Posted by: Rahuldai August 23, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        

इलाहाबाद एक्स्प्रेस
भाग ४ - यात्रा


फेरी पनि आमाको सुन बेचेर पुरानो घाउमा नून छर्कन चाहन्नथें । पैसा त चाहियो । अब के गर्ने भन्दै गम्दै थिएं । झल्यास याद आयो, पश्मिना साहुजी  राजेन्द्र । मैले २-४ हजार मागें भने नाइ भन्दैन उसले । सके सम्म अरुसँग माग्न नपरोस भन्ने चाह थियो । यसपालिको ऋण धेरै दिन को हुंदैन । महिनाको १५ सय भारु स्टेपेन पाउने भाग्यमानी ब्याच हामी । सुनें अनुसार गच्छे अनुसार, मानबिय आवश्यकतालाई कन्जुस्याइ नगरीकन खर्च गर्दा नि ७  सय जती मात्र खर्च हुन्छ रे । अझ त्यो २-४ महिनाको एकमुष्ठ आउँदा त सप्पै ऋण मात्र होइन घरको खर्च मा पनि भर दिन सक्ने हुन्छु जस्तो लाग्यो ।



भर्खरै स्वर्गिय पिताजीको दोस्रो बार्षिकी को पुण्य तिथिमा समबेदक र शुभचिन्तकहरुलाई आमन्त्रित गरी गरिने भोज " पहाँ ब्वना भ्वय " आयोजना गरेकाले घरको बजेट ऋणात्मक थियो ।


तै पनि दाई ले २५ सय नगद नारायण दिनु भयो र सके सम्म कम खर्च गर्नु भन्ने हिदायत दिनु भयो । ३ वटा जिन्स, एउटा लिभाइज, एउटा साम्को र अर्को हारा किनियो । हारा साह्रै महँगो, ३५० पर्‍यो, बाँकी २०० र २१० मा साहुजीको  मन पगाल्न सकियो । टि शर्ट चाँही २ वटा मात्र किनियो । २ वटा जती गिफ्टमा पाइने पूर्व संकेत पाएकोले बढी किन किन्नु, मखुला ??


भित्री गन्जी, अण्डरवेअर,दारी कट्ने रेजर आदी इत्यादी किन्दा २ सय थप् खर्च भयो । कूल १२८० जती खर्छ भए छ । अनुमानित बजेट भन्दा अत्यन्त न्यून खर्च भएकोले एउटा पाइण्ट सिलाउने रहर जाग्यो, साथमा २ वटा जती ह्याफ प्याण्ट पनि । ति सबैको जोगाड गर्दा नि १७ खर्च भएन । २ सय जती चिया समोसा पार्टिलाई बजेट छुट्याइ बाँकी पैसा फर्काएं दाईलाई ।


जाने दिन नजिकिंदै थियो । हाम्रो अस्कल र टिसीको खुल्ला मैदानिय बैठक जारी थियो । अनिलको दाई सुशिलदाइले इलाहाबादमा अध्यायनरत सिनियरलाई पत्र लेखिदिन्छु, चाहिने हेल्प हुन्छ भन्ने आश्वासन दिनु भएको रहेछ, जाने अघिल्लो दिन आउनु भनेको छ रे, सुरेश ले सुनायो ।



इलाहाबादमा भारतीय विद्यार्थीहरुको र्‍यागिङको नाममा राम धुलाई, सीता चुटाइ,रावण चटाइ सब हुने ।  फ्रेशर्स चिन्नको लागि सेतो पाइण्ट, सेतो शर्ट त्यो पनि बिना खल्ती को । कालो लेस सहित को जुत्ता , कपाल मा तेल, कालो पेटी लाउनै पर्ने अनिबार्य उर्दी हुन्छ रे । त्यसैले जिन्स लाउने, स्पोर्टस सू हमेसा लाउने सहमति भयो । जिन्स त सहमति पूर्व नै किनिएको थियो, स्पोर्ट सू चाँही किन्न छुटे छ । कहीबाट बजेट समायोजन गरी किन्नु पर्ला भन्ने बिचार  गरें ।


