Posted by: crazy_love March 8, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

भाग-९


कथालाइ शुरु गरेको दिन जस्तो अध्याँरो, रुन्चे झरी परिरहेको र अलि अलि हुस्सु लागीरहेको थियो, आज पनि त्यस्तै छ। मिति, दिन र महिनालाइ नबदले उस्तै उस्तै दिन भन्न मिल्छ। बिहानको यस घडीमा बाताबरण एक्दमै शुन्य छ। मेरो अगाडिको घरमा चरामुसा देखिदैन, यधपि टाढा कतै कतै कारहरु गुडिरहेको आवाज आँउछ। यदि घडि नहेर्ने हो भने म यसैलाइ साँझ मान्न सक्छु र फेरि निदाउने प्रयास गर्न सक्छु। साँच्चै म यो कोठाबाट ननिस्किएको पनि तिन दिन भएसकेछ। बाहिर जाडै होला, त्यस्तै देखिन्छ। चिसो चिसो हावा चल्दै होला, मेरो अगाडीको बुच्चो रुखका हाङाहरु कहिले कहि हल्लिरहन्छन्। बाहिर जे सुकै होस्, भित्रि मन न्यानो हुन सकेको छैन। ठिहिर्‍याउने चिसो त हैन तर मुटु चिमोट्ने खालको जस्तो छ। एक हिसाबले भन्दा बर्णन गर्न नसकिने खालको पीडा वा शब्दकोशमा नभएको परिभाषा।


त्यो दिन मालाइ प्यारालाइसिस हुने संभावना नभएको खबरले मलाइ धेरै राहत महसुस भएको थियो। जे भए पनि अरुको भरमा बाँच्न नपर्ने भयो उ। त्यो भन्दा अरु धेरै खुशी के हुन सक्थ्यो मलाइ? मेरो आँखामा धेरै दिनपछि निद्रा देविको आगमन भएको थियो त्यो दिन। म बिना सिरानी सोफाको एउटा कुनामा सुतेछु, सपना देख्न थालेछु। म मासङ सम्झौता गर्ने प्रयाशमा माको पछि पछि जादो रैछु। मा हाम्रो कौसीमा आफ्नो डाढ पछाडी पारेर उभिएको थियो, म उसलाइ भेट्टाउन छिटो छिटो पाइला सार्दै रैछु। "मा ! सरी! म तिमीलाइ भेट्न आएको, एकचोटि हेर न।" मालाइ मेरो अनुरोधको केहि असर भएको थिएन। उ अघि अघि नै गैरहेको थियो। मैले उ कौसीको डिलनिर पुगेपछि सारीको सप्को समातेर ताने। मा डिल नाघेर हावामा बिलायो। मेरो हातमा उसको सारीको टुप्पो मात्रै आयो। म झसङ भयेँ। ब्युँझेर सपनाबारे सोच्न थाले। त्यसैपनि मनमा भय त छदै थ्यो। एकचोटि चिसो पानीले मुख धोएँ। अलिकति छ्याङ्ग जस्तो भएँ र नेपाल फोन गर्न थाले। यसपाली दिदीले फोन उठाउनु भयो।


"मालाइ अहिले कस्तो छ?" म आतिएको थिए।


"भर्खरै हामीले मालाइ बेडबाट उठायौँ। मालाइ दाँयाबाँया समातेर  एक्छिन हिंडायौ। मा हिँड्नु भयो। अब भोलितिर डक्टरले वार्डतिर सार्ने भनेको छ।" दिदीको आवाजमा केहि निश्चिन्तता थियो।


"उसले केहि खायो कि खाएन?" मैले सोधे।


"अलिकति सुप २-३ चम्चा पिउनु भयो आज।" दिदीले भन्नु भयो।


"दिदी! म मा सङ कुरा गर्छु।" मैले घाँटिभरि  गाँठो पार्दै भने। मा र मेरो बोलचाल नहुदा दिदीले मलाइ धेरै सम्झाउनु भएको थियो। तर मेरो अहंले झुक्न चाहेन त्यो बेला।


