Posted by: arahat December 24, 2010
Nepali role model - पतिका नजरमा रेखा थापा
Login in to Rate this Post:     0       ?        

  • मैले उनलाई फिल्ममा हिँड्न सिकाएँ । कुन सही ? कुन गलत सिकाएँ र आज उनी एउटी परिपक्व नायिका बनेकी छिन् । 
  •  त्यसपछि मैले उनलाई नराम्रोसँग पिटेको थिएँ । उनी खुब रोएकी थिइन् । भोलिपल्ट उनको आँखामा गम्भीर चोट देखेँ । 
  •  रेखालाई वाइन पिउन र चुरोट पिउन मैले नै सिकाएको थिएँ 

http://www.nayapatrika.com/newsportal/middle_page/19974.html


पतिका नजरमा रेखा थापा

Font size: Decrease font Enlarge font
image

बोल्ड नायिका रेखा थापा न बोल्ड संवादसँग डराउँछिन्, न बोल्ड सिनसँग । उनी कुनै फिल्मको विज्ञापनमा रामनामीले शरीर ढाक्न तयार हुन्छिन्, आमहडतालमा माओवादी अध्यक्ष प्रचण्डसँग नाच्न तयार हुन्छिन्, कुनै टेलिभिजन सोमा अत्यन्त उत्ताउलो अन्तर्वार्ता दिन्छिन् । पतिका नजरमा यो 'बोल्डनेस' कति स्वीकार्य छ त ? रेखा थापाका पति छवि ओझाको आत्मस्वीकारोक्ति यस्तो छः

वि ओझा

फिल्म निर्माता

रेखा थापा जब कुनै भव्य समारोहमा उत्तेजक हाउभाउ देखाउँछिन्, मान्छे त्यति चञ्चले र फरासिली नायिका मजस्तो बुढ्यौलीतिर उन्मुख मान्छेकी श्रीमती हुन् भन्ने पत्याउन गाह्रो मान्छन् । उनी र मेरो वैवाहिक सम्बन्धबारे जानकारले पनि विश्वास गर्न गाह्रो मानेजस्तो देख्छु । हाम्रो सम्बन्धबारे रेखा हम्मेसी आफैँ खुल्न चाहँदिनन् । टेलिभिजन वा सिनेमाहलमा फिल्म हेरिरहेका दर्शकले जब बुझ्छन्, 'चञ्चले, चुलबुले र जङ्की नायिकाले त आफूभन्दा दोब्बर जेठो केटासँग पो बिहे गरेकी रहिछन् ।' उनीहरू पनि चित्त खान्छन् 

मैले २०४० सालमै 'युगदेखि युगसम्म' बनाएँ । ०५७ मा 'हिरो' फिल्मका लागि नयाँ नायिकाको खोजीमा थिएँ । त्यतिवेला नायिका खोज्दा सज्जा मैनालीले सागर ढुंगेलको फिल्म 'यस्तै हुन्छ पिरती'मा निकै राम्रो काम गरेको चर्चा थियो । मैले पनि यही हल्लालाई पछ्याउँदै नरेश पौडेलसँग सज्जालाई भेट्न सागरको अफिस पुगेँ । मेरो आँखा पुग्यो एउटी सुन्दरीको ब्लोअपमा । भर्खरै मिस कोसी भएकी ती मोडलको तस्बिर देखेर म रोमाञ्चित भएको थिएँ । उनै थिइन्- रेखा थापा । १० कक्षामा पढिरहेकी रेखालाई मोडलिङमा रुचि रहेछ । हामीले उनको घरमा फोन गरेर रेखालाई काठमान्डू बोलायौँ । रेखा मेरो अफिस आइन् । सेक्सी, ग्ल्यामरस र खुब चञ्चले थिइन् । छोटो लुगा लगाएकी । र, अरूलाई बालै नदिने एउटी टिनएजर केटी । उनको वर्षांदेखिको हिरोइन हुने सपना अब पूरा हुँदै थियो किनभने मैले उनलाई 'हिरो' फिल्ममा अनुबन्धित गर्ने भएको थिएँ 

पहिलो भेटमै मैले यो फैसला गरेको थिएँ । उनले मलाई अभिभावक ठानिन् । चञ्चले, चुलबुले रेखाको हाउभाउबाट उनी मसँग खुल्दै गएको स्पष्टै हुन्थ्यो । तर, मैले उनलाई 'यो फिल्म भन्ने दुनियाँ देख्दा मात्रै रंगीन हो, यहाँ धेरै बदनामी कमाइन्छ, तिमी फिल्म नखेल बरु राम्रो पढेर कुनै जमिनदारसँग बिहे गर,' भनेँ । एयर होस्टेसको अफर छाडेर हिरोइन बन्न आएकी उनले फिल्म नै खेल्छु भनिन् 