हाम्रो नियमित भेटघाट संग संगै इलाहाबाद जानेहरुको बारे ब्यापक हल्ला चली सकेको रैछ ।  अस्कल कै एक मित्र प्रबिणमान जोशी पनि कल्चरल सीट मा इलाहाबाद मै भए छ। समयमै भारतीय सरकार मेहरबान भएकोले हामी संगै जान संपर्कमा आए ।


"हामी त दिल्ली हुंदै, दिल्ली सयर गर्दै, लखनौ भएर इलाहबाद जाने हो । सँगइ जाने भए इण्डियन एअर्लाइन्स गएर सोहो अनुसार टिकेट लेउ" भन्यौ । उ  पनि कहिलेइ भारतको भूमी न टेकेको मान्छे, शुद्ध मंगलबजार को नेवार । हुन्छ भन्दै सोहो अनुसार टिकेट लिएर आए र हाम्रो टोली मा सामेल भए ।


जुलाई २५ तारिक हामी पाँचै जना अन्तिम तयारीको बिश्लेशन गर्न अस्कल मा भेला  भयौं। गफ गर्दै थ्यौं एक जना अस्कलकै साथी श्यामकुमार अगरबत्ती आइपुग्यो ।



" बधाई छ साथी बधाई छ " "दिल्ली भएर जाने रे होइन "
" हो श्यामे , तैंले  कसरी था पाइस दिल्ली भएर जाने भन्ने? " शर्माको तँ तँ म म चल्ने साथी रैछ ।
"सुलसुले ले भन्या, साथी भाईको खबर राख्नु परेन ।" एक छिन हासो चल्यो ।



"तिमीहरु कोइ दिल्ली गएका छौ  यो भन्दा पहिले ??"


 
सब ले एक अर्काको मुख हेरे । अहं हामी कोइ पनि दिल्ली गएका रहेनछौ ।
"रक्सौल र जोगबनी देखेका त छौ तर दिल्ली गएका कोइ पनि छैनउ हामी," सुरेशले समराइज्ड गर्‍यो ।



"दिल्लीमा कहाँ बस्ने कहाँ खाने थाहै नभैकन दिल्ली जानु हुन्न, एअर्पोर्ट देखी नै ठग्छ । त्यसैले मेरो दिल्ली जाने काम छ अर्को हफ्ता, तिमीहरु संगै जान्छु भन्न आएको । मेरो बिजिनेस नै उतै छ, महिनाको २ चोटि ओहर दोहर गर्छु । दिल्ली को गल्ली गल्ली मा मान्छे चिन्छु म। म भए पछी तिमीहरु धुक्क भए हुन्छ ।"


 
हाम्रो लागि त अगरबत्ती, देउता थानामा बाल्ने अगरबत्ती हैन कि साक्षात देउता नै भेटे जस्तो भयो । एउटा डर थियो दिल्लिमा के हुने हाइ भन्ने त्यो पनि हट्यो ।


 
३० तारिक ३४० को फ्लाइट भएकोले १ देखी साँढे १ भित्र एअरपोर्ट आउने समय सिमा तोक्दै हाम्रो अन्तिम  लास्ट बैठक टुंगियो ।


आफन्त र साथीभाइलाई ट्रिट दिनु पर्ने रे । इज्जत को सवाल भयो । २५ सय बजेटमा उभ्रेको पैसाले ट्रिट दिन पुग्ने अन्दाज भयो । घर सानो भएकोले एक दिन आफन्तलाई र अर्को दिन कलेज र स्कूलमा अभिन्नहरुलाई सानो ट्रिट दिएं । आशानुरुप २ वटा टि शर्ट पाएं ।



२ दिन बाँकी थियो , सुट्केश प्याक गरियो । खल्ती चाँही अझै प्याक प्याक थियो । दाइले १५०० भारु दिदै भन्नु भयो - "यो भन्दा बढी मैले मिलाउन सकिन । सापट वापट गर तिमी आँफै । यो पनि ऋण नै हो । अस्तिको पहाँ ब्वना भ्वय को ऋण नै अझै १२ हजार छ । म के गरुं? "



