Posted by: IT_Guy June 22, 2011
ब्रम्हाले सरस्वतीलाई बलात्कार गरेका थिए |
Login in to Rate this Post:     0       ?        

बलात्कारी ब्रम्हा र सरस्वती



धेरै हिन्दुले ब्रह्माको पूजा गर्दैनन्। भनिन्छ, उनले आफ्नै छोरी सरस्वतीसँग यौनाचार गरेकाले सराप परेको थियो। यही अनाचार गरेबापत उनको पूजा नहोस् भनेर सराप दिइएकाले उनको पूजा गरिँदैन।

बाबुबाट छोरी बलात्कृत हुने यस्तो अपराध कथा वा पुराणमा सीमित छैन। आज पनि समाजमा यस्तो कुकृत्य हुने गरेकाले 'हाड नाता करणी'लाई जघन्य अपराधको कोटीमा राखिएको हुन्छ। समाजमा बाबुले छोरीलाई, दाजुले बहिनीलाई बलात्कृत गरेका घटना सुनिन्छन्।
ब्रह्माले सरस्वतीलाई बलात्कृत गर्दा सरस्वतीले 'इज्जत गयो' भनेर लुकाउने वा वा आत्महत्या गरिनन्। उनले अन्य देवतालाई गुहारेर अपराधीलाई दण्ड दिलाइन्। कसैले पनि पूजा गर्नेछैन भन्ने सराप दिन लगाइन्। सरस्वती भने ज्ञानकी देवीका रूपमा पूजित छिन्। उनलाई बलात्कृत भनेर अपमान गरिँदैन। अर्थात् बाबुबाट बलात्कृत भए पनि सरस्वतीको पूजनीयता खण्डित भएको छैन। विडम्बना, सरस्वतीकै पूजा गर्नेहरू पनि अरू बलात्कृत किशोरी वा महिलालाई अपमान गरिरहन्छन्। 
समाजमा कुनै किशोरी वा महिला बलात्कृत भइन् भने 'पक्कै पनि छोटोछोटो लुगा लगाएर उसले पुरुषलाई आकर्षित गरेकी होली' भनेर बलात्कारबाट दुःखी भएकैैलाई झन् दुःखी बनाइन्छ। बलात्कृत गर्ने व्यक्ति धेरैजसो चोखै उम्किन्छ। कतिपयले त घरका यस्ता कुरा बाहिर जान दिनै हुँदैन भनेर कसैले पनि बाबुले छोरीलाई बलात्कार गरेको घटना भित्रै दबाउन खोज्छन्। 
यस सन्दर्भमा क्यान्सर विशेषज्ञ डा. राजेश बरालले सुनाएको एउटा हृदय विदारक घटना सम्झना हुन्छ। बरालले भन्नुभएको थियो - 'आजभन्दा १० वर्षअघि कक्षा आठमा पढ्ने किशोरी निरा (नाम परिवर्तन) म कहाँ जँचाउन आइन्। उनलाई के भयो भनेर सोधँे झन्डै १५ मिनेटसम्म नबोली बसिरहिन्। अनि मैले एक जना नर्सलाई बोलाएर सोध्न लगाएँ। त्यसपछि निराले मलाई तल दुख्छ भनिन्। नर्सकै उपस्थितिमा उनलाई जाँच्ने कोसिस गरँे। म स्तब्ध भएँ, उनलाई त पाठेघरको मुखको क्यान्सर भएको रहेछ। उनलाई कहिलेदेखि यौन सम्पर्क भयो भनेर सोध्दा उनले दिएको जबाफ पत्याउनै नसकिने थियो। उनका बाबुले निरा कक्षा तीनमा हुँदादेखि नै बलत्कार गर्दैआएको थियो रे। डरले गर्दा उनले आमालाई पनि भनेकी थिइनन् रे। तर सात कक्षामा पुगेपछि उनलाई समस्या परेपछि आमालाई भनिछन्। आमाले बाबुसँग पारपाचुके गरिन् रे। बाबु चाहिँ भागेर अमेरिका पुग्यो रे। ती किशोरीको भाग्यले समयमै उपचार भयो र बाँचिन्।' डा. राजेन्द्र बरालले सुनाएको यस्तो घटना नेपाली समाजमा धेरै नभए पनि हुँदै नहुने चाहिँ होइन। विशेषज्ञहरूका अनुसार घरमा काका, मामा, काकाका छोरा वा अन्य कुनै पुरुष छन् भने बालिका र किशोरीलाई उनीहरूबाट हुनसक्ने यौन दुर्व्यवहारका बारेमा सचेत गराउनैपर्छ। स्कुलमा शिक्षकहरूले, घरमा बुवा वा दाजुका साथी वा काकाबाट यौन दुर्व्यवहार हुँदा कतिपय बालिका र किशोरीले पहिले त डराएर आमा वा बज्यैलाई भन्दैनन्। समाजमा नजिकका नातेदारले दिदी, बहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरूबीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने सोचाइ व्याप्त छ। तर घरभित्रको यौन दुर्व्यवहारका घटना बारम्बार प्रकाशमा आएका छन्। यस्ता घटना बारे बताए बेइज्जत हुन्छ भन्ने ठानेर धेरैले बाहिर ल्याउन पनि चाहँदैनन्। 
तर बालिका र किशोरीलाई परिवारभित्रैका रगतका नाताका पुरुषहरूबाट यौन दुर्व्यवहार हुने गरेको छ। त्यस्तो सम्बन्धबाट किशोरीहरू गर्भवती भएर स्त्रीरोग विशेषज्ञ कहाँ पुग्ने पनि गरेका छन्। काठमाडौंकी एकजना वरिष्ठ स्त्रीरोग विशेषज्ञले सुनाएकी एउटा घटना : - '