पहिलो भेटमै मलाई रेखा मनपरेकी हुन् । त्यसको केही समयपछि मैले रेखालाई फोन गरेर भनेँ, 'मसँग बिहे गर्छौ ?' उनी स्तब्ध बनिन् । केही जवाफ दिन सकिनन् । हुन पनि त्यो स्वाभाविक थियो किनभने म रेखाभन्दा दोब्बर जेठो थिएँ । तर, मैले उनको 'सुरक्षा'का लागि भनेको थिएँ । मेरी माइली श्रीमती गीताञ्जली सुनुवार मरेको एक वर्ष मात्र भएको थियो र मलाई जीवनसाथीको खाँचो महसुस भइरहेको थियो । उनले के सोचिछन् कुन्नि ? उनले केही दिनमै घरमा बुबालाई 'म छविसँग बिहे गर्न तयार छु' भनिछन् । पछि, मैले उनको बुबासँग पनि रेखाको हात मागेँ । त्यसवेला उनले हुन्छ भने, तर उनी निकै भावुक भएर रेखालाई अँगालो मारिरहेका थिए र आँसु झारिरहेका थिए । हामीलाई तामझामसाथ बिहे गर्न लाज लाग्यो । बिहेको घोषणा गर्‍यौँ र सँगै बस्न थाल्यौँ । त्यही वेला 'हिरो' फिल्मको सुटिङ पनि भइरहेको थियो । पहिलोपटक सुटिङका लागि मेकअप गरेपछि रेखालाई नराम्री देखेँ । सर्ट सुरु भयो । तनाब भयो । तर, उनी गानामा नाच्न थालेपछि भने म अचम्मित भएँ, किनभने त्यो बुलन्द नाच थियो । 'हिरो'का नायक राजेश हमालले त भनेका थिए, 'को हिरोइन हो ? कलिली छे त । ओठ निचोर्दा पनि दूध आउलाजस्तो ।' हुन पनि उनी बच्चै थिइन्, भर्खर १६ वर्षकी 

लाग्छ- त्यसवेला रेखालाई मेरो आँट मनपरेको हो । उनलाई पनि फिल्मकै मान्छेसँग काम गरेर फिल्म खेल्न पाए नानाथरिका अफवाहबाट बच्न सकिन्छ भन्ने लोभ पनि लागेको थियो कि ? उमेरको अन्तरले हाम्रो विचारमा केही फरक हुन सक्छ । मैले उनलाई फिल्ममा हिँड्न सिकाएँ । कुन सही ? कुन गलत सिकाएँ र आज उनी एउटी परिपक्व नायिका बनेकी छिन् । उनलाई मैले भनेको छु- तिमीलाई मभन्दा अर्को कोही मान्छे मन पर्‍यो र ऊसँग खुसी हुन सक्छु जस्तो लाग्यो भने मलाई पर्खेर बस्नु पर्दैन, गए हुन्छ । यो दस वर्षको अवधिमा रेखाले ९० बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन उनका केही चर्चित फिल्म हुन् 

मैले भेट्दा रेखा अरूलाई मान्छे नगन्ने, निकै घमन्डी स्वभावकी थिइन् । अहिले उनको स्वभाव निकै फेरिएको छ । उनलाई मैले निकै माया गरेर परिवर्तन गराएको हुँ । रेखा मलाई सधैँ 'मामु' भनेर सम्बोधन गर्छिन् । मचाहिँ रेखाजी भन्छु, रिस उठ्दा । अरू वेला नानु, बाबु भन्छु । हामीले बिहे गरेको यत्तिका वर्ष भयो । तर, हामी दुई मात्रै, कतै घुम्न गएका छैनौँ । सधैँको कामले होला, उनी प्रायः थकित हुन्छिन् । त्यसवेला उनको निर्दाष अनुहार देख्दा एकदम माया लाग्छ । उनी जति बोल्ड छिन् त्यत्तिकै भावुक पनि । यति भावुक कि मैले ठूलो आवाजमा झर्किएँ मात्र भने पनि एकान्तमा लुकेर रुन थाल्छिन् 

घमन्डी र छिटो रिसाउने स्वभावकी छिन् उनी । घरमा सानो काम पनि गर्दिनन् । बिहान उठ्छिन् र सिरक पनि नमिलाईकन बाहिर निस्कन्छिन् । बिहान उठेपछि मआफैं बेड मिलाउँछु । अहिलेसम्म उनले कहिल्यै पनि खाना पकाएकी छैनन् । काम गर्ने केटाले खाना पकाउँछ । बरु कहिलेकाहीँ म भाँडा माझ्छु 

