Posted by: Rahuldai May 19, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपाल को यात्रा भाग ७ ।


इन्जिनियर साहेबलाई  जी आर आइ सुन्ने बित्तिकै वाकवाकी लाग्दो रहेछ, टोफल सम्म पच्थ्यो कि थाहा भएन । इन्जिनियर साहेबको खुबिलियत अलिकती बर्णन गर्नु मनासिब नै होला। उहाँको नाम डाक्टर केसी । इन्जिनियरको अगाडि डा कसरी झुन्डियो, त्यसको पनि रोचक घोचक कथा छ ।



सरकारी कोटामा एम एस्सी गर्दा को कुरा रे, पुल्चोक बाट । बडा तेजिला विद्यार्थी रे । एम एस्सी को थेसिसमा पानी प्रसोधनको नयाँ काइदा निकाल्नु भए छ उहाँले । Water treatment plant मा १ लिटर पानी हुलेर प्रशोधित पानी २ लिटर निकाल्नु भए छ । प्रोफेसर साहेबले हेक्का राख्नु सक्नु भएन वा अरु नै ठेक्का को काम थियो , एम एस्सी को थेसिस प्रिन्ट भएर, डिफेन्स गर्दा पनि थाहा भएन रे। एक लिटर पानीबाट २ लिटर निकाल्ने अजब को यन्त्र र संयन्त्र बिकास गर्नु भएकोले उहांको नाम डाक्टर केसी हुनु गएको रे ।
"भोली पर्सी यहाँ आउने काम  छ डाक्टर साहेब , बिस्तारइ कुरा गर्दै गरौला भनेर त्यहाँबाट उम्के ।


ट्याक्सी, टेम्पू र माइक्रो को हुइंक्याइ, कुच्याइ र भुकाइ सँग कायल र घायल भएकोले मोटर् साइकल चलाऊं कि जस्तो लाग्यो। हिम्मत गरी सकेको थिएन, अझ भनुं हिम्मत थिएन । जथाभावी चलाई, नियम मिचाइ, बटुवाको अटेरिर्‍याइ देखी त्राहिमाम त्राहिमाम भएर तारेमाम गरेको थिएं बाइक लाई । बाइक भे सजिलो र खल्ती भरिलो हुन्छ जस्तो लाग्यो ।


ब्यान सबेरै " ग्वारामरी" ब्रेकफास्ट पछी नै दाई को बाइक एक छिन चलाउछु अपेक्षाक्रित सून्य सडकमा भन्ने लाग्यो । बाइक लिएर एक चक्कर लगाएं, अली अली आँट आयो । यहाँको गतिमा कसैले ठोकी दिए नि मरिंदैन भन्ने लाग्यो ।



बिभागमा चिट्ठी लिन जानु थियो । १० नबज्दै बिभाग लागें । लैन  चौर पुगे पछी बडेमान को लाम, ट्राफिक जाम । भी आइ पी को सवारि होला भन्थानें । अली अली घिस्रदै मल्ल होटल सम्म पुगे सि बल्ल देखें भी आइ पी को लाम । गाडा वाला रिक्साहरुको जुलुस रहेछ, रातो कपडामा हसिया हठौडा वाला झन्डा सहित् । त्यो सडकमा रिक्सा वर्जित थियो तर झन्डा फहराए पछी दण्डा वालाको पनि केही लाग्दैन । ती नव भी आइ पी हरुको सवारि समाप्त भए सि घुइंघुइं कुइंकुइं गर्दै पुगियो गन्तब्य ।



लेखा का पुराना मित्रले निजामती किताब खानालाई मैले पाउने उप दान - (जागिर छोडे पछी पाउने दान पनि हैन ,उपदान मात्र,) र तलबको यकिन गर्न पठाएको "पत्र तयार छ  
आजै हरिहर भावना जानुस्, उताबाट चिट्ठी लिएर आउनुस् , यता प्रशासनबाट् बिदाको रेकर्ड आए पछी निकासाको लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय पठाउनु पर्छ । छिटो गर्नुस् ", भन्नु भयो। 



साथीले असली सल्लाह दिनु भयो । भन्दै फेरी हरिहरभवन हिंडे । बाइक ले पायक बनायो ।
अत्यन्त जिर्ण भवनमा रहेको निजामती किताब खानामा पुग्ने बितीकै प्रथम दृष्‍टिमा यहाँको काम, ठाम जस्तै हुने भयो जस्तो लाग्यो । प्रशासनमा जागिर खाने हरकोइ लाई सताउनु पर्‍यो भने सामान्य र किताब खाना मा सरुवा गर्ने चलन अद्यापी छदै छ। निरास, हतास, अपहेलित कर्मचारीको बास हुने अड्डामा काम के हुन्छ जस्तो लाग्नु स्वाभाबिक हो।



तर हैन रहेछ,  भवन जीर्ण भए पनि काम भने गजबले पूर्ण हुंदो रहेछ । न झोक लाग्दो तोक को प्रतिक्षा गर्नु पर्ने न त हाकिमको पर्खाइ । सम्बन्धित फाँटमा बिभागको चिट्ठी देखाउने बित्तिकै, संगैको कोठामा दर्ता गराइ ल्याउनुस्, एक छिनमा काम हुन्छ भन्नु भयो सुब्बासाहेबले। 


किताब खानाको रेकर्ड ब्यबस्थित रहेछ । कम्प्युटराइजड । एक छिनको कम्पुटर चलाई पछी नै काम तामाम भयो । सहि ठोक्ने हाकिम पनि घुम्दै घुम्दै आइपुग्ने रहेछ । २० मिनेट पनि लागेन । यती छिटो काम हुन्छ भनी मैले सोचेको थिइन न त कसैले सोचे होलान।
काम सके पछी सबैलाई धन्यवाद दिंदै चिट्ठी लिइ फर्कें ।



हरिहरभवनबाट् बाँया मोडेर पुल्चोक इनार पुग्न अघी फेरी जाम सुरु भयो । पेटिबाट बाइक को ताँती लाग्न सुरु गरी हाल्यो । पेटी हाक्नेमा अधिकांश सदा झै यसपाली पनि महिला चालकहरु थिए। पेटिबाट हुइंकिदा पनि आखिर सडक नाप्नै पर्छ । पेटीबाट सडक छुने कर्णर मै मेरो बाइक अड्कियो ।


अत्याधिक मेक अप ले कुरुप देखिएकी, गहनाले घाटी लट्रिएकी नव धनीध्य देखिने महिलाले सडक झर्न बेसमारी हर्न बजाइ । मैले हर्न, टर्न गरी हेरिने र टेरिन।


"पाखे, हर्न पनि नसुन्ने। कस्तो पाखे रहेछ ", महिलाको प्रवचन सुरु भयो ।



"पेटी पैदल यात्रिको लागि हो कि तपाईंको बाइक को लागि ??"  मैले नि दिएं जवाफि प्रवचन् ।
"कस्तो पाखे रहेछ, मुख मुखै लाग्दो रहेछ", फतफतिंदै थिइ ।


जाम खुकुलो भयो । बाइक अघी बढाएं ।


क्रमश :
 
    

Read Full Discussion Thread for this article