Posted by: _____ June 19, 2011
तिन फरक लेख एक विचार
Login in to Rate this Post:     0       ?        
लेख-१

उदाहरण बन्ने हो भने...

 
हरिबहादुर थापा
आममान्यता हो- 'नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पद 'आकर्षक कोसेलीपात' मा मात्र नियुक्ति हुन्छ । त्यो कोसेलीपात ऊर्जा मन्त्री, तिनका नेताका कोठा र पार्टीको कोषसम्म पुग्छ ।'

त्यो आममान्यतालाई चिर्ने प्रारम्भिक प्रयास गरेका छन्- ऊर्जा मन्त्री गोकर्ण विष्टले । प्राधिकरणको त्यो आकर्षक पदमा खुला प्रतिस्पर्धामा आधार चयन गर्ने र त्यसमा सुधारका राम्रा योजना प्रस्ताव गर्न सक्नेलाई नियुक्त गर्ने निर्णय उनले लिए । उनको त्यो कामलाई 'असल सुरुवात' को अनुभूतिका रूपमा ऊर्जा मन्त्रालयका अधिकारी लिन्छन् । तर उनी यस्तै असल सुरुवातलाई निरन्तरता दिन

सक्छन् या सक्दैनन्, त्यो चाहिं हेर्न बाँकी छ ।

खराब राजनीतिक नियुक्तिका कारण सरकारी संस्थाहरू चरम घाटामा गएका छन् । अध्यक्ष तथा कार्यकारी पद पार्टीका नेतादेखि कोसेलीपात बुझाउन सक्नेलाई नियुक्त गरिएपछि संस्थानहरू विरूप भएका हुन् । यो उनको एकल निर्णय हो- सरकारी स्वामित्वका संस्था सुधारका निम्ति । उनको यो निर्णयका कारण पनि 'असल व्यक्ति' मा चित्रण हुँदै छ । धेरै गलत मानिसको भीडमा अलिक फरक ढंगले काम गर्नेहरू सजिलै आफूलाई केन्द्रबिन्दुमा पुर्‍याउन सक्छन्, विष्ट त्यसैको उदाहरणमा पर्छन् ।

न्याय क्षेत्रमा एकदमै नाम कमाएर भर्खर बाहिरिए- रामप्रसाद श्रेष्ठ । उनले पनि कुनै उल्कापात काम गरेका होइनन् । केवल आफू इमानदार बनेर न्यायपालिकाको कार्यशैलीमा सुधार गर्ने र भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्राथमिकता दिने निर्णय लिएका हुन् । अनि नेतृत्व तहमा इमानदार बन्ने हो भने तल्ला निकाय धेरै बेइमान बन्न कठिन हुन्छ भन्ने तथ्य स्थापित गरे । मुहान सफा नभईकन स्वच्छ पानीको कल्पना गर्न सकिँदैन । 'माथिका' हरू इमानदार हुने हो भने विकृति/विसंगतिमा न्यूनीकरण हुन सक्छ, त्यसका उदाहरण हुन्- पूर्व प्रधानन्यायाधीश श्रेष्ठ पनि । शासकीय वृत्तमा जेजति विकृति र विसंगति देखापरेका छन्, ती 'माथि' कै कारणबाट

हो । प्राप्त कानुन पालना गरेकै कारण प्रहरी उपरीक्षक रमेश खरेलले प्रशस्तै प्रशंसा बटुलेका थिए ।

गलत काममा अडान लिन सक्ने हो

भने तिनले पनि आफ््नो छवि उजिल्याउन सक्छन्- उदाहरण पूर्वअर्थसचिव रामेश्वर खनाल हुन् । मन्त्रालयभन्दा बाहिर कसैका हितमा बजेट बनाउने, नक्कली भ्याट बिलवालाहरूलाई कानुनी उन्मुक्ति दिने खेलको पर्दाफास गर्ने हिम्मत गरे-

त्यही दिनबाट उनी मुलुकभर चर्चित पात्र बने । उनले पदीय स्वार्थभन्दा पनि संगठन जोगाउने स्वार्थ महत्त्वपूर्ण ठाने जो आममानिसका आँखामा पर्‍यो ।

अर्थमन्त्री हुनुपूर्व एमाले नेता सुरेन्द्र पाण्डेलाई कमैले चिन्थे- पुरानै राजनीतिकर्मी भए पनि । जब उनले अर्थ मन्त्रालयमा इमानदारीपूर्वक काम गरे, त्यसपछि उनलाई धेरैले चिने । उनका उत्तराधिकारीका रूपमा भरतमोहन अधिकारी अर्थमन्त्री भए, उनलाई धेरैले चिनेका थिए, प्रारम्भिक कार्यशैलीबाट उनले बदनामी कमाए ।

पाण्डे र अधिकारी एउटै पार्टीका थिए । बेइमानलाई हटाएर इमानदार ल्याउन सकिन्थ्यो । तर इमानदारलाई ठाउँ दिने संस्थागत दलीय चरित्र प्रधानमन्त्री झलनाथ खनालमा देखिएन । त्यति धेरै विवादको भुमरीमा परेका अधिकारीलाई हटाउन सक्ने साहस नदेखिनु भनेको खनाल खराबीमै रम्न चाहन्छन् भन्ने सजिलै बुझियो । पार्टी र सरकारको छवि जोगाउने हो भने बेइमान हटाउँदै इमानदारलाई ठाउँ दिन सक्थे । उनलाई कसैले रोक्ने थिएन । त्यसले खनालकै उचाइ उचो बनाउँथ्यो ।

