Posted by: timi_mero_sathi April 22, 2011
'भरतमोहनजस्तो अपारदर्शी अर्थमन्त्री भेटिनँ'
Login in to Rate this Post:     0       ?        

नक्कली भ्याट बिल ठगी प्रकरणमा दोषीमाथि कारबाही गर्ने तत्परता देखाउँदा राजनीतिक नेतृत्वसँग असहमत भएर अर्थ सचिवबाट रामेश्वर खनालले राजीनामा गरेका थिए। संगठनको उच्च नेतृत्वमा विवाद आएपछि संस्थालाई बचाउन आफूले सचिव पद छाड्नुको उनले बुधबार बिबिसी नेपालीसेवासँग खोलेका छन्।

 
  प्रस्तुत छ बिबिसीका रवीन्द्र मिश्रले पूर्वअर्थसचिव खनालसँग राजीनामाको कारण, अर्थ मन्त्रीसँग विवादको जड र उनको योजनाबारे गरेको कुराकानी :

तपाईंलाई 'भगुवा' सचिव भन्न मिल्छ कि मिल्दैन?

आ-आफ्नै विश्लेषण हो। तर म आफूलाई भगुवा पनि भन्दिन। मैले जिम्मेवारी वहन गर्नै पदत्याग गरेको हुँ। मैले पद त्याग गर्दा मुलुकले ठूलोे लाभ प्राप्त गर्‍यो भन्ने निष्कर्ष हो। मेरो निष्कर्ष त्यो किन हो भन्दाखेरि मलाई जुन किसिमले देखाउँदै नदेखाई बाहिरबाहिर बजेटको तयारी गरियो, त्यो मस्यौदामा अहिले मूल्य अभिवृद्धि कर (भ्याट) छलेका करदातालाई जरिवाना मिनाहा गर्ने प्रावधान राखिएको थियो भन्ने मेरो आशंका छ। करिबकरिब त्यसको पुष्टि पनि हुन्छ। त्यसको तात्पर्य के हुन्छ भने करिब ३ देखि ४ अर्बसम्मको नेपाल सरकारले प्राप्त गर्ने राजस्व क्षय भएर जान्थ्यो। त्योभन्दा पनि ठूलो दुर्घटना त्यसले के निम्त्याउँथ्यो भने यदि समातिएको बेलामा जरिवाना मिनाहा हुने र करमात्र तिर्नुपर्ने, नसमातिएको बेलामा सबै कुरा पचाउन पाउने हो भने कसैले पनि कर तिर्दैन। किन तिर्दैन भने तिरेदेखि तिरेको तिर्‍यै भइहाल्यो समातिएन भने त तिर्नु नै परेन। त्यो एउटा म भगौडा नभएर त्यही बसिरहेको भए त्यो कुनै हिसाबले आर्थिक ऐनमा छिर्न सक्थ्यो।

दोस्रो, जुन किसिमले वितरणमुखी बजेट तर्जुमा गरिएको थियो त्यसले अर्थतन्त्रलाई प्रत्यक्ष लाभ नपुग्ने गरी, नेपाल सरकारलाई लाभ नपुग्ने गरी सरकारको सीमित स्रोतको सदुपयोग नहुने गरी थुप्रो रकम खर्च गर्ने सम्भावना थियो। जसलाई पुँजीगत निर्माणको क्षेत्रमा लगाउन सकिन्थ्यो। त्यसबाट वञ्चित गराएर दुरुपयोगमुखी तयार गरिँदैथ्यो। हुनत अहिले पूरक बजेट त आएन त्यसलाई पनि रोक्न मेरो राजीनामाले सहयोग गर्‍यो जस्तो लाग्छ। मैले सहेर बस्नुको साटो छाड्दा खेरि मुलुकको अर्थतन्त्रलाई राम्रै काम भएको छ कि जस्तो लाग्छ।

