Posted by: Smooth April 22, 2011
Criminal investigationagainst Anuja, thehonesty girl
Login in to Rate this Post:     0       ?        


सुनसरी, ८ वैशाख

देशैभरि अनुजा बानियाँको इमानको बखान छ, तर सुनसरी प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दाबी गरेकी छन्, तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्शी नभेटिएकाले घटना कपोकल्पित हुनसक्ने प्रहरीको शंका छ ।

२६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन्, घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धितलाई फोन गरेको उनको दाबी छ । अनुजाका अनुसार पैसा हराएपछि सीधै काठमाडौं आएका पुरुषोत्तम पौडेल पाँच दिनपछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर, समाचार यति धेरै फैलिँदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बरसमेत गल्तीवश 'डिलेट' भएको अनुजाको भनाइ छ ।

'कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा हिँड्नु र झोला छाडेर जानु आफैँमा आश्चर्यहो,' इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ, 'फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो, तर सम्बन्धितले पैसा हराएको पाँच दिनसम्म पनि उजुरी गरेको देखिएको छैन ।' फेरि बसमा कसैले बिर्सेर गएको करिब २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ । तर, अनुजाले आजभोलि प्रहरीको इमान बिग्रँदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् ।

 

अनुजाले पत्रकारहरूलाई दिएको विवरणअनुसार पौडेलले २६ चैतमा आइएमईको इटहरी शाखाबाट पैसा निकाली धरान जाँदै गरेको बताएका थिए । तर, आइएमईले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तम पौडेलको नाममा काठमाडौं र धरानबाट कुनै कारोबार नभएको जनाएको छ । 'आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि मैले आज -बिहीबार) दिनभर बुझेँ । त्यस्तो नाममा कुनै कारोबार भएको छैन,' आइएमईका कार्यकारी निर्देशक योगेश्वर ढकालले बिहीबार साँझ नयाँ पत्रिकासँग भने, 'इटहरीबाट अरू कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन, फरक-फरक नामबाट धेरैले पैसा निकालेको भए फरक कुरा हो ।'

 

पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएपछि जिल्ला प्रशासनले शंका व्यक्त गरेको थियो । बिहीबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगढन्ते हो भनेर अनुसन्धान गर्न धरानका डिएसपी रेग्मीलाई निर्देशन दिएका थिए ।

 

रेग्मीले बिहीबार बिहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर, अनुजाले पछि फोन गरेर 'आज आउन सकिनँ, भोलि (शुक्रबार) आउँछु' भनेकी छन् ।

 

प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले बिहीबार साँझ आफैं

अनुजालाई फोन गरेका थिए । 'हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर्‍यौ, त्यसको सम्मान पनि पाउनुपर्छ, तर झूट बोलेकी रहेछौ भने त फँस्छौ है,' उनले अनुजालाई भने । तर, जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दाबी गरेको थपलियाले बताए ।

बिहीबार दिनभर टेलिभिजन, पत्रपत्रिका र रेडियोका पत्रकारलाई लाइन लगाएर पालैपालो अन्तर्वार्ता दिएकी अनुजा साँझ भने सम्पर्कमा आउन चाहिनन् । उनको मोबाइलमा फोन गर्दा भिनाजु चक्र विष्टले उठाए । 'पैसा त फिर्ता नै गरेको हो, तर दुःखको कुरा हामीसँग प्रमाण भएन । त्यसैले अप्ठेरो पर्‍यो,' विष्टले भने । उनले बिहीबार साँझदेखि परिवार नै चिन्तामा परेको पनि बताए ।

यता अनुजाले ९१ लाख र हिराको हार फिर्ता गरेको दाबी गरेपछि देशभरि उनको प्रशंसा भइरहेको छ । कसैले बोलेर, कसैले लेखेर त कसैले भेटेरै उनलाई प्रशंसा दिइरहेका छन् । राष्ट्रपति डा. रामवरण यादवदेखि बिदामा बसेका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले समेत उनलाई फोन गरेर धन्यवाद दिएका थिए । राष्ट्रपतिको निम्तोमा अनुजा काठमाडौं आउने तयारीमा छिन् ।

http://nayapatrika.net/inside-nepal/5207-%26%23039%3B%E0%A5%AF%E0%A5%A7-%E0%A4%B2%E0%A4%BE%E0%A4%96-%E0%A4%AB%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87%E2%80%99-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%9C%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%BE.html

Last edited: 22-Apr-11 07:17 AM
Last edited: 22-Apr-11 07:19 AM
Read Full Discussion Thread for this article