Posted by: _ November 29, 2010
Validity of WikiLeaks.com
Login in to Rate this Post:     0       ?        
Big, but not really big thing...however, it will be fun to talk about this stuff for sometime. However, I prefer reading such things in Nepali, it's more fun. Check this out...
विश्वमै अहिलेसम्मकै ठूलो भूकम्प

नयाँ पत्रिका
http://www.nayapatrika.com/newsportal/cover_story/19057.html
काठमाडौं, १३ मंसिर

सूचना उद्योगमा विश्वमै अहिलेसम्मकै ठूलो भूकम्प ल्याउने विकिलिक्सले नेपाली राजनीतिक शक्ति र दलका नेताहरूलाई पनि हल्लाइदिएको छ । विकिलिक्सले अमेरिकी विदेश मन्त्रालयका अत्यन्तै गोप्य तथा गम्भीर कागजात र भिडियोहरू सार्वजनिक गर्ने घोषणा गरेको छ जसमा नेपाल, यहाँका राजनीतिक दल, तिनका नेता तथा सुरक्षा संयन्त्र र रणनीतिबारे अमेरिकाले संकलन गरेका जानकारी छन् ।

अफगानिस्तान र इराक युद्धमा अमेरिकाले लिएको रणनीति र त्यहाँ भएको मानवअधिकार हननका दस्ताबेज जस्ताको त्यस्तै सार्वजनिक गरेर विकिलिक्सले ६ महिनादेखि विश्वमा तहल्का मच्चाएको छ । यही शृंखलामा उसले नेपाली राजनीतिक शक्ति, दल, सुरक्षा संयन्त्रबारे अमेरिकी विदेश मन्त्रालयले संकलन गरेका जानकारी सार्वजनिक गर्ने घोषणा गरेको छ ।

विकिलिक्सका अनुसार उसले नेपालको बारेमा अमेरिकी विदेश मन्त्रालयले तयार पारेका दुई हजार ६ सय गोप्य कागजात प्राप्त गरेको छ र निकट भविष्यमा सार्वजनिक गर्दै छ । मुख्यतः यी कागजात माओवादी जनयुद्ध र तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएको वेलामा तयार पारिएका हुन् । त्यो वेलामा कसको भूमिका के थियो भन्ने विषयमा नेपालमा सक्रिय अमेरिकी गुप्तचर संस्था र दूतावासले तयार पारेका रिपोर्ट विकिलिक्सबाट सार्वजनिक हुँदै छ ।

विकिलिक्सले आइतबार नेपालसम्बन्धी दुई हजार ६ सय दस्ताबेज सार्वजनिक गर्ने घोषणा गरेपछि नेपालको राजनीतिक तथा कूटनीतिक क्षेत्र हल्लिएको छ । 'हामी चरणबद्ध रूपमा यस्ता गोप्य दस्ताबेज सार्वजनिक गर्दै छौँ,' वेबसाइटले भनेको छ ।

नेपालबारे संकलन भएका दस्ताबेजमध्ये दुई हजार दुई सय ७८ काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयलाई पठाएका पत्र हुन् । यीमध्ये ८४ वटा दस्ताबेजलाई गोप्य, एक हजार तीन सय ९९ दस्ताबेजलाई अति गोप्य र बाँकी सात सय ९५ दस्ताबेजलाई सामान्य भनेर पठाइएको थियो । अरू दस्ताबेज विभिन्न देशस्थित अमेरिकी दूतावासले नेपालबारेमा रिपोर्ट बनाएर पठाएका हुन् ।

विकिलिक्सले नेपाल मात्र होइन, छिमेकी भारत र चीनबारे अमेरिकी दूतावासले जम्मा गरेका दस्ताबेज पनि सार्वजनिक गर्ने भएको छ । चीनबारे आठ हजार तीन सय २०, भारतबारे पाँच हजार ८७, पाकिस्तानबारे चार हजार सात सय ७५ दस्ताबेज सार्वजनिक गर्ने घोषणा गरेको छ ।

अमेरिकी सरकारले यस्ता दस्ताबेज सार्वजनिक नगर्न आग्रह गर्दै सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । ओबामा प्रशासनले यस्ता दस्ताबेज सार्वजनिक भए आतंकवादीलाई सहयोग पुग्ने र हजारौँ, लाखौँ सर्वसाधारणको ज्यान जोखिममा पर्ने बताएको थियो ।

तर विकिलिक्सले आइतबारदेखि गोप्य दस्ताबेज सार्वजनिक गर्न थालेको छ । यो शृंखलामा दुई लाख ५१ हजार दुई सय ८७ दस्ताबेज सार्वजनिक हुँदै छन् ।

अमेरिकी प्रशासनको कडा चेतावनीमाथि प्रतिक्रिया दिँदै विकिलिक्सले भनेको छ, 'अमेरिकाले विश्वभर कस्ता गतिविधि चलाइरहेको छ भन्ने विषयमा हामीले सार्वजनिक गर्ने दस्ताबेजबाट प्रस्ट हुनेछ ।'

वेबसाइटले सन् १९६६ देखि २०१० सम्म विभिन्न देशस्थित अमेरिकाका दुई सय दूतावास र विदेश मन्त्रालयबीच भएका संवादका दस्ताबेज संकलन गरेको छ ।

के हो विकिलिक्स ?

