Posted by: matyangra June 17, 2011
एउटा भेट बिछोड हुन....
Login in to Rate this Post:     1       ?         Liked by
 @Chanakya Niti...Thanx for the comment....

तथा अरु साथीहरुलाई पनि धन्यवाद दिँदै तेस्रो श्रींखला पस्कदैँ छु।।।।

श्रींखला-३



"तिमीले घरमा भन्यौ त यति बजेको फ्लाइट भनेर ?"
उसले अचानक मेरो घरमा चासो देखाई , मैले टाउको मात्र हल्लाएँ स्विकारोक्ति जनाउँदै ....
जीवन कति शुन्य भएको छ आज , उ छेउमा हुँदा हुँदै पनि हामी आफु भन्दा टाढा टाढाका कुरा गर्दै छौँ । नत्र उ र म विचमा हामी दुइका कुरा नै पर्याप्त हुन्थे । कहिले उसका साथीका साना साना कुरा , कहिले मेरा साथीका साना साना कुरा हुन्थे । ऊ मलाई कहिलेकाहिँ बकेट भनेर जिस्क्याउँथी जसभित्र पुरा कलेजका सुचना हुन्थे , हरेक केटीका बायोडाटा ,हरेक केटीका अफेयर अनि धेरै धेरै कुराहरु !!!
अनि कहिले उ मलाई फेरी जिस्क्याउँथी 
"तिमी दिन प्रतिदिन केटी जस्तै बन्दै गएका छौ , अर्काको चियो चर्चो गर्ने ..."
म हाँस्दै जवाफ फर्काउँथे , 
"मलाई तिम्रो ऐना बन्ने रहर छ...."

"मलाई कुरा गरेर समय विताउन मन छैन !"  उसको नजिकै गएर उसलाई अंगालोमा बेर्दै म थोरै लाडिएँ ।
"अचम्म तिमीलाई आज कुरा गर्न मन छैन !!"
"हो तिम्रो बकेटलाई आज इन्फर्मेसन शेयर गर्न मन छैन..."
"तर मलाई आज कुरा मात्र गर्न मन छ , तिम्रो आँखा नियाली राख्न मन छ ।"
उसले म तिर हेर्दै जवाफ फर्काई ।
म नाइ भन्न सक्दिन । यो उसको बिछोड हुनु अघीको मेरो सामुको अन्तिम आग्रह होला शायद ।
" साँच्ची अरु केटीहरुलाई पनि विदा माँगीसक्यौ त ?"
उसले छ्यास्स मलाई जिस्क्याई !
"को सँग मैले बिदा माग्नु पर्ने त धेरै छन् !!"
उसले मेरो ढाडमा मुड्किले बिस्तारै हिर्काइ । उ अझै अंगालो मै थिइ । त्यो मुड्की शायद मात्र मलाई स्पर्श गर्न थियो । कुनै जोड थीएन त्यसमा । मात्र हातलाई म सम्म पुग्ने रहर थीयो ।
म कसरी भनौँ उसलाई अरु सँग विदा माग्नु को कुनै औचित्य छैन । किनकी अरुले मेरो जीवनलाई कुनै मोडसम्म साथ दिएर डोर्याएका थिएनन् । अरु मात्र कुनै स्वप्नअंश जस्तो भनेर झल्याक्क झल्याक्क झुल्किरहन्थे तर जव जव म आँखा खोल्थेँ मेरो छेउमा उ भेटिन्थी ।जव जव म कुनै मनका कुरा खोल्न खोज्थेँ मेरो छेउमा उ हुन्थी ।यथार्थ सपना भन्दा रमाइलो थियो । अनि म यथार्थमै रमाइदिन्थेँ । 
तर म सवै कुरा उसलाई भन्न सक्दिन । किनकी एक त मेरो अंग्रेजी यति सवै भन्ने गरिको राम्रो छैन अनी अर्को म मा आँट छैन , शायद उसमा पनि बिछोड् हुने बेलामा यी कुरा सुन्ने सामर्थ्य छैन ।
"साथीहरु कता छन् त तिम्रा आज ?" उसको इशारा मेरा नेपाली साथीहरु तिर थियो ।
"सुति सके होला ! "
अघि सम्म हामी सँगै थियौँ । धेरै वहाना बनाएर केटाहरुलाई आज म पिउँदिन भनेर टारेको थिएँ ।
"तर तिमीले पिएका छैनौ आज ..."
"तिमीलाई थाहा छ , तिम्रो कोठामा आउने दिन म पिउँदिन भनेर !!!"
मैले उसलाई हेर्दै आफ्नो जवाफ फर्काएँ । केटीहरुलाई उनीहरुले गर्दा केटामा भएको परिवर्तन मन पर्छ शायद । म पनि उसलाई परिवर्तन हरु देखाइरहन्छु उ खुशी होस् भनेर ।

