Posted by: NikonDX60 November 25, 2010
बुद्ध जन्मस्थल: यथार्थ, विवाद र आवश्यकता
Login in to Rate this Post:     0       ?        
नेपालले आधिकारीक रुपमा लुम्बिनीलाई नै गौतम बुद्धको जन्मस्थलको रुपमा घोषणा गरेको पनि धेरै समय व्यतित भइसकेको छ। साथै युनेस्कोले पनि लुम्बिनीलाई नै बुद्धको जन्मस्थलको रुपमा मान्यता दिइसकेको छ। तर अझै पनि भारतीय पुरात्वत्वविद्हरु नयाँ नयाँ स्थानहरुलाई बुद्धको जन्मस्थलको रुपमा घोषणा गर्ने र भारतीय संचार र शिक्षा क्षेत्रमा संलग्न ब्यक्तिहरुले विभिन्न किसिमले बुद्ध भारतमा जन्मिएको भनेर दावी गर्ने क्रम रोकिएको छैन। भारतीयहरुबाट वारम्वार हुँदै आएका यस्ता कार्यहरु हरेक नेपालीलाई असह्य हुनु स्वभाविकै हो।




(लुम्बिनीमा अवस्थित अशोक स्तम्भ)



नेपालको सरकार र राजनैतीक पार्टीहरु केवल शासन सत्ता हत्याउने खेलमा लिप्त भएको यो समयमा आम नेपालीहरु भने आ-आफ्नै तरिकाले बुद्धको जन्मस्थललाई विवादित बनाउने यस्ता कार्यहरु बिरुद्दको अभियानमा जुटेका छन्। यस लेखमा बुद्धको जन्मस्थलको प्रमाणिकरणदेखि वर्तमानमा चलिरहेको बुद्ध जन्मस्थललाई विवादित पार्ने कदमहरु र ती बिरुद्धका अभियानहरुलाई छोटकारीमा समेट्ने प्रयास गरिएको छ।



बुद्धको जन्मस्थल लुम्बिनी र शाक्यराज्य कपिलवस्तुको प्रमाणिकरणको इतिहास:

लुम्बिनीमा पहिलोपटक उत्खनन् गराउने ब्यक्ति ब्रिटिश ईन्डिया सरकारको सर्भेयर डा. एन्टोन फुहर्र हुन्। सन् १८९६ डिसेम्बर १ मा तात्कालिन ‘रुम्मिनदेइ’ कहलाइएको उक्त स्थलमा डा. एन्टोन फुहर्रको समूहले अशोक स्तम्भ फेला परेका थिए जसमा निम्न लिखित वाक्यहरु कुँदिएका छन्।



'देभनपियाना पियादसिना लजिना भिसाती-भासाभिसितेना

अताना अगछ महियिते हिद बुद जाते साक्य मुनिती

हिद भगवाम जाते ती लुमिनि गामे उबालिके काते अथभागिया छ'




(लुम्बिनीमा अवस्थित अशोक स्तभमा कुँदिएका वाक्यहरु, सभार: कोलम्बिया विश्वविद्द्यालय)



जसको नेपाली अर्थ हुन्छ 'राज्यभिषेकको पच्चिस बर्षपछि, देवहरुका प्यारा, राजा पियादसी (अशोक)ले यो स्थान भ्रमण गरे र पूजा गरे किन कि यहाँ भगवान् बुद्ध, शाक्यहरुका सन्त जन्मिएका थिए’ (1) ।



