Posted by: Birkhe_Maila June 29, 2011
तानाशाह
Login in to Rate this Post:     0       ?        
 ।३।

 तानाशाह पुन्टेन्द्रको बयान:
 
((शुरुको छोटो दुई भाग पढ्दा पाठकहरुलाई पुन्टेन्द्रको अगाडि तानाशाह झुण्डिएको बाहेक अरु कुनै कुरा थाहा हुन सकेन। 

त्यसैले यो सम्पूर्ण भाग उनको परिचयमा समर्पित गरिएको छ।))
 
 
कालीनदीको किनार शताब्दियौँ देखि उस्तै देखिन्थ्यो। दुवै तिर हरिया बनहरुले ढपक्कै ढाकेको अग्ला चुलिएका पहाड र पहाडमा लुकेर बसेका र  छरिएका गाउँहरु पाल्पा राज्यको पहिचान थिए। कालीको किनारमै बिशाल र भव्य 'पानी महल' महल थियो पुन्टेन्द्र साहु को। हजूर, महलको  नाम थियो 'पानी महल'। भनिन्छ उहिल्यै पुन्टेन्द्रका बडा हजुरबुबाले रानिसंग पानीमा जलकृडा गर्दाको सम्झनामा उक्त महल बनाएका थिए र  आउने सयौँ पुस्तासम्म पनि कुरा होस भन्ने उद्देश्यले महलको नाम 'पानी महल' राखेका थिए। उक्त महल नेपालवर्षमै सबैभन्दा सुन्दर र अद्भुत  बनेकोले,धेरै खुसि भएर पुन्टेन्द्रका बडाहजुरबुबाले उक्त महल बनाऊने सबै कामदारलाई एक रात, राजभोज खुवाऊने बहानामा महलमा बोलाएका  थिए रे!राजभोजमा गएदेखि कुनै पनि कामदारहरु कहिल्यै घर फर्केनन् रे! भनिन्छ, फेरि अर्को त्यस्तो महल नबनाऊन भनेर बडा हजुरबुबाले  सबै कामदारहरुको शरिरमा ढुङ्गा बाँधेर कालीमा फालिदिएका थिए रे!यो कुरामा कति सत्यता थियो र कति मिथ्या त्यो कहिल्यै थाहा हुन  सकेन, र कसैले यसबारेमा कुरा गरेको पनि सुनिएन!
  
दिन बिते, महिना बिते, वर्ष बिते!  टाssढा नेपाल खाल्डोबाट समाचार आयो, जोतपर्व भयो रे! एकजना माणा मन्त्रीले नेपाल खाल्डोका  सबै मन्त्रीहरुलाई काटेर आफू राजा भएछन् र माणा शासनको सुरुवात गरेछन्। जोतपर्व र माणा शासनको शुरुवात लगत्तै धेरै परीवर्तनहरु भए।  कयौँ राज्यका महाराजाहरु साहु भने! नामबाट 'महाराज' हटे पनि अरु सबै कार्य कर्तव्य उस्तै थियो साहुहरुको। सर्वसाधारणहरु  चाड-पर्व,जन्म-मृत्यु,विवाह-व्रतबन्धमा यिनै साहुहरुकहाँ जान्थे,ऋण लिन्थे र जीवनभर उक्त ऋण चुक्ता गर्दै आफ्नो जीवन बिताऊँदथे। 
 
पुन्टेन्द्र साहु, जोतपर्वकै कालो रातमा जन्मेका थिए। यस अर्थमा ऊनि यस संसारमा आऊनु र नरसंहार शुरु हुनु एकै पटक भएको थियो। ऊनि  जन्मेको रात, सधैँ शान्त रहने कालीनदीमा डरलाग्दो किसिमको गडगडाहट सुनिएको थियो। उनको चिना बनाऊने मुल पुरोहीत अन्तिम पटक त्यहि रात महलमा छिरेको देखिएका थिए त्यपछि आजसम्म उनको कुनै खबर छैन। भनिन्छ पुन्टेन्द्रको जन्म लगत्तै उनले शायद केहि अनिष्टको पूर्वानुमान गरेका थिए र उनको यो पूर्वानुमान महलमा सह्य भएन र ऊनि बेपत्ता पारिए। 
 
तीन चार वर्षको हुँदा देखि नै पुन्टेन्द्रमा अचम्म किसिमको परीवर्तन देखिन थाल्यो। उनलाई एक्लै कोक्रामा सुताउँदा महल नै थर्काऊने गरेर रुन  थाले। कयौँ उपायहरु गरिए, बुबाहजूर आफैँले सुताऊने कोशिस गरे, मुमा धाईआमा सबैले आफूसंग सुताऊने कोशिस गरे, तर पुन्टेन्द्रको बाल्य-क्रोध-क्रन्दन थामिएन। त्यतिबेला एकजना सुकमेल नाम गरेकी एक महलसेविका थिईन्। उनलाई बालक पुन्टेन्द्रको क्रन्दनले पिडा दियो र ऊनले बुबाहजूरलाई एक पटक पुन्टेन्द्र लाई काखमा लिने अनुमती मागिन्। बुबाहजूरको अनुमति पश्चात उनले काखमा लिनासाथ पुन्टेन्द्रको क्रन्दन शान्त भयो। यस घटना पछि, पुन्टेन्द्र सुकमेलसंग लुटुक्क निदाउन थाले। तर यो धैरै समय सम्म टिक्न सकेन, पुन्टेन्द्रको क्रन्दन फेरि शुरु भयो। सानो बालक पुत्रको पटक पटकको क्रन्दनले आजित बनेका बुबाहजुरले महलमा घोषणा गरे कि जसले सानोसाहु पुन्टेन्द्रको रुवाई शान्त गर्ने उपाय बताउँछ, उसलाई ठुलो पुरस्कार दिईने छ। 
 
डिठ्ठाराम नामका एक साधारण कर्मचारी थिए त्यतिबेला महलमा उनले एक यस्तो उपाय बताए जसले गर्दा पुन्टेन्द्रको क्रन्दन रोकियो। डिठ्ठाराम अहिले पुन्टेन्द्र साहुका दाहिने हात रिठारामका बुबा थिए। उक्त घटना पछि, महलमा महिनै पिछ्छे महलसेविकाहरु भर्ना गर्न थालियो। पुन्टेन्द्र आठ वर्षको हुँदा नहुँदै उनि दायाँ वा बायाँ जता कोल्टे फर्कँदा पनि एकजना सुसारे महशुस गरेरनन् भने क्रोधमा रुनथालिहाल्थे! डिठ्ठारामले पुन्टेन्द्रको महलसेविकाप्रेम पत्ता लगाएकोमा बुबाहजूर यति खुसि भए कि उनले डिट्ठारामलाई आफ्नो दाहिने हात बनाए र महलसेविका भर्ना गर्ने सम्पूर्ण जिम्मा पनि उनैलाई लगाए। यो प्रथा यद्धपी कायमै छ र डिठ्ठारामको मृत्यूपश्चात रिठारामको काँधमा अहिले सबै जिम्मेवारी छ। आफ्नै उमेरका सेवक रिठारामलाई पुन्टेन्द्रले केवल रिट्ठे भन्थे र आफूलाई जति मन नपरेपनि यो नाम स्विकार गर्नु सिबाय रिठाराम स्वयंलाई र बाबु डिट्ठारामलाई अरु कुनै उपाय थिएन।
 
Last edited: 29-Jun-11 04:13 PM
Read Full Discussion Thread for this article