यो राजनीतिक नेतृत्व स्वच्छ छवि निर्माण र इमानदार बाटोमा हिँड्न चाहँदैनन् भन्ने उदाहरण पनि हो । जो इमानदार र सफल भए, तिनलाई सरकारमा सामेल गराउनेभन्दा पनि कमाउन सक्ने व्यक्तिलाई अघि बढाउने नेपाली राजनीतिक चरित्र हो । खनालले पनि त्यही धर्म निर्वाह गरे । जसले पार्टी र नेतृत्वलाई 'आर्थिक रूपले' रिझाउन सक्छ, त्यही नै पुरस्कृत गर्ने शैलीका कारण राजनीतिमा अनुशासनहीनता बढेको हो । पदमा पुगेपछि कमाउने उद्देश्य बोकेकाहरू सामान्य कर्मचारी सरुवामा समेत 'घूस' माग्न पछि पर्दैनन् भने टेन्डर प्रक्रियामा जथाभावी गर्न चाहन्छन् । सधैंभरि कार्यालय र निवास दलाल र अनुचित आकांक्षा राख्ने कार्यकर्ताबाट घेरिन्छन् । त्यस्ता पात्रहरूको घेराइमा पर्नेहरू छिट्टै बदनाम हुन पुग्छन् ।

मन्त्रीहरूलाई नीतिभन्दा टेन्डर, कोटेसन, ठेक्कापट्टामा रम्दा आनन्द आउँछ । नीतिगत सवालमा चिन्ता गर्छन्, न अध्ययन न विश्लेषण । विभागीय प्रमुखको कार्यक्षेत्र हो- टेन्डर र ठेक्का दिने काम । मन्त्रीहरूको आदेश हुन्छ- 'मलाई नदेखाईकन ठेक्कापट्टाको निर्णय नगर्नू ।' नदेखाऊँ विवादमा परिन्छ या सरुवा । देखाउँदा तिनको अनुकूल चल्नैपर्ने हुन्छ- त्यसैकारण सधैंभरि उपल्ला सरकारी अधिकारीहरू 'जोखिम' मा हुन्छन् । राजनीतिमा तिनै पात्र बदनाम भएका छन्, जो पार्टी र नेतृत्वलाई अनुचित तवरमा रिझाउने शैलीमा लागेका छन् । एक मात्र धेय सत्ता र शक्ति मात्र भएपछि कुनै पनि बेला त्यस्तो कार्यशैली बाहिर आउँछ नै । त्यसपछि त्यस्ता पात्रहरू 'अविश्वसनीय' बन्दै जान्छन् । उदाहरणहरू प्रशस्त छन्, यो तथ्य राजनीतिज्ञकर्मीहरूले नबुझेका होइनन् ।

श्ाासकीय नेतृत्वमा पुगेका प्रतिनिधिहरू निष्कलंक, इमानदार, नैतिकवान् नरहेपछि त्यसको रापतापमा समाज भुंगि्रएको छ । विकृति र विसंगतिको भासमा होमिएपछि अन्योल र अराजकता सिर्जना हुनु अस्वाभाविक होइन । लोकतन्त्र भनेको जनउत्तरदायी हुनु हो । अर्थात्, आममानिसलाई रिझाउने कायैशली प्रदर्शन गर्न हो भने सजिलै 'छवि' बन्छ- रामप्रासद श्रेष्ठ, रमेश खरेल, सुरेन्द्र पाण्डे, रामेश्वर खनालले जसरी । आफ्नो काम, कर्तव्य र अधिकारबारे दायित्वबोध गर्न सकेकै खण्डमा पनि धेरैले आफ्नो तस्बिर सफा राख्न सक्छन् । नेतृत्वमा दबाब तथा प्रभाव थेग्न सक्ने क्षमता हुनुपर्छ । त्यसमा गल्न नसक्नेहरू मात्रै उँभो लाग्छन् । दोेहोरो चरित्र बोक्नेहरूको विश्वसनीयता चाँडै समाप्त हुन्छ ।

अर्थ मन्त्रीको नेतृत्वसँगै डा. बाबुराम भट्टराईले चर्काे लोकपि्रयता हासिल गरेका थिए । अर्थमन्त्री हुनुपूर्वसम्म उनी माओवादीमै मात्र सीमित थिए । जब उनले भन्सारभित्रको विकृत संसार अन्त्यका निम्ति कम्मर कसे, त्यसपछि आममानिससम्म उनी लोकपि्रय बन्न पुगे । माओवादीभित्र भन्दा इतरमा उनले बढी चर्चा आर्जन गरे । रुखो र खरो डा. रामशरण महत अर्थमन्त्री हुँदा अर्थतन्त्रमै विश्वसनीयता छाउँछ । आर्थिक उदारीकरण नीति नअपनाएको भए निजी क्षेत्र सल्बलाउने थिएन । आर्थिक उदारीकरण मसिहा डा. महतको आगमनसँगै निजी क्षेत्रले राहतको सास फेर्छ किनकि उनको आर्थिक नीतिमा दोहोरो चरित्र हुँदैन । त्यो उनको प्रमुख गुण हो ।