............................... ............................ .......................... ....................... ....................... .....................
"मलाई तिमीसित नाच्न मन छ !" यो आँट पक्कै रक्सिकै हुनुपर्छ  त्यो दिन मैले उसलाई तान्दाको आँट...
"सरी मलाई राम्ररी नाच्न आउँदैन ..उ त्यो सँग नाच न...तिमीलाई सवै भन्दा मन पर्ने केटी..." धेरै दिन देखी उ मेरो साथी भए पनि उ थोरै हच्किइ । सिनियरहरुको ग्रयाजुएसन पार्टीको दिन कलेजमा झिलीमिली जस्तो थियो । मैले उसलाई आफुसँग नाच्न भनेको थिएँ उ मानीन
मैले उसले औल्याएकी केटीलाई हेरेँ । हो मैले एकदिन भनेको थीएँ मलाई यो केटी साह्रै मन पर्छे भनेर । एउटा केटीको अघि हुन त अरु केटीको तारिफ गर्न नहुने तर पनि म गर्थे कुनै राम्री केटी देखेँ भने धित मरुन्जेल नियाल्थेँ । अनि उ मलाई चिमोट्थी...के आज उ आफ्नो जलनको प्रतिशोध लिन चाहन्थी म सँग ननाचेर...वा मैले रक्सी खाएकोले उ थोरै हच्किएकी थिई...
"हैन मलाई तिमी सितै नाच्न मन छ...."
"अनि मलाई साँच्चै नाच्न आउँदैन...."
"तिमी मलाई आफ्नो साँचो साथी मान्दिनौ !" 
मैले केटाकेटी जस्तो घुर्की लगाएँ ।मलाई थाहा छ म यो ठिक गर्दै छैन तै पनि मैले गरेँ । उसको आकर्षण अनि रक्सी को नशा दुवै मिसिएर मेरो जीवन पनि त ककटेल भएको छ अहिले....
"तिमी फ्रेन्डसिपलाई यसरी तौलिन्छौ ...तिम्रो जोखाइ ठिक छैन..."
उसको गम्भिरतालाई मेरो केटाकेटी जस्तो घुर्कीले कुनै असर गरेन । उ परिवर्तन भइन । 
"तिमी मलाई खासै वास्ता गर्दिनौ ..." म फेरी उहि घुर्की मै अड्किएँ
"तिमीले धेरै पिएका छौ.."
उसले मलाई नियाल्दै भनी ..
"हैन म होश मै छु.."
मैले उसलाई जवाफ फर्काएँ । मलाई थाहा छैन त्यो जवाफ कत्तिको कन्भिन्सिंग छ उसको लागी । म आफु नै शंका मानीरहेको छु त्यो जवाफ प्रति । उ छेउमा हुँदा हुँदै म होशमा कसरी हुन सक्छु । धत्तेरी मेरो गलत उत्तर हो यो । आफु प्रतिको गलत आँकलन....ओभरकन्फिडेन्स...
"तिमीलाई किन लाग्छ , म तिमीलाई वास्ता गर्दिन भनेर ?"
उसले मलाई फेरी प्रश्न गरी ...
म सँग यसको उत्तर छैन।।।
"मलाई कसरी लागोस् तिमी मलाई बास्ता गर्छौ भनेर ?"
मैले त्यहि प्रश्नलाई घुमाएर उसैतिर फर्काएँ
