भट्टराईलाई भोट दिने तीन नेतालाई अनधिकृतरुपमा गाडी सुविधा
काठमाडौं, आश्विन ६ - सरकारले संसद्का पदाधिकारी र सदस्यहरूको सुविधासम्बन्धी ऐनको व्यवस्थाविपरीत थप तीन दलका नेतालाई गाडी सुविधा दिन लागेको छ ।
मन्त्रिपरिषद्ले निर्णय गरी मधेसी जनअधिकार फोरमका सचेतक जयराम यादव, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका नेता प्रेमबहादुर सिंह र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सभासद रुक्मिणी चौधरीलाई गाडी सुविधा दिन लागेको हो ।
उनीहरूले साताभित्रै गाडी पाउनेछन् । गाडीसहित इन्धन र मर्मत खर्चसमेत सरकारले बेहोर्नेछ ।
माओवादी नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री निर्वाचनमा मत हालेकाले उनीहरूलाई गाडी दिन लागिएको दाबी स्रोतले गर्यो । संंसद्का पदाधिकारी र सदस्यको सुविधासम्बन्धी ऐनमा प्रमुख सत्तारूढ दल माओवादीको प्रमुख सचेतक र सचेतक तथा र प्रमुख विपक्षी दल कांग्रेसका नेता, मुख्य सचेतक र सचेतकलाई मात्र गाडी सुविधा दिने व्यवस्था छ ।
थप तीन दलका नेताले गाडी सुविधा पाएपछि संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ मध्ये सबैजसो दलका नेता या सचेतकले अनधिकृत रूपमा गाडी सुविधा पाउनेछन्, यसअघि नै अनधिकृत रूपमा विभिन्न दलका नेता र सचेतकलाई गरेर तीन दर्जनभन्दा बढी गाडी दिइसकिएको छ । गाडी सुविधा पाउनेमा एक जना मात्र सभासद भएका दलका नेता समेत छन् ।
'मन्त्रिपरिषद्को निर्णयका नाममा अनधिकृत रूपमा गाडी सुविधा दिनु राज्यको ढुकुटीको दुरुपयोग हो । यसबाट संंसद्का पदाधिकारी र सदस्यको सुविधासम्बन्धी ऐनको उल्लंघन भएको छ,' संसद्का एक अधिकारीले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता या सचेतकलाई गाडी सुविधा दिने निर्णय भएको हो । दाहालको पालामा यो निर्णयका नाममा आफ्नो सरकारका सहयोगी दलका नेता या सचेतकलाई मात्र गाडी दिए । त्यसपछिका प्रधानमन्त्री माधव नेपालले पनि आफ्नो सरकारलाई सहयोग गर्ने थप साना दलका नेता या सचेतकलाई गाडी दिए । भट्टराईको पालामा पनि त्यही प्रवृत्तिलाई पुनरावृत्ति दिँदै आफ्नो सरकारको समर्थन गरेका तीन दलका नेता या सचेतकलाई गाडी दिएका हुन् ।
प्रकाशित मिति: २०६८ आश्विन ६ १२:००