पछील्लोपटक Boston मा भएको ANA सम्मेलनमा नारायण श्रेष्ठको साझा सवाल कार्यक्रममा प्रतिभा पलायन सम्बन्धी बिषयमा सहभागीहरु बिच बिचारको घम्साघम्सी चलिरहेको थियो। म दर्शक दिर्घाको पछील्लो सिटमा बसेर कार्यक्रम हेरिरहेको थिए। कार्यक्रममा महाविर पुन जस्ता विदेशबाट ज्ञान हासिल गरी देशलाई प्रविधिमा उभो लगाउन प्रयत्नरत व्यक्तिहरु पनि उपस्थित थिए भने उत्तमबाबु श्रेष्ठ जस्ता विदेशमै बसेर पनि देशलाई योगदान गर्न सकिन्छ भन्ने तर्क गर्ने व्यक्तिहरु पनि थिए। देश चलाऊने ठेक्का लिएका पार्टी र नेताहरुलाई प्रतिनिधित्व गर्नेमा चाँही सिपी मैनाली थिए। कार्यक्रममा उपस्थित दर्शकहरुको सिधा निशाना अमेरिकामा बसोबास गरेका बुद्दिजिवीहरुमाथि थियो "तपाईहरु किन अनेक बहाना गर्नुहुन्छ, देशमा गएर किन केही गर्नु हुन्न? खै त महाविर पुन जस्ता व्यक्तिहरुले त त्यस्तो बिषम परिस्थितीमा गएर मजाले काम गरिरहनु भएको छ।" डा. शिव गौतम चाँही नेपाल गएर आफूले यहाँ गरिरहेको अध्ययन अनुसन्धान जस्तो केही पनि गर्न नसकिने स्थिती रहेको भन्दै आफ्नो बचाव गरिरहनु भएको थियो। यस्तैमा अरु केही बुद्दिजिवीहरु चाँही कमरेड सिपी मैनाली माथि तिमीहरुले देशको स्थिती बिगारेकोले देशमा फर्कन नसकिएको भन्दै खनिएका थिए।
सुमन खरेल जि तपाईंले विदेशी नागरिकता लिए पछि पक्का पनि कानूनी रुपले तपाईंले आफूलाई नेपाली नागरिक भन्ने अधिकार रहँदैन। हुनत NRN लाई दोहोरो नागरिकता दिने भन्ने छ क्या रे! तर पनि सामान्यतया तपाईंले आफूले जुन देशको नगरिकता लिनु भयो आफूलाई त्यही देशको नागरिक भन्नु पर्ने हुन्छ। तर तपाईंले जे गरे पनि आफूलाई नेपाली मूलको हुँ भन्नबाट कहिले छुट्कारा पाउनुहुन्न। यदी तपाईंको प्रश्न कानूनी होइन भने चाँही तपाईंले अर्को देशको नागरिकता लिनुहोस् अथवा चन्द्रमाको, तपाईं कत्तिको नेपाली हुनुहुन्छ भन्ने कुरा तपाईंले नेपाललाई दिने योगदानमा भर पर्छ तपाईंको नागरिकतामा होइन। नेपालमा बसेर क्रान्तिकारी, सुधारवादी, राष्ट्रवादी भनेर भाषण गर्ने तर देश र जनताको सम्पतीमा मोज गर्ने नेताहरु, घुस्याहा कर्मचारीहरु र काला बजारियाहरु नागरिकताको आधारमा त नेपाली होलान् तर वास्तविकतामा भन्ने हो भने तिनिहरुले देशलाई धमिराले जस्तै भित्र भित्रै खोक्रो बनाइसके। तिनिहरुले आफूलाई नेपाली हौ भनेर के गर्व गर्ने? यिनीहरु त नेपाललाई खत्तम बनाउने जिम्मेवार पहिलो थरी धमिरा हुन्।
देशलाई खोक्रो बनाउने दोस्रो थरी धमिरा भनेको चाँही विदेशमा आउँदा समेत देशबाट तलब भत्ता खाइरहने तर आफ्नो तालिम र अध्ययन सकाएर कहिले देश नफर्कने र उल्टो देश र सरकारलाई गाली गर्ने कर्मचारीहरु र देशमा सरकारी छात्रव्रितीमा पाएर डाक्टरी र ईन्जिनियरिङ पढ्ने अनि विदेशमा आएर आफ्नो छुट्टी मनाउन मात्र नेपाल फर्किने ती डाक्टर र ईन्जिनियरहरु हुन्। शायद तपाईं यो समूहमा पर्नुहुन्न होला। यदी पर्नुहुन्छ भने तपाईंले विदेशको नागरिकता लिए पनि नलिए पनि तपाईं पनि देशलाई खोक्रो पार्ने धमिरै हो।
बिदेशी नागरिकता लिनु तपाईंको लागि महत्वपूर्ण हुनसक्छ तर यदी तपाईं दोस्रो थरी धमिरा हुनुहुन्न भने नेपाल र नेपालीको लागि महत्वपूर्ण कुरा यो होइन। महत्वपूर्ण कुरा यो हो तपाईंले नेपाल र नेपालीको लागि कस्तो योगदान दिनुहुन्छ। यसको लागि तपाईं देशमा पूँजी र प्रविधी पठाएर सहयोग गर्न सक्नुहुन्छ। विदेशको नेपालप्रती रुचीलाई जगाएर नेपाललाई सहयोग गर्न सक्नुहुन्छ। नेपालीहरुको लागि विदेशमा अवसरको खोजी गरेर सहयोग गर्न सक्नुहुन्छ। हजारवटा बाटाहरु छन्, नेपाली हुन नेपालमै बस्नु पर्छ भन्ने केही छैन; सबै महाविर पुन र सन्दुक रुइत नै हुनुपर्छ भन्ने केही जरुरी छैन र हुन पनि सक्दैनन्। यदी नेपाल रुँदा तपाईंलाई दुख्छ भने तपाईं नेपाली हो, यदी एउटा गरिव नेपालीको अनुहार देख्दा तपाइलाई अलिकती पनि दया जाग्छ भन्ने तपाईं नेपाली हो।
विदेशमा बसेर पनि आफ्ना सन्तानलाई फरर नेपाली बोल्ने बनाउनु, दशै तिहार तिज जस्ता चाडहरु दौरासुरुवालमा ठाँटिएर मनाउनु, यस्ता कुराहरुले निश्चय पनि तपाईंलाई सांस्कृतिक रुपले त नेपाली बनाउँला। तर यदी तपाईं आफूलाई साँचो नेपाली भनाउन चाहनुहुन्छ भने नेपाललाई तपाईंबाट चाहिएको यतिमात्र होइन।