नाफा नकमाउने तर गोप्य दस्ताबेज सार्वजनिक गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय संस्था हो विकिलिक्स । सूचना लिक गर्ने -चुहाउने) नामबाट नै विकिलिक्सको नाम स्थापित भएको हो ।

चार वर्षअघि सन् २००६ मा स्थापित भएपछि नै विकिलिक्सले गोप्य दस्ताबेज सार्वजनिक गर्ने क्रममा रेकर्ड नै कायम गरेको थियो । स्थापना भएको एक वर्षभित्रै संस्थाले संसारभरका १२ लाख गोप्य कागजात फेला पारेको दाबी गरेको थियो ।

विकिलिक्स ६ देशका नागरिक मिलेर स्थापना गरेको मानिन्छ । यसमा चिनियाँ सरकारका विरोधी तथा अमेरिका, युरोप, अस्ट्रेलिया, ताइवान र दक्षिण अपि|mकाका गणितज्ञ तथा पत्रकार मिलेर विकिलिक्स स्थापना गरेका हुन् । तर, यसको मुख्य निर्देशक अस्ट्रेलियन पत्रकार हुन् ।

खोजमूलक सूचना जारी गरेबापत विकिलिक्सले विभिन्न पुरस्कार पनि पाएको छ । सन् २००८ मा इकोनोमिष्ट म्यागेजिनको 'न्यू मिडिया अवार्ड', सन् २००८ मा नै केन्यामा गैरन्यायिक हत्या तथा बेपत्ता पार्ने प्रवृत्तिबारे रिपोर्टिङमा एमनेष्टि इन्टरनेसनलको पुरस्कार पाएको थियो । त्यस्तै सन् २०१० मा न्युयोर्क डेली न्युजले विकिलिक्सलाई 'समाचारको प्रवृत्ति सम्पूर्ण रूपले परिवर्तन गर्न सक्ने एजेन्सी'का रूपमा सूचीकृत गरेको थियो ।

गत अपि्रलमा विकिलिक्सले इराक युद्धबारेको भिडियो सार्वजनिक गरेको थियो जसमा अमेरिकी सेनाद्वारा क्रूरतापूर्वक मारिएका इराकीको दर्दनाक दृश्य थियो । फेरि जुलाईमा विकिलिक्सले यस्ता कागजात र भिडियो जारी गर्‍यो । यी कागजात र भिडियोले अफगानिस्तानमा अमेरिकाले सेनाद्वारा मारिएका नागरिकको व्यथा देखाइएको थियो । यी सबै कागजात र भिडियो अमेरिकी नियोगले इराक र अफगानिस्तानबाट अमेरिकी विदेश मन्त्रालयमा पठाएका थिए । तर, विकिलिक्सले गोप्य स्रोतबाट यी प्रमाण पकडमा लिएको दाबी गरेको छ ।

विकिलिक्स ह्याक

अमेरिकी विदेश मन्त्रालयका गोप्य कागजात सार्वजनिक गरे लगत्तै विकिलिक्स वेवसाइट ह्याक भएको छ । अफगान मिसनमा काम गरेका पूर्व अमेरिकी सैनिकले सो वेवसाइट ह्याक गरेको दाबी गरेका छन् ।

'अमेरिकी गोप्य सूचना सार्वजनिक गर्नु विश्वकै लागि खतरा हो, सर्वसाधारणको ज्यान बचाउन मैले वेवसाइट ह्याक गरेको हुँ,' ती सैनिकले भनेका छन्, 'सचेत अमेरिकी नागरिकका रुपमा मैले जे गरेँ, ठीकै गरेको छु ।'

उता विकिलिक्सले वेवसाइट ह्याक भएको पुष्टि गर्दै सूचना सार्वजनिक गर्ने अभियान नरोकिने बताएको छ । 'हामीमाथि आक्रमण भएको छ, तर हाम्रो अभियान रोकिएको छैन,' ट्वीटरमा विकिलिक्सका प्रतिनिधिले लेखेका छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले विकिलिक्सले दस्तावेज सार्वजनिक गरेर विश्व समुदायमाथि आक्रमण गरेको आरोप लगाउँदै थप सूचना सार्वजनिक नगर्न चेतावनी दिएकी छिन् ।

विश्वभर हलचल

विकिलिक्सले अमेरिकी विदेश मन्त्रालयका गोप्य दस्ताबेज सार्वजनिक गर्न थालेपछि विश्वभर हलचल मच्चिएको छ । अमेरिकी दूतावास र सम्बन्धित देशबीच भएको लिखित पत्र, अडियो तथा भिडियो संवाद र गुप्तचर जानकारी संकलन गरेर विकिलिक्सले सार्वजनिक गर्न थालेपछि अमेरिका तथा विश्वभरका सरकारले चासो व्यक्त गरेका छन् ।