उनै महतले २०५२/२०५३ तिर नेपाललाई एसियाको 'आर्थिक केन्द्र' बनाउने कानुन प्रस्तुत नगरेका होइनन् । आर्थिक नीतिको निरन्तरता हुन नसकेको मात्र होइन, मन्त्री फेरिएपछि नीति फेरिए । ऊर्जा मन्त्री विष्टले प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने जुन नीति ल्याएका छन्, त्यसले पनि निरन्तरता पाउनेछैन किनकि अधिकांश संस्थानमा राजनीतिक नियुक्ति भरिएका

छन् । उनको कार्यकाल समाप्तिसँगै त्यहाँ राजनीतिक नियुक्ति हुनेछ किनकि विगतमा अपनाइएको प्रतिस्पर्धात्मक नीतिले कहिल्यै निरन्तरता पाएको छैन ।

पूर्वी एसिया मलेसियाका बहुचर्चित राजनेता महाथिरका कार्यशैलीको सवालमा पश्चिमा सञ्चार जगत्ले रमाइलो टिप्पणी गरेका थिए । तिनै महाथिरले मलेसियामा अर्थतन्त्रको जग बसाएका थिए । पश्चिमा सञ्चारको टिप्पणी थियो- 'तिनै राजनीतिज्ञ मन पराइन्छन् या कालान्तरमा लोकपि्रय बन्दै जान्छन्, जो हठी तथा साहसी

हुन्छन् । सत्य कुरा चाहे त्यो अति अलोकपि्रय किन नहोस्, त्यसमा तिनीहरू बोल्न रत्तिभर हिच्किचाउँदैनन् ।'

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=245074

लेख-२
गर्ने मान्छेले हो, सिद्धान्तले होइन
 
(7 Votes)
 
   
प्रदीप नेपाल


शासन गर्नेहरूमा जनता र राष्ट्रप्रति समर्पण तथा काम गरेरै मातृभूमिको ऋण तिर्ने अठोट भयो भने गर्न नसकिने भन्ने केही हुँदैन । दुई वर्षअघि म विहारको राजधानी पटना पुगेको थिएँ । डकैती, चोरी, हत्याजस्ता सामाजिक अपराधको परिचय बोकेर बसेको पुरानो विहार भारतको सबैभन्दा पछौटे राज्यको सूचीमा पर्थ्यो ।

पछिल्लोपटक पटना पुगेका बेला विहार फेरिएको सुनियो, देखियो, भोगियो । त्यो झन्डैझन्डै कल्पनातीत परिवर्तनको श्रेय विहारीहरूले नीतिशकुमारलाई दिँदा रहेछन् । नीतिशकुमार, भारतका समाजवादी नेता जयप्रकाशनारायण स्कुलसँग जोडिन्छन् । एउटा अनौठो आत्मविश्वास बोकेका नीतिशकुमारले हामीसँग भनेका थिए, 'गर्दा नहुने केही छैन ।

विहारजस्तो राज्य त बदलिन्छ भने नेपाल नबदलिने कुरै छैन ।' पाठकलाई थाहै होला, नेपाली कांग्रेसलाई सिद्धान्त दिने विश्वेश्वरप्रसाद कोइराला पनि जयप्रकाशनारायणसँगै जोडिएका थिए तर पटकपटक मौका पाउँदा पनि नेपाली कांग्रेसले  नेपालको आर्थिक एवं सामाजिक क्षेत्रमा कुनै परिवर्तन गर्न सकेन । तर एकपटक मौका पाउनासाथ नीतिशकुमारको पार्टीले विहारको 'कायापलट' नै गरिदियो ।

अघिल्लो हप्ता म सिक्किम पुगेको थिएँ । सन् १९७४ मा सिक्किम भारतमा विलीन भएको हो । त्यतिबेला हामी विद्यार्थी थियौँ र सिक्किम विलयनको चर्को विरोध गरेका थियौँ तर विलयनको ३७ वर्षपछि सिक्किम पुगेको म आफूले विद्यार्थी छँदा सिक्किम विलयनको विरोध गरेको घटना सम्झिएर कुचुक्क परेँ । सिक्किममा त्यस्तो अनौठो परिवर्तन भएको देखेर छक्क नपरी बस्न पनि सकिएन । सामाजिक सुरक्षाको प्रणाली त्यति राम्ररी स्थापित भएको मैले दक्षिण एसियाका कुनै मुलुकमा देखेको छैन । शिक्षा, स्वास्थ्यलाई जनताको अधिकारको विषय मानिएको रहेछ त्यहाँ । विपन्न तथा गरिबलाई राज्यले आवासको व्यवस्था गरिदिँदोरहेछ त्यहाँ । विकासको गतिलाई पछ्याउँदै टिष्टा नदीको सात ठाउँमा बाँध बाँधेर बिजुली निकाल्ने अभियान चलिरहेको रहेछ त्यहाँ । तीन ठाउँको निर्माणाधीन जलविद्युत् आयोजना त म आफैँले हेरेर आएँ । त्यहाँका ठेकेदार र कर्मीहरूले भने, 'अबको तीन वर्षमा हामी एकैचोटि १२०० मेगावाट बिजुली निकाल्दै छौँ ।'

यसको श्रेय जाँदोरहेछ सिक्किमे मुख्यमन्त्री पवन चामलिङका नाममा । सिक्किममा राजतन्त्र समाप्त भएपछि पवन चामलिङभन्दा अगाडि तीनजना मुख्यमन्त्री भएका रहेछन् । तिनले सिक्किमको मुहार फेर्न आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा खासै काम गर्न सकेका पनि

