Posted by: Geology Tiger October 23, 2010
बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न
Login in to Rate this Post:     3       ?         Liked by

हिजोआज एकोहोरो बाहुनवाद! बाहुनवाद! भन्ने शब्द सुन्दा मेरो कान पाक्न थालेको छ र मलाई झनक्क रिस उठ्न थालेको छ। आखिर के हो त यो बाहुनबाद? बाहुनवादको प्रखर व्याख्याता डा. कृष्ण भट्टचनकै शब्दमा भन्ने हो भने बाहुनवादको परिभाषा यस्तो छ: I define Bahunbad as an ideology, policy and practice of domination of one caste (Bahun-Chhetri), one religion (Hindu), one language (Khasa-Nepali), one culture (Hindu), one region (the Kathmandu Valley), and one sex (male) over others.


यो कुरा हामी सबैले मानेको र अनुभव पनि गरेको हो कि ईतिहासको कुनै कालखण्डमा नेपालमा केही सिमित व्यक्तिहरुले अरु बहुसंख्यक व्यक्तिहरुलाई शोषण गरेकै हो, अन्याय गरेकै हो, दवाएकै हो र त्यो हेपाहा, मिचाहा मानसिकता कतिपय व्यक्ति बिशेष र कतिपय स्थान बिशेषमा अझ पनि कायम छ। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने त्यस्ता दवाईएका व्यक्तिहरु न त केवल जनजाती र दलित वर्गका मात्र थिए न त दवाउने व्यक्तिहरु बाहुन र क्षेत्रीहरु जातीका मात्र थिए। भलै दवाउने मध्यका अधिकांश बाहुन क्षेत्रीनै छन्, तर दविनेमा हेर्ने हो भने जनजाती र दलि वर्ग सहित थुप्रै बाहुन क्षेत्री र अरु जातीका मानिसहरु पनि छन्। तर समाजवादका व्याख्याताहरुलाई र जातीय नेताहरुलाई यो तथ्यको कुनै मतलब छैन। सबै दोष जति सिंगो बाहुन जातीलाई हालिदियो, काम तमाम भैहाल्यो।


हजारौ नेपालीहरुलाई झुटो सपना बाडेर,  हजारौ नेपालीहरुको रगतको खोलो बगाएर, सिमित केही नेताहरुलाई शासनसत्तामा पुर्याउन चलाइएको दशकौ लामो माओवादी पार्टीको कथित जनयुद्दको एउटा मात्र राम्रो पक्ष भनेको यसले नेपाली जनताको राजनैतीक र सामाजिक सोचको स्तरलाई ह्वात्तै बढाइदियो । तर नराम्रो के भयो भने त्यो सोचको दिशा सयौ बर्षदेखि दविइएका र गरिबीले सताइएका आम नेपालीको सामाजिक र आर्थिक रुपान्तरणमा केन्द्रित हुनबाट मोडिएर देश बिखण्डनतिर लगातार अगाडि बढ्दै छ। नेपालमा बर्षौदेखि मानिदै आएका विभिन्न जातीका धर्म, भाषा, संस्कृति, र चाडपर्वलाई जगेर्ना गर्नुपर्ने कुरामा कसैको दुई मत हुनसक्दैन। तर देशलाई जातीयताको आधारमै संघीयतामा लैजाने भन्ने सोच वास्तवमै विभाजनकारी छ। जसरी देशैभरी छरिएर रहेका हरेक जातीलाई एउटा निश्चित स्थानमा थुपारेर संघीय राज्य बनाउने भन्ने कुरा अवैज्ञानिक छ त्यसैगरी एउटै समय र स्थानमा सहअस्तित्वमा रहेका जातीय सामाजिक तत्वहरु एक अर्काबाट निरपेक्ष रहनुपर्छ भन्ने भनाइ पनि सरासर अवैज्ञानिक र अव्यवाहारिक छ। भर्खरै सकिएको दशैमा अहिन्दू नेपालीले दशै मनाउने कि नमनाउने भन्ने बिषयमा ठुलो बहस चल्यो, जुन हरेक बर्ष चल्ने गर्छ। हिन्दू बाहेकका अरु जातीले दशै मनाउनै पर्छ भन्ने केही जरुरी छैन, नमान्नेलाई कसैले जवर्दस्ती मान्नै पर्छ भनेर कर गर्ने अधिकार पनि छैन। तर कसैले मानिआएका छन् भने तिनीहरुलाई 'ए, यो दशै मान्नु हुँदैन, यो त हिन्दूहरुको चाड हो, हाम्रो होइन' भनेर दशै मान्नबाट कसैले थूनछेक गर्न खोज्छ भन्ने त्यसले पक्का पनि समयको साधारण नियम  पनि बुझेको छैन। धर्म, संस्कृति, भाषा यी सबैका रुप समयको एक बिन्दुबाट अर्को बिन्दुसम्म पुग्दा अवश्य पनि एक रहदैन। सलाद बलमा राखिएका मिश्रणहरुको फरक अस्तित्व त हुन्छ तर जति लामो समय तिनीहरुलाई सँगै बलमा राखिन्छ तिनिहरुमा एक अर्काको स्वाद सर्दै आउँछ। तिनीहरु एक अर्काबाट पूर्णरुपमा प्रभावरहित रहन सक्दैनन्।


