Posted by: Rahuldai May 17, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपालको यात्रा भाग ५


 


(मित्र टिएमएस् को सल्लाह अनुसार जबर्जस्ती गर्नु परेको रजिनामालाई जबर्जस्तिनामा भनी सम्बोधन गरिएको छ। )



मन्त्रालय पुगी दुइलाइनको जबर्जस्तीनमा लेखेर आएकोमा  मन्त्रालयका मित्रको फोन आयो, त्यो पत्रको ढाँचा मिलेन रे केही थप्नु पर्‍यो रे, फेरी आउनु पर्‍यो रे भनी बोलावट आयो।



जानै पर्‍यो, जाने पो कसरी ? प्रच- गर्मी ( प्रच पछी को अक्षर लेख्दा अशोभनिय देखिन्छ, त्यसैले न लेखेको) त्यस माथि ट्याक्सी न चढ्ने कसम । बाइक वाला माइक लाई फोन गरें, नजिकै भए भनेर के भनेंथें " म त बालाजु मा अझै २-३ घण्टा काम छ " भन्ने जवाफ आयो । हिंडेर सिंह दरबार जाने हिम्मत भएन, ट्याक्सी न चढ्ने, बडा अप्ठेरो थालोमा अड्कें ।



माइक्रो चढे कसो होला? दिमागमा गजबको आइडिया फुर्‍यो । थ्यान्क यु भन्दै माइक्रो चढ्ने न्यूनत्तम दूरी नाप्न थालें । घर छेउ कै अत्यन्त सुगन्धित बिष्णुमती किनारबाट सोह्र खुट्टे हुंदै जमल जान्छ रे २३ ख नम्बर को माइक्रो - एक जना जानकारले सल्लाह दिए। माइक्रो आउने भनिएको ठाउमा कुरें । १० मिनेट मै आयो बाइ भन्दै मक्ख पर्दै माइक्रोमा छिरें । सीट पनि माइक्रो नै हुने रहेछ माइक्रो बसमा। जबर्जस्तीनामा को लागि जाँदा जबर्जस्ती नै २५% नितम्ब कतै अडेस लगाएर गैयो । १०० मिटर गाको छैन घ्याच्च रोकियो, अर्को सात्री थपियो ( सास्ती खान आएको यात्री= सात्री)। फेरी अर्को १०० मिटरमा घ्याच्च । यसपाली चाँही ओर्लिने महिलाको घ्याच्च्याइं रहेछ। मेरो पछाडिको सात्री अगाडिका सात्रिहरु लाई कुल्चदै झरी । " सरी"  भन्नु पनि छैन । निर्धक्क सँग कुल्चदै फुट्ट निस्की ।मानौ अरुलाई कुल्चदै अघी बढ्नु हाम्रो संस्कार हो, धर्म हो । अरुको दु:खमा  न कुनै ग्लानी न कुनै अफसोस । सेतो पहिरन को मान्छेको त खयाल गर्नु पर्छ नि । त्यसै त पानी न भएर अमेरिका आए पछी लन्ड्रिमा राखौला भनी मैलो लुगा पोका पारेको थिए। एक थपियो । साढे ६ नम्बर को स्यान्डलको आक्रिती सेतो प्याण्टमा  छापियो ।



जमल पुगियो । सल्लाह दिने भलादमिका अनुसार जमल मै पहिलो गन्तब्य थियो । रु १२ तिरेर ओर्ले । जानु थियो सिंह दरबार त्यो पनि बबर महल को कुनाबाट । बानेश्वर थानेश्वर जाने बस, माइक्रो, ट्याम्पू जे भए नि हुन्छ भनी कुरें । एउटा आएन । सब हाँडिगाउ, टंगाल, बौद्ध जोरपाटी, नारायणस्थान जाने सवारि साधन मात्र जमल रोक्दो रहेछ । भएन बा भन्दै फेरी टनटलापुर घाममा रत्नपार्क हिडियो ।


बानेश्वर जाने लाखौं टेम्पू माइक्रो रहेछ त्यता। माइक्रोमा बसेर साढे ६ नमबर को छाप बोकियो अब बस्दिन भनी टेम्पू चढें। सीट पुरै न भरेको कारणले डिलक्स सीटको सुबिधा सहित् बबरमहल मन्डला चोक पुगें । रु १० । त्यहाबाट सिंह दरबारअको दक्षिण ढोका सम्म हिंडे ।


सिंह दरबारका मित्रले पुरानो परिचय पत्र ( जागिर हुंदा को ) लिएर आउनु भनेकोले सुरक्षाकर्मिलाई परिचय पत्र के देखाको थिएं-


" तपाईं कुन दुनियाँमा हुनु हुन्छ ? देशमा गणतन्त्र आएको त ३ बर्ष भाईसक्यो , अझै श्री ५ को सरकार लेखेको परिचय पत्र ?? ।"


" अं , बिदेश गाको थिए, बल्ल हाजिर गर्न आको नयाँ परिचयपत्र बनाउनु छ ।"
ल जानुस् , भन्दै परिचय पत्र चाँही खोसे, मान्छे चाइ भित्र ठोसे ।



छोड्या जागिर को परिचय पत्र खोस्दै मा के को टनटन भन्दै मन्त्रालय हिंडे।



मन्त्रालयका अती भलादमी प्रशासनका उपसचिबज्यू को आग्रह र सुझाव अनुसार                        " जबर्जस्तीनामा"  सच्याइयो । भोली पर्सी सम्ममा रजिनामा स्विक्रित गराइ दिन्छु फोन गर्नु होला भन्नु भयो । उपसचिबज्यू सहयोगी नहुंदो हो त जबर्जस्तिनामा स्विक्रित मात्र हुन लाई महिना, बर्ष लाग्न सक्थ्यो । फाइल को खुट्टा हुंदैन, आँफै मूभ हुंदैन । या त जुस खुवाउनु पर्‍यो या घुस ।



त्यहाँबाट काम सक्याइवरि अंध्यारिने ट्याम बाँकी रहेको ले अम्रिकाका दुष्ट छिमेकीको घरमा ङिच दांत देखाएर आउने बिचार  आयो । बाटै परेको र अर्को एउटा टेम्पूलाई रु १२ बुझाए पुग्ने । हालखबर आदन प्रदान गर्दै फर्किन लाग्या थिएं, " हैन बाबु यहाँ सम्म आए सि एक गिलास सर्बाट त खाएर जानुस, के को हतार?" भन्नु भयो छिमेकिको बुवाले । गर्मिले तिर्खाएकोले होला, सर्बत पिउने आग्रह लाई नकार्न सकिन । एक गिलास चिसो सर्बत पिएर फर्कें ।



रातको खाना खाइवरि अंध्यारो मै गफसफ गर्दै बसियो । ११ बजे बत्ती आउने पालो रे भनेको ले न सुती बसेको थिएं। धेरै दिन भो साझा खोल्न न पाएको , चौतारीमा गफ सफ गर्न न पाएको। बिजुली आउने प्रतिक्षामा थिएं एक्कासी पेट मा मेघ गर्जियो  । बिजुली चम्क्यो। गड्याङ गुडूङ्ग  सुरु भयो ।


क्रमश :        

Read Full Discussion Thread for this article