रहेनछन् । पवन चामलिङले मुख्यमन्त्री पद सम्हालेपछि नै सिक्किमको तीव्र विकास भएको रहेछ ।

पवन चामलिङको राजनीतिक यात्रा साहित्यबाट सुरु भएको रहेछ । उनका आदर्श रहेछन् कार्लमाक्र्स र महात्मका गान्धी । उनलाई कुन सिद्धान्तको भन्ने ? कुन विचारको भन्ने ? उनको कार्यक्रमको सार रहेछ, सन् २०१५ सम्म सबै सिक्किमेली जनतालाई शिक्षा र स्वास्थ्य मात्र होइन, गाँस, बास र कपासको ग्यारेन्टी गर्ने । गएको पन्ध्र वर्षमा पवन चामलिङको सोचमा हिँडेको सिक्किम प्रजातान्त्रिक मोर्चाले गरेको प्रगतिको आँकलन गर्दा २०१५ सम्ममा जनताका आधारभूत आवश्यकता पूरा हुँदैनन् भनेर भन्न सकिने अवस्था पनि देखिएन ।

बिस्तारै पुराना सिद्धान्तहरू मर्दै छन् आफ्नै जडताको सिकार भएर । पश्चिम बंगालमा माक्र्सवादी कम्युनिस्ट पार्टीले ३४ वर्ष राज गर्‍यो । त्यत्रो लामो समयमा पनि त्यसले बंगालको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा खासै काम गर्न सकेन । तथ्यांकले बरु भारतीय सूचकांकमा पश्चिम बंगाललाई तल तल झार्दै लग्यो । विहार र सिक्किमको विकासले त्यसो हुनु स्वाभाविक पनि थियो ।

संयोग नै होला विहार, बंगाल र सिक्किम तीनै राज्यको सिमाना नेपालसँग जोडिएको छ । भाषा, संस्कृति र सामाजिक व्यवहारमा पनि यी तीन राज्य नेपालसँग मिल्ने देखिन्छन् । उहिले कुनैबेला सिक्किम र विहारभन्दा नेपाल धेरै माथि थियो आर्थिक र सामाजिक अधिकारका क्षेत्रमा । गरिबीले टाक्सिएका विहारीहरू नेपालमा काम गर्न आउँथे र त्यसरी आएका कतिपय नेपाली नागरिक भएरै बस्थे । तर अहिले नेपालीलाई विहारले काम दिन थालेको छ र हिजो नेपाली नागरिक भएका विहारीहरू बिस्तारै घर फर्किंदै छन् । विदेशीलाई काम गर्ने नीति बनाएको भए अहिले नेपाली मलेसिया र अरब होइन सिक्किमतिर काम खोज्न जाने थिए ।

दार्शनिक कार्लमाक्र्सले आफ्नो प्रख्यात कृति कम्युनिस्ट पार्टीको घोषणापत्रमा सामाजिक जीवनमा व्यक्तिको भूमिकालाई सबैभन्दा माथि राखेका छन् । उनले भनेका छन्, 'व्यक्तिको विकास नै समूहको विकासको पूर्वसर्त हो । तर नेपालका कम्युनिस्टहरू अनौठा छन् अहिले पनि । तिनीहरू भन्छन् संगठनका अगाडि व्यक्तिको कुनै भूमिका हुँदैन । संगठन ठूलो हो र व्यक्ति संगठनको मातहत हुन्छ । नेपालका मदन भण्डारीले टाउकाले टेकेर हिँडिरहेको सिद्धान्त र व्यक्तिबीचको सम्बन्धलाई खुट्टाले टेकेर हिँडाउने प्रयास गरेका थिए । भण्डारीले भनेका थिए, 'सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ ... ... जनताको माग नै पार्टीको माग हुनुपर्छ ।' तर नेपालका नेता कम्युनिस्टहरूले पहिले त मदन भण्डारी र उनले अघि सारेको जनताको बहुदलीय जनवादलाई संशोधनवादी, विसर्जनवादी, दक्षिणपन्थीको बिल्ला लाइदिए भने मदन भण्डारीका सहयोगी मानिएका एमालेभित्रकै ठूला नेताहरूले जनताको बहुदलीय जनवादलाई मन्दविषको सिकार बनाउने काम गरे ।

सबैभन्दा ठूलो व्यक्ति हो । सिद्धान्त व्यक्तिले बनाउने हो । नेपालमा, नेपाली सिद्धान्तको निर्माणमा एकाध व्यक्ति मात्रै देखापरेका छन् । एउटा थिए विश्वेश्वरप्रसाद कोइराला । उनले प्रजातान्त्रिक समाजवादको अवधारणालाई नेपालमा भित्र्याए तर साहित्यमा सफल मानिएका कोइराला राजनीतिमा असफल भए । २०३० सालपछि त उनले आफ्नै प्रजातान्त्रिक समाजवादप्रति एकखालको अरुचि देखाउन थालेका थिए । राष्ट्रिय मेलमिलापको नीति यो अरुचिको ठोस अभिव्यक्ति हो । २०३६ सालको जनमतसंग्रहमा व्यापक मोर्चा बनाउने मनमोहन अधिकारीको प्रस्तावलाई कोइरालाले अस्वीकार गर्नु गलत थियो । २०४६ सालको जनआन्दोलनको सफलताले पनि यसको पुष्टि गर्छ । त्यसैले प्रजातान्त्रिक समाजवाद यतिबेला घाटेवैद्यको ओछ्यानमा लडिरहेको छ ।

