Posted by: _____ July 8, 2011
सुत्ने र कुद्ने दुवै एकै समय पुग्ने !
Login in to Rate this Post:     0       ?        

सुत्ने र कुद्ने दुवै एकै समय पुग्ने !

(3 Votes)
 

 

भोलिपल्ट निर्धारित समयमा प्रधानमन्त्री कार्यालय पुग्दा आधा दर्जन मन्त्रीज्यूहरू र दसौं सचिवज्यूहरू प्रधानमन्त्रीको 'वेटिङ' मा प्रतीक्षारत भएको पाएँ । तर अघिल्लो दिनको आदेशबमोजिम मलाई निर्बाध रूपले सरासर प्रधानमन्त्री कक्षमा लगियो । प्रधानमन्त्री आफ्नो कुर्सीमा देखिनु भएन, सहायकले ट्वाइलेट चेक गर्‍यो- त्यो पनि खाली ! खोइ त प्रधानमन्त्रीज्यू ? भनेर सोध्दा सहायकले छेउको ढोका देखायो तर खोल्न अलि हिचकिचाउँदै भन्यो, 'प्रधानमन्त्रीज्यू आराम गर्दै हुनुहुन्छ क्यारे ।' भित्र पसेर हेर्दा किसुनजी मस्त निदाइरहनुभएको थियो । मैले उहाँलाई अलि बिस्तारै हल्लाउँदै 'उठनुस् किसुनजी ! उठ्नुस् ! बाहिर दर्जनांै मन्त्री, सचिव प्रतीक्षामा छन् । तपाईंचाहिँ सुतेर बस्ने ? देश बनाउनु पर्दैन ?' भनेर अलि तिखो स्वरमा भनें । त्यो सुनेर किसुनजीले बिस्तारै आँखा खोल्दै भन्नुभयो, 'योर क्वेसन ह्याज टु पार्टस (तपाईंको प्रश्नका दुई भाग छन्) । जहाँसम्म आधा दर्जन मन्त्री पर्खेको भन्ने कुरा छ, ती मोराहरू कुनै खासै राम्रो कामका निम्ति पर्खेको जस्तो मलाई लाग्दैन । खराब काम एकैछिन पछि गर्दा पनि खासै फरक पर्दैन । रह्यो देश बनाउने कुरा- एकछिनको सुताइ वा दौडाइसँग त्यसको कुनै सम्बन्ध छैन । अहिले मेरो मुख्य जिम्मेवारी निर्धारित समयमा नयाँ संविधान बनाउनु हो । नयाँ संविधान बनाउने कुरा सडकमा दौडेर, कराएर, उप|mेरमात्र हुने कुरा होइन । विश्वनाथजीलगायत व्यक्तिहरूको बडो काबिल टिम बनाएको छु । परमात्माको कृपा भयो भने समयभित्रै त्यो काम सम्पन्न हुनेछ ।'

गहिरा कुराहरूलाई हल्काफुल्का रूपले भन्ने अद्भुत बानी थियो किसुनजीको । त्यस दिन 'देश बनाउने' प्रसंगको कुरा हुँदा उहाँले एउटा चामत्कारिक वाक्य बोल्नु भयो, 'जहाँसम्म देश बनाउने कुरा छ, नेपालमा सुत्ने र कुद्ने दुवैको इन्ड रिजल्ट -अन्तिम परिणाम) एउटै हो । चाहे सुत्नुस्, चाहे कुद्नुस् अन्तिम परिणाम एउटै हो । सब परमात्माको लीला हो ।' त्यो सुनेर मैले आश्चर्यमिश्रति स्वरमा सोधें, 'सुत्ने र कुद्ने दुवैथरीको अन्तिम परिणाम एउटै हुन्छ र ?' किसुनजीले बडा रहस्यमयी मुस्कानका साथ उत्तर दिनुभयो, 'अलमोस्ट विजयबाबु ! अलमोस्ट !' बढी भए उन्नाइस-बीसको फरक रहन्छ, बस त्यहीमात्र हो ।'

