Posted by: Geology Tiger January 14, 2011
झरीरहेको नेपाल फुटीरहेको नेपाल
Login in to Rate this Post:     0       ?        
नेपालीपागल भाई,

सबभन्दा पहिले त भाईलाई धन्यवाद! मैलेनै कुनै धागोमा लेखेको दुइटा हरफहरुलाई उद्द्रित गरेर भाईले आफुलाई चित्त नबुझेको कुराहरु लेखेका रहेछौ।

भाईको नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको प्रेमलाई म आदर गर्छु, र यो कुरा पनि स्वीकार गर्छु नेपाली भाषा, साहित्य र संस्कृति माथि हिन्दी र अङ्रेजीको प्रभाव लगातार बढ्दो छ। मेरो पनि त्यही चाहना हो; नेपाली भाषा, साहित्य र संस्कृतिको लोप हुन नपाउन्, हामी सबै मिली यसलाई जोगाउन र अझ अगाडि लैजानमा सफल हौ। तर फेरी पनि म अरु भाषा, साहित्य र संस्कृतिलाई उत्तिकै सम्मान गर्नुपर्छ र सिक्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु। चाहे त्यो हाम्रो छिमेकी हिन्दी भाषा र साहित्य होस्, वा अङ्रेजी होस्, वा हाम्रै देशमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरु होस्। हामीले सबैलाई सम्मान गर्नुपर्छ र सबैवाट सिक्नुपर्छ। हो मलाई पनि रिस उठ्छ, जव कुनै नेपाली कार्यक्रममा जादाँ रजिस्ट्रार लिएर बसेकी नेपाली युवती सोध्छिन् "व्हाट इज योर नेम?", म उनलाई केही नराम्रो भन्दिन, तर जवाफ नेपालीमै दिन्छु। नेपाली रेडियोमा बोल्ने उद्घोषिकाहरु जव नेपाली गीतको कार्यक्रम चलाऊँदा पनि ट्वाक्क टुक्क अङ्रेजीमा बोल्छन् मलाई पनि औधी रिस उठ्छ। नेपालीमा लेखिएका बिज्ञापनहरुको व्याकरण हेर्यो भने मेरो कन्पारो तात्छ। ठ्याक्कै हिन्दीको नक्कल गरी बनाइएको नेपाली चलचित्र हेर्न गएनन् भनेर हामी सर्वसाधारण नेपालीसँग किन रिसाउने? दोष त ती निर्माता निर्देशकको हो जसले नेपाली दर्शकले हिन्दी चलचित्र हेरेकै कारणले हिन्दी चलचित्रको दुरुस्त नक्कल गरिएका नेपाली चलचित्रहरु पनि सफल हुन्छन् भन्ने साँघुरो मानसिकता बोकेका छन्। बलिदान र दर्पण छायाँ जस्तो चलचित्र बनोस् न अनि कसले हेर्दैन?

म पनि नेपाली साहित्यका सर्जकहरुको कृतिलाई औधी माया गर्छु। मलाई पनि अम्बर गुरुङ, भक्तराज, नारायण गोपाल, प्रेमध्वज प्रधान, अरुणा लामा, तारा देवी, योगेश बैध, दिप श्रेष्ठ देखी नविन के भट्टराई र vibes का गीतहरु पनि उत्तिकै मनपर्छ। तर जति मलाई भक्तराजको गीत मन पर्छ त्यती नै मलाई मुकेशको गीत पनि मन पर्छ, त्यति नै pink floyd, led zeppelin, र beatles गीत पनि मनपर्छ। म जति देवकोटालाई पढ्छु, त्यति नै अल्बेर कामु, लेभ तेस्ल्तोइ, जर्ज ओर्वेल, र जाँ पल सात्रलाई पनि पढ्छु। तर फेरी पनि म ठोकेर भन्छु, नेपालीपागल भाईलाई जति नेपाली भाषा, साहित्य र संस्कृतिमाथि प्रेम छ त्यो भन्दा मलाई एक रौ बराबर पनि कम छैन। नेपालीपागल भाईले कहिले तिमीले यो जान्ने प्रयास गरेका छौ, मुनामदन जस्तो खाँटी नेपाली कृति रच्नु भएका देवकोटाले अङ्रेजी साहित्यका दिग्गजहरु वर्डस्वथ र शेलीका कृतिहरु कति पढ्नु हुन्थ्यो? के नातिकाजी र नारायण गोपालले भारतीय कलाकारहरुसँग मिलेर कहिल्यै काम गर्नुभएको छैन। के नेपाली चल्चित्रको ईतिहासमा महत्वपूर्ण मानिएको माइतीघर भारतीयहरुकै सहयोगमा बनेको होइन? सिक्ने कुरा कहिले पनि नराम्रो हुँदैन, बिक्ने कुरा मात्र नराम्रो हो।

