट प्रधानमन्धी भट्टराईको असली नियत उदांगो भएको छ । लोकतान्त्रिक नेपालको अन्तरिम संविधानको जुन धरातलमा उभिएर भट्टराई आज प्रधानमन्त्री हुनुभएको छ त्यो धरातल प्रजातान्त्रिक धरातल हो तर त्यसैलाई निरकुंशतासँग तुलना गरेपछि भट्टराईको असली नियत उदांगो भएको छ भन्दै जीसीले न्यूयोर्क आईसकेपछि प्रधानमन्त्रीबाट व्यक्त भईरहेका भनाईहरुबाट भट्टराईको नेतृत्वमा संविधान बन्न सक्दैन र उहाँ आफू अग्रसर भएर संविधान निर्माणमा लाग्नुहुने छैन भन्ने प्रष्ट भएको छ भन्नुभयो । जीसीका अनुसार भलै संविधान बनिहाले पनि भट्टराईले त्यो संविधान पालना गर्नुहोला भन्नेमा आफूहरुलाई आज न्यूस्कूलमा गरेको सम्बोधनपछि कुनै विश्वास नरहेकोसमेत बताउनुभयो । नेपाली जनसम्पर्क समिति,अमेरिकाले प्रधानमन्त्रीलाई विरोधस्वरुप बुझाउन लागेको ज्ञापनपत्र पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।  for link, go to www globenepal dot com

Read Full Discussion Thread for this article