केही महिना अघि म कहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो। उनको पाँच महिनाको गर्भ रहेछ। उनकी दिदीले ल्याएकी थिइन्। किशोरी साह्रै उदास देखिन्थिन्। दिदीलाई बाहिर पठाएर मैले तिनीसँग कुराकानी गरेँ। उनको फुपुका पतिले ती किशोरीलाई बलात्कार गर्दारहेछन्। बाहिरबाट फुपाज्यूले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि 'ऊ त फुपा र फुपुकी छोरी नै भई' भनेकाले किशोरीका फुपाले गरेको दुर्व्यवहार कसैलाई भन्यो भने पक्कै पत्याउने छैनन् भन्ने डरले सबै सहेर बसेकी रहिछन्। केहीअघि उनको महिनावारी रोकिए छ। तर 'यस्तो त भइरहन्छ बढ्दो उमेरमा' भनेर आमाले भनेपछि उनी चुप लागिछन्। पेट देखिएपछि बल्ल उनको गर्भ रहेको आमा र दिदीले थाहा पाएछन्। किशोरीले रुँदै भनिन्। फुपाले यस्तो गरेको भनेपछि दिदी र आमाले उल्टै उनलाई हप्काएर इज्जत बचाउन कसैलाई खबर नगरी गर्भपतन गराउन ल्याएका रहेछन्। मैले दिदी चाहिँलाई बोलाएर यस्तो घटना त प्रहरीमा खबर गर्नुपर्ने हो भन्दा उनल 'समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकोले प्रहरीलाई खबर नगर्ने। जसरी पनि गर्भपतन गराइदिनुस्' भनेर आग्रह गरिन्। मैले गर्नैपर्‍यो।' 
कतिपय स्कुलका प्रधानाध्यापक वा अध्यापकले किशोरी वा बालबालिकालाई घरमा पढ्न बोलाएर वा स्कुलमै बढी समय राखेर चुम्बनदेखि बलात्कारसम्मको दुर्व्यवहार गरेको घटना प्रकाशमा आइसकेको छ। तर, किशोरीहरू प्रायः बोल्न डराउँछन् र यस्तो दुर्व्यवहार दोहोरिइरहन्छ। 
चुम्बन गरेको, स्तन छोएको नजिक राखेर सुम्सुम्याउने निहुँमा यौनांगमा चलाएकोजस्ता घटना घरमा भन्यो भने अभिभावकले आफैँलाई गाली गर्लान् भन्ने डरले त्यस्तो दुर्व्यवहार भोगेका किशोरीहरू प्रायः डराएर बोल्दैनन्। तर, शरीर सुम्सुम्याउने प्रक्रियाबाट सुरु हुँदै यस्तो अभ्यास बलात्कारसम्म पुग्नसक्छ। यसरी दुर्व्यवहार सहेका बालिका वा किशोरीको बानी व्यवहारमा परिवर्तन हुनथाल्छ। उनीहरू टोलाएर बस्ने, पढाइमा कमजोर हुँदै जाने हुनसक्छ। 
अर्को एउटा घटना। 'एक जना किशोरीलाई लिएर मकहाँ तिनका आमाबाबु आएका थिए। उनीहरूले आफ्नी कान्छी छोरीलाई पढाउन दिदीकहाँ राखेका थिए। दिदीको छोरी र उनको उमेरमा २-३ वर्षको मात्र फरक रहेछ। भिनाजुले माया गरेर अँगालो मारेको जस्तै गरी यौन दुर्व्यवहार गर्दाेरहेछ। सुतिरहेको कोठामा गएर उनलाई म्वार्इँ खाने, स्तनमा हात राख्ने गर्दोरहेछ। कलेजमा पढ्ने ती किशोरीले कसैलाई पनि भन्न सकिनन्। तर उनको बानी व्यवहार परिवर्तन हुँदै गएपछि आमाबाबु आएर कसैले उनीहरूलाई यो त मानसिक रोग लागेजस्तै छ विशेषज्ञकहाँ लैजानुपर्छ भनेर म कहाँ ल्याए। आमाबाबुलाई बाहिर राखेर ती किशोरीसँग मैले सम्पूर्ण घटना पत्ता लगाएँ। ती किशोरीलाई औषधि हैन स्नेह र उनलाई भइरहेको यौन दुर्व्यवहारबाट मुक्ति आवश्यक थियो। आमाबाबुलाई मैले राम्रोसँग सम्झाएर ती किशोरीलाई त्यो वातावरणबाट मुक्त गराउन उनको पढाइको अरू नै व्यवस्था गर्न भने। आमाबाबु बाहिर गएपछि ती किशोरीले मेरो हात समातेर भनिन् - 'थ्याङक्यु अंकल! तपाईले मेरो जीवन बचाइदिनु भयो।' एक जना मानसिक रोग विशेषज्ञले सुनाएको घटना हो यो। 
बालिका वा किशोरीलाई सानैदेखि यस्ता विषयमा जानकारी दिइयो भने उनीहरूमा डर हराउनेछ। आफूलाई यस्ता घटना भएमा घरका सदस्यलाई भन्नुपर्छ र उनलाई कसैले पनि गाली गर्नेछैन भन्ने आत्मविश्वास जाग्छ। यति हुनसके पनि तिनलाई यस्तो दुर्व्यवहारबाट जोगिन मद्दत हुनेछ। आमा, दिदी बाबुहरू सजग भएर आफ्ना छोरीबहिनीलाई यस्तो यौन दुर्व्यवहारबाट बचाउन सहयोग गर्नुपर्छ।

source: 
http://www.nagariknews.com/opinions/98-opinion/27964-2011-06-22-06-40-10.html



Read Full Discussion Thread for this article