Posted by: Geology Tiger August 11, 2010
एकातिर यो अर्को तिर त्यो
Login in to Rate this Post:     1       ?         Liked by

मलाई केही समयदेखि यो कुरा मनमा खट्किरहेको थियो, मनमा लागिरहेको थियो यो मेरो मनमा लागेको कुरा कसरी पुर्याउने होला हिंन्दु धर्मका ठेकेदारहरुलाई? १२ बज्योले यो धागो खोलेर मलाई मौका दिएकोमा धन्यवाद।



म जन्मले हिन्दू र ब्राह्मण हुँ। तर कर्मले के हुँदै छु त्यो मलाई थाहा छैन। मलाई पुराण र उपनिषदहरुमा उल्लेख गरिएको तेतिस कोटी देवीदेवताको कुरा या पुनर्जन्मको कुरा आदि इत्यादीमा विश्वास छैन तर पनि अन्तर्मनले भन्छ कतै न कतै कुनै न कुनै प्रकारको शक्तिले संसारलाई चलाईरहेछ। भौतिक विज्ञानले जतिनै प्रगति गरे पनि अहिलेसम्म बिग ब्याङ भन्दा अगाडि के थियो भन्नसकेको छैन। कहिलेकाँही यस बिषयमा सोच्न थाल्छु, ब्रह्माण्डको बिशालता र समयको लम्बाइ सम्झेर कहाली लाग्छ। त्यसपछी सोच्न छोडिदिन्छु। हिन्दू धर्ममा वर्णित सबै कुरामा मलाई विश्वास छैन, तर पनि यो धर्मसँग जोडिएका थुप्रै संस्कारहरुको माया लाग्छ, धर्मकै पनि माया लाग्छ। माया लाग्छ त्यसैले त सोच्छु हिन्दू धर्ममा उखेल्नु पर्ने धेरै कुसंस्कारहरु छन्, थुप्रै कुमान्यताहरु छन्। यदि यसलाई समयमै नसुधार्ने हो भने हिन्दू धर्मावलम्बीहरुमा रहेको हिन्दू धर्मप्रतिको आस्थामा त पक्कै कमी आउनेछ, साथै यो विश्वकै अबैज्ञानिक धर्ममा गनिनेछ।



खालि शिवसेना जस्ता अतिबादी जस्ता तयार गर्दैमा वा महापुराण लगाउँदैमा न त धर्मको रक्षा हुन्छ न त धर्मालम्बीहरुको। मैले महापुराणहरुबाट संकलित रकमबाट भएको सामाजिक कार्यको बिरोध गर्न खोजेको होइन। तर धर्मको नाममा सामाजिक विभाजनलाई बढावा दिएर, मानवीय विभेदलाई बढाएर अनि महापुराण लगाएको पैसाबाट अस्पातल खोलेर हुनेवाला केही छैन। यी धर्मको गुरुहरुले उपचार गर्नुपर्ने पहिलो विषय भनेको धार्मिक कुसंस्कारकै हो, मानवीय बिभेदकै हो। तर गुरुहरुलाई यस बिषयमा चासो छैन, उहाँहरुलाई त व्यासमा बसेर श्रीकृष्ण लीलाकै वर्णन गर्न पाए पुग्यो। वहाँहरु श्रीकृष्णले सब जनजनमा प्रेम फैलाएको वर्णन त मजाले गर्नु हुन्छ, तर व्यवहारमा लागू कहिले पनि गन सक्नुहुन्न। न त वहाँहरु आफू भित्र भएको जातिय विभेदको कालो फाल्ने चेष्टा गर्नसक्नुहुन्छ न त आफ्ना श्रोताहरुलाई त्यो गर्नको लागि अभिप्रेरित गर्न सक्नुहुन्छ। पढेरलेखेर मात्रै कुनै मान्छे बिद्द्वान हुनसक्दैन, बिद्द्वान हुन बुद्धी हुनुपर्छ। अमेरिका घुमेपछि ठुला ठुला बिल्डिङ, फराकिला सडकहरु र चिल्ला कारहरु त सबैले देख्छन् तर नेपालमा यसो हुन नसक्ने कारण के हो भनेर बुझ्नसक्ने धेरै कम नै हुन्छन्। ती अबुझहरुको लागि अमेरिकनहरु म्लेच्छ नै हुन्।