तर नेपालले लुम्बिनीलाई बुद्धको जन्मस्थलको रुपमा अधिकारिक घोषणा भने अशोक स्तम्भ फेला परेको झन्डै १०० बर्षपछि गरेको थियो । सन् १९९६ फेब्रुअरी ४ मा लुम्बिनीलाई बुद्धको जन्मस्थल घोषणा गर्नु केही समय अगाडि विभिन्न देशका पुरात्वत्वविद्हरु संलग्न टोलीले बुद्ध जन्मेको स्थानमा राखिएको पवित्र ढुङ्गा फेलापारेको थियो। सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई बुद्धको जन्मस्थलको रुपमा विश्व सम्पदा सुचिमा समावेश गरेर विश्व समुदायमाझ लुम्बिनी नै बुद्धको जन्मस्थल हो भनेर प्रमाणित गर्ने कार्य गरेको थियो (2)। यसैगरी कपिलवस्तुको निग्लिहवामा अवस्थित अशोक स्तम्भलाई पनि डा. एन्टोन फुहर्रले नै पहिलो पटक पत्ता लागएका थिए। तर त्यो अशोक स्तम्भ यथास्थानमा नभएकोले लामो समयसम्म पनि शाक्य राज्य कपिलवस्तुको अवस्थिती भने विवादित भइरह्यो। पुरात्वत्वविद् पि. सि. मुखर्जी र ईतिहासकार भि. ए. स्मिथले तिलौराकोट नै प्राचिन शाक्य राज्य कपिलवस्तु भएको घोषणा गरे पछि मात्र उक्त विवाद केही मत्त्थर भएको थियो। तिलौराकोटमा फेला परेको प्राचिन शहरको अवशेष, मुद्राहरु, भाडाँहरु र विभिन्न संरचनाहरुको अवस्थितिले तिलौराकोटनै प्राचिन कपिलवस्तु हो भन्ने पक्का हुन्छ (3)। यद्दपी भारतको पिपर्हवा नै असली कपिलवस्तु भएको भारतीयहरुको लगातारको दावी र केही विदेशी पुरात्वत्वविद्हरु पनि यस विवादमा संलग्न हुँदा तिलौराकोटनै प्राचिन कपिलवस्तु हो भनेर प्रमाणिकरण गर्न नेपालले गरेको मागलाई अहिलेसम्म युनेस्कोले पुरा गरेको छैन। धेरै भारतीय व्यक्तिहरुहरु, भारतीय संस्थाहरु र कुनै कुनै भारतीय राज्यले पनि बुद्धको जन्म भारतमा भएको हो भनेर धेरै बखेडा मच्चाउन खोजे पनि भारतीय सरकारले भने आजसम्म नेपालमा रहेको लुम्बिनीलाई नै बुद्धको जन्मस्थलको रुपमा र तिलौराकोटलाई शाक्य राज्य कपिलवस्तुको रुपमा मान्यता दिएको छ (4)।



शाक्यराज्य र बुद्ध जन्मस्थल भनी दावी गरिएका अन्य स्थलहरु:

भारतमा बिभिन्न समयमा र बिभिन्न स्थानमा बुद्धको असली जन्मस्थल र असली कपिलवस्तु पत्ता लागेको भन्ने अफवाह फैलिनैरहन्छन्। कहिले भारतीय त कहिले बिदेशी पुरात्वत्वविद्हरु पनि यस्तो अफवाह फैलाउनमा संलग्न रहन्छन्। केही भारतीय पुरात्वत्वविद्हरुले लामो समयदेखी भारतको उत्तर प्रदेशस्थित सिद्दार्थनगर जिल्लामा रहेको पिपर्हवालाई असली कपिलवस्तु (शाक्य राज्य)को रुपमा दावी गर्दै आएका छन्। यो स्थान नेपाल-भारतको सिमानावाट मात्र १.६ किलोमिटर र लुम्बिनीबाट १६ किलोमिटर टाढा पर्छ। सन् १८९८ मा डब्लु.सी.पेपले उक्त स्थानमा उत्खनन् गर्दा प्राचिन गहनाहरु, भाँडाहरु साथै बुद्धको दाँत पनि पाइएको उल्लेख गरेका थिए। तर पछि लण्डनमा गरिएको परिक्षणमा उक्त दाँत मानव जातिको नभई सुङुरको भएको पत्ता लागेको थियो (5)। यसपछि पनि उक्त स्थलमा थुप्रै उत्खनन् कार्यहरु भए र आजसम्म पनि जारी नै छ। तर अहिलेसम्म उक्त स्थानमा केही ठोस प्रमाण फेलापर्न सकेका छैन र पाइएका कतिपए प्रमाणहरु पनि झुटो भएको ठहर विदेशी लगायत भारतीय पुरात्वत्वविद्हरुले पनि गरेका छन्। यो समूहले शाक्य राज्य (कपिलवस्तु) नेपालको तिलौराकोटमा नभई भारतको पिपर्हवामा भएको दावी गरे पनि बुद्ध जन्मस्थल भने लुम्बिनीलाई नै मान्छन्।



