Posted by: crazy_love May 25, 2010
बेहुली।
Login in to Rate this Post:     0       ?        

भाग-२


 


रात छिप्पिन थालेको थियो, कस्सिएर एक लात हान्यो भने खुल्ने जस्तो ढोका अझै बाहिरबाट लगातार घच्घच्याइरहेको थियो, दुइ पुरुष आवाज बेला बेलामा "इस्माइल! इसमाइल!" भन्दै बोलाउदैँ थियो। इस्माइलको दिमागमा अरु उपाय सुझेन, काल उसको ढोकैमा आइसकेपछि उसले अरु जोरी खोज्नु मुर्खता बाहेक अरु केहि हुन सक्तैनथ्यो। उ मजबुर थियो, त्यसैले उ बिस्तारै उठेर गयो र ढोका खोल्यो।


ढोका खुल्नासाथ दुइ पुरुषहरु कोठाभित्र पसे। कोठामा सबै भन्दा अघि हुरिएर आउने नसीमको हातमा सानो टर्चलाइट थियो। कोठामा त्यस्को रोशनीले अलि अलि छाँया जस्तो अनुहारहरु देखियो। जारालाइ अङालेर शमा एउटा कुनामा बसेकी थिइ। पातलो त्यान्द्रो जस्तो गुन्द्रिमा बच्चाहरु सुतिरहेका थिए। उनिहरुलाइ के भइरहेछ केहि थाहा थिएन।


 


"पैसा लिनेबेला खुट्टा ढोग्न आउने अहिले चाहि लुकि लुकि भाग्ने! लाज लाग्दैन?" नसीमले इसमाइललाइ जिँउदै खाँउला जस्तै गरी भन्यो। उसको निधारको बिचैमा पुराना तरबार जस्तो लामो घाउका खत देखिन्थ्यो, हेर्दै खेरि बास्तबिक जीबनको खलनायक जस्तो। तनाबले होला उसको अनुहार धेरै खस्रो र फोहोर देखिन्थ्यो। उसको चिउँडोमा चुस्स चुस्स दारी थियो, फुर्सद नभएर नमिलाएको जस्तो देखिन्थ्यो। नसीमलाइ पहिलो चोटि देख्दा जो कोहि डराउन सक्थ्यो दिनको उज्यालो होस् वा रातको अध्याँरो।


 


"नसीम, हामीले इस्माइललाइ भेटिहाल्यौ। अब कामको कुरा गरौ?" जाबेद ४० नाघेको जस्तो देखिन्थ्यो, उमेरको कारण पनि होला उ नसीमलाइ संयमको लागि अनुरोध गर्दैथ्यो। यसो हेर्दा नसीम भन्दा जाबेद धेरै ब्यबहारिक छ कि जस्तो देखिन्थ्यो। हुन सक्छ जाबेद नसीमको चम्चागिरी गर्थ्यो।


 


इसमाइल नसीम र जाबेदको नजिकै एउटा कुनामा भुँइमा थचक्कै बस्यो। उसले दुबै हात जोडेर नसीमलाइ पुकार्यो "मालिक ! गाँउमा शत्रु लागेको छ, त्यत्रो पसिना बगाएर अफिम लगाएँ, कुन पापीले देखि सहेन, गएर कुरा लाइदियो, रातारात पुलिस आएर सारा नष्ट गर्यो। म गरीबसँग केहि छैन। मलाइ थाहा छ पैसा तिर्नु पर्छ, तर कसरी तिरुँ? बच्चाहरुलाइ एक छाक रोटी पनि राम्ररी खुवाउन सक्दिन ।"


"मेरो चाहि पैसा सित्तैमा आँउछ? सबै गरेर चालिस हजार तिर्नु पर्छ तिमीले। झन् परिवार भएको मान्छे भनेर मैले बिना धितो तिमीलाइ पैसा दिँए। तिमी यसरी बेइमान गरेर भाग्छौ भन्ने मलाइ लागेको थिएन। जसरी हुन्छ मलाइ पैसा चाहिन्छ।" नसीमले एकचोटि हातको टर्चलाइटले कुनामा बसेकी शमा र जारातिर प्रकाश फ्याल्यो। जारा अझै कामीरहेकी थी भने शमाका उदास आँखाहरु भुँइतिर केन्द्रित भएका थिए। त्यो एक झुल्को प्रकाशले  उसले झस्केर नसीमलाइ पुलुक्क हेरी, फेरि तुरुन्तै नजर ओराली। उसको आँखाहरु निद्राले हो कि चिन्ताले थाकेर लोलाएका थिए। नसीम एकछिन शमालाइ देखेर चुप लाग्यो, केही बेर एकटक हेरिरह्यो। जाबेदले नसीमले कसलाइ हेरेको भन्ने थाहा पायो। त्यसैले बाताबरण सहज बनाउन आफैले कुरा शुरु गर्यो।


 


"हैन, इसमाइल ! तिम्रो मात्र हैन गाँउमा धेरैको अफिमको फूल लाग्दा लाग्दै पुलिसले तहसनहस गरेको छ। तर सबै गाँउले तिमी जस्तो कायर भएर गाँउ छोडेका छैनन्। तिमी "साँप पनि मर्ने लट्ठि पनि नभाँचिने" जस्तो उपाय किन सोच्दैनौ?" जाबेदले नसीमलाइ हेर्दै इसमाइलसङ सम्झौताको आश देखायो ।


