Posted by: lamjung October 7, 2010
राकेश सुदलाई जुत्ता प्रहार
Login in to Rate this Post:     0       ?        

नयाँ पत्रिका


सोलुखुम्बु, २० असोज


फाप्लु
विमानस्थलमा उत्रनासाथ खादा ओढाएर सम्मान गरिएका भारतीय राजदूत राकेश
सुदमाथि विमानस्थलबाट बाहिरिन नपाउँदै जुत्ता प्रहार भएको छ । सार्वजनिक ओहोदाको कुनै पनि व्यक्तिलाई जुत्ता हानिएको नेपालमा यो पहिलो घटना हो 


नेपाल-भारत विकास मैत्री संघको सोलु शाखा उद्घाटन गर्न बुधबार बिहान ८:३० मा सुद फाप्लु विमानस्थलमा ओर्लिएका थिए । नेपाल एअरलाइन्सको विमानबाट झर्नासाथ आयोजकले उनलाई बाजागाजासहित खादा ओढाएर स्वागत गरेका थिए । तर, भित्र बाजागाजा भए पनि विमानस्थलबाहिर माओवादी कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरिरहेका थिए 


सुद विमानस्थलबाट बाहिर आएर गाडी चढ्न खोज्दा उनीमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेका थिए । केही सेकेन्डमै उनीमाथि आठ जोर जुत्ता प्रहार भएका थिए । प्रदर्शनकारीले जुत्ता मात्र होइन, ढुंगा पनि प्रहार गरेका थिए । तर, सुदलाई कुनै चोटपटक भने लागेको छैन 


हिमाली
क्षेत्रमा समेत पुगेर चीनविरोधी गतिविधि गर्न सोलुखुम्बु आएको आरोपमा
माओवादीका स्थानीय कार्यकर्ताले सुदलाई कालो झन्डा देखाउने कार्यक्रम तय
भएको थियो । माओवादी पोलिटब्युरो सदस्य तथा सभासद् गोपाल किराती र अर्का सभासद् आङदावा शेर्पाले विरोध कार्यक्रमको नेतृत्व गरेका थिए 


बिबिसीकी
स्थानीय संवाददाता सुजाता तामाङका अनुसार भारतीय राजदूत सुद सोलु आउने
थाहा पाएपछि माओवादीले विरोधका लागि अघिल्लो दिन नै तयारी गरेका थिए । 'सुरुमा माओवादी कार्यकर्ताले ढुंगा मात्रै गाडीमा प्रहार गरे, तर केहीबेरपछि जुत्ता पनि प्रहार गरे,' तामाङले जानकारी दिइन् । उनीहरूले विमानस्थलदेखि कार्यक्रम हुने स्थानसम्म ठाउँ/ठाउँमा ढुंगा राखेका थिए । सुदकै सुरक्षाका लागि भन्दै सोलुका अन्य इलाकामा रहेका प्रहरी पोस्टबाट समेत ठूलो मात्रामा प्रहरी झिकाइएको थियो । तर पनि माओवादी कार्यकर्तालाई नियन्त्रणमा राख्न प्रहरीको प्रयास असफल भएको थियो 


सुदको
सोलुखुम्बु भ्रमणको विरोध कार्यक्रमको नेतृत्व गरेका माओवादी नेता किरातीले
चीनविरोधी गतिविधि अघि बढाउन सुद सोलु पुगेको दाबी गरे । 'चीनविरुद्ध अर्को खम्पा विद्रोह मच्याउने योजनाअनुसार सुद सोलु आएका हुन् । हामी त्यसो गर्न दिँदैनौँ,' किरातीले भने 


माओवादीका स्थानीय नेताका अनुसार खानेपानी र शिक्षाको 'कभर' मा भारतीय दूतावासले सोलुका गुम्बाहरूमा पनि लगानी गरेको छ 
माओवादी जिल्ला सहइन्चार्ज हिमाल गिरीले भने, 'हामीलाई जानकारी भएसम्म
सुदले च्याल्सा, टाक्सिन्दु र जिल्लाका अन्य गुम्बा भ्रमण गरी आर्थिक सहयोग
गर्ने कार्यक्रम छ ।' विरोध गर्ने तयारी भए पनि जुत्ता हान्ने योजना नभएको किरातीले बताए । 'विरोध कार्यक्रम आयोजना गरिए पनि सुदलाई जुत्ता हान्ने आदेश थिएन,' किरातीले भने, 'भीडबाट कसले जुत्ता हान्यो थाहा भएन ।' 
अवरोधबीच
जिल्ला विकास समितिको समीक्षाहलमा आयोजित साक्षात्कार कार्यक्रमलाई
सम्बोधन गर्दै सुदले माओवादीप्रति आक्रोश व्यक्त गरेका थिए 
भारतले सधैं नेपालको प्रगति चाहेको भन्दै सुदले भने, 'नेपाली जनतालाई
खानेपानी र नुन सहयोग गर्दा भारतको हस्तक्षेप बढ्यो भन्नु साँघुरो सोचाइ हो ।'
भारतले अहिलेसम्म नेपालमा सडक, स्वास्थ्य, खानेपानी र विद्यालय निर्माणमा
५७ अर्ब लगानी गरिसकेको दाबी गर्दै तीन सय ९० भारतीय परियोजना सञ्चालनमा
रहेको पनि बताए 




स्रोतका
अनुसार चीनले नेपालका हिमाली जिल्लामा निःशुल्क खाद्यान्न वितरण गर्दै
आएकाले भारतले पनि हिमाली जिल्लामा प्रभाव बढाउने अभियान सुरु गरेको हो । हाल चिनियाँ राजदूत छिउ गुहोङ माथिल्लो मुस्ताङमा छन् । चीनले तिब्बतसँग सीमा जोडिएका नेपालका विभिन्न २० गाविसलाई सहयोग गर्ने औपचारिक घोषणा गत वर्ष नै गरिसकेको छ 


सल्लेरीमा दुई घन्टा बसेपछि सुद बुधबार नै खुम्जुङतर्फ लागेका छन् । उनले लुक्ला, नाम्चे र चौंरीखर्कमा खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । सोलुका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले कडा सुरक्षाबीच सुदलाई माथिल्लो क्षेत्रमा लगिएको जानकारी दिए 



Read Full Discussion Thread for this article