सन् १९२८ मा भारतको उडिसा राज्यको भुवनेश्वर नजिकैको कपिलेश्वरमा अशोक स्तम्भ भेटियो जसमा कुँदिएको अक्षरहरु बुझ्न नसक्ने गरी बिग्रिएको अवस्थामा थिए। कपिलेश्वर र कपिलवस्तु भन्ने शब्दहरुबिचमा सामिप्यता देखिनु, अशोक स्तम्भ फेला पर्नु र अशोक स्तम्भ फेला पर्नु भन्दा अगाडि प्रकाशित गरिएको कपिलेश्वरको नक्सामा ‘लुम्बाइन’ भन्ने स्थानको उल्लेख हुनुजस्ता आधारहरु अघि सारेर चक्रधार महापात्रलगायतका त्यहाँका स्थानीय पुरातत्वविद्हरुले कपिलेश्वर नै बुद्धको असली जन्मस्थल भएको बताएका छन्। उनीहरुले त यहाँसम्म दावी गरेका छन् कि कपिलेश्वरमा भएको अशोक स्तम्भमाथि धार्मिक आक्रमण गरेर क्षति पुर्याइएपछि लुम्बिनीमा त्यसैको प्रतिरुप अशोक स्तम्भ खडा गरिएको हो (6)।




(बुद्धसँग सम्बन्धित केही प्रमाणित र केही विवादित स्थानहरु)



लुम्बिनी बुद्धको जन्मस्थल होइन भनेर दाबी गर्ने पछिल्लो खोजकर्ताहरु मध्ये बेलायती नागरिक टि. ए. फेल्प्स पनि एक हुन्। उनी लुम्बिनीलाई बुद्धको जन्मस्थल मानिनुमा पुरात्वत्वविद् एन्टोन फ्युहर्रको षड्यन्त्रले प्रमुख भूमिका खेलेको ठान्छन्। उनले लुम्बिनीमा रहेको अशोक स्तम्भ र त्यसमा अंकित लेखलाई समेत नक्कली हो भनेर दावी गरेका छन् (5)। आफ्ना तर्कहरुको आधारमा उनले उनले उल्लेख गरेको चिनियाँ यात्रीहरुको भ्रमणको वर्णन चाँही महत्वपूर्ण छ। नेपाली ईतिहासको धेरै तथ्यहरु यिनै चिनियाँ यात्रीहरुको भ्रमणको वर्णनमा आधारित छ। फेल्प्सका अनुसार लुम्बिनी, कपिलवस्तु र श्रावस्तीविचको दुरी र दिशा तथा लुम्बिनी र कपिलवस्तुमा वर्णित बिभिन्न संरचनाहरु र तिनीहरुको अवस्थिती चिनियाँ यात्रीहरु फा-सियान र युआन चुआङले वर्णन गरेर अनुसार मिल्दैन। चिनियाँ यात्रीहरुको भ्रमणको वर्णन र उत्खनन् कार्यमा भेटिएका का अवशेषलाई आधार मानेर उनले भारतको उत्तर प्रदेश, वस्ती र गोरखपुरबिच रहेको मगहरलाई असली कपिलवस्तु र दोमिनगढलाई असली लुम्बिनीको रुपमा प्रस्तुत गरेका छन्। तर प्राचिन समयमा चिनियाँ यात्रीहरुले गरेको दुरीमापन कतिसम्म सही होला भन्ने प्रश्नको जवाफ नखोजी खाली उनीहरुले उल्लेख गरेको दुरी मिल्यो भन्दैमा सारा ईतिहास त्यसैमा आधारित गरेर रच्नु कतिसम्म तथ्यपरक होला?