दाइको पीडा म बुझ्छु । ५ किलास पढ्दा देखी संगै काम गर्दै आएका हामी दाजु भाई । चुल्हो नबल्दा पेट भित्र आगो बलेको हामीले संगै भोगेका हौं । चाडपर्ब  सामाजिक रितिथिती ब्यहोर्दै  आएका हौं ।



"मलाई थाहा छ दाई, जे गर्नु भयो त्यती पनि ठुलो हो मेरो लागि । यो डेढ हजारको ५ हजार फर्काउन्छु आउदो दसैं सम्ममा ।"


 भन्दै बाँकी पैसा पैचो लिन राजेन्द्र साहुजीकोमा गएं। पूर्व जानकारी भएको ले जाने बित्तिकै ३ हजार भारु को थैली दिए उनले र उपहार स्वरुप डनलप स्पोर्ट सू दिदै लाएर हेर, ठीक भएन भने साट्न जान्छु -भने । 



जुत्ता किन्नै थियो, जुत्तामा खुट्टा छिराएं । नाप लिएर बनाए जस्तो, ठ्याक्कै फिट हुने ।
साथी राजेन्द्र प्रती अनुग्रही बन्दै छिट्टै ३ हजार फर्काउने वाचा गर्दै घर आए ।



जाने दिन आयो। जुलाई ३० । बिहानै शुभयात्राको कामना गर्दै देब देबी दर्शनार्थ गएं । १ बजे पुग्ने हिसाबले १२३० मा घरबाट् साइत गर्ने भयो । बिहान देखी शगुण को कार्यक्रम चल्यो । हजुरबाको घर मा, जेठा हजुरबाको घरमा, आफ्नै घरमा पनि आफ्नै दिदीहरु दुइजना, काकाकी छोरी १ जना को शगुण लिंदै टिका थाप्दै थाकी सकेको थिएं । हांस को अण्डाको शगुण हुन्थ्यो। पेट गडबड होला भन्ने पीर ।



आफ्नै घरको शगुण पनि सक्याइ  टोल भरी शगुणका जलघडाहरुमा दक्षिणा चढाउदै अनन्त यात्रामा निस्केको यात्री जस्तो एअरपोर्ट को लागि बाहिर पर्खि रहेको टेक्सीमा बसें ।
दाई भाउजु, आमा भाई सप्पै २ वटा टेक्सिमा गयौं ।


३२ रुपैया  ५० पैसा लाग्दो रहेछ  । अहिले को डोमेस्टिक टर्मिनल त्यो बेलाको इण्टरनेशन टर्मिनल थियो । टर्मिनल बाहिर सुरेश फूलमाला लाएर परिवार सँगइ देखें । श्याम कुमार अगरबत्ती त पहिला देखी नै धूप बाल्दै ।  एकै छिन मा शर्मा नि ट्याक्सी चढेर आइपुगे । प्रबिणमान नै आइपुगे। २ बज्न लागि सक्यो । श्रीरामको अत्तोपत्तो थिएन । एअर्पोर्ट को टाइमा मा त त्यसो गर्न नपर्ने हो त्यसले ।



५-१० मिनेट बाहिरै कुरौं न हुन्न ,हतारिंदै गरेका साथीहरुलाई भनें।
एक छिन मै २ वटा मिनिबस टर्मिनल को पार्किङ मा रोके । गाजबाजा घन्के । एअर्पोर्ट मै दुलही लिन आए कुन छै बेब्कूफ ले भन्न्दै अच्म्म मान्दै हेर्दै थें । फुट्ट श्रीराम लाई कांध को बोकी ल्याएको देखियो । गाजाबाजा साहित पुरै टोल उठेर बिदाइ गर्न आएको रहेछ । 


" धेरै ढिलो नगरम टाइम भईसकेको छ, श्रीराम ।" मैले हतारिंदै भने ।


सप्पै आफन्त जन सँग बिदावारि माग्दै हामी सप्पै टर्मिनल भित्र प्रबेश गर्‍यौं ।


क्रमश:
 

Read Full Discussion Thread for this article