जसरी हामी नेपाली भाषा,साहित्य र संस्कृति माथि भारतीय प्रभाव बढ्यो भनेर भनिरहेका छौ, त्यसै गरेर भारतीयहरु भारतीय संस्कृति माथि अङ्रेजी प्रभाव बढ्यो भनेर हल्ला मच्चाइ रहेका छन्। त्यसो त चना दाइले भने झै नेपालमा बोलिने अन्य भाषाहरुमा नेपालीको भाषाको प्रभाव त आफ्नो ठाउँमा छदै छ। यहाँ सम्म कि नेपाली भाषा एउटा सिमित समुदायको भाषा हो भन्ने तर्क पनि छ। तर एउटा भाषा माथि अर्को भाषाको प्रभाव हुनुलाई म असामान्य कुरा मान्दिन। भाषा बैज्ञानीकहरुले गरेको एउटा अध्ययनमा के देखिएको छ भने अबको १०० बर्ष भित्र विश्वको ९४ प्रतिशत भाषा हराएर जानेछन्। अरु भाषाको प्रभाव बढ्दै गएर हाम्रो भाषा लोप हुने भाषाको सुचीमा नपरोस्। तर टाइलाई जवर्दस्ती कन्ठे लङौटी भन्दैमा नेपाली भाषाको बिकास हुँदैन, टाइलाई टाइनै भन्नु पर्छ अनि बाबु र आमा भन्दा मिठो शब्द फादर र मदर चाँही हुन सक्दैन। हाम्रो चासो यो हो अली अली गर्दै दुधमा मिसेको यो पानी बढ्दै गएर भोली दुध नै पानीमा परिणत नहोस्। तर त्यस्को लागि हिन्दी फिलिम हेर्दै नहेर्ने, हिन्दी संगीत सुन्दै नसुन्ने, हिन्दी साहित्य पढ्दै नपढ्ने गर्‍यो भने ठीक हुन्छ भन्ने होइन। हामीले त सके जति पढ्नुपर्छ, सके जति सुन्नुपर्छ र सके जति बुझ्नुपर्छ र आफुले आर्जन गरेको ज्ञानलाई नेपालीमा बाँड्नुपर्छ। तर यसो भन्दा मैले विश्व सामाखुशीमा र निस्चल सोर्हखुट्टे मा लगाउने तल्लो श्रेणीको हिन्दी चल्चित्र, केश काट्ने ठाउँमा र पान खाने ठाउँमा बज्ने कर्कश ध्वनीको  हिन्दी संगित अथवा कहिले नसकिने र चौबिसै घण्टा चालु रहने हिन्दी सिरियलहरुको वकालत गरेको होइन। ब्रह्मान्डको सृस्‍टि कसरी भयो भनेर पत्ता लगाउने जिम्मेवारी लिएका वैज्ञानीक स्टेफेन हकिङ्सले आफ्नो नयाँ पुस्तक ग्रान्ड डिजाइनमा यथार्थतालाई परिभाषित गर्दै लेखेका छन्, यथार्थ भन्ने कुरा हेर्नेले कुन धरातलमा रहेर हेरेको छ भन्ने कुरामा भर पर्छ, जस्तो एउटा गोलो सिसी भित्र राखेको माछोले बाहिर सिधा बाटोमा हिंडेको मान्छेलाई पनि घुमेको बाटोमा हिंडेको देखिरहेको हुन्छ।

हो नेपाल झरिरहेको छ, नेपाल फुटिरहेको छ तर त्यस्को कारण नेपालमा बढेको भारतीय भाषा, साहित्य र संस्कृतिको प्रभाव होइन त्यस्को कारण हामीमा बढेको स्वार्थ हो, हामीमा बढेको असहिष्णु भावना हो, एक अर्काप्रती सम्मानको कमी हो। हामी एकले अर्को लाई बाहुन देख्छौ, नेवार देख्छौ र क्षत्रिय देख्छौ। नेपाल फुट्नुको कारण एकले अर्कोलाई नेपाली देख्न नसक्नु हो। एक अर्काको भाषालाई, धर्मलाई सम्मान गर्न नसक्नु हो। यही साझामा हेरुन हामी एकले अर्कोलाई कति उडाइरहेका छौ? कति गाली गरिरहेका छौ? यस्तो गरेपछि लाग्छ त देश उँभो?

अन्त्यमा एउटा प्रसँग:

शायद म कक्षा चारमा हुँदा होला मेरो वर्तबन्ध भयो, गुरुले चोखो खानुपर्छ, बिहान बेलुका गायत्री पढ्नुपर्छ भनेर सिकाएका थिए, तर मैले धेरै बुझिछु क्या रे! हामी एउटा क्षत्रिय परिवारको घरमा भाँडामा बस्थ्यौ। एक दिन घरबेटी आमाले खाना पठाउनु भएछ, म आफ्नी आमासँग खूब कराँए, "क्षत्रियले पकाएको पनि खान्छन्?" पछी कुरा बुझ्दै गएँ, मलाई त्यो कुरा सम्झेर अहिले पनि थकथकी लाग्छ। अझै पनि धेरै कुरा बुझ्नु बाँकी छ।                                                                
Last edited: 14-Jan-11 04:55 PM
Read Full Discussion Thread for this article