तपाईंले सहेर बसेको भए भनेर भन्नुभयो। सहेर बस्नुको साटो सशक्त प्रतिकार गर्न सक्नुहुन्थेन?
मैले हुँदैन भनेर सशक्त प्रतिकार गरैकै कारणले बजेटको मस्यौदा मलाई गर्न लगाइएन। वा अर्थ मन्त्रालयभित्रै हाम्रा सहकर्मीहरुलाई मस्यौदा गर्न लगाइएन। बाहिर मस्यौदा गर्न लाग्नुको तात्पर्य त 'यसले हुँदैन भन्छ' यसबाट गराउन गाह्रो हुन्छ भनेरै बाहिरबाट मस्यौदा गरेर ल्याएर मन्त्रिपरिषदमा लैजाने भन्ने विचार आएको हुन सक्छ।

तपाईंसँग प्रशासनिक क्षेत्रमा लामो अनुभव पनि छ। यस्ता खालका परिस्थितिको निराकरण कसरी गर्न सकिन्छ?
मुलत कुरा पारदर्शिता हो। यो भएन भने व्यक्ति अझ विशेष गरी राजनेताहरुले जे बोल्ने हो त्यो नगर्ने र जे गर्ने हो त्यो नबोल्ने यस्तो दोहोरो चरित्र भयो भने यस्ता खालका समस्याहरु ल्याउँछ। राजनेताहरुमा, सरकारी कर्मचारीहरुमा दोहोरो चरित्र हुनु हुँदैन। अझ अर्थ मन्त्रालय जस्तो ठाउँमा जसले अर्थतन्त्रको लागि अनुगमन गर्छ। यसको स्थायित्वको लागि काम गर्छ, यसले दुई किसिमको व्यवहार गर्छ भने त्यस्तो कामबाट बजारले कहिल्यै पनि स्थायित्व कायम गर्न सक्दैन।

तपार्इंले माओवादीका अर्थमन्त्री डा. बाबुराम भट्टराई, एमालेकै सुरेन्द्र पाण्डेसँग पनि काम गर्नुभयो। त्योभन्दा अघि डा. रामशरण महतसँग पनि काम गर्नुभयो। अर्थ मन्त्रालय सम्हालेको हिसाबले कसरी

मूल्यांकन गर्नुहुन्छ उहाँहरुको?
मैले काम गरेका डा. बद्रीप्रसाद श्रेष्ठदेखि अहिलेका भरतमोहन अधिकारीसम्मका आठैजना अर्थमन्त्रीहरु वास्तवमा देशको लागि चिन्ता गर्ने व्यक्तिहरु हुन्। सबैका विचारधारा आ-आफ्ना हुन्छन्। फरक यतिमात्र हो कि अरुहरुमा दोहोरो कुरा गर्ने प्रवृत्ति मैले देखेको थिइन। धेरै नै खुल्ला र पारदर्शी रुपमा काम गरियो। माननीय भरतमोहन अधिकारीमा त्यस किसिमको पारदर्शिता मैले भेटिन। उहाँ बाहिर कुरा गर्ने एकाथरी र भित्र काम गर्ने अर्कोथरी। अर्को मैले के पनि भेटे भने पर्याप्त गृहकार्य नभइकन सार्वजनिक समारोहमा प्याच्च नीति घोषणा गरिदिने। यो राजतन्त्रात्मक व्यवस्था त होइन। राजाले बोल्या जसरी कसैले पनि त्यसरी बोल्नु हुँदैन। नेता भए पनि कर्मचारी भए पनि त्यसरी बोल्नु हुँदैन। भावावेशमा आएर हो कि त्यसरी बोल्दा म चाँडै लोकप्रिय हुन्छु भनेर हो उहाँ त्यसरी बोल्नुहुन्थ्यो, जब कि अगाडिका अर्थमन्त्रीहरुमा तयारी नगरी बोल्ने प्रवृत्ति थिएन।

तपाइँ पनि भावावेशमा आएर एक्कासि राजीनामा गरेर भावनामा भड्केको होइन?