नयाँ नेपाल! नयाँ नेपाल! भनेर रातो दिन राग अलापेर हिंड्ने राजनैतीक पार्टीका नेताहरु वा सामाजशास्त्रका विषेशज्ञहरुले बुझेको र जानेको देशको एक मात्र रुपान्तरण भनेको जातियतामा आधारित संघीय राज्यको स्थापना हो। तर उनीहरुले बुझ्न नचाहेको अथवा बुझेर पनि बुझ पचाएको तथ्य के हो भने नेपालीहरुको समग्र सामाजिक रुपान्तरण हुनको लागी सबभन्दा ठुलो बाधक भनेको आर्थिक असमानता हो जुन केही हदसम्म जातीयतासँग सम्बन्धित भए पनि अन्य धेरै कारणहरुसँग सम्बन्धित छ। दलित र जनजाती मात्र गरिव छैनन्, बाहुनहरु पनि गरिव छन्, क्षेत्रीहरु पनि गरिव छन्।  काठमाडौं उपत्यकामा बसेका एउटा नेवार जातीको मात्र उदाहरण लियो भने पनि देख्न सकिन्छ, काठमाडौंमा अरबौपति नेवारहरु पनि छन् र केही नभएका सुकुम्बासी नेवारहरु पनि छन्, त्यस्तै स्थिती हरेक जाती, जनजाती र दलितहरुमा पनि कायम छ। निश्चय पनि बाहुन-क्षेत्रीले अरु जातीलाई वा एक जातीले अर्को जातीलाई तल्लो जाती भनेर गर्दै आएको जातीय विभेदको उन्मूलन हुनैपर्छ। हरेक जातीले आफ्नो भाषा, धर्म र संकृति स्वतन्त्र भएर बोल्न र मान्न पाउनैपर्छ। सयौ अस्पताल र मठमन्दिर बनाउने पुनित कार्य गर्दै हिंड्नु भएका हिन्दू धर्मका व्याख्याता पण्डित दिनबन्धु पोख्रेलजस्ता व्यक्तिहरुले हिन्दू धर्मलाई पुनर्व्यख्या गर्ने समय आइसकेको छ। केवल सतहमा गरिने कार्यहरुबाट समाजमा कायापलट सम्भव छैन, यसको लागि नेपालीहरुको मस्तिष्कमा खिचिएको त्यो जातीय विभाजनको रेखा मेट्नु आवश्यक छ।तर नयाँ नेपालको रुपान्तरणको आधार जनताको आर्थिक अवस्थामा आधारित हुनुपर्छ। संघीयताको आधार पनि अर्थमा नै आधारित हुनुपर्छ। जातीय राज्यहरुको पक्षधरहरुले शायद यो कुराको अनुमान गर्नु कहिले आवश्यक ठानेनन्, जातीय राज्य बनाउँदा के कस्ता समस्याहरु आइलाग्छन् र त्यसलाई समाधान गर्न कत्रो मिहेनत र कति समय आवश्यक पर्नसक्छ।                                 


