Posted by: Neal H March 6, 2010
'निलम्बित कलेजका विद्यार्थीलाई भिसा दिन मिल्दैन'
Login in to Rate this Post:     0       ?        

लन्डन, फाल्गुन २२ - बेलायतको विदेश मन्त्रालयले निलम्बित वा बन्द कलेजमा आवेदन दिएका विद्यार्थीलाई भिसा जारी गर्न नसकिने स्पष्ट गरेको छ । मन्त्रालयले नेपाली दूतावासलाई पत्रमार्फत निलम्बनमा परेका बेला यूके बोर्डर एजेन्सीले त्यस्ता शैक्षिक संस्थामा पढ्न भिसा जारी गर्न नसक्ने स्पष्ट गरेको हो ।

बरु, उसले 'स्पोन्सरसिप लाइसेन्स' प्राप्त कलेज निलम्बित वा खारेज भएको अवस्थामा विद्यार्थीलाई आवेदन प्रक्रिया नै रद्द गर्न सुझाव दिएको छ । भिसा आवेदन शुल्क भने फिर्ता नहुने उल्लेख छ । अहिले हजारौं नेपाली विद्यार्थीका आवेदन प्रक्रियामा छन् ।

कान्तिपुरलाई प्राप्त दुई पृष्ठ लामो मन्त्रालयको पत्रमा भिसा पाइसकेका भए पनि कलेजको समस्या समाधान नभइञ्जेल यात्रा नगर्न विद्यार्थीलाई सल्लाह दिइएको छ । विद्यार्थीले कलेजमा ड्राफ्ट पठाइसकेपछि यहाँका सयौं कलेज निलम्बित हुनु र लगत्तै बेलायतले विद्यार्थीका भिसा आवेदन प्रक्रियासमेत स्थगित गरेपछि बेलायत भित्रिइसकेको विद्यार्थीको पौने दुई अर्ब रकम फिर्ता हुने /नहुने अन्योल छ । मन्त्रालयले तिरिसकेको रकम फिर्ता गर्ने सवाल शैक्षिक संस्था र विद्यार्थीबीचको समझदारीमा मात्र हुन सक्ने जनाएको छ । उसले विद्यार्थीलाई यसबारे थप सल्लाह चाहिएमा 'दि काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अफेयर्स' र 'बि्रटिस एक्रिडेसन कमिटी' मा सम्पर्क गर्न पनि भनेको छ ।

बेलायत नआउँदै कलेज बन्द भइसकेको अवस्थामा विद्यार्थीका भिसासमेत रद्द गरिने छ । विद्यार्थी बेलायतमै आइसकेको अवस्थामा ६ महिनाभन्दा बढी भिसा अवधि छ भने उसले दुई महिनाभित्र अर्को लाइसेन्सप्राप्त कलेज खोज्नुपर्ने, नभए देश छाड्नुपर्ने सर्त राखिएको छ ।

बेलायतले विद्यार्थीको आवेदन प्रक्रिया अनिश्चितकालका लागि बन्द गरेपछि गत १५ फेब्रुअरीमा मन्त्रालयलाई पत्रमार्फत ध्यानाकर्षण गराई दूतावासले समस्या राखेको थियो । जसमा पहिलो, कलेजहरूलाई 'फि' तिरेर भिसा लेटर पाइसकेका विद्यार्थीले कहिलेसम्म भिसा कुर्नुपर्ने हो, नहुने हो भने तिनीहरूको पैसा फिर्ता गराउन के प्रक्रिया हुन सक्छ ? दोस्रो, एकेडेमिक सेसनको बीचमा आएर कलेज निलम्बन वा बन्द भइदिँदा पढाइ सुचारु हुने/नहुने सम्बन्धमा विद्यार्थीमा चिन्ता बढेको र अन्तिम भिसा पाइसकेपछि निलम्बन वा बन्द भएका कलेजका विद्यार्थी यूके आउन हुने/नहुने स्पष्ट पार्न आग्रह गरेको थियो ।

Read Full Discussion Thread for this article