नेपाल छोडे देखि मैले जनै लगाएको छैन, म दिनको दुई चोटि गायत्री मन्त्र पनि पढ्दिन र पनि म अहिलेसम्म बाहुनको बाहुननै छु, नित्य ब्रह्म कर्म नगरे पनि बाहुनै छु।  महिनौ नधोएको कन्दनी मात्र लगाएर भान्सा पस्ने ब्राह्मणहरुलाई यो थाहा छैन कि लुगा फुकालेर खाना खानुको मतलब खेतबारिमा काम गर्दा लुगामा लागेको फोहर खानामा पर्नसक्छ भनेर त्यसो गरेको। उनिहरुलाई त खालि लुगा खोल्नु पर्छ भन्ने मात्र थाहा छ तर महिनौ नधोएको कन्दनी अरु केही महिना नधोए पनि फरक पर्दैन। के यस्तो कुराहरुमा धर्म गुरुहरुले कहिले बोल्नु पर्छ भनेर सोचेका छन्?



यदि धर्मले एक अर्कामा बिभेद गर्न सिकाउँछ,अरु छुट्टै धर्म मान्ने मान्छेहरुलाई घ्रिणा गर्न सिकाउँछ भने ती विभेदकारी कुराहरुलाई चाँही उखेल्नै पर्छ। शायद ९-१० कक्षा पढ्ने विद्यार्थी हुदो हुँ, डा. स्वामी प्रपन्नाचार्यले लेखेको 'बेदमा के छ' भन्ने नयाँ पुस्तक किन्न पैसा नपुगेर भ्रिकुटीमन्डपमा रहेको प्रयोग भएका पुस्तक बेच्ने पसलमा गएर किनेँ। तर डा. साहेबले बेदमा के लेखेको छ भन्दा पनि हिंन्दु धर्म र अरु धर्मलाई दाँज्ने काम गर्नु भएको रहेछ, पछि वाक्क लागेर पढ्न छोडे। तर बेदको बारेमा जे बुझे त्यो चाँही प्रकृति पूजन नै हो। बेदले सुर्य, चन्द्र, धर्ती, अग्नी, बायु, बर्षा जस्ता यावत कुराहरुलाई पुज्न सिकाउँछ, जुन सम्पूर्ण जीवहरुको जीवनको श्रोत हुन्। तर कँही पनि बेदले मानविय भेदभावलाई प्रश्रय दिएको छैन। यो कुरा हाम्रा पन्डितहरु किन आम मानिसलाई बुझाउन सक्दैनन्? समयको कालखण्डहरुमा विभिन्न व्यक्ति वा समूहको निहित फाईदाको लागि यस्ता वर्गविभाजनहरु गरिएको कुरा किन उनीहरु बुझाउन सक्दैनन्? कि उनिहरुले आफू पनि बुझेका छैनन्?



जवसम्म धर्मका यी ठेकेदारहरुले यस्ता कुराहरु आफू बुझ्दैनन र समाजलाई बुझाउन सक्दैनन तबसम्म समाजको युगान्तकारी परिवर्तन हुन सक्दैन। वास्तवमा धर्मगुरुहरुको लागि पनि यो सुनौलो अवसर हो, हिन्दू धर्मलाई पूनर्परिभाषित गर्ने, सामाजिक कुसंस्कार र सामाजिक विभेदलाई निर्मूल पार्ने। अनि मात्र नयाँ नेपाल बन्छ। सत्तारुपी हाडमा लुछाचुँडी गर्ने ६०१ जना कुकुरहरुलाई बानेश्वरमा थुपार्दैमा नयाँ नेपाल बन्दैन।                           

Read Full Discussion Thread for this article