अनि यदी रन्जित पाल जस्ता अनुसन्धानकर्ताको कुरा सुन्ने हो भने बुद्ध न त हालको नेपालमा जन्मिएका थिए न त भारतमा, उनी त दक्षिणपुर्बी ईरानमा जन्मिएका थिए जुन भूभाग त्यो समयमा भारत नै थियो। उनी ईशाको सातौं शताब्दीमा अफगानिस्थानको बामियानमा बुद्ध धर्म फस्टाउनु र नेपालमा बुद्ध धर्मको प्रभाव धेरै पछि मात्रा शुरु हुनुको कारण ईरानबाट बुद्ध धर्मको प्रचार क्रमश: पूर्वतिर हुँदै गएकोले हो भन्छन् (7)।



बुद्ध भारतमा जन्मिएको भनी गरिएका अन्य प्रचारवाजीहरु:

सन् २००९ मा बनाइएको भारतीय चलचित्र 'चादँनीचोक टु चाइना'मा बुद्ध भारतमा जन्मेको भन्ने सम्बाद राखिएपछि नेपालीहरुको बढ्दो आक्रोशलाई साम्य पर्न नेपाल सरकारले उक्त भारतीय चलचित्रको प्रदर्शनीमा नै रोक लगाउनु परेको थियो। भारत तथा नेपालमा पनि लोकप्रिय योग गुरु स्वामी रामदेवले आफ्नो पुस्तक ‘जीवनदर्शनमा’ बुद्ध भारतमा जन्मेको लेखे पनि पछि आफ्नो नेपाल भ्रमणको क्रममा उनले बुद्धको जन्म नेपालमा नै भएको तथ्य स्विकार गरे। केही समय अघि सम्म गुगल नक्सामा बुद्धको जन्मस्थल भनेर खोजी गर्दा भारतलाई देखाउने गरे पनि धेरै नेपालीहरुले गुगललाई आफ्नो गल्ती सुधार्न अनुरोध गरेपछि गूगलले आफ्नो गल्ती सुधार गरेको छ।



केही समय अघि डकुमेन्ट्री भिडियो बनाउनमा नाम कहलिएको एउटा संस्था पब्लिक बोर्ड्कास्टिङ सर्भिस (PBS) ले बुद्धको जीवनीमा आधारित एउटा भिडियो 'The Buddha' सार्वजनिक गर्‍यो। उक्त भिडियो सामाग्री प्रदर्शन हुनुअगाडि PBS ले देखाएको प्रचार सामाग्रीहरुमा बुद्धलाई भारतीय सन्त भनेर सम्बोधन गरिएको थियो, साथै बुद्धको जन्म भारत र नेपालको सिमाबिच भएको भनिएको थियो। यसको बिरुद्धमा थुप्रै नेपालीहरुले लेखे। थुप्रैले PBS लाई उक्त भिडियोमा गलत तथ्य रहेको जानकारी गराए। PBS ले जब उक्त भिडियो सामाग्री सार्वजनिक गर्‍यो त्यसमा भने बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भन्ने जानकारी राख्यो। यद्दपी उसले मुख्य भिडियो प्रदर्शित हुनु अघि देखाइएको प्रचार सामाग्रीहरुमा राखिएको जानकारीहरुलाई भने अझै हटाएको छैन।



यसैगरी बिभिन्न भारतीय पत्रपत्रिकाहरु, थुप्रै भारतीय वेबसाईटहरु, भारतमा निर्मित पर्यटकीय नक्साहरु र भारतीय बिद्यालयहरुमा प्रयोग हुने पाठ्यसामग्रीहरुमा बुद्ध भारतमा जन्मेको भनेर प्रचार गरिएको छ । चर्चित भारतीय चलचित्रहरु लगान, स्वदेश र जोधा अकवरका निर्देशक आशुतोष गोवारिकरले एउटा वेबसाईट मार्फत बुद्धको जीवनीमा आधारित उनको आगामी चलचित्र 'बुद्ध'मा बुद्धको भूमिका निर्वाह गर्ने कलाकारको खोजी गर्दै छन्। केही नेपालीहरुले उक्त वेबसाईटमा पनि बुद्ध भारतमा जन्मेको भनेर राखिएको भन्दै आक्रोश प्रकट गरे पनि तत्काललाई उनको वेबसाईटमा त्यस्तो केही सामाग्री भेटिएन। तर उनको चलचित्रले बुद्धको जीवनीलाई कुन रुपमा प्रस्तुत गर्छ त्यो वास्तवमै चासोको बिषय हो। सुचना र प्रबिधीको आजको यो युगमा सर्वसाधारण जनताहरुमा सही अथवा गलत सुचनाको प्रवाह गर्न र त्यही अनुरुपको मानसिकता बिकास गर्नमा चलचित्र अत्यन्तै शक्तिशाली माध्यम हो। अझ भारत त चलचित्रको धेरै ठूलो बजार भएको देश हो। ठूलो बजार भन्नुको मतलब धेरै भारतीयहरुले चलचित्रहरु हेर्छन् र चलचित्रमा दिइएको सन्देश आफ्नो दिमागमा राख्छन्। भारतीयहरुले बुद्ध हाम्रो देशमा जन्मिएको भनेर भन्दैमा हामीलाई केही फरक पर्दैन भन्नेहरुले संसारभर भारतीय संस्कृतिको प्रभाव कसरी बढ्दो छ भन्ने कुरा बुझ्न अमेरिकी बिद्यालयहरुमा प्रयोग गरिने पाठ्यसामाग्रीहरुमा पनि बुद्ध भारतमा जन्मिएको भनेर राखिएको उदाहरण हेरे पुग्छ।



