Posted by: _____ July 30, 2011
हाँस्दै-हाँस्दै गए जेल
Login in to Rate this Post:     0       ?        

हाँस्दै-हाँस्दै गए जेल

  • भारतीलाई १५ करोड धरौटी र उपत्यका नछाड्न आदेश
घनश्याम खड्का
काठमाडौ, श्रावण १३ -
जेल जाने बेलामा अनुहार मलिनो हुनु स्वाभाविकै हो । करोडौंको धरौटी तिर्न र त्यो नसके थुनामा राख्न आदेश हुँदा सुडान घोटालाका आरोपी पूर्वप्रहरी प्रमुखहरू ओमविक्रम राणा, रमेश चन्द ठकुरी र हेमबहादुर गुरुङ रुन मात्रै सकेका थिएनन् ।

तर विशेष अदालतमा शुक्रबार अलि फरक दृश्य देखियो । अदालतमा हाजिर हुन आएका घोटाला प्रकरणमा कडा आदेश पाएका ठेकेदार शम्भु भारतीको अनुहारमा दुःखको सानो धर्काे पनि देखिएन ।

बरु उल्टै अदालतका कर्मचारीले उनलाई १५ करोड धरौटी र स्थान हदको आदेश दिएको बेहोरा पढेर सुनाउँदा भारती पटक-पटक मुसुक्क हाँसे । तीन दिनदेखि न्यायिक हिरासतमा बस्दै आएका भारतीलाई धरौटी तिर्न नसकेपछि जेल लैजाने तयारी भइरहेको

थियो । आवश्यक कागजमा दस्तखत गर्न उनी अदालतको भुइँतलामा आएका थिए ।

थुना जानुअघि उनले केही ठाउँमा फोन गरे । उनीसँगै आएका दुई युवालाई एउटा मोबाइल नम्बर टिपाए । 'भित्र -जेलमा) त यो लैजान दिँदैन होला हैन ?' उनले अदालतका कर्मचारीसँग सोधे, 'केही छैन, ढोकासम्म पुगेपछि फिर्ता पठाइदिउँला ।'

भारती 'विदेश भागी जान सक्ने सम्भावना देखिएकाले राहदानी जारी नगर्न र जारी भइसकेको भए रोक्न' परराष्ट्र मन्त्रालयलाई अदालतले भनेको छ । त्यस्तै 'खुला सिमाना बिनाराहदानी भारततर्फ भागी जाने सम्भावना भएकाले' मुद्दाको टुंगो नलागेसम्म काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थान छाड्न बन्देज' गर्न गृह मन्त्रालयका नाममा पनि विशेषले आदेश जारी गरेको छ । यो पढेर सुनाउँदा भारती आफ्ना वकिलतिर हेर्दै हाँसेका थिए । उनले ओठ पनि लेब्य्राए । 'अदालतको आदेशका बारेमा केही भन्नु छ कि ?' उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए ।

'विचाराधीन मुद्दामा बोल्न मिल्दैन,' कानुनमा स्नातक भारतीले जवाफमा भनेका थिए, 'म केही भन्दिनँ ।'

भारतीलाई धरौटी नतिरुन्जेलका लागि थुनामै राख्न अदालतले सदर कारागार डिल्लीबजार लगेको छ । त्यहाँ सुडान घोटालाका मुख्य आरोपी पूर्वआईजीपी ओमविक्रम राणा र एसएसपी रविप्रताप राणा पनि छन् ।

भारती सुडानमा खटिएका प्रहरीका लागि आवश्यक बख्तरबन्द गाडी -एपीसी), त्यसको पार्टपुर्जा र बन्दोबस्तीका सामान किन्ने तथा त्यहाँ पुर्‍याउने काममा प्रत्यक्ष संलग्न थिए । उनकै कारण सुडान घोटाला भएको भन्दै अदालतले उनलाई आरोपीहरूमध्ये अहिलेसम्मकै कडा स्थान हदको आदेश जारी गरेको हो । यति हुँदा पनि उनी केही नभएझैं देखिन्थे । सुडान घोटालामा १५ करोड धरौटीको आदेश पाएका उनी ओमविक्रमपछिका दोस्रा अभियुक्त हुन् ।