त्यस दिन मलाई किसुनजीको कुरा चित्त बुझेको थिएन, भाग्यवादी लागेको थियो । निष्काम कर्मयोग र भाग्यवादबीच फरक छुट्टयाउने समझ नभएर होला । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यति गलत हुन्न थियो किसुनजी जति मैले त्यस प्रसंगमा ठानेको थिएँ । तर्कवितर्क गरेर, दौडेर, कराएर, उप|mेर, मरेर, मारेरमात्र हुने भएको भए आज आम जनताको जीवनमा धेरै थोक भइसक्ने थियो ! सारा संविधानसभाले रातरातभरि नसुतेर मिटिङ गर्दा पनि, सारा रात जाग्राम बस्दा पनि संविधान र शान्तिको माला जप्नेबाहेक अरू कुनै सार्थक उपलब्धि हासिल गर्न नसकेको वर्तमान सन्दर्भमा किसुनजीका शब्दहरू याद आउँछन्- हल्काफुल्का रूपमा भनिएका तर गम्भीर अर्थ लाग्ने शब्दहरू ! ती शब्दहरूको तुलना जब म ऋषि धमलाजीलाई छेउमा साक्षी राखेर वर्तमान नेताजीहरूले थाकेको, कान्तिहीन मुद्रामा प्रवचनहरू दिएको देख्छु, एक प्रकारको हाँसो उठेर आउँछ । सोच्छु समयको मात्र कुरा हो, बडे-बडेलाई थकाइ दिएको छ यो वाग्मतीको पानीले ! कुद्ने र सुत्ने दुवै थरीको 'इन्ड रिजल्ट' लाई एउटै बनाइदिएको छ यो वाग्मतीको पानीले !

पत्रकार मित्र किशोर नेपालको ताजा गाथा पढ्दै थिएँ । किशोर प्रचण्डका प्रचण्ड प्रशंसकमध्ये थिए क्यारे । उनैले लेखेका छन्, 'प्रचण्ड पनि अब थाक्न थालेका छन् ।' प्रचण्डका विषयमा किशोरले लेखेको कुरा कहिलेकाहीं अर्थपूर्ण हुन्छ । यदि किशोरको आंकलन सही हो भने त्यो समाजका लागि शुभ संकेत हो । दक्षिण एसियाको यो भूभागमा अनावश्यक उप|mाइको कुनै अर्थ हुँदैन । राणा र शाहहरूले बनाइदिएका दरबारहरूभित्र बसेर क्रान्तिकारी परिवर्तनका भाषण गर्नु एउटा कुरा हो, जनताले महसुस गर्ने परिवर्तन ल्याएर देखाउन सक्नु नितान्त भिन्न कुरा हो । नेपालको सन्दर्भमा भन्ने हो भने विभिन्न कालखण्डहरूका दौरान अनेक प्रकारका 'तन्त्र', 'पक्ष' र 'पार्टी' नेताहरूले नेपाली जनतालाई नानाथरी नारा दिएको इतिहास छ । म सम्झन्छु- राजाहरूले दिएको 'विकासको मूल फुटाउने' नारा अथवा 'एसियाली मापदण्डमा पुर्‍याउने' नाराका कुरा । अनि म सम्झन्छु 'सारा रोगको एकमात्र औषधि भनेको पञ्चायत फाल्नु हो' भन्ने नारा ! त्यसपछि आयो माओवादीको औषधि जसले भन्यो, 'सम्पूर्ण रोगको रामवाण उपचार भनेको राजतन्त्र फाल्नु हो । राजतन्त्र ढालेपछि जुन झरनाको मूल फुट्छ त्यही मूलको पानी मुखमा दुई थोपा राख्नेबित्तिकै गरिब सर्वहाराका सबै रोग गायब हुनेछन् ।' गरिब सर्वहाराका कति रोग गायब भए वा थपिए ? निर्णय गर्ने काम पाठकहरूलाई छाडिदिन नै बेस हुनेछ ।

