Posted by: crazy_love October 21, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-८


ओरिएन्टसनको क्रम जारी थियो, मेरो सुपरवाइजर त्यति कडा थिइन, न त धेरै फरासिली। कहिले कहि ज्यादा साथी भए जस्ती गर्थी, फेरि नियम र कानुनको भाषण दिन्थी। नयाँ भएकोले चुपचाप सुन्नु पर्‍थ्यो। सँगत नगरी अर्काको मनपेट कसरी जान्नु?


एकदिन उसले मलाइ त्यो वार्डको डक्टरसङ परिचय गराइ।


"क्रेजि! उहाँ यसको वार्डको डक्टर, डक्टर ठिस्!" मेरो ओंठबाट अचानक हाँसो फुत्क्यो। मनमनै भने, पागलहरुको डक्टर "ठिस्।"। कस्तो मिलेको त?

डक्टर ठिस् यस्तै ५०-५५ बर्षको जस्तो, दुब्लो दुब्लो, बाक्लो चस्मा, लामो लामो दारी भएको मान्छे थियो। हेर्दा खेरि नैं डक्टर ठिस् जस्तो। म हाँसेको देखेर सुपरवाइजरले एउटा छड्के नजर फाली अनि सोधी। "के भयो? डक्टर ठिस इज मेड इन रसिया।"


"हाइ! डक्टर ठिस्।" मैले हत्त पत्त भने।


"हाइ!" मुसाले नि नसुन्ने आवाजमा डक्टर ठिस् चार्टहरुको थानमा केहि खोज्दै थियो। घरि घरि प्रत्येक चार्टको नजिकै नाम चेक गर्दै थियो।


"T H I S S ठिस्! बुझ्यौ।" सुपरवाइजरले स्पेलिङ समेत बताइ। मैले टाउको हल्लाए। कानैनिर आएर सुपरवाइजरले सोधी, "किन हाँसेको?"


"हाम्रो भाषामा ठिस् भनेको पागल हो।" मैले नि डक्टरले नसुन्ने गरी सुपरवाइजरको कानैमा खुसुक्क भने।


"त्यसो पो! हाम्रो भाषामा त झन् ठिस् भनेको भन्नै नहुने कुरा, बुझ्यौ?" सुपरवाइसरले सेतो दाँत टिल्लिक्क टल्काँउदै आँखा झिम्काइ। अफ्रिकी मुलुकको उसको भाषामा "भन्नै नहुने कुरा" के हो बुझिन, तैपनि मैले "ए--" भनेँ।


"यो वार्डमा कहिले केहि खोजेको बेलामा पाइदैन बुझ्नु भो?" डक्टर ठिसले सुपरवाइजरलाइ अलि कडा कडा स्वरमा भन्यो। त्यो कडा स्वर डक्टर ठिसको मुखबाट आएको नभइ अरु कतैबाट क्यासेट बजेको जस्तो लाग्थ्यो, तर डक्टर ठिसको ओंठहरु मात्र हल्लिएको जस्तो।


"के खोजीरहनु भएको डक्टर?" सुपरवाइजरको स्वर अहिले असाध्यै नरम सुनियो।


"अघि बिहानै देखि हिजो आएको नयाँ बिरामीको चार्ट खोजिरहेको छु, कहिँ देख्दिन। तपाइको वार्डमा केहि कुरा पनि ठेगानमा हुँदैन।" डक्टर ठिस् अहिले झन् कड्किए। आफु त नयाँ मान्छे, त्यहाँ बसुँ कि भागु जस्तो भयो। सुपरवाइजरले नयाँ बिरामीको नाम सोधी, नम्बर सोधी र खोज्न थाली। आफु पनि उसैको पछि पछि खोजेको जस्तो गर्न थाले, खोज्नु भन्दा पनि डक्टर ठिसको दारी रिस्ले बोल्दा कसरी हल्लिदो रहेछ भनेर लुकि लुकि हेर्न थाँले।


सारा वार्डभरि खोजियो, कहि भेटिएन। डक्टर ठिस् रिसले मुर्मुरिएर रातो हुन थालेको थिए। उनले कोठे कोठे घ्यु रङको कोट लगाएको थियो। भट्मास रङको पाँइट, सेतो उज्यालो रङको सर्ट। कोटको खल्तीभित्र कागजको मुट्ठा थियो, एउटा काखि मुनि के हो च्यापीरहेको थियो अर्को हातले बेला बेलामा दारी मुसार्दै थियो।


"डक्टरले  काखि मुनि के च्याप्नु भएको त्यो?" मैले सुपरवाइजरलाइ खुसुक्क सोधेँ।


"डक्टर! त्यो कसको चार्ट हो?" सुपरवाइजरले बिस्तारै सोधी।


डक्टर झस्के र काखिमुनिको चार्ट खोलेर हेरे, उनले बिहानै देखि खोजीरहेको बिरामीको चार्ट उनले आफै काखिमुनि च्यापेर हिँडिरहेका थिए। आफ्नो गल्ती देखिएपछि उनि केहि नभनी लुसुक्क आफ्नै कोठातिर गए।


"देख्यौ, यहाँको डक्टर पनि बिरामी जस्तै छ।" सुपरवाइजरले मलाइ भनी।


ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ


केहि दिन पछि सुपरवाइजरले मलाइ अर्को स्टाफसङ काम् सिक्नु भनेर पठाइ, उहि वार्ड थियो, खाली उसको काम मात्र हेर्नु थियो। मैले केहि गर्नै पर्थेन। त्यो स्टाफ धेरै अनुभवि रहेछ, मलाइ देख्नासाथै खोक्यो। "यस्तो काम त मैले बर्षौ बर्ष गरेको, यो वार्डमा चाहि खटाएको धेरै भएको छैन, एक हप्ता भयो।"


