Posted by: crazy_love October 1, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-३


चियर्स गर्नु अघि मैले निक्किलाइ सोधेँ।


"तिम्रो भोलि कलेज जानु पर्दैन?"


"दिउँसो तिन बजेको क्लास छ, तिमी चिन्ता नगर।"


"त्यसोभए अब यो बोतल भित्र राखि हालौँ।" मैले वाइनको बोतल फ्रिजभित्र राख्नै खोजेको थिँए।


"यहाँ १८ बर्ष मुनिका नाबालिग कोहि छैनन्, तिमी नडाराए हुन्छ।" भन्दै निक्किले फेरि बोतल टेबलमा राखी।


"मेरो त भोलि जानै पर्छ। त्यसैले म तिमीलाइ साथ मात्र दिन्छु।" हामी दुबैले चियर्स गर्यौँ, अलिकति दाल्मोठ चिउरा र बासी तर्कारीहरु तताउदै सङै खान थाल्यौँ।


"अँ, हामी के को कुरा गर्दैथ्यौँ?" निक्किले अलि अलि झम झम जस्तो पार्यो पछि भनी।


"लक्ष्य।" त्यतिखेर सम्म मैले पनि बिर्सिसकेको थेँ, फेरि सम्झे।


"जब म सानो थेँ, मेरो ठुलो मान्छे बन्ने लक्ष्य थियो।" निक्कि कतै अतितमा डुबे जस्तो भै।


"हात्ती पनि ठुलो छ।" मैले ठट्टा गर्न खोजे।


"धेरै पढ्नु, पैसा कमाउनु, नाम कमाउनु, सुखी र सम्पन्न हुनु कति धेरै सपनाहरु थिए।" निक्किलाइ मेरो ठट्टाको असर परेन, उ बोलीरहेकी थिइ।


"त्यो त सबैको हुन्छ सपनाहरु। लक्ष्य चाहि के थियो त?" मैले उसको गहिरो आँखाहरुमा सपनाहरु सल्बलाएको देखेँ।


"म डाक्टर पढ्न चाहन्थे।" मलाइ निक्किको परिवारको बारेमा सबै थाहा थियो। उ सम्पन्न परिवारकी थिइ, उसको लक्ष्य अधुरो हुनुमा आर्थिक कारण हुनै सक्दैन थियो।


"मैले बुझिन।"


"मुमा स्वर्गे भएपछि बुबाको दोस्रो बिहे भयो। त्यसपछि सानो ममीबाट छोरा र छोरी पनि जन्मिए। म त मामाघरमा हुर्के। मलाइ मामाघरको हजुर्बुबा र हजुर्मुमाले लालन पालन सबै गर्नु भयो, तर पछिसम्म मेरो शिक्षामा आर्थिक लगानी गर्न सक्नु भएन। मामाहरु हुनु हुन्थ्यो, माइज्युहरु आउनुभयो, उहाँहरुको भित्रि राजनिति शुरु भयो। म त उता बुबाको परिवारमा नि बाहिरकी जस्ती भए, हजुरबुबा र हजुरमुमा स्वर्गे भएपछि यो संसारमा मेरो आफन्त म आफै मात्र भए। मेरो लागी काम खोजेर स्वाबलम्बी हुनु पहिलो प्राथमिकता भयो। कामपछि पढाइ गोलमाल, त्यसपछि मामाघरमा पनि अनेक समस्या हुन थाल्यो। त्यसपछि मैले फुपुलाइ चिट्ठि लेखे र उहाँले आफै मलाइ यहाँ बोलाउनु भयो। मैले उहाँले लगाएको गुण कहिले तिर्न सक्दिन।"  निक्किको फुपुकहाँ हामी कहिलेकहि चाडपर्बमा अझै जाने गर्छौं। उहाँको ठुलो परिवार छ। शुरुमा निक्कि ६ महिना त्यही बसी र उहाँहरु अलि टाढा नयाँ घरमा सरेपछि काम पाउन गार्हो छ भनेर निक्कि मेरो रुमपार्टनर भइ।


"लक्ष एकातिर हुन्छ जिबन अर्कोतिर बग्छ है?" मैले पनि आफुले नचाहेको बिषय आमाको करले बाध्य भएर पढेको फ्रस्टेसन सम्झे।


"अहिले त एउटा हिन्दी गीत छ नि। क्या क्या बन्ना चाहता था, बैरागी बन गया हुँ जस्तो पो भएको छ जिन्दगी।" निक्किले अर्को पेग थपी।


"कर्म मेरो फुटिरैछ, बाँच्न गार्हो भयो है, कर्म मेरो फुटिरैछ----" मैले शुरु गरे, निक्किले पनि साथ दि। हामीलाइ बैराग लाग्यो कि हामी यही गीत सङै गाँउछौ।