"कस्तो अनसेक्युर्ड प्रश्न...तिमीले मलाई यत्रो संगत गरेर पनि चिनेनौ !"
उ चिन्तित देखिइ ।
"शायद तिमीले दिएको मौका कम भयो..."
मैले फेरी उत्तर थपेँ ।
उ चुप भइ म पनि चुप भएँ । एक छिन उ तिर हेरेँ ....एकछिन रिसाए जस्तो गरेँ । अनि फेरी बार तिर लागेँ....उसले मलाई खासै वास्ता देखाइन । म रिसाउनु नरिसाउनुले उसमा कुनै परिवर्तन देखिएन । के म उसको जीवन मा कुनै अर्थ राख्छु राख्दिन थाहा छैन ।कहिलेकाहिँ लाग्छ उ म सँग समय विताउँदा साह्रै खुशी हुन्छे , म पनि त आफ्नो अतित बिर्सिन्छु , भविष्य विर्सिन्छु अनि लाग्छ यहि वर्तमानको सानो अंशमा सानो पलमा मेरो जीवन अटेको छ । म मात्र यसलाई आफ्नो बनाउन चाहन्छु काखी च्याप्न चाहन्छु । उ सँगको यात्रा मा म चाहन्न कुनै लक्ष परिभाषित होस् । मात्र लक्ष बिना हामी दौडीरहुँ अनवरत ...अनि कहिलेकाहिँ लाग्छ उसलाई म सँग जोडिएका केहि कुरामा पनि खासै चासो छैन । प्रत्येक भेटघाटहरु मात्र सतही हुन । उसको मलाई देखेर मुस्काएको मुस्कान पनि त सतहि हो , किनकी भित्र त उ गम्भिर छे । यो मलाई पनि थाहा छ ।
जस्तो कि आज उसले म सँग नाच्न मानीन । यो रक्सीकै दोष हो । म मात्र किन उ म सँग नाचिन मा अड्किरहेको छु.. तर हैन यो रक्सी मात्र हैन । आज उसको र मेरो सम्बन्धको अहिले सम्मका भेटघाटको आँकलन हो । हुन त म उसलाई कुनै कुरामा जवर्जस्ती गर्न सक्दिन तर यति बुझ्नु उसको पनि जीम्मेवारी हो...
म उसको छेवैमा गएँ फेरी...
"मलाई तिमीसँग केहि कुरा गर्नु छ??"
"नाचको बारेमा...।अब अहिले म सिकाउँछु हिड नाच्न चाहिँ नभन है ..."
उ जिस्किइ । अघि सम्म त उ गम्भिर नै थिइ । फेरी कहाँ बाट आयो यो जिस्क्याई ??
"हैन अरु नै कुरा छ..."
"भन न त..."
मैले यता उता हेरेँ अनि धेरै बल लगाएर बोलेँ ...
"धेरै दिन देखी मलाई एउटा कुराले पिरोलीरहेको छ..."
"के कुराले??अघिको कन्भर्सेसनले हो भने सरी...तिमीले पनि रक्सी पिएका छौ र मलाई पनि यस्तो कुरा कसरी डिल गर्ने थाहा छैन ।।।"
"हैन अरु नै कुरा छ..."
"के भन न त..!!!"
"तिम्रो र मेरो सम्बन्धको नाम के हो??"
उसले मलाई धेरै बेर नियाली नियालीरही ।अनी भनी 
"मलाई पनि यहि कुरा तिमीलाई धेरै अघि देखी सोध्न मन थियो ...!!"

क्रमश:
Read Full Discussion Thread for this article