युनेस्कोकोले बुद्धको जन्मस्थल लुम्बिनी भएको प्रमाणित गर्दा गर्दै र भारत सरकारले पनि आधिकारिक रुपमा बुद्ध जन्मेको स्थल लुम्बिनी र बुद्ध हुर्केको स्थल कपिलवस्तु, नेपालमानै भएको बताउँदा बताउँदै पनि किन भारतीयहरु संचार लगायत अन्य माध्यममा बुद्ध भारतमा जन्मिएको भनेर दावी गर्छन्? यसको थोरै सम्बन्ध भारतमा भइरहेको बुद्धको जन्मस्थल जन्माउने प्रयासहरुसँग पनि होला, तर त्यो भन्दा पनि ठुलो कारण चाँही भारतीयहरुको अज्ञानता अथवा उनीहरुले पाएको शिक्षामा रहेको कमजोरी नै हो। जसरी केही बर्ष अघि भारतको चर्चित नायिका माधुरी दीक्षितले नेपाल भारतको एउटा भाग भएको बताएकी थिईन, त्यसैगरी केही भारतीयहरु अझै पनि नेपाललाई भारतको एउटा भाग मात्रै ठान्छन्। अनि अरु धेरै भारतीयहरु चाँही नेपाल कुनै जमानामा भारतको एउटा भाग थियो भन्ने कुरामा विश्वास गर्छन्। उनीहरु नेपाल मात्र होइन पाकिस्तान, अफगानिस्थान, बाङ्लादेश, भुटान सारा दक्षिण एसिया भारत नै थियो भन्ने ठान्छन्।



शायद उनीहरुलाई पुराणहरुमा वर्णित त्यो श्लोकले अहिलेसम्म पनि छोडेको छैन जसले भन्छ, दक्षिणमा समुन्द्र देखि उत्तरमा हिमालयसम्म भरत राजाको राज्य भारत थियो।



उत्तरं यत्समुद्रस्य हिमाद्रेश्चैव दक्षिणम्।

वर्षं तद् भारतं नाम भारती यत्र संततिः।।



तर भारतीयहरुले बुझ्नुपर्ने कुरा के हो भने भारतलाई अहिले जत्रो बिशाल आकारमा ल्याइदिने कार्य वास्तवमा ब्रिटिश शासकहरुले गरेका हुन्, न त भारत राजा भरतको समयमा यत्तिको बिशाल थियो, न त सम्राट चन्द्रगुप्त मौर्यको समयमा न त कुनै मुगल बादशाहको राज्यकालमा। ईतिहासका ती कालखण्डहरुमा भारतको कुनै एउटा खण्ड त बिशाल थियो, तर त्यो बाहेक अरु पनि थुप्रै स-साना राज्यहरु पनि अस्तित्वमा थिए। यसको विपरित भलै नेपाल स-साना टुक्राहरुमा विभक्त थियो तर कहिले पनि कुनै साम्रज्यको उपनिवेश बनेन। बुद्धको जन्म हुँदा लुम्बिनी नेपालमा पर्दैन थियो भन्नेहरुले बुझ्नुपर्ने कुरा के हो भने लुम्बिनी न त ईतिहासको कुनै कालखण्डमा भारतमा पर्थ्यो न अहिले पर्छ। तर ती भारतीयहरुको दिमागमा यो कुरा हलिदिने कसले?



