Posted by: _____ July 30, 2011
त्यसपछि ...............
Login in to Rate this Post:     0       ?        

त्यसपछि ...............

 
विमल निभा
ठमाडौ, श्रावण १३ -


त्यसपछि यो देशमा जनयुद्ध भयो ।

त्यसपछि शान्ति प्रक्रिया सुरु भयो ।

त्यसपछि भयो के भने चुनाव भयो ।

त्यसपछि....

सिंहदरबारलाई अघिल्तिर पाएर जनयुद्ध एकछिन रोकियो । केही सोच्न थाल्यो । अनि विस्तारै पाइला चालेर भित्र छिर्‍यो । त्यहाँ बडेमानको फलामे गेटनेर नोकरशाह

उभिएको थियो ।

'लालसलाम हजुर ।'

यो आवाज कताबाट आएको हो भनेर जनयुद्ध यताउता हेर्न थाल्यो ।

'हजुर लालसलाम ।' नोकरशाह तलसम्म निहुरिएर भनिरहेको थियो ।

'लालसलाम ।' जनयुद्धले जवाफमा आफ्नो मुठी उचाल्यो ।

सिंहदरबार एकप्रकारले अनजान ठाउँ थियो । त्यसैले अप्ठ्यारो लागिरहेको थियो, जनयुद्धलाई । तर 'लालसलाम' सुनेर मन हलुंगो भयो । उसले अनुहार उज्यालो पारेर नोकरशाहतिर हेर्‍यो । निहुरिएको

निहुरियै थियो ऊ ।

'सुस्वागतम हजुर ।' सोही अवस्थामा चल्मलायो नोकरशाह ।

'हजुरको स्वागतको भव्य तयारी गरेका छौं,

हामीले ।' अलिकति तन्कियो ।

'हामी अभिनन्दन नै गर्छाैं, हजुरलाई ।' नोकरशाह पूरै सोझियो ।

जनयुद्ध दुवै उत्सुकताको आँखाले नोकरशाहतिर हेरिरहेको थियो । यो विलकुलै नौलो अनुभव थियो, उसको लागि । त्यसैले थोरै सतर्क पनि थियो, जनयुद्ध । एउटा दूरीमा उभिएको नोकरशाहले विनम्र स्वरमा भन्यो, 'हजुर अघि-अघि हिँड्नोस् ।'

'कहाँ जानुपर्‍यो ?' जनयुद्धले जिज्ञासा पोख्यो ।

'मूलबैठकतिर हजुर ।'

जनयुद्धले केही नबुझेको अनुहार बनायो ।

'म लगिहाल्छु नि हजुरलाई ।' नोकरशाहले यो

बुझेर भन्यो ।

'कता हो, मूलबैठक ?'

'नजिकै छ, हजुर ।'

'ल त हिँडौं ।'

'हजुर ।'

जनयुद्ध र नोकरशाह सँगसँगै हिँड्न थाले । जनयुद्ध केही अल्मलिएको जस्तो देखिन्थ्यो । र नोकरशाह निकै उत्साहित लाग्थ्यो । नोकरशाहले हिँड्दा-हिँड्दै भन्यो, 'हजुर यहाँ आउनुहुन्छ भनेर हामीलाई पहिलेदेखि

थाहा थियो ।'

जनयुद्धको आँखामा प्रश्न देखापर्‍यो, यो सुनेर ।

'हजुर गाउँघरतिर रहँदा नै हामीले अनुमान गरिसकेका थियौं ।'

जनयुद्ध मौन हिँडिरहेको थियो ।

'हजुरलाई हामी यहीँबाट नियालेर हेरिरहेका थियौं ।'

जनयुद्धले केही भनेन फेरि पनि ।

'हजुरको विषयमा हामीलाई पूरै जानकारी

थियो ।'

अब भने टाउको उचालेर जनयुद्धले नोकरशाहतिर हेर्‍यो ।

'हजुरको कुनै पनि कारबाही हामीबाट छिपेको

थिएन ।' नोकरशाहले पनि जनयुद्धतिर हेरेर भन्यो, 'हामीले त्यसैबेलादेखि बन्दोबस्त थालिसकेका थियौं ।'

'कस्तो बन्दोबस्त ?' जनयुद्ध सावधान भयो पूरै ।

'हजुरको अभिनन्दनको ।'

'हुँ ।' यति भनेर जनयुद्ध अगाडिको अग्लो भवनतर्फ हेर्न थाल्यो ।

नोकरशाह टक्क अडियो । जनयुद्ध पनि रोकियो । द्वारमा राखिएका तामाको गाग्रोमा फूल, अविर र अछेता छरिएको देखेर जनयुद्धले सोच्यो- यही मूलबैठक हुनुपर्छ । दुईतिरको केराको बोटमा टाँगिएको रातो तुलमा ठूलठूलो अक्षरले लेखिएको थियो- सिंहदरबारमा जनयुद्धको हार्दिक स्वागत !