भारतीले एपीसीको सुरु प्रक्रियादेखि नै घोटालाको योजना बनाएको देखिएको छ । एपीसी किन्नका लागि तीनवटा दरभाउ पत्रको प्रस्ताव परेको थियो । तीनमध्ये एउटा भारतीको, अर्काे उनकी पत्नीको र अर्काे उनकी सालीको थियो । जुन छनोटमा परे पनि काम आफ्नै हातमा आउने गरी उनले प्रहरी महानिरीक्षक राणालाई हातमा लिएका थिए । राणाले बेलायती कम्पनी एस्योर्ड रिस्क लिमिटेडको तर्फबाट भारतीको कम्पनी भगवती टे्रडर्सलाई ठेक्का दिन लगाएको बयान रविप्रताप राणा, श्यामसिंह थापालगायत आरोपीले दिइसकेका छन् ।

'एपीसी खरिदमा अनियमितताको बिजारोपण बन्दोबस्ती सामानको दरभाउ शम्भु भारतीबाट लिने कामदेखि नै नियोजित रूपमा गराएको देखिन आयो,' विशेषका अध्यक्ष गौरीबहादुर

कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले भनेको छ, 'सो दरभाउ पत्रको प्रस्ताव पटक-पटक ठेकेदारको पक्षमा संशोधन भएको देखिन आयो ।'

सुरु सम्झौतापछिका सर्त संशोधन, भुक्तानी प्रक्रिया, एलसी संशोधन सबै प्रक्रिया 'शतप्रतिशत ठेकेदारको हितमा गरेको' अदालती ठहर छ । ठेकेदारले ९ सेप्टेम्बर २००७ को प्रहरी प्रधान कार्यालयमा पेस गरेको दरभाउ पत्रको दफा ७ मा एपीसीको ओरिजिन भारत, चीन, यूएसए, क्यानडा, रसिया र यूके भनी कम्प्युटर टाइपबाट उल्लेख गरिएको थियो । भारतीले त्यसमा 'नोट, एपीसीको नमुना ओटिसिक्सफोर हुनेछ र यो मर्मत गरिनेछ, अर्थात् सेकेन्डह्यान्ड हुनेछ' भनी हातैले थपेका थिए । सुरुको बोलपत्र र सम्झौतामा चेकोस्लाभाकियामा बनेको ओटिसिक्सफोरको एपीसी भन्ने कतै परेको थिएन । 'सुरुको बिडमा देशको नाम नै नखोलेको र मोडल नम्बरसमेत नखोलेकामा मिलेमतोमा ठेक्का स्वीकृत भइसकेपछि हातले यी प्रतिवादी शम्भु भारतीले थपेकोबाट' अदालतले भनेको छ, 'यो नै विवादको मिलेमतो र घोटालाको सुरुआत गरेको देखिन आयो ।'

'जालझेल र छलकपट' गरेर 'पुरानो एपीसी भिडाउने मुख्यकर्ता नै यी प्रतिवादी शम्भु भारती रहेको प्रत्यक्ष प्रमाणले देखिन आएको' अदालती ठहर छ ।

को हुन् भारती ?

सुडान घोटालाबाट एकाएक चर्चा आएका युवा शम्भु भारती मूलतः ठेकेदार हुन् । राजनीतिक सम्बन्धको आडमा प्रहरी र सेनाको उच्च नेतृत्वमा यिनको राम्रो पकड छ । सेना-प्रहरीको रासनपानीको ठेक्कामा यी संलग्न हुँदै आएको उनलाई चिन्नेहरू बताउँछन् । राजनीतिक सम्बन्ध र पहुँचकै आधारमा सुडान पठाइन लागेको बख्तरबन्द गाडीलगायत सामग्रीको ठेक्का उनले पाएका हुन् ।

अख्तियारले उनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उनको तीनपुस्ते चिनारीबारे भनिएको छ, 'जोगी भारतीको नाति पदम भारतीको छोरा डडेल्धुरा जिल्ला रुपाल गाविस-४ स्थायी घरभई हाल ललितपुर जिल्ला सैंबु गाविस-८ नख्खु बस्ने वर्ष ४० का भगवती ट्रेडर्सका प्रोप्राइटर ।'

दुई दशकअघि सानतिनो ठेक्कापट्टा सुरु गरेका भारतीले राजनीतिक साँठगाँठका कारण अर्बाैंका काम गर्ने अवसर पाए ।