 


" त्यस्तो के उपाय हुन सक्छ र मालिक? अन्न बाली खेति गर्न सकिदैन, समय र मेहनत खेर जान्छ, बाली राम्रो उब्जिदैन। गाँउमा केहि काम छैन। अरु उपाय के छ र म सङ?" इसमाइलको निधारमा चिन्ता र गरीबीका प्रशस्त रेखाहरु देखिएको थियो।


"रहीम चाचाले कसरी पैसा तिरे तिमीलाइ थाहा छैन?" यसो भन्दा जाबेदले एकचोटि फेरि आँखैको इशाराले नसीमलाइ हेर्‍यो। नसीमले पनि आँखैले "ठिक छ! कुरा बढाउ।" भनेको जस्तो जाबेदलाइ संकेत दियो।


 


"त्यही त मिल्ने कुरा गर्‍यो भने अरु पनि उपाय हुन सक्छ, इसमाइल! शायद तिमी बुझेर पनि नबुझेको नाटक जस्तो गरिरहेछौ। रहीम चाचा र अरु धेरैले गाउमा त्यस्तै गरेका छन्। हुन त पैसाको जस्तो भाउ अरुको हुँदैन। तैपनि तिमीले अरु कुरा पनि त गर्न सक्थ्यौ नि म सङ।" फेरि नसीमले एकचोटि जारा र शमा बसेको कुनातिर टर्चलाइट झुलुक्क देखायो। यसपाली जारा तर्सी, शमा जस्ताको तस्तै मूर्ति झैँ हलचल नगरी बसेकी थी।


"मालिक! म त्यति निर्दयी हुन सक्दिन ! अल्लाहले कहिले पनि मलाइ माफ गर्दैनन्। म रहीम र अरुले जस्तो पाप गर्न सक्दिन।" इसमाइल ले डराँउदै भन्यो ।


 


"हामीले त तिमीलाइ सजिलो बाटो बताइदिएका हौँ। यदि तिमीलाइ पाप गर्न मन लाग्दैन र यो संसारमा तिमी जस्तो धर्मात्मा कोहि छैन भने खुरुक्क मेरो पैसा फिर्ता गर। म गइहाल्छु।" नसीमले पासो थाप्यो फेरि।


 


"सबैले त्यसै गरेका छन्, इसमाइल! तिम्रो लागि पनि त्यो भन्दा सरल उपाय अरु हुन सक्दैन। तिमी पैसा त कहिल्यै तिर्न सक्दैनौ। के तिमी बालबच्चालाइ दुखमै मार्न चाहन्छौ? हामीले तिम्रै भलाइको कुरा गर्दैछौ।" जाबेदले कुरा बुझाउने प्रयाश गर्न थाल्यो।


 


"मालिक ! शमा बच्चै छे, भर्खर १० पुगेर ११ लागी । म कसरी यस बच्चीलाइ तपाइको हातमा दिँउ?" इसमाइलको कुराले शमाको मुटु "ढ्याङ ढ्याङ" गर्न थाल्यो, यसपाली उ काम्न थाली। अहिले जाराको पालो थियो शमालाइ अङाल्ने। उ सकेसम्म बलियो गरी शमाको पसिनाले निथुक्क भएको हात समाइरहेकी थिइ।


“त्यो रहिम चाचाको छोरी पनि यस्तै उमेरकी थिइ नि हैन र? असलमले बिहे गर्दा कति बर्षकि थिइ रे त्यो केटि, नसीम?” जावेदले नसीमलाइ सोध्यो।


 


"उ त अझै सानी थिइ। नौ बर्षकी थी क्यारे। रहिम चाचा आफैले असलमको हातमा पैसा तिर्न नसकेर छोरी जिम्मा लाइदिएका थिए । असलम पनि मेरो उमेरकै त हो।" नसीमले शमातिर हेर्दै भन्यो।


"नसीम जवान छ, ३० बर्ष भनेको लोग्नेमान्छेको लागि धेरै हैन। राम्रो ब्यापार गर्छ। काबुलमा उसको अरु धेरै ब्यबसाय पनि छ। त्यसै पनि बिहेमा लोग्नेको उमेरले केहि फरक पार्दैन। शमा भाग्यमानी हुन्छे,  केहि बर्षमै एक-दुइटा बच्चा पाएपछि त बुढी भइ हाल्छे । उनिहरुको जोडी मिलिहाल्छ। कमाउने लोग्नेको साथ सहरमा सुखले बस्छे। तिम्रो परिवारमा एउटा खाने मुख घट्छ, हुर्केकी छोरीको चिन्ता पनि हुँदैन।" जाबेदले इसमाइलको मन जित्ने कुरा गर्दै थियो।


इसमाइल टाउकोमा हात राखेर घोरिएर चुपचाप सोच्न थाल्यो। शमाको मनमा के बितीरहेको छ कसैले पनि अनुमान गर्न सकेनन्। जारा मनमनै "अल्लाह" “अल्लाह” पुकार्दै थी।


 


नसीम र जाबेद इस्माइलको जवाफको प्रतिक्षामा थिए।


क्रमश:...


 


 

Last edited: 25-May-10 01:44 PM
Read Full Discussion Thread for this article