मैले त पत्याउनै पर्थ्यो, हेर्दैखेरि त्यो मान्छे धेरै अनुभबि जस्तो थियो, सेतो सेतो फुलेको कपाल पनि उसको कामको अनुभवको प्रमाण थिए।


"कति भयो यहाँ आएको?" म चुप लागेको देखेरै उसैले सोध्यो।


"तिन हप्ता।" मैले भने।


"तिन हप्ता मात्रै, केहि थाहा छैन होला त्यसो भए। म त यो अस्पतालमा काम गरेको १० बर्ष भन्द बढी भैसक्यो। मलाइ बिरामीको अनुहार हेर्नासाथै उसले खाने औषधी हरु सबै कन्ठै थाहा हुन्छ। फाइलमा हेर्नै पर्दैन।" उसको अनुहारमा सन्तोष पनि देखिन्थ्यो। त्यत्रो बर्ष काम गरेपछि त अबश्य पनि सबै थाहा हुन्छ होला जस्तो लाग्यो। पत्याए। बिरामीहरुलाइ औषधी दिने बेला भयो। उसले १ नम्बरमा "लुइस"को नाम बोलायो। लुइस आएन, उ खोज्न हिँड्यो, एकैछिनमा लुइसलाइ समातेर ल्यायो। सधैँ औषधी खाने बेला भाग्ने लुइस चुँइक्क पनि नबोलीकन उ सङै आयो।


"औषधी मुखबाट खाएनौ भने त सुइ पो लगाउनु पर्छ बाबै" भन्दै त्यो स्टाफले ५-६ थरि चक्किहरु लुइसको मुखभित्र राखिदियो। लुइसले मलाइ बिर्स्यो कि क्या हो मैले "हाइ" भन्दा हाइ फर्काएन। पानीको गिलास हातमा लिएर उ त्यहाबाट हिँड्यो। उसलाइ पछाडीबाट हेर्दा मलाइ लुइसको कपाल त लामो थियो, कसरी यति छोटो भयो भन्ने लाग्यो। बिस्तारै लुइसको हिँड्ने चाल पनि फरक फरक लाग्न थाल्यो, मलाइ शँका लाग्यो र तुरुन्त त्यो स्टाफलाइ सोधे।


"के तपाइले औषधी दिएको मान्छे लुइस हो?"


"अनि को त?" उसले पूर्ण बिश्वाशले भन्यो। लाइनमा बसेको अरु बिरामीलाइ औषधी दिन थाल्यो।


"लौ, बर्बाद भयो।" एकैछिनमा सुपरवाइजर दौडिदैँ आइ।  म चुपचाप त्यो स्टाफलाइ हेरिरहे, उ चाहि हाँसेर सोध्दै थियो "के भयो?"


"तपाइले बिरामीलाइ हैन हाम्रै कर्मचारीलाइ औषधी दिनु भएछ।" सुपरवाइजरले अघि त्यो स्टाफले औषधी खुवाएको लुइसलाइ पनि सङै ल्याएकी थिइ।


"उ लुइस हैन, मैले त उसैको औषधी दिएको हुँ?" त्यो स्टाफले छक्क पर्दै सोध्यो।


"लुइस उता बंगैचामा लुकिरहेको छ, यो त हाम्रै कर्मचारी ज्याक पो हो त। तपाइले अझै पनि को बिरामी को स्टाफ चिन्नु भएको छैन?" सुपरवाइजरको स्वरमा आक्रोश थियो।


"अनुहार त उस्तै छ त? अघि नै म स्टाफ हुँ भन्नु पर्दैन?" उल्टो त्यो स्टाफले ज्याकलाइ हप्कायो।


"तपाइले सुइ लाँउछु भन्दै तर्साउनु भयो रे नि त।" सुपरवाइजरले भनी।


"त्यहि पनि एकचोटि म ज्याक हुँ, लुइस् हैन सर भन्नु पर्थ्यो नि। ल अब बान्ता गराउनु पर्‍यो।" भन्दै त्यो स्टाफले डक्टरलाइ फोन गर्न थाल्यो।


"पर्दैन, पर्दैन। उसले औषधी निलेको छैन, मुखैमा राखेको रहेछ, थुकिसक्यो।" सुपरवाइजरले भनी।


"तपाइ तुरुन्त मेनेजरको अफिसमा आउनुस्!" भन्दै सुपरवाइजर हिडिँ। उ सङै ज्याक पनि पछि पछि मुख ठुस्स पार्दै गयो।


"अनुहार त मिल्यो मिल्यो, कमिज पनि एउटै रङको लाउनु हुन्छ त तिनीहरुले। कहिले यस्तो भएको थिएन--" भन्दै त्यो स्टाफ आफैलाइ धिकार्दै सुपरवाइजर गएतिर लाग्यो।


केहिबेरपछि मैले लुइसलाइ बँगैचामा देखे, ज्याकको जस्तै उसले लगाएको  कमीजको रङ पनि कालो थियो, परबाट हेर्दा उ ज्याक जस्तै देखिन्थ्यो। उचाइ उस्तै, छालाको रङ उस्तै, जिउको बनावट उस्तै, अलिकति कपाल लुइसको लामो थियो र हिड्दा ज्याक खोल्च्याङ खोल्च्याङ् गर्थ्यो।


क्रमश:


 


 

Last edited: 21-Oct-10 01:21 PM
Read Full Discussion Thread for this article