Posted by: crazy_love February 25, 2011
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-२०

केहि दिनपछि थाहा पाए, मायरले काम छोड्यो। उसले काम छोड्नु अघि १-२ चोटि मलाइ "हाइ" भन्न त आएकै हो, तर त्यो औपचारिक जस्तो अप्ठ्यारो खालको थ्यो। मैले पनि उसलाइ के भन्ने के नभन्ने आफैलाइ थाहा थिएन, कति घुम्तिहरु भेट्नु अघि छुटिन्छन्। शायद त्यस्तै थियो हाम्रो कथा पनि। उसले दिएको नम्बर पनि लन्ड्री गर्दा धोइयो, कागज मात्र भेटियो।

निक्किसङ मेरो राम्रो भेटघाट नभएको धेरै भैसकेको थियो, उ बेलुकी क्लास जान थालेकी थी, जाँचको लागि पनि तयारी गर्दैथी क्यारे। उसलाइ डिस्टर्ब हुन्छ भनेर म आफै उसलाइ एकान्त दिन्थे। एकदिन म कामबाट फर्किदा कोठैमा भेटे। भित्र पस्नासाथै आएर अङाली र भनी "हाइ, गर्लफ्रेन्ड!"।
उसको यो अप्रत्यासित ब्यबहारले मलाइ शँका लाग्यो। पक्कै पनि केहि भैरहेको छ, वा हुदैछ। तर उसको स्वासमा मिसिएको अल्कोहोलको बास्नाले सबै छर्लङ पार्‍यो। मिस निक्कि अघि नै ठिक ठिक भएर बसेकी रैछ। डाइनिङ टेबलमा सिबास रिगल र चिकेन ड्रमस्टिकहरु थिए, दुइटा गिलासहरु थिए, एउटामा उसैले पिरहेकी थी, अर्को भन्नै परेन शायद मेरो पर्खाइमा थियो। सङै मैले क्यानमा स्प्राइट पनि देखे। निक्कि मिक्स गरेर पिउदैथी। उसलाइ मैले कति भनि सके। मिक्स गर्‍यो भने झन लाग्छ भनेर, तर उसलाइ त्यस्तै मन पर्छ रे। मेरो के लाग्छ?

"लेट्स सेलिब्रेट दिस मोमेन्ट!" उसले मेरो गिलास पनि भरी र "चियर्स" गर्न आइ। मैले कुन मोमेन्ट के मोमेन्ट बुझिन। एकछिन छक्क परेर उसलाइ हेरिरहे।

"के को सेलिब्रेसन हो?" मैले गिलास लिदै सोधे।

"अहिले यो पलको!" अलि अलि उसको बोलि पनि लर्खरिरहेको जस्तो लाग्यो।

"अहिले? त्यस्तो बिषेश अहिले के छ?" मैले उसङ चियर्स गरे र एक चुस्कि लिए।

"तिमी छौ, म छु र यो छ।" उसले मलाइ, उ आफैलाइ र टेबलमा रहेको सिबास रिगलको बोतललाइ देखाइ। मलाइ हाँस उठ्यो, उसलाइ लागिसकेको थियो।

"आज कलेज जानु पर्दैन?" म कुर्सी तानेर उ नजिक बसे।

"आज बिदा!" उसले सिनितै पारी उसको गिलास, मैले उसलाइ थप्न दिइन।

"के को बिदा?" मैले त्यस्तो बिषेश कुनै दिन सम्झिन सकिन।

"आज मैले आफैले आफैलाइ दिएको बिदा!" उ खितिति हाँसी र फेरि गिलास भर्न थाली।

"निक्कि, अब अत्ति भयो, तिमीलाइ लागिसक्यो। पुग्यो अब!" मैले उसको गिलास खोसे।

"लागेको त राम्रो नि!" उ एउटा कुनामा आखा चिम्लेर बसी।

"सुत्न जाउ!" मैले उसलाइ आराम होस भनेर उसको ओछ्यान मिलाइदिए।

"कमन, क्रेजी इन् लव!" उसले मलाइ तानी र म पनि उसङै भुइमा बसे। "लेट्स टक अबाउट लव।" उ फेरि हाँसी।

"यो लवको कुरा कसरी आयो? कि तिम्रो शुरु भयो?" मैले सोधे।

"म मायाको मामलामा अभागी छु।" उसले एकचोटि आखा खोलेर मलाइ हेरि फेरि बन्द गरी। म झस्के। यही बाक्य मायरले मलाइ भनेको थियो।

