Posted by: crazy_love January 14, 2011
क्रमश:
Login in to Rate this Post:     2       ?         Liked by

साथीहरु, यो कथालाइ मैले समयमा निरन्तरता दिन नसकेकोमा माफी चाहन्छु। म यसलाइ समाप्त गर्न चाहन्छु तर लेख्न बाकि कुराहरु धेरै छन् जस्तो लाग्छ। समय ब्यस्तताको बाबजुद पनि यो क्रमशको क्रमशलाइ पढिरहने सबै साथीहरुको धैर्यताको लागि म हृदयदेखि नै धन्यबाद दिन चाहन्छु।

भाग- १५

त्यो रात मैले धेरै सपनाहरु देखे, सम्झिनै नसकिने बिषयबस्तुहरु। म फेरि स्कुल गैरहेकी थिए, मलाइ फेल हुने चिन्ता थियो। त्यस्तै तनाब र सम्भाबनाहरुको तरङमा म ब्युझे बिहान। काममा जाने बेलामा मैले निक्किलाइ देखिन। उ बाहिर गइ या स्कुल? थाहा भएन। जिन्दगीलाइ धकेल्ने क्रम शुरु भयो।

काममा उहि चिरपरिचित अनुहारहरु थिए, एक दुइजना नया अनुहारहरु थपिए। रिपोर्ट दिनेले नया बिरामी भर्ना गर्नु पर्ने जानकारी गरायो। आबश्यक तयारीहरु गरे। सोध्नुपर्ने प्रश्नहरुको लिस्ट प्रिन्ट गरे। कुनै प्रश्न सोध्न मन लाग्दैन तर सोध्नै पर्छ। सोध्न मन लागेको कुराहरु सोध्न मिल्दैन। ब्यक्तिगत गोप्यताको सम्मान गर्नु पर्छ। यो देशमा धेरै अधिकारहरुको आदर गर्नु पर्छ। त्यसमा पनि बिरामीले चाहेमा उपचार अस्वीकार गर्ने पनि अधिकार छ। जबरजस्ती औषधी खुवाउन मिल्दैन। यस्तै कुराहरु सोच्दा सोच्दै मेरो सोचाइ टुट्यो।

"लौ, आयो नया बिरामी।" सुफीको अट्टहासले म झस्के। उ स्वाभाबिक हो वा अस्वभाबिक रुपमा जहिले पनि "हा हा हा" गरेर हाँस्छे। बोल्नु अघि र बोलिसकेपछि।

नयाँ बिरामीलाइ परैबाट सरसर्ती नियाले। छोटो केश, गोरो अनुहार, शरीर अलि ठुलो, यस्तै २०-२२ कि होली। अनुहार हेर्दा लोग्ने मान्छे जस्तो तर गुलाबी लामो स्कर्ट लगाएकी, उदाश मुहार, एउटा मेचमा बसेर पुलुपुलु चारैतिर हेरिरहेकी।

मैले आफ्नो परिचय दिए र कुरा शुरु गरे "तपाइ यहा आउनुको कारण?"

"म मर्न चाहन्थे, पुलबाट नदीमा हाम्फाल्ने तयारी गर्दैथे,  तर पुलिसहरुले समाते र यहा ल्याए।" मैले उसको कुरा सुन्नु भन्दा पनि उसले जे भनेको त्यही लेख्नु थियो रिपोर्टको लागि।

"तपाइको कुरा सुनेर मलाइ दुख लाग्यो! के तपाइमा अझै त्यस्तो मर्ने बिचार आइरहेको छ?" मैले खतराहरु केलाउनु पर्थ्यो, उ पँखामा झुन्डि वा केहि तिखो सामान भेटाएर आफैलाइ घाइते गरी भने मेरो जागीर जान्थ्यो।

"यहा त म मर्दिन!" उसले लामो सुस्केरा हाली।

"यदी तपाइमा त्यस्तो सोच आए मलाइ वा यहाका स्टाफहरुलाइ तुरुन्त भन्नु होला।" मैले उसलाइ अनुरोध गरी।

"सबै मलाइ छि छि दुर्दुर गर्छन्।" उसले आखाको कुनाबाट खस्न लागेको आसुको ढिक्कालाइ  हातैले पुछि, मैले टिस्स्यु दिए तर लिन मानिन।

त्यसपछि बरर आँशु झारी, म कुरि रहे। उसलाइ रुन दि रहे। मलाइ उ किन रोएको थाहा थिएन।

"मलाइ पुरुषको माया कस्तो हुन्छ अनुभव गर्न मन लागेको छ। तर कुनै लोग्ने मान्छेले मलाइ माया गर्दैनन्।" उसले फेरि भनी।