तर न्युजवीक जस्तो ख्यातीप्राप्त पत्रिकाका सम्पादक फरिद जाकारीया जब आफ्नो पुस्तक 'Post-American World' मा बुद्ध भारतमा जन्मेको भनेर लेख्छन्, त्यो केवल अज्ञानताको कारणले भएको होइन, त्यो त एउटा स्वाधिन राष्ट्रको अस्तित्वलाई स्विकार नगर्ने हेपाहा प्रव्रितीको पराकाष्ठा हो।



बुद्धको जन्मस्थलमाथि भारतीयहरुको दावी विरुद्दको नेपालीहरुको अभियान:

कुनै भारतीय चलचित्रमा बुद्ध भारत जन्मिएको भनेर दावी गरियोस् अथवा कुनै पाठ्यसामाग्रीमा बुद्ध भारतमा जन्मिएको भनेर लेखेको पाइयोस्, नेपाल सरकारको उपस्थिती शुन्य भए पनि सर्वसाधारण नेपालीहरुवाट भने त्यस्ता कदमहरुको बिरुद्ध तिखो आक्रमण हुने गरेको छ। चाहे गुगल नक्साले बुद्धको जन्मथलो भारत देखाएको प्रसगंमा होस् वा PBS ले बुद्धलाई भारतीय सन्त भनेर प्रचार गरेको प्रसगंमा होस् नेपालीहरुले सम्बन्धित स्थानहरुमा आफ्नो असहमति र प्रतिकृया देखाउन चुकेका छैनन्। ईन्टरनेटको बढ्दो प्रयोगसगैँ फस्टाएका फेसबुक लगायतका थुप्रै ईन्टरनेट सन्जालहरुमा बुद्धको जन्म नेपालमै भएको जानकारी दिने धेरै समूहहरु खोलिएका छन्। तर यो अभियानमा भएका कामहरु सबै राम्रा मात्र छैनन्। बुद्धको जन्म नेपालमा भएको प्रमाणित गर्नैको लागि कसैकसैले नेपाली नागरिकतापत्रमा बुद्धको तस्बिर राखेर बुद्धको नेपाली नागरिकता बनाउने काम पनि गरिएको देखियो जुन निश्चय पनि राम्रो होइन।



विदेश बसेर स्वदेशलाई माया गर्ने नेपालीहरु मध्ये एक डा. वि.के. राना धेरै स्वदेशी तथा विदेशी पुरात्वत्वविद्हरु, ईतिहासकारहरु र सम्बन्धित निकायहरुसँग लुम्बिनी र कपिलवस्तुसँग सम्बन्धित प्रमाण र खोज सामाग्रीहरु आदानप्रदान गरिरहनुभएको छ र वहाँले आफ्नो वेबसाईटमा पनि त्यस्ता खोजसामग्रीहरु राख्नु भएको छ (8)। उक्त वेबसाईटमा रानाद्वारा भारतीय सरकारलाई उडिसामा बुद्ध जन्मस्थलको दावी गरिएको बारेमा भारत सरकारको अधिकारिक धारणा जान्न लेखिएको ईमेल र त्यो दावीलाई भारत सरकारले मान्यता नदिएको भन्ने भारत सरकारको जवाफ पनि राखिएको छ। अमेरिकी विद्यालयहरुमा प्रयोग गरिने पाठ्यपुस्तकहरुमा बुद्ध भारतमा जन्मिएको भनेर गरिएको प्रचार बिरुद्दको अभियानमा जुट्नु भएका प्रमोद घिमिरेले  रकी माउन्टेन फ्रेन्डस अफ नेपालद्वारा आयोजित नेपाली नयाँ बर्ष २०६७ मनाउन आयोजित कार्यक्रममा पनि उक्त बिषय उठाउनु भएको थियो। कार्यक्रममा उक्त प्रश्नलाई सम्बोधन गर्दै अमेरिकाको लागि नेपाली राजदूत डा. शंकर शर्माले उक्त बिषय राजदूतावासले आवश्यक कदम चालिसकेको भन्ने जानकारी दिनुभएको थियो। डा. शर्माले उक्त जानकारी दिएको महिनौ बिते पनि त्यसबाट के उपलब्धि हात लाग्यो भन्ने कुराको केही पत्तो छैन।   



बुद्धको जन्मस्थललाई लिएर गरिएको भारतीय दावी बिरुद्द नेपालीहरुले किन बोल्नुपर्छ र के गर्नुपर्छ?