सिद्धान्त निर्माण गर्ने दोस्रा नेता थिए मदन भण्डारी । उनले समाजवादी प्रजातन्त्रका मान्यताहरूलाई जनताको बहुदलीय जनवादका रूपमा नेपालमा स्थापित गर्ने प्रयास गरेका थिए । परिवर्तनको बाहक बनेका मदन भण्डारी जनताका शत्रुको आँखाको काँडो बने । राजनीतिमा स्थापित हुने प्रक्रियाको आरम्भमै उनी मारिए । उनको हत्यापछि एकाध वर्षसम्म जनताको बहुदलीय जनवादको धुकधुकी नेकपा एमाले नाम गरेको पार्टीको मुटुमा चलिरहेको थियो । तर २०५३ सालपछि सत्ताका लागि एमालेले पनि जनताको बहुदलीय जनवादलाई खोपाको देउता बनाइदियो ।

मैले त्यसै सिद्धान्त मरेको समय हो अहिले भनेको होइन । सामाजिक सुरक्षाको प्रत्याभूत गरिएको फिनल्यान्डलाई तपाईं कुन वादको टोपी लाइदिनुहुन्छ ? २०१५ सम्म जनताका आधारभूत आवश्यकता परिपूर्ति गरिदिने प्रणसहित अहिले लगातार सफल काम गरिरहेको सिक्किमलाई तपाईं कुन सिद्धान्त मातहत राख्नुहुन्छ ?

यथार्थमा सिद्धान्त तपाईंको मातृभूमिको कोखबाट जन्मिन्छ । मातृभूमि र आफ्ना दाजुभाइहरूको आवश्यकताको पूर्तिबाटै हामीले अख्तियार गर्ने सिद्धान्त बन्छन् । एकपल्ट बाँचेका नेताहरूले सोचून्- हलो जोतिरहेको किसानको कल्याण गर्ने विश्वेश्वरप्रसाद कोइराला र राजनीतिक दलले जनताको मागलाई नै आफ्नो कार्यक्रम बनाउनुपर्छ भन्ने मदन भण्डारीका सिद्धान्त नै अहिले नेपालको हितरक्षक विचार हुन् । मालेमावाद र समाजवादी 'अन्तर्राष्ट्रिय वाद' जस्ता मान्यता फगत सन्दर्भसामग्री हुन् । पाठकलाई थाहा होस्, तीन महिना उज्यालो, तीन महिना अँध्यारो र तीन महिना हिउँ पर्ने फिनल्यान्डवासीलाई आफ्नो मातृभूमि, आफ्ना स्वदेशीजनको हितबाहेक अर्को कुनै सिद्धान्त चाहिएको छैन ।

लेखक एमाले पोलिटब्युरो सदस्य हुन् ।  

source: http://www.ekantipur.com/np/2068/3/5/full-story/331147.html

लेख -३
राजनीतिक सिद्धान्त र जीवनका फरक-फरक रंग
 
(23 Votes)
 
विजयकुमार

विश्वेश्वरप्रसाद कोइरालाको जीवित अनुहार मैले कहिल्यै देखिन । जीवनमा प्रथम र अन्तिम पटक उहाँको दर्शन पाउदा बीपी मृत्युशय्यामा पल्टिसकेका थिए । म रत्नपार्कनेर हल्लिरहेको थिएँ, अचानक ठूलो कोलाहाल सुनें, रानीपोखरीतिरबाट 'जिन्दाबाद रु अमर रहुन्' जस्ता आवाजहरू आइरहेका थिए । ती दिनहरू पञ्चायती सन्नाटाका दिनहरू थिए । राजा-रानीहरूको जन्मदिनमा बाहेक अरू कसैको जिन्दाबाद भनिएका आवाज राजधानीमा दुर्लभ थिए । म क्याम्पसमा विद्यार्थी थिएँ । राजनीतिमा रत्तिभर रुचि थिएन । कक्षामा पढाइने पुस्तक र टोलकै एउटा केटीबाहेक मेरानिम्ति बाँकी संसारको कुनै अर्थ थिएन । त्यहीं केटी आउँछे कि भनेर रत्नपार्क कुरी बसेको थिएँ । केटी त आइन तर अघि भनिएको आवाजको जुलुस देखियो, अलि पर रानीपोखरीनेर ।