सबैभन्दा कडा प्रतिक्रिया इरानले दिएको छ जो अमेरिकी प्रशासनतर्फ नै केन्दि्रत छ । इरानका अनुसार विश्वभरि अमेरिकी शक्ति स्थापित भएको देखाउने उद्देश्यपूर्वक नै अमेरिकी प्रशासनले यी गोप्य दस्ताबेज सार्वजनिक हुने अवसर दिएको हो । अमेरिकी परमाणु कार्यक्रमबारे खाडीकै विभिन्न देशले अमेरिकासँग गरेको संवेदनशील आपत्ति पनि विकिलिक्समार्फत सार्वजनिक भएको छ ।

'अमेरिकी सरकारमा केही विभाग नै यस्ता दस्ताबेज तयार गर्न लागेका छन्,' इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादले सोमबार तेहरानमा भने, 'हामीलाई यी सूचना चुहिएका हुन् भन्ने लाग्दैन, बरु अमेरिकाले आफ्नो स्वार्थअनुसार सार्वजनिक गर्न चाहेको हो ।'

इजरायलले भने गोप्य संवाद चुहिए पनि आफूहरूलाई आपत्ति नभएको प्रतिक्रिया दिएको छ । 'हामीले बन्द कोठाभित्र र बाहिर बोलेका र लेखेका विषयमा खासै केही फरक छैन, त्यसैले भित्री सूचना चुहिए पनि हामीलाई फरक पर्दैन,' प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन् ।

विकिलिक्सले जारी गरेको दस्ताबेजअनुसार भ्रमणमा आएका अमेरिकी अधिकारीहरूसँग इजरायली रक्षामन्त्री एहुद बराकले इरानी परमाणु कार्यक्रम रोक्ने भए सन् २०१० भित्रै त्यहाँ आक्रमण गर्नुपर्ने बताएका थिए । 'त्यसपछि आक्रमण गरे हामीलाई क्षति हुनेछ,' उनले भनेका छन् ।

इराकले पनि विकिलिक्सबाट जारी भएका दस्ताबेज नमिठा भएको प्रतिक्रिया दिएको छ । साउदी अरबका राजा अब्दुल्लाले इराकी प्रधानमन्त्री नाउरी कमल अल मलिकी र विदेशमन्त्री होसयार जेबारीको बारे अमेरिकालाई नराम्रो 'रिपोर्टिङ' गरेको दस्ताबेज पनि सार्वजनिक भएको छ ।

साउदी राजाले पाकिस्तानी राष्ट्रपति असिफ अली जर्दारीका बारेमा पनि तीखो प्रतिक्रिया दिएको दस्ताबेज विकिलिक्सले सार्वजनिक गरेको छ । 'जब टाउको -राष्ट्रपति) नै कुहिएको हुन्छ, बाँकी शरीरको के कुरा ?' जर्दारीबारे राजा अब्दुल्लाहले अमेरिकी अधिकारीहरूसँग भनेका थिए । तर, पाकिस्तानी सरकारले पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध बिगार्ने मनसायले गलत रिपोर्टिङ भएको प्रतिक्रिया दिएको छ । 'साउदी महाराज विन अब्दुल अजिज, राजपरिवार र साउदी जनता जहिले पनि पाकिस्तानको पक्षमा छन्,' पाकिस्तान सरकारले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

अफगानी राष्ट्रपति हमिद कारजाईका प्रवक्ताले भने विकिलिक्सको सूचना फितलो भएको प्रतिक्रिया दिएका छन् । 'हाम्रा राष्ट्रपति भ्रष्टाचारमा लागेको भन्ने रिपोर्ट छ, तर त्यसमा प्रमाण छैन,' उनले भनेका छन् ।

जर्मन विदेशमन्त्री गुइडो वेस्टरवेलले विकिलिक्सले खडा गरेको समस्याबीच पनि अमेरिका र जर्मनीबीचको सम्बन्ध पहिलेजस्तै सुमधुर हुने बताएका छन् । सन् २००७ मा अफगानिस्तानमा पक्राउ परेका जर्मन नागरिकलाई छाड्न आग्रह गर्दा अमेरिकी अधिकारीले 'चुप लागेर बस्न' आदेश दिएको दस्ताबेज विकिलिक्सबाट सार्वजनिक भएको छ ।

त्यस्तै प|mेन्च राष्ट्रपति निकोलस सार्कोजीलाई 'दुब्लो अधिनायकवादी' भनी गरेको आन्तरिक टिप्पणी पनि सार्वजनिक भएको छ । सार्कोजी यो टिप्पणीले दुःखी भए पनि अमेरिकासँगको सम्बन्ध भने कायम रहने उनका प्रवक्ताको भनाइ छ ।
Read Full Discussion Thread for this article