कतिपय नेपाली साथीभाइहरु यसो पनि भन्नुहुन्छ, 'बुद्ध जहाँ जन्मे पनि के फरक पर्छ र? किन नचाहिने कुरामा किचकिच गरेर समय खेर फाल्ने?' ल वहाँहरुको कुरा एक क्षणलाई मानिलिउँ कि हामी मुर्खै भयौ र बेकारमा समय खेर फालिरहेका छौं। तर भारतीयहरु त हामी जस्तो मुर्ख हुन नपर्ने, किन तिनीहरुले पनि यस कुरामा किचकिच गरेर समय खेर फालिरहेका होलान्? आखिर के फाईदा होला तिनीहरुलाई? एउटा भारतीय पुरात्वत्वविद्ले किन बुद्ध भारतमा जन्मिएको भनेर दावी गर्छ होला? शायद उसलाई त ठुलो नाम कमाउने लोभ होला। एउटा भारतीय कलाकारले किन त्यस्तो गर्छ होला? शायद उसले अन्जानमै त्यस्तो भन्यो कि? तर एउटा सिगों भारतीय राज्यले किन त्यस्तो दावीलाई समर्थन गर्छ? किन उडिसामा बुद्ध जन्मेको हो भन्नेहरुलाई उडिसाको राज्य सरकारले पनि समर्थन गर्‍यो?



बुद्ध, बुद्ध र हिन्दु धर्मावलम्बीहरुको लागि आस्थाका प्रतिक र विश्वको लागि शान्तिका दूत हुन्। यदी हामीसँग उनको जन्म नेपाली भूभागमा नै भएको यथेस्ट प्रमाण छ भने भारतले विश्वसामु उनको जन्म भारतमा भएको भनेर दावी गरिरहँदा हामी किन चुप लागेर बस्ने? किन हामीले भारतीयहरुको हरेक दादागिरी सहनै पर्ने? यो हाम्रो देशको अस्मिताको प्रश्न हो। जसरी पूर्वदेखि पश्चिमसम्मको नेपालको सिमाना भारतले चिमोटी चिमोटी खादाँ हामीलाई दुख्छ, त्यसैगरी बुद्ध भारतमा जन्मिएको भन्दा प्रत्येक नेपालीलाई दुख्नै पर्छ। निश्चयनै हामीले गर्ने बिरोध भद्र हुनुपर्छ, संयमित हुनुपर्छ। नत्र भने बुद्ध हाम्रो देशमा जन्मेको भनेर विश्वसामु भन्न हामीलाई लाज मर्दो हुनसक्छ। हुनत हामीले बुद्ध हाम्रो देशमा जन्मेको भनेर धेरै बहस गरे पनि व्यवहारमा भने बुद्धको शिक्षालाई चटक्कै बिर्सेंर, स्वार्थी नेताहरुको बहकाउमा लागी आफू-आफूमा नै मारामार गरेर, विश्वमा नेपाललाई अशान्त देशको रुपमा चिनाइसक्यौ, तर समय अझै पनि बाँकी छ। यी स्वार्थी नेताहरुको बहकाउमा नलागी आपसमा सद्भाव कायम गर्न सक्यौ भने नै नयाँ नेपाल निर्माण गर्ने बाटो खुल्छ र आफूलाई बुद्ध जन्मेको देशको नागरिक हुँ भनेर चिनाउने आधार मिल्छ।