२००७, २०१७, २०३६, २०४६, २०६२/६३ का परिर्वतनहरूले हामीलाई दिएको मूल शिक्षा के हो भने- नेपाली जनजीविकाका समस्या समाधान गर्ने काम नेताहरूले भाषण गरेभन्दा, सामान्य जनताले सोचेभन्दा, कथित बुद्धिजीवीहरूले लेखे-बोलेभन्दा धेरै नै जटिल थिए, छन् र रहनेछन् । राणा हटाउने, निर्वाचित संसद्लाई सैन्यबल लगाएर हटाउने, जनआन्दोलनद्वारा पञ्चायत ढाल्ने वा राजतन्त्र समाप्त गर्ने कामको तुलनामा कैयौं गुणा बढी अप्ठ्यारा रहेछन् जनताको गाँस, बास, कपास र स्वतन्त्रताको मार्गका जटिलताहरू । राजनीतिक पार्टीका नेताहरू, तिनको महिनावारी तलब खाने र नखाने कार्यकर्ताहरू, आमसभाहरूमा हावाधारी कुरा सुनेर उत्तेजित हुँदै ताली पड्काउने सामान्य जनताहरू व्ा तिनको पक्षविपक्षमा अनेकौं तर्कवितर्क र कुतर्क गर्ने शिक्षित/अर्धशिक्षित समीक्षकहरू आदि सबैले केही आधारभूत तथ्यहरूलाई अत्यन्तै गहिरो ढंगले बुझ्न/बुझाउन जरुरी छ ।

कुनै जमाना थियो जब नेपालमा मात्र होइन सारा संसारमा 'ब्राह्मण युग' थियो । आदरणीय पाठकहरू- मैले प्रयोग गरेको 'ब्राह्मण' शब्दलाई हाल नेपालमा चलेको र 'सेमिनारहरूमा' चलाइएको 'ब्राह्मण' शब्दको अर्थमा कृपया नबुझिदिनु होला । ब्राह्मण युगको अर्थ- त्यो समय जब संसारमा जसले वेदको वा बाइबलको वा कुरानको वा बौद्ध ग्रन्थको धाराप्रवाह प्रवचन दिन सक्थ्यो, उही मानिस नेतृत्वदायी अवस्थामा पुग्दथ्यो । बेलायतमा भएको औद्योगिक क्रान्तिपछि वर्तमान संसार मूलतः 'वैश्य युग' मा प्रवेश गरेको छ । वैश्य युग अर्थात् उत्पादन र व्यापारको प्राध्ाान्य हुने युग । आजभोलि कुरा चाहे माओको गर्नुस् या चाओको वा स्टालिनको, कामचाहिँ वैश्य युगको नियमअनुसारै हुन पुग्दछ । अब 'कलेक्टेड वर्कस अफ माओ' पढेरमात्र कसैको पनि निर्वाह नचल्ने स्थितिमा संसार पुगेको छ । आम जनताका निम्ति दैनिक आवश्यकताका वस्तुहरूको निर्बाध उत्पादन र सहज प्राप्ति वर्तमान युगको सर्वोपरि सिद्धान्त बनेको छ । उत्पादक-उत्पादन-उपभोक्ताको संसार हो यो । यो संसार असल होला, खराब होला विवाद गर्न सकिन्छ तर अहिले यो संसार यस्तै छ । अब फगत भाषण गरेर वा बोलेरमात्र धेरै टिक्न सकिन्न । हो, बोल्नेको पिठो त अझै बिक्छ तर बेच्नलाई पिठो त हुनुपर्‍यो नि पहिला आफूसँग । पिठोचाहिँ उत्पादन नगर्ने तर 'बोली' मात्र रहनेलाई वर्तमान युगमा पागल कहलिन धेरै बेर लाग्दैन । कर्तव्यबिनाको अधिकार, योग्यताबिनाको आकांक्षा र उत्पादनबिनाको वितरणका तीन सूत्रीय हावादारी सिद्धान्तहरूमा जबर्जस्ती अड्काइएको वर्तमान संरचना, आफ्नै शरीरको भार धान्न नसकेर छिन्नभिन्न हुन धेरै समय लाग्ने छैन ।

हिन्दु धर्मशास्त्रअनुसार यो सृष्टि सञ्चालनका निम्ति ब्रह्मा, विष्णु र महेश तीन अलगअलग 'धर्म' भएका तत्त्वहरू अपरिहार्य छन् । यी तीन तत्त्वको सन्तुलनमा आर्दश समाज सम्भव छ । नयाँ सृष्टि केही नगर्ने, आफूसँग भएका वस्तुको संरक्षण रत्तिभर नगर्ने र खाली भत्काउने काममा मात्र दक्षता हासिल गरेको राजनीतिक नेतृत्व भएको समाजको हालत ठीक त्यही हुन पर्दथ्यो, जुन हालत हाम्रो अहिले छ । हिजैमात्र समाचार आएको छ- नेपालको आर्थिक वृद्धि दर तीन वर्षयताकै न्यूनतममा झरेको छ । विदेशमा लाखौं नेपालीले रगतपसिना नबगाएको भए आजै, अहिलै, यसै क्षणमा यो देश हरिकंगाल नयाँ नेपाल भइसक्थ्यो ।

