Posted by: aman August 25, 2011
Ghich
Login in to Rate this Post:     0       ?        

काठमाडौं, भाद्र ८ - सरकारले सत्ताबाट बाहिरिन लागेका प्रधानमन्त्री झलनाथ खनाललाई व्यक्तिगत प्रयोजनका लागि चढ्न दिन चमेलिया जलविद्युत् आयोजनाको महँगो विलासी गाडी खरिद गर्ने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयले चमेलियाको उक्त गाडी खरिद गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई उपलब्ध गराउनेछ । मन्त्रिपरिषद् सचिवालयले ऊर्जाले किन्न लागेको गाडी सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्रीका हैसियतमा खनाललाई दिने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

ऊर्जा मन्त्रालयले चमेलिया आयोजनाको टोयोटा प्राडो गाडी १ करोड २ लाख रुपैयाँ (कर छुट मूल्य) मा खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयस्तरीय निर्णयबाट चमेलियाको गाडी खरिद गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको हो । चमेलिया आयोजनाका परामर्शदाताका निम्ति कर छुटमा खरिद गरिएको बा५च १०२६ नम्बरको गाडी तत्कालीन जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि वर्तमान ऊर्जामन्त्री गोकर्ण बिष्टसम्मले चढेका थिए । बिष्टले हालै उक्त गाडी विद्युत् प्राधिकरणमार्फत आयोजनालाई फिर्ता गरेका थिए ।

पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतमा चमेलिया आयोजनाकै क्रमशः बा५च १०२९ र १०३० नम्बरको गाडी चढ्दै आएका छन् । खनालले पनि आफ्ना दुई पूर्ववर्तीको जस्तै चमेलियाकै गाडी चढ्न ऊर्जालाई खरिद प्रक्रिया अघि बढाउन लगाएका हुन् । दाहाल र नेपालले आफू पदमा हुँदा चढेको गाडी सत्ता बहिर्गमनपछि आफूखुसी लगेका थिए । पछि सरकारले निर्णय गरी उनीहरूलाई तिनै गाडी पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्न दिएको थियो ।

दाहालले आफूले चढेको गाडी लैजाँदा भावी प्रधानमन्त्रीका लागि चमेलियाकै अर्को गाडी व्यवस्था गरिदिएका थिए । नेपालले भने आफूले प्रधानमन्त्री हुँदा चढेको चमेलियाको गाडी पदबाट बाहिरिएपछि जबर्जस्ती लगेकाले नयाँ प्रधानमन्त्री खनाललाई सुरुमा गाडीको अभाव भएको थियो । मन्त्रिपरिषद् सचिवालयले तत्कालीन स्थानीय विकास सचिव कृष्ण ज्ञवालीले चढ्दै आएको गाडी मागेर प्रधानमन्त्री खनाललाई उपलब्ध गराएको थियो । खनाल अहिले त्यही गाडी चढ्दै आएका छन् ।

Read Full Discussion Thread for this article