भारतमा पर्यटकहरुको लागि तयार पारिएको टुर-प्याकेजहरुको नक्साहरुमा भारतको अरु पर्यटकीय स्थलसँगै लुम्बिनीलाई पनि देखाइएको हुन्छ। हामीहरुले चासो लिनुपर्ने महत्वपूर्ण कुरानै यही हो, यदी त्यस्ता नक्साहरुमा नेपाल पनि देखाएर त्यसमा लुम्बिनी देखाईएको भए त आपत्ति गर्नुपर्ने कारण छैन। तर भारतीय पर्यटकीय स्थलहरु देखाएर त्यसमा खालि लुम्बिनीलाई मात्र समावेश गरिएको छ भने त्यो कदापी उचित होइन। नयाँ नेपाल बनाउछौं भनेर राजनैतीक पार्टीहरुले जतिसुकै कराए पनि त्यो केवल जनतालाई उल्लु बनाउने कार्य मात्र हो। यदि वास्तवमै नयाँ नेपाल बनाउने हो भने, आर्थिक बिकासको बाटोहरु खोज्ने हो भने, पर्यटनलाई नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा बिकास गर्नु एक मात्र उपाय हो। विदेशमा काम गर्न गएका नेपालीहरुले पठाएको कमाइले नेपाली अर्थतन्त्रलाई सधैंभरि धान्दैन। यसैको लागि हामीलाई लुम्बिनी चाहिन्छ, जुन हाम्रो आफ्नै हो। तर लुम्बिनी आफ्नो हो भनेर भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भनेर दावी गरीरहँदा हामी ढुक्क भएर बसिरहने अवस्था छैन। अनि यस्तो अवस्थामा हामीले बुद्धको नेपाली नागरिकता भएको फोटो निकाल्नुको साटो जुन जुन ठाउँहरु र तहबाट त्यस्तो मिथ्या प्रचार भइरहेको छ, ती सम्बन्धित ठाउँहरुमा आफ्नो बिरोध जनाउन सक्नुपर्छ। सामाजिक, राजनैतीक र जातीय भेदभावहरुवाट मुक्त भई नेपालीहरुविचको आपसी सद्भाव बढाउँदै देशमा शान्ती कायम गरेर विश्वका हरेक कुनाकाप्चाहरुबाट आउने पर्यटकहरुलाई बुद्धको जन्म लुम्बिनीमै भएको भन्ने सन्देश पुराउन सक्नुपर्छ।



तर हामीले केवल लुम्बिनीमा बुद्धको जन्म भएको हो अथवा तिलौराकोटनै वास्तविक कपिलवस्तु हो भनेर विश्वसामु कराएर मात्र पुग्दैन। लुम्बिनीको बिकासको लागि गर्नुपर्ने थुप्रै कामहरु बाँकी छन्। लुम्बिनीलाई पर्यटककेन्द्रको रुपमा बिकास गर्न अन्तरराष्ट्रिय विमानस्थल बनाउने कुरा चलेको बर्षौ बितिसक्यो। तर हाम्रा नेताहरुलाई खालि आफ्नो कुर्सीको मात्रा चिन्ता छ। युनेस्को मार्फत कपिलवस्तुको अध्ययन गर्न खटिएका प्रोफेसर रबर्ट कनिङहमको रिपोर्ट नआएसम्म कपिलवस्तुले विश्व सामु अधिकारिकता पाउन नसक्ने अहिलेको स्थितिमा सागर्हव लगायतका थुप्रै स्थानहरुमा अत्खनन् कार्य जारी राख्नुपर्ने आवश्यकता छ।



(आभर: यस लेखमा लेख्दा भएका गल्तीहरु औंलाई दिई आवश्यक सुझावहरु दिनुहुने डा. बि.के. रानालाई हार्दिक धन्यवाद दिन चाहन्छु)



सन्दर्भ सामाग्रीहरु:

1. Ajit K. Tripathy, 2004, The Real Birth Place of Buddha: Yesterday's Kapilavastu, Today's Kapileswar



2.K. Rana, 2010, Nepal’s Lumbini: Where The Buddha Was Born, http://thehimalayanvoice.blogspot.com/2010/02/nepals-lumbini-where-buddha-was-born.html



3. Government of India, 2005, Know India: Ancient History, http://india.gov.in/knowindia/ancient_history2.php



4. Ranjit Pal, 2009, A New Johnesian History of the World



5. Tara Nanda Mishra, 1977, Tilaurakot Excavations: Ancient Nepal, v. 41-42, p. 11- 31



6. 5. T. A. Phelps, 2008, Lumbini on Trial: The Untold Story, http://www.lumkap.org.uk/Lumbini%20On%20Trial.htm#p1



7. UNESCO, 1997, World Heritage, Lumbini, the Birthplace of the Lord Buddha, http://whc.unesco.org/en/list/666

 

http://mankokuraharu.blogspot.com/2010/11/blog-post_25.html
Read Full Discussion Thread for this article