अब प्रश्न उठ्छ, के हाम्रो राजनीतिक नेतृत्वले वा अझ भनौं सरकारमा आउने जानेहरूले 'उत्पादन' गर्न वा 'निर्माण' गर्न नचाहेकै हुन् त ? के यिनीहरूको 'ब्रह्मा' सँग कुनै पुरानो दुस्मनी छ ? होइन, त्यस्तोचाहिँ होइन । एकदिन एउटा रिसेप्सनमा आर्थिक अनियमितताका निम्ति नाम चलेको एउटा मन्त्रीले मलाई टिल्ल भएर भन्यो, 'म त्यति चोखो मानिस त होइन तर आफू जेजस्तो भए पनि आफ्नो कार्यकालमा जनतालाई सुख हुने दुई-चार राम्रो काम गरेर देखाउने चाहना नभएको कुनै मन्त्री हँुदैन ।' यति भनेर उसले दुई-चारपल्ट हिक्कहिक्क गर्‍यो र फेरि कुराको सिलसिला जोड्यो, 'तर समस्या के छ भने नयाँ ओरिजिनल काम कहाँबाट सुरु गर्ने मलाई थाहा नै छैन । भेट्न आएकामध्ये आजसम्म कोही पनि माइकालाल उसको निजी कामबाहेक अर्को काम लिएर आएकै छैन । साले जतिसुकै विद्वान् बुद्धिमान किन नहोस् आफ्नै कामको मात्र कुरा गर्छ ।' त्यो मन्त्रीको इमानदार स्विकारोक्ती सुनेर मलाई सुखद आश्चर्य भयो । टिल्ल भएर साचो बोल्ने त्यो मन्त्रीले मात्र होइन धेरैले नबुझेको सामान्य क, ख, ग के हो भने- वर्तमान युगमा उत्पादन बढाउन जेजस्तो नीति र योग्यता चाहिन्छ, त्यो हाम्रो नेतृत्वको क्षमता र सोचाइभन्दा बाहिरको कुरा हो । क्षमता नहुनु कुनै दोष होइन, जन्मँदै कोही सिकेर आएको छैन तर नेतृत्वमा बसेकाहरूले क्षमता बढाउने र सिक्ने कुनै चाहना नै नराख्नुचाहि जनताप्रति अपराध हो ।

किशोरले भनेझैं प्रचण्ड यदि साँच्चै थाक्न थाल्नुभएको हो भने देशका निम्ति अत्यन्तै शुभ संकेत हो । हरदिन नयाँ-नयाँ झूट बोल्नुभन्दा थाक्नु बेस हो । सुस्ताएको बेला मानिसले शान्त मनले पछाडि फर्केर हेर्न सक्दछ । वाईसीएलले काठमाडौं सफा गर्छ भनेको होइन कमरेड ? विकास निर्माण गर्छ भनेको होइन ? केही वर्षअगाडि दौडी-दौडी वाईसीएल कार्यकर्ताले सडक सफा अभियान उद्घाटन नगरेका पनि होइनन् । तर त्यो कति दिन चल्यो ? एक दिन ? कि दुई दिन ? दोष तपाईंको होइन कमरेड कसैको पनि होइन । वैश्य युगमा ब्राह्मण युगको नारा त लगाउन सकिन्छ तर टिकाउन सकिन्न । कि त वैश्य युगको लोभ गर्न छाडांै, होइन भने वैश्य युगमा वैश्य युगकै नियमहरू पलन गरेर देश र जनतालाई चीनमा माओले होइन, देङ सियाओले झैं चाँडै सुखी र समृद्ध बनाऔं । त्यो पनि गर्न सक्दैनौं भने किसुनजीको अमरवाणी स्मरण गरांै, 'यो देशमा सुत्ने र कुद्ने दुवैथरीको अन्तिम परिणाम एउटै हो । परमात्माको एउटा लीला छ त्यसैअनुसार सबथोक चलिरहन्छ । कोही उफ्रिँदैमा, कराउँदैमा परमात्माको गतिमा कुनै फरक पर्ने छैन ।'

source: http://www.ekantipur.com/np/2068/3/25/full-story/332174.html

Read Full Discussion Thread for this article