रेखा फ्र्यांक, मिहिनेती र राम्रो अभिनय गर्ने केटी हुन् । कसैसँग डराउँदिनन् । मान्छे हेरेर ट्याकल गर्ने बानी छ । हाम्रो धेरै कुरामा मनमुटाव हुन्छ, झगडा पर्छ । र, हाम्रो झगडाको विषय फिल्म नै हुन्छ । झगडा परेको वेला हामीबीच दुई महिनासम्म पनि बोलचाल हुँदैन । निकै रिसाउने बानी छ रेखाको । एकपटक कस्तोसम्म भएको छ भने उनको जन्मदिन थियो । साँझ हामीले पार्टी दिएका थियौँ फिल्मकर्मीलाई । पार्टीमा आउन ढिला गरिन् रेखाले । ढिला आउँदा उनको हातमा एउटा घडी थियो । साथीले उपहार दिएको रहेछ । मैले पटक-पटक सोधेँ, 'घडी कसले दिएको ?' धेरैपटक सोध्दा पनि उनले बताइनन् । त्यसपछि मैले उनलाई नराम्रोसँग पिटेको थिएँ । उनी खुब रोएकी थिइन् । भोलिपल्ट उनको आँखामा गम्भीर चोट देखेँ । भोलिपल्टचाहिँ पिटेकोमा पछुतो लागेको थियो । त्यसपछि, हामीबीच महिनौँसम्म बोलचाल भएन । पछिल्लोपटक झगडा परेर बोलचाल पनि नभएकोचाहिँ गएको वैशाखमा हो । मलाई उनको संगत जोसुकैसँग भए पनि कुनै आपत्ति छैन, तर कुनै केटासँग आपत्तिजनक क्रियाकलापमा संलग्न भेटेँ भनेचाँहि म डिभोर्स गर्छु । पक्का !

सुटिङको वेला रेखा महिनौँसम्म बाहिर हुन्छिन् । त्यसवेला भने म उनलाई साह्रै मिस गर्छु । एक्लै हुँदा खुब दिक्क लागेर आउँछ । बेलुका कोठामा पुग्छु र त्यो रित्तोकोठा देख्दा भावुक बन्छु । हामी सँगै हिँड्यौँ भने मान्छेले अनेक कुरा गर्छन् । बढी त हाम्रो नमिल्दो उमेर देखेर छक्क पर्छन् । त्यसैले हामी पार्टीतिर जाँदा पनि एक्लै-एक्लै जान्छौँ 

मलाई गाडी चलाउन आउँदैन, रेखा चलाउँछिन् । कहिलेकाहीँ मेरो बाइकमा चढ्न उनी 'इन्जोय' गर्छिन् । झमझम पानी पर्दा बाइकको पछाडि बसेर घुम्न रमाउँछिन् । त्यसवेला लाग्छ, श्रीमतीभन्दा पनि उनी मेरो बच्चा हुन् । रेखालाई वाइन पिउन र चुरोट पिउन मैले नै सिकाएको थिएँ । पहिले खुब वाइन पिउँथिन् । अहिले पिउँदिनन्, तर चुरोटको बानी छुटेको छैन 

मेरी जेठी श्रीमतीबाट दुई छोरा र माइलीबाट एक छोरा छन् । छोरा र रेखाको उमेर-समूह एउटै हो । छोराहरूलाई निकै राम्रो व्यवहार गर्छिन् रेखा । मेरा छोराहरू उनका पि्रय साथी हुन् । उनले अहिलेसम्म छोरा-छोरी जन्माउने मन देखाएकी छैनन् । खै अब देखाउलिन् कि ? ३० वर्ष नपुगी जन्माउँदिनँ भन्छिन् 

रेखाको धेरै खर्च गर्ने र पैसा अलिकति पनि नजोगाउने बानी छ । हुन त उनैले कमाएको पैसा हो । उनलाई मैले अहिलेसम्म पैसा दिनुपरेको छैन । उनलाई पैसा जोगाउ भन्छु । मेरो कुरालाई हावामा उडाउँछिन् 

मलाई रेखाले छोटो लुगा लगाएको मन पर्छ । उनलाई मिनिस्र्कट सुहाउँछ पनि । स्कर्ट र जिन्स लगाएको बढी मन पर्छ । गुलाबी रंगको छोटो लुगा लगाउँदा उनलाई म संसारको सबभन्दा सेक्सी देख्छु । मैले फिल्ममै २५ वर्ष बिताएँ । रेखाजत्तिकै मलाई मनपर्ने हिरोइन करिश्मा मानन्धर पनि हो 

हुन त म फिल्ममा लागेको निकै वर्ष भयो । तर, मान्छे मलाईभन्दा पनि रेखालाई बढी चिन्छन् । म त्यसैमा दंग पर्छु । मलाई अरूले 'रेखाको श्रीमान्' भन्छन् । उनलाई चैत-वैशाख खुब मन पर्छ । उराठलाग्दो मौसम मन पर्छ भन्छिन् । उनलाई त्यो समय खुब सेक्सी लाग्छ रे । ग्ल्यामरस लाग्छ रे 

पहिले रेखा फिल्ममा स्क्रिप्ट पढ्दिनथिन् । पछि मात्र पढ्न थालेकी हुन् । पहिलेभन्दा उनको अभिनय निकै खारिएको छ । उनले धेरै फिल्म खेलिन् । अहिले 'अब संख्याभन्दा पनि गुणस्तरमा ध्याय देऊ,' भन्छु 

उनी एकचोटि एमाओवादीका अध्यक्ष प्रचण्डसँग नाचेर पनि चर्चामा आइन् । तर, माओवादीसँग उनको कुनै सम्बन्ध छैन, बरु मेरो छ । कहिलेकाहीँ उनी राजनीति गर्छु भन्छिन् । तर, मलाई विश्वास लाग्दैन 

प्रस्तुतिः दीपक सापकोटा
spkt.deepak@gmail.com


Read Full Discussion Thread for this article