"अझै पनि केहि बितेको छैन नि, तिमी त पढ्न शुरु गर्दैछौ त।" मैले निक्किलाइ हौसला दिन खोजे।


"कहिले पढिसक्ने, कहिले रिन तिर्ने, कहिले हो कहिले? म त हरेश खान्छु सोच्दा सोच्दा।" लामो सुस्केरा हाली र उसले दोस्रो पेग स्वाट्ट आधा पारी।


"ओइ केटि! बैरागी हुँदैमा जड्याँहा बन्न त मिल्दैन नि। अलि बिस्तारै खाउ।" मैले बिस्तारै भने।


"त्यो त हो साथी, तिमी मलाइ यस्तो बेलामा पनि साथ नदिने के साथी त?" भन्दै उसले मेरो गिलास पनि भरि।


"ल अब पुग्यो, त्यो लक्ष्य सक्ष्य को कुरा बिर्सौँ। अब सुत्न जाउ, भोली मलाइ बिहानै उठ्नु छ" मैले भने।


"मलाइ छ नि कहिलेकहि कस्तो कस्तो हुन्छ।" निक्किले आँखाभरी आँसु पारी। मैले सोचे यो निक्कि हैन शायद रातो वाइन बोलीरहेको छ।


"कस्तो भन्नाले?" मैले सोधे।


"तिम्रो कबितामा जस्तो जिन्दगी बेशीर्षक लाग्छ, पात्रहरु हराएको जस्तो-----" मलाइ आपत पर्‍यो, मैले त्यो कबिता केहि दिन अघि लेखेर कतै राखेकी थिँए, निक्किले कुन बेला पढेर पनि त्यसलाइ अनुभुत गरीरहेकी रैछ। त्यो त्यस्तै निराश मुडमा लेखेकी थिँए, तर त्यसले निक्किलाइ नैं त्यस्तो असर पार्छ भन्ने मैले सोचेकी थिइन।


"ह्या--, त्यस्तो जाबो कबिता, म त पागल हो नि। मेरो कबिताको भाबहरुलाइ त्यस्तो सिरियसली लिनु हुदैँन लाटि। त्यो कुन सन्काइमा लेखेको। त्यो अर्थ न बर्थको कबिता। त्यस्तो जाबो कबिता नि के पढेको? खोइ कहाँ छ त्यो कपी म अहिले च्यातेर फालिदिन्छु।" म त्यो कपी खोज्न थाँले।


"कपी खोजेर के गर्छौ मलाइ सबै कन्ठै छ। ल सुन---"


शीर्षक खोज्छु,


कथा अलमलिन्छ,पात्रहरु हराएका छन्।


शुन्य छ बिषयबस्तु,


न त शुरुवात छ, न त अन्त्य नैं,


यो मेरै भोगाइ हो शायद,


खाली पानामा अमुर्त चित्र कोरिरहेछु,


ठम्याउनै नसकिने आकारहरु देख्छु,


खै कहाँ छन् भेटिन्छन् अर्थहरु,


म निशब्द भैरहेछु,


मौन यो क्षण मलाइ साक्षी बनेर हेर्दैछ,


खोइ कहाँ छ परिभाषा जिन्दगीको


जिन्दगी बेशीर्षक छ।"



मलाइ रुनु न हाँस्नु भयो, म निक्किलाइ कबिताको कारण दुखी बनाउन चाहदिनथे। तर उसलाइ गहिरो असर पर्‍यो। केहि लेखिहाल्न पनि डर भयो, भएभरको कपीहरु ओल्टाइ पल्टाइ गर्न थाले। निक्कि  मेरो गतिबिधि देखेर चकित थी। मैले त्यतिकै उसको कपीको कुनै पानामा खेस्रा कबिता लेखेकी थिए। उ त्यसैलाइ पढ्दै निराश भएकी रैछ।


एकछिनपछि निक्कि आफै उठी र कतैबाट त्यही खेस्रा कबिता लेखेको कपी ल्याइ।


"यता देउ, म त्यो पाना च्यातेर फाल्छु।"


"एक शर्तमा दिन्छु।" निक्किले ब्ल्याकमेल गरी।


"तिमीले साँचो उत्तर दिनु पर्छ।" उस्को कुरा सुनेर मलाइ हाँसो उठ्यो।


"साँचो प्रश्नको उत्तर साँचो हुन्छ।"


"जिन्दगी किन बे-शीर्षक छ?"


म सङ त्यसको उत्तर थिएन।


क्रमश:

Last edited: 01-Oct-10 01:59 PM
Read Full Discussion Thread for this article