राणा शासनको अन्त्यपछि शासन सत्तामा बढेको सर्वसाधारणको पहुँच २०४६ सालको आन्दोलन र एक दशक लामो माओवादी बिद्रोह पछि अझै बढी सुनिश्चित भैसक्दा पनि धेरै जसो समय बाहुनहरुनै शासनसत्ताको नजिक पुगे। तर देश र जनतालाई आर्थिक, सामाजिक रुपान्तरणको जुन आश्वासन दिएर सत्तामा पुगेका थिए त्यो पुरा गर्नु त कहाँ हो कहाँ उल्टै देशलाई सयौं बर्ष पछाडि धकेलेर आफ्नो र आफ्नो परिवारजनको भुँडी भर्ने काम मात्र गरे। तर बिर्सन नहुने कुरा के हो भने सबै बाहुनहरु शासन सत्तामा पुगेका छैनन्, सबै बाहुनहरुले पढ्ने मौका पाएका छैनन् र सबै बाहुनहरुले काठमाडौं टेक्न पाएका पनि छैनन् । रातोदिन परिश्रम गरे पनि दुई छाक खान धौ धौ पर्ने नेपालीहरु जनजाती र दलितमा पनि छन्, बाहुन र क्षेत्रीमा पनि छन्।


आफ्नो जातीलाई, आफ्नो भाषालाई, आफ्नो धर्मलाई अपमान गरेको, हेपेको कसैलाई पनि मनपर्दैन र अहिलेको बदलिएको सामाजिक र राजनैतीक बातावरणमा अर्काको आत्म-सम्मानमा आक्रमण गर्ने अधिकार कानूनले पनि कसैलाई  दिएको छैन, चाहे त्यो बाहुन क्षेत्रीले अरु जातीमाथी गरुन् या अरु जातीले बाहुन क्षेत्रीमाथि गरुन्। म एउटा बाहुनको छोरो हुँ, तर मैले कहिल्यै पनि कुनै नेपालीलाई उसको जातीयताको आधारमा विभेद गरेको छैन र म ईतिहासका कालखण्डहरुमा यदी मेरा पूर्वजहरुबाट अन्य जातीहरुमाथि अन्याय भएको रहेछ भने त्यसको दोषी आफूलाइ ठान्दिन। त्यति मात्र किन यदी मेरो आफ्नो आमा-बाबुबाटै कुनै कानूनी अपराध भयो भने पनि जबसम्म मैले त्यसमा मिलोमतो गर्दिन म त्यस अपराधको लागि दिने सजायको भागीदार हुँदिन। त्यसो भए गिरिजाप्रसाद कोइराला या प्रचन्डले गरेको कुकर्मको लागि म किन भागीदार हुने? किन सबै बाहुनहरु भागीदार हुने?  डा. कृष्ण भट्टचनकै व्यख्यालाई आधार मान्दा  एउटा खराब आइडियोलोजी (जुन कुनै पनि जातीसँग सम्बन्धित हुनसक्छ) लाई एउटा जाती बिशेषसँग जोडिएको यो 'बाहुनबाद' भन्ने शब्द जातीय विभेदकारी शब्द हो कि होइन?  सिमित व्यक्तिहरुले खराब काम गरे भन्दैमा सम्पूर्ण जातीकै बदनाम गर्ने अधिकार यसका व्यख्याताहरुलाई कसले दियो?


 


साझाका मित्रहरुमा अनुरोध: कृपया आफ्नो प्रतिकृया दिदा सभ्य शब्द प्रयोग गरिदिनु होला, यदी यहाँहरुलाई मेरो कुरा चित्त बुझेन भने रातो कार्ड देखाइ दिनु होला, तर असभ्य भाषामा दिइएको प्रतिकृया मेट्न म बाध्य हुनेछु।                                                

Last edited: 23-Oct-10 07:59 PM
Read Full Discussion Thread for this article