म सङ त्यसको उत्तर थिएन। म पुरुष हैन, यदि भएको भए पनि म उसलाइ माया गर्न सक्दिनथे। उ बिरामी, म कर्मचारी। उ जवान थी, तन्दरुस्त थी, शारीरिक रुपमा हेर्दा उसको जवानी भरिपूर्ण थियो। लोग्ने मान्छेलाइ उसित आकर्षण नहुनुको के कारण हुन सक्थ्यो? मैले उसको शरीरको माथिल्लो भागलाइ हेरे, ती उन्नत तर बेमौसममा पाइने फलहरु जस्ता देखिन्थे।

"म तिम्रो दुख अनुमान गर्न सक्छु।" मैले पढेको र कसैको दुखलाइ अनुभुत गर्न नसके पनि बुझेको जस्तो गरी बोल्नु पर्ने रेडिमेड बाक्य बोले।

"म आराम गर्न चाहन्छु। तर त्यो भन्दा पहिले नुहाउन चाहन्छु।" उसले फ्रेश हुने बिचार गरी।

आत्महत्याको अबस्थामा आएको बिरामीलाइ नुहाउन पठाउदा कर्मचारीको निगरानी हुनु पर्छ। मैले झल्यास सुफीलाइ सम्झे।

"तिमीले मलाइ कुनै पनि कोणबाट पुरुष देख्यौ?" सुफीले मलाइ अफिसतिर लगेर सोधी।

"अहँ!" मलाइ झनक्क रिस उठ्यो। " मैले तिमीलाइ कहिले लोग्ने मान्छे भने सुफी?"

"अनि किन त त्यो बिरामीलाइ नुहाउन पठाउदा म सङै जानु पर्ने त?"। उसले मलाइ सिङै निलुला जस्तै गरी भनी।

"सुफी, पहिलो कुरा त म तिम्रो हाकिम हुँ र दोस्रो कुरा त्यो बिरामी भर्खरै आत्महत्याको गर्ने कोशिश गरेको ब्यक्ति हो। उसलाइ एक्लै नुहाउन दिन मिल्दैन। उ भित्र शावर लिन्छ तिमी बाहिर बसेर निगरानी गर्नै पर्छ। उ बाथटब मै डुबी भने को जिम्मेबार हुन्छ?" मैले पनि आफ्नो स्वरको भोलुम ठुलो पारे।

"त्यसो भए ज्याकलाइ बोलाउन त!" सुफी झर्की।

"तिमी किन निगरानि पनि गर्न सक्दिनौ त?" मैले सोधे फेरि।

"त्यो बिरामी केटी हैन-- केटा हो। म केटा नुहाएको निगरानी गर्न सक्दिन" सुफी एकातिर फर्की, मेरो मुख हेर्नै नपरोस् जस्तो गरी।

मेरो टाउको एकछिन रन्थनियो। साँच्चै शुरु देखिनै मलाइ त्यो बिरामीको शरीरमा के नमिलेको के नमिलेको जस्तो लाग्दै थियो तर जति चोटि हेर्दा पनि उसको पूर्ण बिकसित बक्षले केटा हैन भनेर मलाइ प्रमाण देखाउदैथियो। बिरामी अति मसिनो स्वरमा कुरा गर्थी। लज्जालु नबयौबना जस्तो। मैले कहानिर के भुल गरे त?

"उसको शरीर त केटि कै जस्तो देखिन्छ त!" मैले सुफीलाइ बिस्तारै भने।

"शरीरको तलतिर उ केटा हो, माथी मात्रै के के औषधी खाएर केटिको जस्तो बनाएको।" भन्दै सुफी गइ।

म झल्यास्स भए, बिगतमा मैले डान्सक्लबमा त्यस्तो केटाहरु देखेको थिए, जो ठ्याक्कै केटि जस्तै देखिन्थे तर स्वर चाहि केटाको जस्तो हुन्थ्यो। तर मैले उनिहरुको शरीर पुरै शल्यक्रियाद्वारा परिबर्तन गरेको होला भन्ने सोच्थे। उनिहरुलाइ सोध्न अप्ठ्यारो लाग्थ्यो, साथीहरुलाइ त्यो बारे कुरै मन पर्दैनथ्यो।


"मलाइ बोलाएको हो?" ज्याक मेरो अघि उभियो।

"छैन त!" मैले बोलाए कै थिइन।

"सुफी भन्थी, कसलाइ हो नुहाउन पठाउनु पर्छ रे। अनि निगरानी गर्नु छ रे।" ज्याकले आफै भन्यो। सुफी नि धेरै बाठी छे।

