Posted by: BKMailo October 12, 2010
Bhojpur
Login in to Rate this Post:     0       ?        

रकम लुटिएपछि मजदुरले पाएनन् ज्याला

भोजपुर, आश्विन २६ -
रकम लुटिएपछि भोजपुरको दलगाउँस्थित निर्माणाधिन सडकमा कार्यरत मजदुरहरु
पारुश्रिमिक पाउनबाट बञ्चित भएका छन् । गत बुधबार भोजपु सदरमुकामस्थित
बैंकबाट रकम लिएर जाँदा बाटैमा लुटिएपछि मजदुरहरुले ज्याला नपाएका हुन् ।


दलगाउँ गाबिसस्थित स्थानीय सडक समन्वय समितिका अध्यक्ष पुष्पबहादुर कार्की
र सचिव केशव सुवेदी सोही गाउँको प्रधान गाउँमा लुटिएका हुन् । निर्माणाधिन
सडकमा काम गरेवापत पाउनुपर्ने १५ लाख रुपैंयाँ रकम लुटिएको समितिका
पदाधिकारीले प्रहरी समक्ष जनाएका छन् । तर रकम हराएको नहराएको बिषयमा
छानवीन गर्न उनीहरुलाई प्रहरीले नियन्त्रणमा राखेको छ । उनीहरुले मजदुरलाई
वितरण गर्नुपर्ने रकम राष्टिर्य वाणिज्य बैंकबाट निकासा गरी लापारबाही
तरिकाले बोकेर लगेको हुनाले लुटिएको प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर
साहले बताए ।


बेलायत सरकारको अन्तराष्ट्रिर्य बिकास बिभाग-डिएफआइडि)को आर्थिक सहयोगमा 
ग्रामिण पहुँच कार्यक्रम-२ अन्तर्गत निर्माणाधिन भोजपुर-मानेभञ्ज्याङ हरित
कृषि सडकमा दलगाउँ गाबिसमा १८ वटा समुह कार्यरत छन् । त्यसमध्ये नुवाकोट र
रसुवाबाट आएर सडक निर्माण बिशेष समुहको एक लाख १९ हजार रुपैंयाँ लुटिएको
समुहका संयोजक धनसिं तामाङले बताए । रकम लुटिएपनि समितिले मजदुरलाई जसरी
भएपनि उपलब्ध गराउनुपर्ने उनले बताए । रकम नपाए काम रोकिदिने समेत सडक
निर्माण बिशेष समुहले चेतावनी दिएका छन् । स्थानीय मजदुरहरु पारिश्रमिक
रकमले दशैं खर्च गर्ने सोंच बनाएकोमा पारिश्रमिक रकम नपाएपछि दुःखित भएका
छन् ।    


जिल्लामा भोजपुरदेखि बैकुन्ठेसम्म ३५ किलोमिटर सडकको दलगाउँ खण्डमा
कार्यरत दलगाउँ गाबिसका तीन सय ६० जना कामदारले पारिश्रमिक नपाएको बताएका
छन् । दशैंको बेला मजदुरले राम्रो चाड मनाउन् भन्ने उदेश्यले बिजुली नभएको
अवस्थामा जेनेरेटर चलाएर हतार गर्दै रिपोर्ट तयार गरी निकासा दिएको रकम
लुटेराले लगेपछि रोजगारदाता ग्रामिण पहुँच कार्यक्रम-२ का टोलीप्रमुख
तुलसीराम न्यौपाने र प्राबिधिक परामर्शदाता सिडेफ कन्सल्टयान्सी कम्पनीका
इन्जिनियर रोहितकुमार श्रेष्ठ दुःखित भएका छन् । प्रहरीले भने समितिका
पदाधिकारीमाथि रकम लुटिएको नभई लुटाएको आरोप लगाएको छ । 'लाखौं रुपैंयाँ
रकम झोलामा हालेर लापारबाहीपूर्ण रुपमा हिंडेकाले लुटिएको हो,' प्रहरी नायव
उपरीक्षक गोविन्द साहले भने -'होशियारीकासाथ प्रहरीसित सुरक्षा मागेको भए
टोली नै पठाइदिन्थें ।'


समितिका पदाधिकारीले सोही दिन ३२ लाख रुपैंयाँ बैंकबाट रकम निकासा गरेर एक
जनाले अर्को गाउँका कामदारलाई आधा रकम वितरण गर्न लगेकोले आधा मात्रै
लुटेराको हातमा परेको हो । लुटेराहरु दलगाउँ गाबिस आसपासका हुनुपर्ने र रकम
निकासा सम्बन्धि जानकारी प्राप्त गर्ने व्यक्तिहरु हुनुपर्ने स्थानीय
बासिन्दाको आरोप छ ।

Source: http://www.ekantipur.com/np/2067/6/26/full-news/319116/

Read Full Discussion Thread for this article