ती दिनहरूमा काठमाडौं सहर खुल्ला थियो, टाढैबाट टाढा-टाढासम्मका गतिविधि देख्न सकिन्थ्यो, बुझ्न सकिन्थ्यो । मानिसहरूको मन पनि अहिलेभन्दा फराकिलो थियो । को के-कस्तो मान्छे हो ? के चाहन्छ, बुझ्न सजिलो थियो । राष्ट्रिय नाचघरमा बाहेक अन्यत्र 'नाटक' को प्रदर्शन विरलै हुन्थ्यो । गाईजात्रा देखाउने दिन पनि निश्चित थियो, वर्षमा त्यो एक दिनबाहेक गाईजात्रा देखाउन प्रतिबन्ध थियो । राम्रो/नराम्रो जे थियो, जस्तो थियो, मोटामोटी प्रस्टै थियो । पञ्च पञ्च जस्ता थिए, प्रतिबन्धित कांग्रेस र कम्युनिस्ट, कांग्रेस र कम्युनिस्टजस्तै थिए । उनीहरूको जीवनशैली पनि त्यसैअनुसार राजसी, सात्विक र तामसी थियो । पञ्चहरू राजाको जय जयकार गर्थे र सकेसम्म राजाजस्तै जीवनशैली बाँच्ने सफल असफल प्रयत्न गर्थे । कोही-कोहीचाहिँ राजाकै शैलीमा बोल्न पनि खोज्थे । एक हदमा भन्ने हो भने आजभोलिका माओवादी, एमाले, कांग्रेस, मधेसवादीभन्दा बढ्ता पारदर्शी थिए पञ्चहरू । एउटा पञ्चले भनेको सम्झन्छु, 'दिनमा आधा घन्टा राजाको जय जयकार गरेर बाँकी २३ घन्टा ३० मिनेट आफू छोटे राजा हुन पाइन्छ भने त्योभन्दा आनन्दको राजनीतिक दर्शन के हुन सक्छ ?'

त्यो जमानाको एउटा छोटो मोटो पञ्च आजभोलि ठूलो माओ भएको छ । केही समयअघि पाँचतारे होटलमा एउटा 'विशिष्ट माओ पुत्र' लाई साथ राखेर भन्दै थियो, 'होइन हजुर, हामीमात्र सारा जीवन राजाहरूबाट शोषित भएर बस्ने ? हामीले चाहिँ मालिक हुन नपाउने ?' उसको 'मालिक' हुने अदम्य चाहना देखेर मैले पाउलो फेरीलाई सम्झें, जसको एउटा महावाक्य छ, 'संसारमा हरेक शोषितभित्र कुनै दिन शोषक बन्ने चाहना लुकेर बसेको हुन्छ ।' त्यो महावाक्यले मलाई बेलाबखत झस्काइरहन्छ । ती क्षणहरूमा म प्रार्थना गर्छु- पाउलो फेरी गलत साबित होउन । कमसेकम हाम्रो देश त्यो सर्वव्यापी नियमको अपवाद बनोस् !

आदरणीय पाठकहरूलाई म फेरि तीसौं वर्षअघिको 'जमल' लिएर जान चाहन्छु, जहाँनेर आइपुग्दा बीपीको शवयात्रासँग मेरो भेट भएको थियो । मैले अलि अग्लो स्थानमा चढेर हेरें । फूलै फूलले घेरिएको बीपीको शान्त मुहार प्रस्ट देखियो । मेरा हातहरू स्वचालित रूपमा उठेर बीपीलाई जीवनमा प्रथम र अन्तिम पल्ट नमन गर्न पुगिसकेका रहेछन् । अनि, चुपचाप बीपीको शवयात्रामा सामेल भएर बानेश्वरसम्म पुगेर घर फर्के । अघि नै भनियो, ती दिनहरूमा मलाई कलेजको किताब र टोलको 'त्यो' केटीबाहेक अरू कुनै कुरामा रस नभए तापनि मैले आफूलाई बीपीको शवयात्रामा स्वचालित रूपले हिँडिरहेको पाएँ । कालान्तरमा पत्रकारिता प्रारम्भ गर्दा 'साप्ताहिक मञ्च' मा मैले लेख्ने स्तम्भको नाम पनि त्यही थियो, जुन नामको स्तम्भ तपाईं अहिले पढ्दै हुनुहुन्छ- आदि/इत्यादि । बीपीको शवयात्रा प्रसंगलाई उल्लेख गर्दै प्रारम्भिक स्तम्भमा लेखेको थिएँ, 'मेरो विचारमा बीपी कोइराला हामी सर्वसाधारण नेपालीमध्येका सबैभन्दा ठूला नेपाली थिए ।' ती दिनहरूमा दुई प्रकारका नेपाली हुने गर्दथे । कानुनभन्दा 'कानुनी' रूपले नै माथि रहने राजपरिवारका सदस्यहरू र बाँकी सर्वसाधारण नेपाली । आजभोलि त लोकतन्त्र आएको छ, स्थिति फरक भएको छ कि ? कानुन नलाग्ने अति विशिष्ट श्रेणीका नेपालीहरू घटे कि बढे ? पाठकहरूले आफंै विचार गरे हुन्छ । मचाहिँ त्यस विषयमा अरू कुनै दिन चर्चा गरुँला ।

आफ्नो पत्रकारिता जीवन प्रारम्भ गर्दा मैले बीपीका विषयमा जानेर, सुनेर, पढेर वा बुझेर उहाँलाई 'महान् नेपाली' भनेको थिइनँ । मेरो हृदयले भन्यो- मैले लेखिदिएँ । बिस्तारै उहाँको साहित्य पढियो, गणेशराज शर्मासँग सहवासको अहोभाग्य मिल्यो, श्रीराम दा, शैलेजा दि आदिसँग मैले धेरै अवसरमा बीपीका सम्बन्धमा सुन्ने-बुझ्ने अवसर मिल्यो र सबैभन्दा ठूलो कुरा उहाँका पुस्तकहरूले मलाई त्यो मानिसप्रति अद्वितीय रूपमा आकषिर्त गराइदियो । म बीपीलाई एक पूर्ण र जीवन्त मानिस 'अ लाइभली, कमप्लिट पर्सन' मान्दछु । एउटा यस्तो मानिस जसले जीवनलाई सम्पूर्णतामा बाँच्यो ।

