Posted by: Rahuldai May 13, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपालको यात्रा भाग ३


टी एम एस् ले सुझाए अनुसार राजिनामालाई आइन्दा प्रसङमा जबर्जस्तिनामा लेखिने छ। अब एकै छिन कथामाडौको अस्तब्यस्त हाल को बर्णन गर्ने अनुमती चाहन्छु ।


जेटल्यागको परवाह नगरी एम्बेसी धाउने काम देखी जबर्जस्तिनामा प्रकरणको लागि ४-५ घण्टाको सुताइ पछी नै निक्लेको थिएं । मान्छे नै मान्छे । सड्क सवारि गुड्न लाई हो कि पार्किङ गर्नलाई हो छुट्याउन सकिन । टन्टलापुर घाम अनि हिंड्ने बानी छुटेकोले ट्याक्सी बाहेक उपयुक्त साधन देखिन ।


ट्याक्सी त के पाङ्ग्रा गुडाउने ठाउँ थिएन । जता ततै जाम र लाम। हर्नको कर्कश आवाज । ठेलमठेल। सानो ठाउँ पाएको हुन्न, २-४ बाइकको पायक पर्ने ठाउँ हुन्थ्यो। टेकुपुल देखी थापाथली पुल सम्म छिचोल्न ठ्यामै एक घण्टा लाग्यो।



एक मन त लाग्यो, बाइक भयो भने सजिलो हुन्छ। ट्याक्सीमा गुड्दा गुड्दै त्यो रहर पनि हरायो । जता ततैबाट हुइक्याउने हुने, जो बलियो उसैको सडक र नियम। ट्राफिक पुलिस कींकर्तब्यबिमूढ बुँख्याचा जस्तो । सिटीलाई कुनै ठिटीले टेरेको थिएन । कसैलाई कसैको वास्ता थिएन । जसलाई नि छिटो पुग्ने हतार । २ इन्च को क्लियरेन्स मा समेत गाडी छिराउने । हरपल जिउ सिरिङ्ग हुने ।



ट्याक्सीबाट जावलाखेल जादै थियौं । झन्डै एक बालक (स्कूलबाट फर्कदै ) ट्याक्सीको कोपभोजन भाकोथियो । ब्रेक चाँही कमालको हुने रहेछ। घ्याच्च रोकियो , ६ इन्छ जती ले ज्यान जोगियो ।


ड्राइभरको अनुहारमा कुनै चिन्ता वा हतासको रेखा थिएन । मानौ उ यसरी नै गाडीबाट दिन दिनै कुल्चेर जीवन हाक्दै छ। जीवन मरण को कुनै चिन्ता थिएन।



"हैन ड्राइभर साहेब, अली बिस्तारइ हाँक्न मिल्दैन?"


 अगाडिको सीट मा भाकोले भन्दीहाले ।



"मिल्न त मिल्छ, तर मैले पनि स्लो गरेर हुंदैन। यस्ता मर्न नसकेकाहरु त दिन दिनै भेटिन्छन । मतलब गरेर हुँदैन । "



"तै पनि मरी हाल्यो भने तपाईंलाई नि अप्ठेरो, तिनको परिवारमा बिपत्ती हुन्छ । बिस्तारै गए सप लाई फाईदा नि , होइन र ?? "



होइन भन्न चाँही सकेन, तर मेरो कुरा तिनलाई नपचेको स्पष्ट भाव देखिन्थ्यो ।



अनी बिस्तारै आफ्नो असली रुप देखाउन थालिहाल्यो ।



"नियमा कानून भाको देश भए पो, डराउनु । डराए भने पेट पाल्नु पर्दैन। बालबच्चा छ , पाल्नै पर्‍यो ।"


 उ भन्दैथियो, मानौ हामीले पेट पाल्नै पर्दैन, हाम्रा बाल बच्चा हुँदै हुँदैन ।


"कर तिरेको छु, दिनको ५०, तिनैले बचाउछन्  निर्धक्क सँग चलाऊछु ।"


 बुझ्नेलाई ईशारा काफी। तिनले तिर्ने कर संकलनकर्ता को हो भन्ने बुझ्न गाह्रो भएन ।



"सरकार नै गैरकानूनी भए पछी नियम कानून चल्छ यो देशमा ?? "


उ अब अली बुज्रुक र बुद्धिजिवी देखिन थाल्यो ।


"चुनाव जितेकालाई सडकमा राखेर २ ठाउँमा हारेकाले देश चलाएर हुन्छ ? देशको हाल यस्तै हुन्छ ।"



टेकु देखी जावलाखेल यात्रा बीच मैले देशको राजनीतिको समेत शिक्षा लिए।
हस त धन्यवाद भन्दै २४० मिटर चढाइ को शुल्क तिरें । २५० मा रु १० फिर्ता आएन।


अर्थात अर्को १० मैले नि कर तिरें ।


क्रमश:

Read Full Discussion Thread for this article