जनयुद्धले मनमनै पढ्यो । उसको छाती चौडा भयो, एक्कासी । र दुवै आँखा चम्किए । असाध्यै गौरव महसुस भइरहेको थियो, उसलाई । गलत ठाउँमा आइएको रहेनछ भन्ने पनि लाग्यो । त्यसैले अन्तरदेखि प्रफुल्ल भयो । र गर्दन घुमाएर नोकरशाहलाई हेर्‍यो ।

'हजुरको अभिनन्दनको कार्यक्रम यहीँ हुने हो ।' नोकरशाहले अदवसाथ भन्यो ।

'यही हो, मूलबैठक ?'

'भित्र हजुर ।'

'ठीक छ ।'

'हजुर ।'

जनयुद्धको पछिपछि नोकरशाह भवनभित्र पस्यो ।

पञ्चकन्याहरू हातमा फूलको गुच्छा लिएर उभिएका थिए । रंगीचंगी फूलको गुच्छा तिनीहरूबाट फूलको गुच्छा लिएर जनयुद्ध आसनमा बस्यो । यो उसको लागि बनाइएको आरामदार गद्दा थियो । असाध्यै नरम उच्चासन ।

नोकरशाह उभिई नै रह्यो, दुवै हात जोडेर । केही समयपछि अघि बढेर उसले जनयुद्धको निधारमा रातो टीका लगाइदियो । अनि चम्किलो दुबोको माला पहिरायो । माला असाध्यै भारी थियो । त्यसैले गलाबाट निकालेर त्यसलाई टेबुलमा राख्यो, जनयुद्धले ।

एकहुल वाद्यसहितको गायक-गायिका मधुर धुनमा गाउन थाले- 'हे जनयुद्ध/प्यारो जनयुद्ध/जनयुद्ध, जनयुद्ध, जनयुद्ध... ।'

गीत-संगीत सुनेर उच्चासनमा बसेको जनयुद्ध गम्भीरताले मगन भइरहेको थियो । त्यसैले बीच-बीचमा टाउको पनि हल्लाउँथ्यो । वातावरण प्रभावपूर्ण देखेर नोकरशाहले जनयुद्धको कानमा खुसुक्क केही भन्यो । यसको जवाफमा जनयुद्ध अझ गम्भीर भयो । यो नोकरशाहको कुराको स्वीकृति पनि

थियो सायद ।

अन्त्यमा, नोकरशाहले सुन-चाँदीको कलात्मक प|mेममा रहेको जनयुद्धको अभिनन्दनपत्र जोड-जोडले पढ्न थाल्यो- 'हे परम आदरणीय जनयुद्ध, हजुरलाई देखेर हामी हषर्ाश्रुले भिजेका छौं । अतः हृदयदेखि नै हजुरको स्वागत गर्छौं । आजदेखि हजुरको साथमा हुने भीष्म प्रतिज्ञा पनि गरिरहेका छौं । यो सिंदरबारको ऐतिहासिक प्रांगणमा जनयुद्धको अभिनन्दन छ । जय महान जनयुद्ध !'

त्यसपछि तालीको पर्राले मूलबैठक गुञ्जियो ।

त्यसपछि नोकरशाहले लामो भाषण दियो ।

त्यसपछि जनयुद्धको धन्यवाद आयो ।

त्यसपछि भयो के भने एकाएक अभिनन्दनपत्र एउटा विशाल फाइलमा बदलियो ।

त्यसपछि यो लेखकले देख्यो -अरूहरूले देखे या देखेनन्, मलाई थाहा छैन)- त्यही फाइलमा नोकरशाहले विस्तारै जनयुद्धलाई बन्द गर्‍यो ।

त्यसपछि.... ।

प्रकाशित मिति: २०६८ श्रावण १४ ०९:५२
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=248385

Read Full Discussion Thread for this article