बीपीको जीवनबाट नेपाली 'राजनीति' हटाइदियो भने पनि बाँकी रहेको मानिसमा एउटा अद्भुत आकर्षण बाँकी नै रहन्छ । अग्लो, राम्रो, बुद्धिमान, सवेदनशील, आफूलाई चमत्कारिक शैलीमा अभिव्यक्त गर्न सक्ने अद्वितीय मानिस । बीपीसँग संसारको कुनै पनि विषयमा मनै तृप्त हुने गरी 'प्रज्ञायुक्त बौद्धिक सम्भोग' गर्न सकिन्थ्यो होला । सोच्छु बीपी कोइरालासँग संवाद गर्न पाएको भए मैले उहाँलाई कति धेरै विषयमा प्रश्नहरू सोध्थे होला ?! राजनीति, साहित्य, दर्शन, यौन.....असंख्य विषयहरू । कस्तो अविस्मरणीय टेलिभिजन कार्यक्रम बन्थ्यो होला र पछिल्ला दिनहरूमा मलाई नेताहरूको अन्तर्वार्ता गर्न अल्छी लाग्ने एउटा मूलकारण के हो भने- आजभोलि अपवाद नेताहरूलाई छाडेर हाम्रा अधिकांश नेता भनेका- एउटामात्र विषय जान्ने सतही र एक आयामिक मानिसहरू हुन् । यिनीहरूले जे जति भन्नुपर्ने थियो, यिनीहरूले जे जति भन्न सक्थे सबै भनिसके । हामीले जे जति सोध्नुपर्ने थियो, सबै सोधी सक्यांै । एउटा निरश पुनरावोक्ति गर्न नसकिने होइन तर जाँगर नै चल्दैन ।

बीपी 'परफेक्ट' थिएनन् तर 'कम्प्िलट' अवश्य थिए । एउटा नेता र एक मानिसका दुवै रूपमा बीपीका कैयौं कमजोरी थिए । बीपीले कैयौं गलत निर्णयहरू पनि लिए । तर गलत 'नियत' राखेर ती निर्णयहरू लिएनन् । अहिलेका नेताहरूको नाम उपनाम जतिसुकै लामो र ठूलो भए तापनि देशका जनता र अन्तर्राष्ट्रिय समुदाय उनीहरूको 'मूल' नियतप्रति नै विश्वस्त छैनन् । गत साता एउटा पाश्चात्य कूटनीतिज्ञसँग मेरो लामो र खुल्ला कुराकानी भयो, जहाँ उनले मलाई सोधे, 'तपाईंको नेताहरूमा देश बनाउने भिजन किन नभएको ?' मैले भनें, 'यो प्रश्नको सतही उत्तर म दिन चाहन्न, गहिरो उत्तरका निम्ति आज समय ठीक छैन, बरु तपाईं मलाई भन्नुहोस् किन त्यस्तो हुन्छ ? मैले भन्दा तपाईंले हाम्रा नेताहरूलाई बढी घन्टा भेट्नुभएको छ ।' उनले एकछिन सोचेर जवाफ दिए, 'मेरो अनुमान छ, नेपाली नेताहरू आफ्नो क्षणिक राजनीतिक सफलताभन्दा टाढा देख्नै सक्दैनन् । यिनीहरू क्षणिक ट्याक्टिकलमात्र हुन् । एक हप्ताभन्दा अगाडिको कुरा सोच्नै चाहँदैनन् । कहिलेकाहीं त आजै भरेभन्दा अगाडिको सोच्दैनन् । अब भन्नुस् तपाइको के विचार छ विजय ?' मैले उत्तर दिएँ, 'तपाइले भनेको कुरा रोगको लक्षणमात्र हो, कारण होइन । शरीरमा ज्वरो छ भने त्यो कुनै शारीरिक खराबीको लक्षण मात्र हो कारण होइन । ज्वरो भनेको इफेक्ट हो, कज होइन ।' कारणका विषयमा कुनै अर्को दिन चर्चा गरौंला भन्दै म ती कूटनीतिज्ञबाट बिदा भएँ ।

आज यो प्रसंग लेख्न बस्दा मलाई श्रद्धेय मनमोहन अधिकारीजीको सम्झना आयो । २०३६ सालको अन्ततिर पहिलोपटक भेटेको थिएँ- टेबहालको एउटा लजमा । उहाँले प्रभात स्टोभमा दम दिँदै बनाएको चिया खान पाउनु मेरो निम्ति हमेसा अहोभाग्यशाली क्षण रहने छ । त्यहाँबाट सुरु भएको सतसंग, मनमोहनजी गोठाटारमा सधैंका लागि अचेत हुनु एक दिन अगाडिसम्म निरन्तर चल्यो । अचेत हुनु २२ घन्टाअघि गल्फुटारको आफ्नो साधारण दुईकोठे निवासमा उहाँले मलाई कान्तिपुर एफएमका निम्ति अन्तर्वार्ता दिनु भएको थियो । त्यो बजाउन नपाउँदै मनमोहनजी अचेत हुनु भयो र करिब दुई हप्तापछि टिचिङ अस्पतालमा प्राण त्याग्नु भयो । बीचका दिनहरूमा एमाले नेताहरूले मसंग भएको टेप बजाउने धेरै आग्रह गरे । मैले टेप नबजाइकन जवाफ दिएँ, 'यो मनमोहनजीको स्वास्थ लाभको प्राथना गर्ने समय हो । अन्तर्वार्ता बजाएर आफ्नो रेटिङ बढाउने समय होइन ।'