"ए, हो त! त्यो नया बिरामी छ नि?" मैले पुरै भन्नै पाएको थिन, ज्याकले मेरो कुरा बिचैमा काट्यो।

"त्यो ट्र्यानी (Transgender )हो, म त सक्दिन त्यस्तोलाइ निगरानी गर्न।" ओठ लेब्रायो ज्याकले।

"उसलाइ एक्लै नुहाउन छोड्ने त? केहि गर्यो भने--?" मैले ज्याकलाइ सम्झाउन खोजे।

"त्यो मर्दैन! महिनाको दुइचोटि आउछ यस्तै बहाना गरेर। पटके बिरामी हो। बाहिर सुत्ने ठाउ भेटेन भने मलाइ आत्महत्या गर्न मन लाग्यो भन्छ र यहा आएर फ्रीमा १-२ रात आरामले सुत्छ, खान्छ र फेरि जान्छ।" ज्याकले नया बिरामीको बारेमा सबै बतायो।

कस्तो आपत! आधा शरीर केटी आधा केटा! मैले न केटीलाइ अर्हाउने न त केटालाइ। मैले सम्झे, उसले भनेको थियो, उ लोग्नेमान्छेको माया अनुभव गर्न चाहन्छ। ज्याकलाइ झन खतरा छ, उसले केहि गर्न खोज्यो र ज्याकले प्रतिबाद गर्यो भने जे पनि हुन सक्छ। हे भगवान! कस्तो कस्तो चुनौती हो यो?

"हेर, तिमी नया छौ। यस्तो धेरै कुरा तिमीले यहा देख्नेछौ। त्यो बिरामी आफै कन्फ्युजड् छ, उ केटा भएर जन्मियो तर आफुलाइ केटी सम्झिन्छ। उसले हामी सबैलाइ कन्फ्युजड् गर्छ। तर तिमीले चिन्ता गर्नु पर्दैन। त्यसले केहि गर्दैन।" शायद ज्याकले मेरो मनको कुरा बुझ्यो। तर पनि मैले त्यतिकै बेवास्ता गर्न मिल्दैनथ्यो।

"ज्याक, त्यसो भए म तिमीलाइ एउटा अनुरोध गर्छु, मान्छौ?" मैले ज्याकको मद्दत लिनै पर्ने भयो।

उ मलाइ आखैले के भनेर सोधीरहेको थियो।

"म त्यो बिरामीलाइ १० मिनेट दिन्छु नुहाउनलाइ, तिमी ढोका बाहिरै बसेर कान चनाखो पार। त्यस्तै डरलाग्दो वा उ लडेको वा डुबेको जस्तो लागेमा तुरुन्तै मलाइ खबर गर्न आउ। घडि हेरेर बस, १० मिनेट हुनासाथै उसलाइ हामीले बाहिर निकाल्नु पर्छ।" ज्याक खुशी थिएन र पनि उ सङ बिकल्प थिएन।

"धन्यबाद, ज्याक!" मैले उसको सहयोगको तारिफ गरे।

बिरामीलाइ सबै शर्त र समयको बारेमा बताए। उसले मन्जुर गर्‍यो।

"के तिमी आमा भइसक्यौ?"अन्त्यमा उसले मलाइ सोध्यो।

"यो प्रश्नको के अर्थ?" मैले सोधे।

"मानिसहरु मेरो कन्फ्युजड अबस्थालाइ बुझ्दैनन् र मेरो खिल्ली गर्छन्, मलाइ जोकर ठान्छन्, म भित्रको यो जटिलतालाइ बुझ्ने प्रयास गर्दैनन्। हो म जन्मिदा केटा थिए तर मैले आफुलाइ केटी मात्र अनुभव गरे। प्रकितीको यो चुनौतीलाइ अरु कसैले नबुझे पनि जन्म दिने आमाले मात्रै सन्तानको पीडा बुझ्न सक्छिन।" उसको कुराको गहिराइमा कता कता मलाइ पनि बुझे बुझे जस्तो लाग्न थाल्यो।

"एकैछिनलाइ सोच त! कुनै दिन तिमी आमा बन्यौ र तिम्रो आफ्नै सन्तान म जस्तै जन्म्यो भने के तिमी पनि उसलाइ अरुले जस्तै हेला गर्न सक्छौ?" उसको यो प्रश्नले म भित्र कतै छोइदियो। मेरो आखाहरु सजल हुनु अघि मैले उसलाइ नुहाउन पठाए र आएर घोरिन थाले।

मेरो प्रश्नहरुको ठेलीमा अर्को एउटा प्रश्न थपियो।

क्रमश:

 

Last edited: 14-Jan-11 08:47 AM
Last edited: 14-Jan-11 09:09 AM
Read Full Discussion Thread for this article