उनी अहिले करोडौंको कारोबार दिनमै मिलाउन सक्ने हैसियतमा पुगेका छन् । श्रीमती, साली र आफन्तका नाममा समेत उनले दर्जनौं र्फम खोलेका छन् । सेना र प्रहरीको हतियारको ठेक्कापट्टा गर्ने बेलामा उनी यी सबै र्फमबाट बोलपत्र हाल्न लगाउँथे । एउटा न एउटालाई परिहाल्थ्यो । सुडान घोटालामा पनि उनले त्यही गरेका छन् । साली, श्रीमती र आफ्नो गरी तीन र्फमलाई उनले दर्ता गराए । यसबाट भाउ घटाघट गरेको नाटक पनि गरे । अन्त्यमा आफ्नै र्फमबाट पाएजस्तो पनि गरे ।

यसरी उनले अर्बाैंको सम्पत्ति कमाएको जानकारहरू बताउँछन् । उनको महेन्द्रनगर, ललितपुर र बूढानीलकण्ठमा घर छन् । काठमाडौंका दर्जनौं ठाउँमा दर्जनौं रोपनी जमिन छन् । जानकार स्रोतका अनुसार अदालतले मागेको धरौटी उनका लागि केही पनि होइन ।

कसले कसरी तिरे धरौटी

सुडान घोटालाका  डेढ दर्जनभन्दा बढी अभियुक्तलाई विशेष अदालतले धरौटी तिर्न आदेश दिएको छ । १४ लाखदेखि १५ करोडसम्म धरौटीको आदेश भएको छ । शुक्रबार शम्भु भारतीलाई भएको १५ करोडको पनि हिसाब गर्दा आधा प्रतिवादीबाटै कुल धरौटी ४२ करोड नाघिसकेको छ । पूर्वआईजीपी ओमविक्रम राणा र एसएसपी रविप्रताप राणा धरौटी तिर्न नसक्दा जेलमै छन् । रविप्रतापले रूपन्देहीस्थित आफ्नै नामको जग्गा धरौटीमा राख्न निवेदन दिएका छन् । उक्त जग्गा १ करोड २५ लाख बराबरको भए/नभएको बुझ्ने काम भइरहेको विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले बताए । त्यस्तै ओमविक्रमले आफ्नी ५ छोरी र आफन्तसहित १२ जनाको नाममा भएको जायजेथा अदालतमा बुझाउन निवेदन दिएका छन् । दिवाकर राणा, निता राणा, पुनिताविक्रम राणा, स्वस्तिका राणा, स्वरूपा राणा, स्वीकृति राणा, विद्या शाह, तारा थापा, नम्र शाह, उपमा शाह, रितिका राणा र पुस्तिका राणाको नामको जग्गा उनले धरौटीमा राख्न चाहेका हुन् ।

चन्दका अनुसार यी सबै जग्गा ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न ठाउँमा छन् ।

बाँकी अभियुक्तमध्ये केहीले अदालतमा जग्गा राखेर र अधिकांशले बैंक जमानत तेस्र्याएर थुनामुक्त भएका छन् ।





भारतीविरुद्धका सात अभियोग

    एपीसीको बोलपत्र गैरकानुनी रूपले प्रस्तुत गरेको

    प्रहरी प्रधान कार्यालयबाट आठवटा एपीसी ढुवानीका लागि भनेर यूएस डलर १,४५,६०० र त्यसको बिमाबापत ७३,५३४ अमेरिकी डलर, स्पेयर पार्टस्को बिमा र ढुवानीबापत ६२,५८० र पानी ट्यांकर र एम्बुलेन्स ३/३ थानको बिमा र ढुवानीबापत अमेरिकी डलर ५१,४६७ भुक्तानी लिएको ।

    एपीसीको बिमाबापत ३३,२७,२९५ यूएस डलर बिमा गर्नुपर्नेमा ३०,३३,९११ मात्रै बिमा गरेको

    स्पेयर पार्टस्को मूल्य अभिवृद्धि कर २,०८० अमेरिकी डलर भुक्तानी लिएको

    बन्दोबस्तीका सामानहरू सुडान पोर्टसम्म निःशुल्क पुर्‍याइदिने सम्झौता गरेको र पछि ढुवानी सम्झौता गरी अमेरिकी डलर ५१,४६७ बुझिलिएको

    कर तिरेको बिल जारी नगरी भुक्तानी लिएको

    प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रमुख ओमविक्रम राणासँग मिलेमतो गरी कमसल र पुराना एपीसी, काम नलाग्ने स्पेयर पार्टस् ढुवानी गरी ३ करोड १० लाख ३७ हजार ३ सय ३० रुपैयाँ बुझिलिएको


Read Full Discussion Thread for this article