भावावेशको कुरा भए म फर्केर आएर उत्तेजित कुरा गर्न सक्थें। मैले संयमित भएर कुरा गरेँ। म पहिले जे कुरा गरे अहिले पनि त्यही नै अडानमा छु।

सचिव जस्तो मान्छे त्यसरी जान मिल्छ?
संगठनभन्दा महŒवपूर्ण कुरा केही होइन। संगठनमा दुई किसिमको नेतृत्वको कारणले विवाद छ र त्यो विवादको कारणले संगठनलाई समस्या पार्छ भने संगठनलाई समस्यामा पारेर त्यो विवादलाई राखिरहनु हुँदैन। एउटा न एउटाले छाड्नुपर्छ। संसारका उत्कृष्ठ संगठनमा त्यसरी विवाद राखेर दुईवटा नेतृत्व बस्दैबस्दैनन्। संगठनलाई माया गरेर हटेको हुँ। नभएर म त्यहाँ बखेडा लगाएर म बसिरहन सक्थे। गु्रपिज्म गरेर बस्न सक्थें। त्यसले ठूलो समस्या ल्याउन सक्थ्यो।

तपाईंलाई मुख्य सचिवको लागि मुख्य दाबेदारको रुपमा पनि बाहिर हेरिन्थ्यो नि?
मलाई व्यक्तिगत पद र स्वार्थभन्दा पनि मुलुकको स्वार्थ ठूलो लाग्छ। कुनै पदमा जाउँला भनेर होइन।

नेताहरुले पनि त्यसै भन्छन्?
मैले प्रमाणित गरेरै देखाएँ। मैले कुनै पदमा जान्न नै भनेको छु। भन्नु र गरेर देखाउनु अलग कुरा हो। भोलि म त्यसरी पदमा गएँ भने मलाई यसै गरी प्रश्न गर्दा हुन्छ। आजसम्म गएको पनि छैन।

तपाइँलाई कतिपयले अर्थतन्त्रको हिसाबले नराम्रो पनि केही गर्नुभएन र राम्रो पनि केही गर्नुभएन भन्छन् नि?
मयले मूल्यांकन गर्ने कुरा हो। राजनीतिक अस्थिरताको पृष्ठभूमि थियो। अविश्वासको अवस्था थियो। यहाँसम्म कि पर्यटकहरुले समेत सुरक्षित गन्तव्य नठानेको अवस्थामा समेत आर्थिक वृद्धि, राजस्व वृद्धि, समग्र क्षेत्रमा वृद्धि देखिएको छ त्यो आर्थिक नीतिमा स्थिरता नभएको भए सम्भव थिएन। मैले मूल्यांकन गरेको होइन जसले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक जसले अरु देशको अर्थतन्त्रको समेत निष्पक्ष मूल्यांकन गरेर बसेका हुन्छन् उनीहरुले यस्तो राजनीतिक अवस्थामा पनि अर्थतन्त्रलाई स्थायीत्व राख्न सरकार सफल भयो भन्ने विश्लेषण थियो। त्यो विश्लेषणको एउटा पात्र हामी अर्थ मन्त्रालयका कर्मचारी पनि हौं, अर्थमन्त्री पनि हुन्।

अब तपाइँ बाहिर बसेर के गर्नुहुन्छ?
मैले आफूलाई एउटा लगावको काम अध्यापन गर्छु भनेको छु। केही समय अध्यापन, ग्रामीण क्षेत्रमा स्वयंसेवीको रुपमा अध्यापन गर्ने र अरुचाहिँ सकारात्मक विचारको प्रवर्द्धन गर्ने, खास गरी भ्रष्टाचार निवारणको लागि 'क्युरेटिभ' उपाय अर्थात कारबाहीभन्दा पनि त्यसलाई निरोधात्मक उपाय जगाउनेतिर लाग्नेछु।


Read Full Discussion Thread for this article