Posted by: Neal H April 17, 2010
मृत्युदण्ड तोकिएका २ नेपालीलाई माफी
Login in to Rate this Post:     0       ?        

काठमाडौं, वैशाख ४ - साउदी अरबमा सहकर्मीको हत्या गरेको अभियोगमा मृत्युदण्ड तोकिएका दुई नेपाली कामदार मृत्युदण्डबाट भने जोगिएका छन् ।  

वैदेशिक रोजगारीमा साउदी पुगेका रूपलाल बोहरा र विवेक दाहाललाई पीडित परिवारले निजी कानुन प्रयोग गरी माफी दिएपछि उनीहरू मृत्युदण्डबाट जोगिएका हुन् ।

'यहाँ निजी र सार्वजनिक दुई कानुन छन्,' साउदीको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, 'पीडितहरूले निजी कानुन प्रयोग गरी बोहरा र दाहाललाई मृत्युदण्डको माफी दिएका छन् ।'

बोहराले सहकर्मी फिलिपिनोलाई हत्या गरेका थिए भने दाहालले आफ्नै मामाको छोरा राजेन्द्र बिष्टलाई विष खुवाएर मारेका थिए । फिलोपिनोका परिवारले बोहरासँग 'ब्लडमनी' पाउने सर्त र बिष्टको परिवारले 'ब्लडमनी' नलिई माफी दिएको प्रथम सचिव दाहालले बताए । फिलोपिनो पीडित परिवारसँग भने सम्झौताचाहिँ भइसकेको छैन ।

'उनीहरूले निजी कानुनअनुसार मृत्युदण्डको सजाय छुट पाए पनि सार्वजनिक कानुनअनुसार भने जेल बस्नुपर्नेछ,' दाहालले भने, 'यो तोकिसकेको छैन ।'

साउदीमा हत्या गरेको पुष्टि भएमा 'शिर छेदन' गरेर मृत्युदण्ड दिइने कानुन छ । सात वर्षअघि साउदीका एक नागरिकलाई हत्या गरेका एक जना लिम्बू थरका नेपाली कामदारलाई मृत्युदण्ड दिइएको थियो । उनको शिर छेदन गरी नेपालमा शव पठाइएको थियो । त्यसपछि हत्याको अभियोग पाएका नेपाली कामदारले मृत्युदण्डबाट भने छुट पाउँदै आएका छन् ।

दूतावासका अनुसार साउदी नागरिकबाहेक अन्य मुलुकका नागरिकको हत्या भएमा पीडित परिवारले 'ब्लडमनी' दिई माफी दिने गरेका छन् । आफन्तबाट माफी पाएका विवेकलाई सहकर्मी सुडानीले भने छाडेका छैनन् । विवेक, आफ्नो आफन्त बिष्ट र सुडानीसँगै भरुभूमिमा उँट गोठालो थिए । 'उनले उँटसँग यौनक्रिडा गरेका बिष्ट र सुडानीले जानकारी पाएका रहेछन्,' दाहालले भने, 'यो कुरा  मालिकलाई भनिदिने डरले बिष्टले खाना पकाउँदा बिष हालिदिएछन् । तीनै जनाले विषयुक्त खाना खाएपनि दुई जना भने बाँच्न सफल भए ।'  सुडानीले विवेकसँग ५० हजार रियाल -१० लाख रुपैयाँ) क्षतिपूर्तिको दाबी गरेका छन् ।

अहिले हत्याको अभियोगमा अरू तीन घटनामा फैसला भने हुन बाँकी छ । साउदीको उत्तरपश्चिम अलजौफ क्षेत्रमा पर्वतका सन्तबहादुर पुन मगर आफ्नै अरेबियन माालिकको हत्या अभियोगमा सात वर्षदेखि साउदीको गुडायत कारागारमा छन् । अभियोग पुष्टिपछि मुत्युदण्ड सुनाइए पनि पीडित परिवारको अन्तिम निर्णयलाई अदालतले पर्खेर बसेको छ । मारिएका व्यक्तिको छोरा नाबालक -१५ वर्ष) भएकाले अबको एक वर्षपछि मात्रै यो परिवारले सजाय वा माफीको निर्णय लिन सक्नेछ ।

गत असोजमा पुरानो रियादमा मारिएका तनहुँका डिलबहादुर श्रेष्ठको हत्यामा संलग्न सहकर्मी नेपाली कामदार कारागारमै छन् । उनको हत्यामा संलग्न भएको अभियोगमा मोरुङका सन्तोषकुमार जमकट्टेलसहित पाँच जना नेपाली कारागारमा छन् । श्रेष्ठ च्यानल परिवर्तन गर्ने निहुँमा सहकर्मीहरूबीच झगडा हुँदा मारिएका थिए  ।

दुई वटा पेप्सी खरिदको विषयमा विवाद हुँदा उत्तम कुँवरले सहकर्मी विष्णु घिमिरेलाई छुरा प्रहार गरी गत भदौमा हत्या गरेका थिए । पीडितहरूका परिवारले माफी दिएमा उनीहरू मृत्युदण्डबाट भने बच्न सक्ने दूतावासले जनाएको छ ।

यसैगरी पाकिस्तानीबाट मारिएका अम्बरबहादुर गुरुङका परिवारलाई ब्लडमनी दिलाउने विषयमा नेपाली र पाकिस्तानी दूतावासबीच कुराकानी भइरहेको छ । 'पीडकलाई बाँच्न दिनुपर्छ भन्ने छ,' उनले भने, 'यसका लागि दूतावासले पीडित परिवारसँग ब्लडमनीको विषयमा छलफल भइरहेको छ ।' 

Read Full Discussion Thread for this article