मनमोहनजी मैले देखेको, भोगेको एकमात्र यस्तो नेता हुनुहुन्थ्यो, जसका अगाडि ठूलो स्वरले बोल्ने साहस मैले कहिले गरिनँ । मनमोहनजीको निष्ठा, निरन्तरता र सरलताका अगाडि मभित्र लुकेर रहेको अहंकारले कहिले टाउको उठाउन सकेन । २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि आम मानिसको जीवनमा खासै फरक नआएको प्रसंगमा मनमोहनजीसँग मेरा लामा-लामा वार्तालापहरू भएका थिए । कवि गेटेलाई उद्धृत गर्दै भन्नु हुन्थ्यो, 'विजय, समस्या कहाँनिर छ भने र विशेषतः कट्टर वामपन्थीहरूको समस्या के छ भने- राजनीतिक सिद्धान्तको रंग खैरो हुन्छ, तर जीवन आफैंचाहिँ सप्तरंगी छ । यो यथार्थ बुझेर अगाडि बढ्न नसकेको हुनाले नै तमाम राजनीतिक परिवर्तनहरूका बाबजुद पनि हामी जनताले महसुस गर्न सक्ने फरक देशमा ल्याउन नसकेका हौं ।'

बीपी कोइराला र मनमोहनजीको प्रसंग म यसकारण राख्दैछु, किनभने आजभोलिका नेताहरूले यो कुरा बुझ्न नितान्त जरुरी छ, राजनेता हुनु भनेको आफ्नो क्षणिक लाभहानिको हिसाबमात्र गर्ने 'राजनीतिक जनावर' (पोलिटिकल एनिमल) हुनु होइन । सम्पूर्ण अस्तित्व नै सप्तरंगी छ, त्यसैले गर्दा जीवनयापनका तमाम समस्या र तिनका समाधानका उपाय पनि सप्तरंगी नै छन् । खैरो एकांकी रंगले हाम्रो जीवनमा समाधान ल्याएन भनेर रुनुको कुनै अर्थ छैन । एउटा राजनीतिक जनावरको शैलीले भत्काउन त सक्दछ तर त्यो शैलीबाट नयाँ निर्माण गर्न सकिँदैन । कमसेकम नेपालमा त्यो काम असम्भव थियो, छ र रहने छ । जनताको मुखमा माड लगाउने कुरा भीडमा भाषण गरेजस्तो सजिलो भएको भए अहिलेसम्म दुई/चार प्रतिशतमात्र भए पनि लक्षण देखिसक्थ्यो । हाम्रा ठूला नेताहरूले प्रौढ शिक्षाको कक्षामा फेरि एकपटक भर्ना भएर सिक्नुपर्ने क, ख, ग, के छ भने- राजनेताको मुहारको उज्यालो सामान्य जनताको मुहारको उज्यालोमा मात्र निर्भर गर्दछ, न कि आफ्नो पार्टीका कार्यकर्ता र गुन्डाहरूले गर्ने जय जयकारको ध्वनिमा ।

यसबाहेक हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने- जेजस्ता भए पनि हाम्रा नेता यिनै हुन् । बराक ओबामाको उदाहरण दिन सकिन्छ तर कुनै बराक ओबामा अथवा माओ आएर नेपालमा राजनीति गर्ने छैनन् । बलिउडबाट कुनै शाहरूख खान आएर कलिउडमा नेपाली सिनेमा खेल्ने छैनन्, कुनै टम ब्रोका आएर हाम्रो टेलिभिजनमा समाचार पढ्ने छैनन् । जे जस्ता भए पनि, गर्नुपर्ने हाम्रै समाजका मानिसहरूले हो । अर्को जनादेश प्राप्त नहुञ्जेलसम्म मूल जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डकै हो । मानिसहरू माओवादीभित्र 'हार्डलाइन' र 'सफ्टलाइन' को कुरा गर्छन् । किरण र बाबुरामको कुरा गर्छन् । सुनेर मलाई हाँसो उठ्छ । पञ्चायतकालमा राजाले कुनै पञ्चलाई उदार र कुनै पञ्चलाई अनुदार पञ्चको भूमिका खेल्ने 'रोल' दिन्थे । कसैलाई 'भारतपरस्त' र कसैलाई 'चीनपरस्त' भएको अभिनय गर्ने रोल प्राप्त थियो । तर राजा कालान्तरमा वाल्ल-ट्वाल्ल त्यस बखत परे, जब रोल पाएकाहरू अभिनय गर्दागर्दै 'साँच्चिकै त्यस्ता' भइदिए । इतिहासको त्यो शिक्षा प्रचण्डले बिर्सनु हुँदैन । हरेक नाटकको एउटा समय हुन्छ । अब पुष्पकमल दाहाल प्रचण्डका निम्ति आधुनिक नेपालको इतिहासमा आफ्नो नाम सधैंका लागि लेखाउने सम्भवतः अन्तिम अवसर आएको छ ।

source: http://www.ekantipur.com/np/2068/3/5/full-story/331147.html



Last edited: 19-Jun-11 02:22 PM
Read Full Discussion Thread for this article