"हामी एउटा सँघ खोलौँ, "मायामा अभागीहरुको सँघ" मैले ठट्टा गरे।

उ फेरि खित्का छोडेर हाँसी। " म प्रेसिडेन्ट!" अनि फेरि हाँस्न थाली।

"आज के भयो?" मलाइ उसको ब्यबहार अलि कस्तो कस्तो लागिरहेको थियो।

"जस्तो हिजो भयो!" एक्छिन चुप लागी अनि फेरि भनी। "त्यही भयो जस्तो अस्ति भयो।"

"अस्ति के भयो?" मलाइ झन कौतुहुलता लाग्यो।

"आज जे भयो!" उ फेरि भुतुक्क भएर हाँसी।

"भन न निक्कि! तिमी आज किन ठट्टा गरिरहेछौ?" मैले सोधे।

"केहि हुन किन जरुरी छ? के हुनु पर्छ?" उसको प्रश्नहरुले मलाइ दिक्क बनायो। म चुप लागेर बसे।

"निलेशले फोन गर्‍यो तिमीलाइ?" अचानक उसैले सोधी।

"अहँ! किन र?" मलाइ कतै केहि भयो कि भन्ने शँका लाग्यो।

"तिमीलाइ अझै पनि उसको भरोसा लाग्छ?" निक्किले जहिले पनि यही सोध्छे मलाइ।

"मलाइ आशा पनि छैन, भरोसा पनि छैन।" मैले गिलास रित्याउन थाले।

"तिमी किन उसङको अध्याय सकाएर अर्को शुरु गर्न सक्दैनौ?" निक्किले मैले आफैलाइ नसोधेको प्रश्न सोधी।

"जसरी तिमी आफ्नो बुबालाइ माफ गर्न सक्दैनौ र उहासङ कुरा गर्न सक्दैनौ।" मेरो मुखबाट यी बाक्यहरु तीर भन्दा तिखो भएर निस्के। मैले फिर्ता लिन सकिन। मलाइ पछुतो लाग्यो। निक्कि रुँदै बाथरुमतिर दौडी, पछ्याउदै गए। उसले ढ्याम्म ढोका लगाइ। म बाहिरबाट "सरी, निक्कि मेरो अभिप्राय तिम्रो मनमा चोट पुर्याउनु थिएन। प्लिज ढोका खोल।" भन्दै बसे। मैले भित्र उसले बेसिनको धारा खोलेको सुने र त्यो सङै उसको हिक्काहरु। मलाइ सार्है नराम्रो लाग्यो। केहि बेरपछि उसके ढोका खोली। उसको आखाहरु राता राता थिए। उ आएर फेरि गिलास भर्न लागी, मैले पनि अर्को पेग थपे।

"निक्कि, मलाइ माफ गर!" मैले फेरि अनुरोध गरे।

"तिमीले ठिकै भन्यौ। मैले अब बुबासङ कहिले पनि कुरा गर्न सक्दिन।" निक्कि भाबुक भै।

"ठिकै छ, तिम्रो मनले नमानेको कुरा तिमीले गर्नु पर्छ भन्ने छैन। आफ्नो जिबन आफ्नै खुशीले बाच्न पाउनु पर्छ।" मैले उसलाइ समर्थन गरे।

"मेरो मनले चाहे पनि अब म बुबासङ कहिले कुरा गर्न सक्दिन।" निक्किको आखा फेरि भरियो।

"के रे!" मलाइ डर लाग्यो।

"बुबा हिजो स्वर्गे हुनु भयो रे! मैले आज बिहान मात्र खबर पाए। म निस्तब्ध भए, न रुन सके न त कराउन। म दिनभरि निस्सासिरहेकी थिए। तिमीले मलाइ ठुलो सहयोग गर्‍यौ। मैले रुनै पर्थ्यो, मैले यो पीडालाइ ब्यक्त गर्नै पर्थ्यो। अब कुनै संभावना छैन बुबासङ गुनासो गर्नलाइ।" उसले गिलास एकै स्वासमा रित्याइ।

म चुप रहे, उ चुप रही, कोठा मौन रह्यो। उ फेरि बाथरुमतिर दौडी, ढ्याम्म ढोका लगाइ अनि धारा खोली। मैले उसलाइ रुन दिरहे। फकाउने कुनै शब्द थिएनन्, रित्तो रित्तो थियो शब्दकोश।

क्रमश: जिन्दगी घिस्रिदै गयो!

समाप्त!

यो कथा पढ्नु हुने, कमेन्ट लेख्नु हुने र मौन रहेर पनि कथाको प्रतिक्षा गर्नु हुने सबै साथीहरुलाइ धेरै धेरै माया र धन्यबाद!

Last edited: 25-Feb-11 01:36 PM
Read Full Discussion Thread for this article