"___ " दिदीको जवाफ आएन उताबाट।


"दि, म मासङ माफि माग्छु।" मैले फेरि अनुरोध गरें।


"तिमीलाइ थाहा छैन?" दिदीले के कुरा हो नभनी सोध्नु मात्र भयो।


"के कुरा?" मलाइ पनि आश्चर्य लाग्यो।


"मा को बोली आएको छैन। मा रुनु हुन्छ, तर आवाज आउदैन। बोलाउदा हेर्नु हुन्छ तर जवाफ फर्काउन सक्नुहुन्न।" दिदी उता सुकसुकाउन थाल्नु भयो। म उभिएको भुइ खस्किए जस्तो भयो मलाइ। मेरो आखाहरु रसाए, तर आँसु बनी खस्न सकेनन्, मुटु भित्र नराम्रो गाँठो पर्दै गयो। म भित्तामा अढेश लाग्दै थ्याच्च भुँइमा बसे। अब मेरो बोलीको के अर्थ, यो अस्तित्व जुन मा को कारण यस संसारमा छु, त्यस्को के अर्थ? यो जिबनको के अर्थ?


"सुन त! हेल्लो! हेल्लो!" मैले प्रत्युतरमा केहि नबोले पछि दिदी अझै चिन्तित हुनु भयो शायद।


"दिदी! म अहिले राखिदिन्छु है।" मैले बिस्तारै भने।


"एकछिन पख! मा को आवाज आउन सक्छ रे। स्पिच थेरापि गराउनु पर्छ रे। तिमी त्यस्तो बुझ्ने मान्छे पनि हरेश खानु हुन्छ?" दिदीले उल्टै मलाइ सम्झाउन थाल्नु भयो।


"म घमन्डि छु, त्यसैले त भगवानले मा को बोली खोस्यो।" बल्ल मेरो हिक्क हिक्क फुट्यो।


"तिमी टेन्सन नलिउ। यहाँ हामीले सक्दो उपचार गरेको छौ। तिमी त्यहा बिरामी भयौ भने हेर्ने मान्छे छैन। माको लागि त हामी सबै छौ यहाँ। तिमी पीर नगर। बरु समय समयमा फोन गर्नु है।" उता दिदीलाइ मेरो पनि चिन्ता थपियो। दिदी मेरो मा पछिको मा, मलाइ के को एलर्जि भयो भने दम हुन्छ, के खानु हुदैन, कति चिसो हुदैन,  मलाइ भन्दा बढी उसैलाइ थाहा छ।


मेरो त समय रोकियो, म घडिको सुइलाइ मा बिरामी हुनु अघिको पल अगाडि घुमाउन चाहन्थे, र त्यहीनिर, हो त्यही निर मा लाइ स्ट्रोक हुनु भन्दा अघिदेखि अहिलेसम्मको समयलाइ मेटाउन चाहन्थे। यदी म सङ त्यस्तो सफ्ट्वेयर हुँदो हो त पुरै ब्रह्मान्डलाइ उल्टो घुमाउथे र माले बोलेको सुन्न चाहन्थे। मलाइ मा सङ धेरै कुरा गर्नुछ, हामीबिचको बिरोधाभास कुरा गरेरै हटाउनु छ। यो केहि बर्षबिचको शीतयुद्ध निर्मुल पार्नुछ। मैले मा सङ भन्नै पर्छ "तिमी भएर म छु, नत्र यो जिबन, यो प्रतिष्ठा, यो खुशी, यो सम्पनता केहि पनि छैन। तिमी भएर म छु मा!"


आज मिली मेरो सामु भैदिएकी भए म उसलाइ अङालेर रुन्थे, वा उ सङ आँसु सापटि माग्थे। म त रित्तो छु, मेरो केहि छैन, मेरो मा को ब्यक्त गर्ने आवाज छैन, मेरो रुने आँसु पनि छैन, हाँस्ने कारण छैन। यो कोठाका भित्ताहरु अझै पनि मलाइ एकतमासले हेरिरहेछन्, शायद टिठ्याइरहेछन्, मेरो मजबुरीप्रति, मेरो असमर्थताप्रति, मेरो अर्थहिन "दम्भप्रति"। म आफैले ब्यक्त गर्न नसकेको दुखबारे चिन्तित छु। कोहि त होला, जसले मलाइ "जजमेन्ट" नगरी यो कुरा सुनिदेला। मैले यो कुरा कसैलाइ त अबश्य भन्नु पर्छ। हैन भने यो मनको असह्य पीडामा जिन्दगीभरि निस्सासिरहनेछु।


क्रमश:

Last edited: 12-Mar-10 09:16 AM
Read Full Discussion Thread for this article